आइतबार, मंसिर २३, २०८१

अमेरिकी जनताका अगाडी असहज र कठिन दिन

शैलेश श्रेष्ठ२०८१ कार्तिक २१ गते २१:२३

अमेरिकी उदार लोकतन्त्र र लोकतान्त्रिक राज्य ब्यबस्था अन्तर्गत भर्खर सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड जे ट्रम्पले पाएको अपार जनअनुमोदनको हामीले उपल्लो सम्मान गर्नु पर्दछ। यो अमेरिकी ईतिहासकै पहिलो ‘पोलिटिकल कमब्याक’ हो। दुई दुई पटक सदनबाट ईम्पिचमेन्टको सामना गरेका र अहिले पनि कैयन फौजदारी अभियोगहरुको सामना गरिरहेका ‘कन्भिक्टेड फेलोन’ यो स्तरमा कमब्याक हुनु चानचुने कुरो होइन। लोकतान्त्रिक चरित्र भनेकै यस्ता जनमतहरुलाई उदार मनले स्वीकार गर्नु हो।

डेमोक्रेट्सहरुले ट्रम्पले सन २०२१ जनवरी ६ तारिखका दिन क्यापिटल हिलमा गरेको जस्तो हुलहुज्जत र उपद्रो गर्न आवश्यक छैन । मैले जानेको डेमोक्रेटिक पार्टीले त्यो खालको आत्मदाहको बाटो रोज्दैन। चुनाब भनेको सामान बेच्ने कला हो। त्यो कलामा ट्रम्प र उनको टिम खप्पीस देखिए। बिक्री गर्न बजारमा छरपस्ट राखिएका जिनिसहरुः बलियो अमेरिका (हेजेमोनी), सवल अर्थतन्त्र, आप्रवासनमा कडाई, सिमानामा पर्खाल, मास डिपोर्टेसन, पुटिनको साथ र सहयोगमा युक्रेन युध्दको अन्त्य, रोजगारीमा अमेरिकी-फ्रस्ट नीति, नेटो लगायतका संगठनहरुलाई दिई आएको सहयोग रकममा भारी कटौती, पाठशाला र पाठ्य पुस्तकहरुमा परम्पपागत ‘उई ट्रस्ट ईन गड’ सहितको बाईबल कमेन्डमेन्टमा आधारित शिक्षा आदि ईत्यादी।

आफ्ना शान, शौकत, राज्य र शासन बिस्तार बिस्तारै अन्य वर्णका नयॅा अमेरिकी र आप्रवासीहरुले खोस्दै लगेको ठान्ने ‘गड’ र ‘गन’ मार्फत अमेरिकी हेजेमोनी कायम राख्न चाहने स्वेत सर्बोच्चताबादीहरु र गर्वपतनलाई महापाप ठान्ने ठुलो आवादी र जनसंख्या भएका ईजान्जेलिकल र अन्य क्रिस्चियनहरुले आखा चिम्लिएर यि बिकाउका मालहरु किने भने नयॅा अमेरिकी र बल्लतल्ल स्थायि बसोबासको बन्दोबस्त गरेका तेस्रा मुलुकका आप्रवासीहरुले नि “मागा” क्याप लगाएर अमेरिकी परम्परागत हेजेमोनीमै रमाउन मन पराए। बजारबाट किनेर ल्याएका सबै माल र बस्तु घर ल्याईसकेपछि या कालान्तरमा मन पर्छ मै भन्ने हुन्न भौचर सुरक्षित राख्न सके निश्चित समयपछि त्यो मन नपरेको सामान माल जस्ताको तस्तै फर्काउन सकिन्छ। त्यो भनेकै आवधिक निर्वाचन हो । तर अधिनायकबादको चाहना राख्ने ट्रम्पले कैयन अन्तरवार्ता र आमसभाहरुमा आफुलाई यस पटक जिताए बारबार भोट हालिरहन पर्ने झमेलाबाट अमेरिकी जनतालाई मुक्ति दिने बताएका छन।

अमेरिकाका अगाडीका बाटा र दिनहरु सहज र सरल छैनन । तर अमेरिका र अमेरिकी जनताहरुले ईतिहासमा यो भन्दा कठिन दिनहरुको पनि सामना गरेका छन। यस पटकको ट्रम्पको जीत २००८ को ओबामाको जीतको स्वरुपसँग अनेक हिसाबले मिल्दछ। पपुलर भोटमा पनि ह्यारिस भन्दा ५ मिलियन मतले अगाडी छन भने सम्भवतः दुवै सदन ट्रम्प-रिपब्लिकनहरुको नियन्त्रणमा जानेछन। ओबामाले अमेरिकामा आमुल परिवर्तन गर्ने र गर्न सक्ने अवसरहरु गुमाए तर ट्रम्पले गमाउॅदैन भनेर भन्न थालेका छन उनका क्याम्पका कार्यकारी र राजनैतिक बिष्लेशकहरु।

सर्वसत्ताबादी अभिष्ट र तानाशाही प्रबृत्ति भएको डोनाल्ड जे ट्रम्पको हातमा यो र यस्तो स्तरको अथाह कार्यकारी र बिधायकी शक्ति हुनु भनेको एक्काईसौं शताब्दीको उदार लोकतान्त्रिक युग र विश्वका लागि खुसीको कुरो होइन । तथापि लोकतन्त्र र आवधिक चुनावमा बिश्वास गर्ने मानिसले अमेरिकी जनमतको उपल्लो सम्मान त गर्नै पर्दछ। (स्रोत-फेसबुक)

तपाइँको प्रतिक्रिया