बिहीबार, मंसिर ६, २०८१

पिउने केटो – २

कृष्ण शर्मा२०८१ साउन २७ गते १९:०३

हल्का पिएर ट्वीटर स्पेस छिरेको समयमा मन दंग परिरहेको हुन्छ। मनलाइ लाग्छ, पिउने केटो, अर्थात पिk, इज एट हिज बेस्ट। शरिर चंगा भएको हुन्छ। मुख मनको इमानदार नोकर बनेको हुन्छ। मनले भनेका कुराहरुलाइ उसले चुम्बकले जस्तै टिप्छ। तर उसले ति टिपेका सुचनालाइ दिमागको कार्यकक्षमा सम्पादन गर्न पठाउँदैन। सिधै मुखको स्टुडियोबाट हुबहु प्रत्यक्ष प्रसारण गरिदिन्छ। पिएका बखत मेरो मन र जिब्रो एउटै शब्द अनि संगीतमा १०,००० घण्टा अभ्यास गरेर पारंगत भएका पेशेवर नर्तक नर्तकीहरु जस्तै बेजोड सँग नाच्छन्। मस्तसँग नाच्छन्। दुनियाँ भुलेर नाच्छन्। दुनियाँ भुलाउन नाच्छन।

नपिएको बेला भने तिनिहरु एक आपसमा अन्जान जस्तै हुन्छन्। टाढाका नातेदार जस्तै। एकले अर्कोलाइ चिने चिने ऽऽऽऽ जस्ता लाग्ने । र खासमा राम्रो सँग नचिनेका। अथवा भनौं लामो समय रोमान्टीक रिलेसनमा रहे पछि तिक्तता बढेर छुटेका जोडी जस्ता। अथवा भनौं बिहे पछि कस्को घरवार राम्रो भन्ने अस्वस्थ तर अब्यक्त भुसको आगो जस्तो प्रतिस्पर्धा। स्वार्थ अनि इगोले भरिएका दुइ दिदी बहिनी जस्ता।

म सानो हुँदा मेरो मनले आफ्नो पक्षमा वकालत गर्न सक्दैनथ्यो। एक दाजु हुनुहुन्थ्यो जसले मलाइ बोल्यो कि पोल्यो बनाउनु हुन्थ्यो। हुँक्नु हुन्थ्यो। ठुँग्नु हुन्थ्यो। टोक्नु हुन्थ्यो। केहि बोल्यो कि बडो रुखो स्वरमा सबैको सामु भन्नुहुन्थ्यो, “किन बोल्नु पर्या होला, जान्ने भएर….मन बडो डरपोक थियो।

त्यतिबेलाका उहाँका कतिपय हुँकाइले मेरो कट्टु पिसावले भिजेको मैले आज पर्यन्त भुल्न सकेको छैन। उहाँलाइ टाढैबाट देख्यो कि सातो गए जस्तो हुन्थ्यो। डरको पहिरो खस्थ्यो। त्यस्तो स्थितीमा मनले भनेका सबै कुरा जिब्रोले टिप्न सक्दैनथ्यो। टिपे पनि धेरै जसो समय कुनै पनि कुराको जिम्मा नलिने गरि दिमाग तिर पठाइदिन्थ्यो। दिमागबाट शब्दहरू नपाउँदासम्म जिब्रोले “अनि”, “चाइने”, “त्यसपछि”, “के भन्दा खेरी” जस्ता समय भर्ने शब्दजाल बिच्छाएर सुन्नेहरू सबैलाइ अल्झाउनुपर्ने अवस्थाबाट गुज्रनु पर्थ्यो।

उहाँले सोधेका प्रश्नको जवाफ दिनु पर्दा त झन मेरा ओठ मात्रै होइन मुख सहित चिउँडो समेत थर्थर काँप्थे। म बबुरोको मनमा दब्बु स्वभावको बिकास भइसकेको थियो।

मैले डर र आफ्नो दब्बु स्वभावबाट छुटकारा पाउनको लागि सायद १६ नपुग्दै पिउन थालें। अंग्रेजीमा फरर बोल्न सकिन्छ रे भन्ने कुप्रचारको सिकार भएर पिउने क्रमलाइ निरन्तरता दिएँ । अहिले आएर ओल्ड ह्याविट्स डाइ हार्ड भइरहेछ। मैले पिउने लत छोड्न सकेको छैन। तर मलाइ मेरो यो बानी प्रति एक रत्ति गुनासो छैन। मैले मेरो पीडालाइ केही बेरकै लागि नै सहि तर भुलाउन चाहिँ सक्ने यो पिउने बानीलाइ भुल्न नपरे हुन्थ्यो जस्तो लाग्छ। मलाइ किन किन यो बानीको आफ्नै सपनाहरूको भन्दा पनि बढि माया लागेर आउँछ।

२०२४ फेब्रुअरि महिनाको एक चिसो साँझ । बाहिर कतै पिए पछि ट्वीटरको अन्तरिक्ष भित्र छिरेको मात्र के थिएँ अमेरिका बस्ने अमर दाजुले माथिबाट स्पिकरमा आउन निम्तो गर्नु भयो। केहिबेर अटेर गरेपछि त सबैको अगाडि आग्रह नै गर्नु भयो, “पिk जीले आज आफ्नो पहिलो प्रेमको बारेमा घाम पार्नु पर्यो। स्पेसमा फेब्रूवरी १४ को नशा लागेको समय थियो।

अमरजीको अनुरोधले करीव ३४ वर्ष अघि तानसेनमा आइ ए दोस्रो वर्ष पढ्दै गर्दा खेरिको मेरो एउटा एकतर्फि कुर्कुरे प्रेम प्रसंगलाइ एकाएक मनको सतहमा ल्याएर छोडिदियो। त्यो प्रेम यति छोटो तर मनलाइ हलुंगो पार्ने खालको थियो कि म तपाइँहरुलाइ नपिएर लेखेको बेलामा मैले न्यायसंगत रूपमा ब्यक्त गर्नै सक्दिन जस्तो लाग्छ।

उनलाइ मैले पहिलो पल्ट तानसेनको बस बिसौनीमा बुटवल जाने बस चढ्दै गरेको देखेको थिएँ। कलेज सकिए पछि शायद उनी साथीहरुसँग घर फर्किंदै थिइन। मैले साथीहरूसँग खाजामा मोमो, चुकाउनी अनि एउटा बियर पनि पिएको थिएँ कि जस्तो लाग्छ। ति युवती बिछट्टै राम्रो लाग्यो। एक सेकेण्ड पनि नसोची म पनि बस चढें। मलाइ लागेको थियो, उनि नजिकै कतै ओर्लिन्छिन। उनी बर्तुंगमा पनि ओर्लिनन्। पर्वासमा पनि ओर्लिनन्।

१४ किलोमिटर जति कुदे पछि बस दमकडामा रोकियो। उनी साथीहरूसँग बसबाट ओर्लिएर तेर्सो लागिन्। म ओर्लिएर त्यहीं एक्लै रोकिएँ। के गर्न सक्थें र? एउटा भुस्याहा कुकुर पुच्छर ठाडो बनाएर दौडिरहेको गाडिको पछि भुक्दै कुदे जस्तै आएको थिएँ। गाडि रोकिए पछि पुच्छर लुकाएर फर्कनुपर्ने कुकुरको जस्तो। वा सिसिफसको जस्तो नियतिलाइ दोष दिँदै घर फर्कने बाहेक अरु के विकल्प नै बाँकि थियो र मेरो?

बुटवलबाट तानसेन जाने बस नआउन्जेल उनि को होलिन, रमेशले उनलाइ चिनेको होला कि नहोला? उनको नाम के होला? क्याम्पसमा के विषय पढ्छिन होला? जस्ता कल्पनामा अल्झिरहें। बस चढे पछि पनि उनको त्यो फूल जस्तो सुन्दर अनुहार मेरो मनको आँखामा फक्रिरह्यो। बसबाट नओर्लंदासम्म मैले मनमनै ‘मुझे निंद न आए… मुझे चैन न आए … कोइ जाए जरा ढुंडके लाए….’ गुन्गुनाइरहें।

उनलाइ दोस्रो पटक पनि देख्न नपाई आफ्नो पहिलो प्रेमको निर्मम अन्त्य भए पछि म सँग दुख दबाउनुको बिकल्प थिएन। पिउने क्रमले थप निहुँ पाउनु थियो। पायो। नारायण गोपालको “एउटा मान्छेको मायाले कति… नामक गीतले थप एक डेडिकेटेड स्रोता पायो। पछि थाहा पाएँ, उनका हजरबुबाको देहान्त पछि सपरिवार नै कतै मधेशतिर बसाइ सरेकाले उनले तानसेन कलेजबाट स्थानान्तरण लिनु परेको रहेछ । मैले अमरजीको अनुरोधमा स्पेसमा त्यो प्रेमको चर्चा कसरि गरें मलाइ ठ्याक्कै याद छैन। तर अमर जीले सधैं त्यसलाइ पिक् को सर्बोत्कृष्ट अर्ग्यानिक प्रस्तुती भनेर आज पनि मलाइ सम्झाएर दंग पार्नु हुन्छ। कास, कसैले रेकर्ड गरिदिएको भए आज आफ्नै प्रस्तुती सुन्न निस्चय पनि रमाइलै हुन्थ्यो।

मलाइ थाहा छैन पहिलो प्रेममा धोखा खाएकाहरूले धोखा दिनेलाइ कसरि सम्झन्छन्। मलाइ यो पनि थाहा छैन, धोखा दिनेहरुले धोखा खानेहरुको बारेमा सोंच्छन होला या सोंच्दै सोंच्दैनन। तर म चाहिं यो मामिलामा लकि बास्टर्ड भएँ कि जस्तो लाग्छ। धोखा खाएर पनि गुनासो रहेन । किनकि उनले मैले माया गरेको थाहै पाइनन्। थाहा पाएर बेवास्ता गरेको भए शायद मनलाइ गाह्रो हुन्थ्यो होला कि ? शायद फ्रेडरिक निच सालोमीको लागि “लभ लोर्न” भए जस्तै पो हुन्थें कि? बहोशीमै लड्बडाएर पो मर्थें कि? तर मैले बाल्जाकले जस्तै उनलाइ वर्षौं कुरिन। चिठ्ठि पनि लेखिन। खोजि समेत गरिन।

समयले मेरो पहिलो एकतर्फि प्रेमलाइ चुपचाप एउटा खाल्डो खनेर कतै दफनाइदियो। मलाइ त्यो दफनाएको ठाउँको ठेगाना समेत दिएन। मलाइ फ्रान्ज काफ्काले जस्तो प्रेम गर्ने पात्रसँग परिवारका कारण मिलन हुन नसकेर तड्पिनु पनि परेन। तड्पिन नपरेकैले हुनुपर्छ बिना केहि आग्रह मेरो मन आज पर्यन्त त्यो अनौठो परिस्थितीको अचम्म पर्ने एक्लो बस यात्रा सम्झन्छ। सम्झिरहन्छ।

के भन्नु भो?

ए, आजकल?
आजकल मलाइ लाग्छ, म प्रेमलाइ अन्तरमनले हेर्छु र मुसुक्क हाँस्नसम्म सकेको छु।

हो, फिस्स हाँस्नसम्म सकेको छु।

किनकि मैले आजकल सार्त्रको ‘नो एक्जिट’ लाइ पुनः पढिरहेको छु। ‘हेल इज अदर पिपल’ को अर्को अर्थ खोजिरहेको छु।

तपाइँको प्रतिक्रिया