अरे यार लाज महिलालाई मात्रै लाग्नुपर्ने ?
नेपाली शव्दकोश अनुसार लाज भन्नाले मान्यजनका सम्मुख पर्दा वा अनुचित कामकुरा, व्यवहार आदि भएको अनुभव गर्दा हुने धक वा संकोचलाई बुझिन्छ । यसको मतलव लाज मान्नको लागि केहि अनुचित व्यवहार वा कार्य भएको जस्तो आफूलाई लाग्नुपर्ने हुन्छ । तर नेपाली समाजमा लाज मान्नको लागि जबर्जस्ति महिलालाई दबाब दिने गरिन्छ । हरेक ठाउँमा लाजको डर देखाएर स्वतन्त्र बाँच्ने महिलाको चाहानालाई कुण्ठित गरिन्छ ।
केहि उदाहरण हेरौं, परिवारमा वा समाजमा हुने छलफलमा आफ्नो बिचार राख्नको लागि महिलाले लजाउनुपर्ने नैतिक नियम । हिँड्दा होन् या बोल्दा वा सार्वजनिक रुपमा कुनै कार्य गर्दा होस् अरुले के भन्लान् भनेर सदैव लाज मानिरहनुपर्ने ।
आफूलाई मन परेको लुगा लगाएर हिँड्दा लाज नभएकी भन्दै औंला उठाउने पनि यहि समाज हो । पूजाआजा र ध्यान ब्रतमा ध्यान नदिएर करियर अगाडी बढाउँदै गर्दापनि चरित्रमै प्रश्न उठाउने समाज पनि यहि । शिर झुकाएर लजाउँदै हिँड्ने बुहारी ठिक, घरको लाज जोगाउने बहानामा घरभित्रको हिंसापनि सहेरै बस्ने महिला सहि । परम्परा र संस्कृति जोगाउने र मनाउने निहुँमा पूजाआजामा ध्यान दिने महिला नै संस्कारी । आदि इत्यादी ।
केहि समय अगाडि अग्रजहरुको समुहमा मिसिएर झरना हेर्न गएका थियोैं हामी । माथिबाट रफ्तारले ढुंगामा खसेको पानीको छालले वातावरण रमाइलो बनाइरहेको थियो । कलकल बगेको चिसो पानीमा बेग्लै रोमाञ्चकता फैलिएको थियो । झरनामा केहि पुरुषहरु नुहाउँदै थिए । पानी छ्यापाछ्याप गरेर खेल्दै थिए । कट्टु मात्रै लगाएर उनीहरु निस्फक्री कुदिरहेका थिए । केहिले त धक नमानीकन कट्टु समेत फेर्दै थिए । झरनामुनी सुस्ताउँदै थियौं हामी । हाम्रै अगाडी छिल्लीनको लागी उनीहरुलाई न त लाज लागेको थियो न त न ढुंगामा बसेर लुगा फेर्नको लागि कुनै अफ्ठेरो ।
केहिबेर सुस्ताएपछि हामी झरनातिर अघि बढ्यौं । हतार हतार एक पुरुष मित्रले रोकिन आदेश दिए । किन भन्ने मेरो प्रश्नको जवाफ भने अजीवको थियो । उनले ‘केटाहरुले नुहाउँदै गरेको देखेकी छैनौ, अलिकती लाज लाग्दैन ?’ भन्दै प्रतिप्रश्न गरे । मित्रको कुरा सुन्दा यस्तो लाग्थ्यो की सार्वजनीक ठाउँ केटाहरुको पेवा हो । त्यहाँ उनीहरुले जे गरेपनि हुन्छ र महिलाहरुले पालो पर्खिएर बस्नुपर्छ । अझ भनौं, केटाहरुले लिङ्गको आकार नै देखिने लुगा लगाएर सार्वजनीक ठाउँमा निस्फिक्री नुहाउन पाउनुपर्छ । तर लाज चाहिँ हामी महिलालाई लाग्नुपर्छ । लाज मान्ने काम महिलाको हो । उनीहरुले देखाएको हर्कतमा हामी आफूले अनुचित काम गरे झैं लाज मान्नुपर्छ ।
उनको प्रतिवाद गर्दै साथी रमीतासँगै झरनामा पस्यौं हामी । हामी बेप्रवाहले पानीमा भिज्दै थियौं । झरनाको छाँगोमै गएर निथुक्क्र भिजीरहँदा खुसिले रमाएका थियौं । तर सँगै गएका पुरुष साथीले भने पानीमा भिजेर तल सरेको टिर्सटको गला र खुस्किएको टाँकतीर ध्यान दिएका थिए सायद । पटक पटक टाँक लगाउन आग्रह गरिरहेका थिए । टाँक खुस्किएकोमा लाज मान्न जोड दिइरहेका थिए । यस्तो लाग्थ्यो भिजेर शरिरमा टाँस्सिएको हाम्रो लुगा हेरेर लाज उनलाई लागेको थियो । पुरुषहरुको कट्टुमा असहज नमान्ने उनी हामीले पुरै लुगा लगाउँदा पनि हामीलाई रोकिरहेका थिए ।
यो त प्रतिनिधी घटना मात्रै हो । समाजका हरेक ठाउँमा महिलालाई लाज मान्नुपर्ने बस्तुको रुपमा चित्रण गरिन्छ । पाप लाग्छ भन्ने डर देखाएर जर्वजस्ती विभेदपूर्ण धार्मीक संस्कार मान्न लगाइन्छ । लाज मान्नुलाई महिलाको इज्जत र चरित्रसँग जोडेर हेर्ने गरिन्छ ।
प्रश्न यहाँनेर उठ्छ ? महिलाले आफूखुसि गरेको हरेक व्यवहारमा पुरुषलाई किन चासो हुन्छ ? महिलाले लगाएको लुगा देखेर पुरुषलाई किन रिस उठेको होला ? कुनै पनि महिला सार्वजनिक ठाउँमा खुलेर अगाडी आउन चाहन्छे भने यो उसको अधिकारको कुरा हो । उसले छोटो लुगा लगाएर हिँडोस् या सार्वजनीक झरनामा भिजेर रमाउने रहर यो नितान्त उसको व्यक्तिगत कुरा हो । पुरुषले हाप पेन्ट लगाएर गाउँ डुल्दा श्लिल ठानिन्छ । अन्डरवयर लगाएर स्विमिङ गरेको फोटो सामाजिक सञ्जालमा देख्दा सजिलै पचाइन्छ । महिलाका हरेक व्यवहारमा पुरुषको आँखाबाट उसको चरित्रमा सवाल उठाइनु गलत हैन र ?
प्राकृतिक रुपमा महिला र पुरुषको शारिरीक संरचना केहि फरक छ । फरक भएकै कारण लाज मान्नुपर्ने जिम्मा महिलाको मात्रै हो त ? प्रायजसो मदिरा पान गरेको, सार्वजनीक रुपमै चुरोट तानेको पुरुषको फोटो हेर्दा श्लिल ठान्ने हामी महिलाको सोहि व्यवहार देख्दा अश्लिल किन ठान्छौं ? एउटै व्यवहार पुरुषलाई छुट र महिलालाई बन्देज न्यायोचित हुनसक्छ ?
लाज मात्रै हैन पापको डर देखाएर महिलालाई क्रुर व्यवहार गर्ने समाज पनि यहि हो । श्रीमान मरेपछि श्रीमतीलाई जीउँदै चितामा जलाएर मार्ने संस्कार पनि यहि समाजमा थियो । आज पनि विधवालाई गर्ने व्यवहार कत्ति पनि बदलीएको छैन । मरेका श्रीमानले मुक्ति पाउँछन भन्ने बहानामा श्रीमतीको रातो रंगमा नै सम्वन्ध तोडिदिन्छ हाम्रो समाज । धर्मको कस्तो संस्कारलाई हामी बढावा दिइराखेका छौंत ? जहाँ श्रीमतीको मृत्यु भएमा श्रीमानले क्रियासमेत गर्नु नपर्ने तर श्रीमान मरेको खण्डमा श्रीमती आजन्म सेतो लगाएर हिँड्नुपर्ने ? मरीसकेका श्रीमानले मात्रै मुक्ति पाउनुपर्ने ? धर्म नमानेमा पाप महिलालाई मात्रै लाग्ने ?
धर्मका यस्तै अनेक चलनले गर्दा नै महिलालाई दोस्रो दर्जाको ठाउँमा राखिएको हो । बहाना पापको भिराइयोस या लाजको महिलालाई विभेद गर्ने कारण हो । पुरुषलाई स्वामी र महिलालाई पाउकी दासी समान हैसियतमा हेरिएपछि पुरुष आँखाले कहिल्यै पनि महिला समान स्थानमा उभिएको हेर्न चाहँदैन । राजनीतीमा समान उपस्थिती जनाएर पुरुष नेतृत्वलाई च्यालेन्ज गर्ने महिलाहरु हुन् या व्यावसाय हाँकेर सफल भएका महिला व्यावसायी हुन् पुरुषको यस्ता गलत नजरको सिकार हुने गरेका छन् । उनीहरु कहिँकतै पनि महिलालाई समान हैसियत दिनै चाहँदैनन् । यसैले पनि छोराको लागि बोर्डिङ स्कूल र महँगो कलेज खोज्ने बाबुले छोरीको शिक्षाको लागि सकभर लगानी गर्न चाहँदैन् । अर्कोको घर जाने जातको रुपमा छोरीलाई पालन पोषण गर्ने गरिन्छ । छोरी जन्मिएपछि मृत्युपर्यन्त पनि विभेदको सिकार भैरहन्छन् । अलिअलि उठेका महिलालाई पनि लाज र पापको भारी बोकाएर पछाडी पार्न खोजिन्छ ।
केहि समय अघि गायीका सोफिया थापाले अबको तीज नो ब्रत प्लिज वोलको गीत बजारमा ल्याएकी थिइन् । धर्मको बिरोध गरेको बहानामा गीत बज्नबाट बन्देज गरियो । उनलाई सार्वजनीक गाली गलौच गरियो । गीत बजारमा ल्याएको केहि दिन सम्म सोफियाले निकै दबाब सहनुपर्यो । यसले उनलाई मानसिक रुपमा विच्छिप्त नै बनायो । उनलाई गाली गर्ने, अश्लिल कमेन्ट गर्ने र इनबक्समै आएर दबाव दिनेहरु अधिकांश पुरुष थिए ।
तीज महिलाहरुको चाड हो । उनीहरुलाई जसरी मन लाग्छ मनाउन पाउँछन् । राम्रो श्रीमान पाइन्छ भन्ने बहानामा दिनभर भोकै नबसौं है भनेर सन्देशमुलक गीत गाउँदा पुरुषलाई नै टाउको किन दुख्यो त ? पक्कै पनि धर्मको नाउँमा महिलाले भोकै बसेर पूजा गर्ने, श्रीमानको खुट्टाको जल खाने गलत परम्परा बिरुद्ध कुनै महिलाले उठाएको आवाज उनीहरुलाई मन परेन । उनको गीतको शव्दले न त कुनै धर्मको विरोध गरेको थियो न त तीज मनाउन हुन्न भन्ने आसय राखेको थियो । गीतका विरुद्ध धार्मिक संघ संस्था लागे । धर्मलाई रक्षा गर्छु भनेर लागेका गुरुहरु लागे । अन्तत गीत प्रतिबन्ध गरियो ।
जब जब कुनै गलत संस्कार विरुद्ध महिलाले आवाज उठाउँछिन् अनी पुरुषलाई आफ्नो सत्ता हल्लिने डर हुन्छ । पुरुषहरु जुनसुकै बहानामा महिलामाथि शासन गर्न चाहिरहेकै हुन्छन् । अब समय बदलिएको छ । समाजका हरेक तह र तप्कामा महिलाले आफ्नो उपस्थिति देखाउन थालेका छन् । आफूलाई अल्झनमा पार्ने चलन र संस्कृतिलाई लत्याएर अघि बढ्दैछन् । मूख्य कुरा चुलाचौकाबाट फुत्किएर उनीहरु सरकार चलाउने हैसियतमा पुगिसकेका छन् । यसैले पनि विभिन्न बहानामा हामीमाथि लादिएका गलत चलनका बिरुद्ध उठ्न जरुरी नै छ । लाज मान्ने, पाप लाग्छ भनेर डर मानेर बस्नुको सट्टा करियर अगाडी बढाउन लागिपरे पक्कै पनि मुक्ति संभव छ । सत्कर्ममा खुलेर लागौं । पापको हिसाब किताब गर्दै गरौंला हुन्न र ?