आइतबार, भदौ १, २०८२

बिपी किन गणतन्त्रवादी भएनन् ?

सरोज बराल२०८१ चैत १६ गते ०:५०

बिपि कोइराला दुई तिहाइ बहुमत सहित प्रधानमन्त्री थिए । उनलाई गिरफ्तार गरियो । संसद विघटन गरियो । उनको मन्त्रीपरिषदका हरेक मन्त्रीहरु गिरफ्तारीमा परे । उनलाई जेल हालियो । निर्वासित जीवन जिउन बाध्य पारियो । राजतन्त्रबाट धेरै अन्यायमा कोही परेको थियो भने त्यो बिपि कोइराला नै थिए । तर उनी किन गणतन्त्रवादी भएनन् ? किन उनले राष्ट्र जोगाउने हो भने राजा जोगाउनुपर्छ भनिरहे ?

जब सिक्किममा निर्वाचित सरकार बन्यो सिक्किम सरकारको नेतृत्व गरेका थिए लेण्डुप दोर्जेले । प्रधानमन्त्री लेण्डुप दोर्जेको अत्याधिक बहुमत थियो । उनैको सरकार रहेको बखत संसदको दुई तिहाइ बहुमतको निर्णय अनुसार सिक्किमलाई भारतमा विलय गराइयो । यो नियालिरहेका बिपि कोइराला “राष्ट्रिय मेलमिलापको नीति” लिएर नेपाल फर्किए ।

त्यतिबेला बिपिलाई मृत्युदण्डको माग सहित राजद्रोहको मुद्दा चलिरहेको थियो । भारतले उनलाई राष्ट्रपती बनाइदिने प्रस्ताव राख्दा समेत केही निर्णय नदिइ, केही नभनी उनी आएका थिए । बिपिको भनाइ थियो, “यत्रो लामो ईतिहास रहेको राजतन्त्र हटाएर आफूलाई राष्ट्रपति बनाइदिन्छु भन्ने भारतले उसैले बनाएको राष्ट्रपति हटाउन कति समय लगाउला ?” नेपालको राजनैतिक इतिहासलाई नियाल्ने हो भने राजाबाट बिपि कोइरालाले जति धेरै दु:ख कसैले पनि पाएको थिएन र छैन पनि । उनी आफ्नो अन्तिम समयसम्म पनि राजतन्त्रको पक्षमा रहिरहे । उनले स्पष्ट भनेका छन् “राजा नरहे यो राष्ट्र पनि रहँदैन ।” उनले बुझेका थिए, जतिसुकै राष्ट्रवादका नारा फलाकेपनि देशभित्र कुनै न कुनै लेण्डुप निस्कनेछ र त्यही लेण्डुपले राष्ट्रलाई भारतमा विलय गराउने बाटो बनाउनेछ । नेपालमा पनि राष्ट्रवादको नाममा धेरै लेण्डुपहरु देखापर्न थालेका छन् ।

नेपालमा हालसम्म रहेका नेताहरुले राष्ट्रको इज्जत र गरिमालाई पातमा राखेर विदेशीका सामु बुझाउने काम गरिरहेकै छन् । प्रभुहरुको पाउमा लम्पसार पर्ने गरेको प्रष्ट देखिंदै आएको छ । आफूलाई अर्को देशको समकक्षी देखाउन सकेका छैनन् । आफ्नो राजनैतिक धरातललाई बिर्सिएर एउटा सहसचिव स्तरको राजदुतलाई भेट्न लुकिलुकी जाने गरेको तथ्य कसै सामु छुपेको छैन ।

आफूलाई यो देशको प्रधानमन्त्री ठान्ने र भन्नेहरुले नै आफ्नो प्रोटोकल बिर्सिएर अर्को देशमा जान पाउँदा पनि प्रफुल्ल हुने गरेको देखिन्छ । उनीहरुलाई लिन एयरपोर्टमा जोसुकै किन नआओस्, आफूलाई भाग्यशाली ठान्ने गरेका छन् । राजालाई मात्र राजा रहिरहनको लागि देश चाहिंदो रहेछ । अन्य दलहरुको हैसियत भनेको कुनै भारतिय राज्यको मुख्यमन्त्रीको जत्ति पनि छैन र हुँदैन रहेछ । दलका नेताहरुलाई देश रहेपनि हैसियत मुख्यमन्त्री र देश नरहेपनि मुख्यमन्त्री नै हुने हो भने जनताले राजतन्त्र नै ठिक भनेर गणतन्त्रको विरुद्ध आन्दोलन गर्नु भनेको राष्ट्रको सार्वभौमिकताको सुरक्षा गर्नु हो भन्न सकिन्छ । सार्वभौमिकताको सुरक्षा गर्न गरिएको आन्दोलन प्रतिगमन हुनै सक्दैन ।

नेपाली कांग्रेसले बिपि कोइरालालाई महामानव भन्ने गरेको छ । अहिले पनि बिपिको सपना भनेर उनको नाम जप्न छाडेको छैन । बिपिको बिपनालाई नै कुठाराघात गर्दै गएको नेपाली कांग्रेसबाट बिपिको सपना साकार पार्ने काम कसरी हुनसक्ला र ? बिपि कोइरालाले राजा बिनाको नेपालको कल्पना पनि कतै गरेका थिएनन् । राष्ट्रिय मेलमिलापको नीति अन्तर्गत उनले राजासँग नै मिल्नुपर्ने तर्क गरेका थिए । उनी अरुसँग मिल्न नेपाल फर्किएका थिएनन् । फर्कने बित्तिकै उनलाई एअरपोर्टबाटै गिरफ्तार गरिएको थियो । मृत्युदण्ड हुनसक्ने संभावना हुँदाहुँदै उनी किन राजासँग मिल्नुपर्छ भन्ने नितिमा थिए ? आजको कांग्रेसले यत्ति कुरा नबुझ्नाले नै नेपालले अहिलेको संकट भोग्नुपरिरहेको छ । यस्तै अवस्था रहिरहने हो भने निकट भविष्य मै नेपाली कांग्रेसले नेपाल प्रजापरिषदको नियती भोग्नु नपर्ला भन्न सकिन्न ।

तपाइँको प्रतिक्रिया