आकाश त सम्हाल !
बैंश ढल्नु अघि यात्रा गर्दा गाडी गुड्यो कि झुल्यो हुन्थ्यो। निद्राले अंगालोमा झप्कि दिइहाल्थ्यो। बाटो सजिलै कट्थ्यो। भन्छन् नीः त्यो उमेरमा ढुंगा पनि पच्थ्यो।
ढल्कँदो उमेरले निद्रा खोस्दो रहेछ। आजकाल निद्रालाई छोप्न मर्नु पर्छ। उमेर चढ्दै गएपछि यात्रा पट्यारिला लाग्छन्। गाडी गुड्न वा जहाज उड्न मात्रै के लागेको हुन्छ ‘अब त गन्तव्य आइदिए हुन्थ्यो’ जस्तो लाग्छ।
जुनको पहिलो आइतवार पूर्वी युरोपतिर जाँदै थिएँ। सात घण्टा भन्दा लामो ट्रान्स-एटलान्टिक यात्रा नसुतेरै कटेको थियो। त्यसपछि जर्मनी, अस्ट्रिया अनि पोल्यान्ड हुँदै युक्रेनको पश्चिमी सीमासम्म रेलमा गुड्दा गुड्दा मेरो लुखुरे शरीर थाकेर लखतरान परिसकेको थियो। तर आँखा भने नयाँ ठाँउ हेर्ने जिज्ञासाले गर्दा चनाखै थिए। पूर्वी युरोपको जीवनशैली, कला, संस्कृति, जमिन, शहर, बजार कस्तो रहेछ भन्ने कौतुहलता मनमा रहने नै भयो। शहर, गाउँ, वन पाखा सबै एकै पटकमा नजिकैबाट देख्न पाइने भएकोले सरसर्ती अवलोकन गरेर मात्र पनि कुनै देशको समग्र प्रगतिको सिंहावलोकन गर्न रेल यात्रा गजबको उपाय हो जस्तो लाग्छ मलाई।
करिब पच्चिस वर्ष अगाडी भारतको गोरखपुरबाट मदुरई शहर पुग्नको लागि रेलको यात्रा गर्ने अवसर मिलेको थियो। त्यो यात्रा सम्झन योग्य किन थियो भने उत्तर प्रदेशबाट मध्य प्रदेश हुँदै जति जति रेल दक्षिणतिर पुग्थ्यो त्यही रेल चुस्त, दुरुस्त र सफा देखिँदै गइरहेको हुन्थ्यो। म जस्तो समाजशास्त्रमा रुचि राख्नेहरूको लागि एउटै रेल बदलिँदा यात्री र उनीहरूको भिन्न भिन्न रहनसहन अनि सभ्यताका कारण फरक महसुस हुनु अचम्म लाग्दो कुरा थियो।
अब फेरि पूर्वी युरोप तिरै फर्कौं।
राजधानी शहर वार्साबाट पोल्याण्डको क्राको शहर अनि युक्रेनसँगको सिमानामा अवस्थित जेमिज शहर हुँदै किभ पुग्ने स्लीपर कारमा चढेपछि मैले निक्कै निदाउने कोशिश गरेँ। रातिमा यसै पनि बाहिर केही नदेखिने भएकोले कौतहलता रहँदैनथ्यो र शायद म निदाउँथे होला पनि। युक्रेन छिरेको आधा घण्टामै जब रेल लभिव क्षेत्रमा प्रवेश गरेको मात्र के थियो, एयर एलर्टको सुचना आयो। राजधानी शहर किभ, लभिव अनि ओडेसा क्षेत्रमा रुसले रातिमा भिषण हवाइ आक्रमण गरिरहेको रहेछ। रेल बाटोमै रोकियो।
वास्तवमा शान्तसँग रोकिएको रेलमा मीठो निद्रा लाग्नु पर्ने थियो। तर म रेलको त्यो आरामदायी बिछौनामा पनि निदाउन सकिनँ। दिमागमा विचारका रेलहरू बिना लिक, बिना दिशा, बेरोकटोक बिना लगामको घोडा जस्तै दौडिरहे।
विशेष गरेर दुई तीन वटा कुराले मलाई रातभर सताए। रातको पहिलो प्रहरमा दिनभरि आफू गुडेको ठाउँ र बाटाहरू सम्झेँ। “कतै दशकौं पहिले हिटलरले जर्मनीबाट लखेटेपछि यहुदीहरू मैले भर्खर मात्रै तय गरेको बाटो हुँदै पूर्वी पोल्याण्डको “मैदान” मा आएका त थिएनन्?”, मैले आफैलाई सोधेँ। मलाई अलि अलि थाहा छ इतिहासले हुलका हुल यहुदीहरू जर्मनीबाट हंगेरी हुँदै पोल्याण्ड पुगेको कुरा गर्छ। “तर इतिहासले सबै कुरा कसरी समेट्न सक्छ होला र? केही यहुदीहरू जर्मनीबाट सिधै पोल्याण्ड छिरेर समतल यात्रा तय गरेका पनि त थिए होला नि”। थाहा छैन मैले किन उनीहरूको दुखदायी यात्राको बारेमा अड्कल काट्दै थिएँ। म फेरि त्यो इतिहासको अर्को खण्ड सम्झन्छु जसमा लामो यात्रा तय गरेर मैदानमा सुरक्षित महसुस गर्न नपाउँदै हिटलरका मानिसहरू आएर त्यहीँ उनीहरूको सफाया गरिरहेका हुन्छन्। इतिहासकारहरूका अनुसार, पोल्याण्डमा रहेका करिब ८० प्रतिशत यहुदीहरूलाई हिटलरका मानिसले बडो बीभत्स तरिकाले मारेका थिए।
रातको दोस्रो प्रहरमा युद्ध जितेपछि पनि मानिस किन शान्त हुन सक्दैन होला भनेर सोची बसेँ। शीत यद्ध र पूर्वी युरोपका छरपष्ट कथा याद आए। तर ति सबै यादहरू त्यो थकित मध्य रातका लागि एकदमै अनावश्यक थिए। मलाई थाहा छैन यस्तै कथालाई मनले किन प्राथमिकतामा राखेर सम्झ्यो।
रातको तेस्रो प्रहर मैले मेरो आफ्नै जीवनले भोगेका कुराहरूको बारेमा सोच्दै गर्दा कट्यो। त्यो सोच पनि छिप्पिन आँटेको निर्जन रातलाई आवश्यक चाहिँ थिएन। तर मनको अगाडि मेरो के नै चल्थ्यो र?
२०१८ देखि २०२५ सम्मको ७ वर्षे अवधिमा मैले संसारका दुई ठूला युद्धभूमिमा शक्ति राष्ट्रहरूले अँगालेका युद्ध रणनीतिलाई एकदमै नजिकबाट नियाल्ने मौका पाएँ। प्रविधिको सहयोगमा युद्ध गर्ने तरिका बदलिँदा समय कसरी तरंगित हुन्छ अनि आम जीवन कसरी प्रभावित हुन्छ भन्ने कुरा प्रत्यक्ष रूपमा भोग्ने अवसर समेत पाएँ।
एउटा दृष्तान्टः सन् २०१८ मा अफगानिस्तानको राजधानीमा अमेरिकी कुटनीतिक समुदायको सदस्यको रूपमा जाँदा हमिद कार्जाइ अन्तरराष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लेपछि हामीलाई काबुलको एक मात्र विमानस्थलबाट सुरक्षाकर्मीले सिधै हेलिकप्टर चढाएर नेटोको हेलिप्याडमा झार्थे । त्यहाँबाट सँगै जोडिएको दूतावासमा पुर्याउँथे। संभावित बाटोमा बिच्छाईएका भूमिगत विस्फोटक पदार्थ पड्किएर ज्यान जाला वा आतंककारीले कारलाई नै बम बनाई ठोक्काएर मार्लान्, वा सडक किनार ठडिएको कुनै घरको झ्यालमा लुकेर तालीवानले एके-४७ को निशानामा पार्लान् भन्ने डरले होला ।
दोस्रो दृष्तान्टः काबुल छोडेको करिब पाँच वर्षपछि म पूर्वी युरोपको युद्धग्रस्त युक्रेनको किभ स्थित अमेरिकी दूतावासमा छोटो समयको लागि नयाँ जिम्मेवारी लिएर जाँदै गर्दा बिल्कुल विपरीत सुरक्षा अवस्था थियो। सिंगो युक्रेनको आकाशमा यदाकदा सेनाका जहाज अनि हेलिकप्टर बाहेक अन्य सबै उडानलाई सुरक्षाका कारण प्रतिबन्ध लगाइएकोले रेलमा जानु परेको थियो।
पहिले पनि युद्धहरू आकाशमा नभएका होइनन्। तर जमिनमा लडेर भुभाग कब्जा गर्नको लागि आकाशबाट सहायता हुने गर्थे। अफगानिस्तानमा तत्कालिन सोभियत संघले अँगालेको आकाश युद्धलाई अफगानीहरूले जमिनबाटै तहस नहस तुल्याई दिएपछि बाध्य भएर फर्कनु परेको समय अब उस्तै रहेन। अब आकाश जसको जमिन पनि उसैको भन्नु पर्ने समय आयो।
त्यसैले युक्रेनले “लेट्स होल्ड आवर स्काइ फर अ भिक्ट्रि” अर्थात, ‘जीतको लागि हाम्रो आकाश सम्हालौँ ‘ भन्ने नारा नै राखेको छ।
अब आकाश साझा रहेन। गत महिना मात्रै इजराइल र इरानका कारण मध्य पूर्वको आकाशमा युद्ध मडारिँदा हजारौँ हवाइजहाजले उडान भर्न पाएनन्। पहिले जमिन आफ्नो भए पनि त्यसमाथिको आकाश सबैको हुन्थ्यो। अब आकाशमा सीमारेखा खिचिएका छन् र ति सीमारेखाको रक्षाको लागि देशहरू लडिरहेका छन्। मानिसहरू जमिनमा मरिरहेका छन्।
एकदिन कामबाट निवास फर्कदै थिएँ। मलाई छोड्नको लागि खटाइएका स्थानीय युक्रेनी चालकले एउटा छोटो कविता सुनाए। अनि त्यसको हल्का अंग्रेजी अनुवाद पनि गरे। मैले सम्झन सके अनुसार त्यस कविताको सार यस्तो थियोः
जमिन ठूलो कुरा होइन
बाँडिएकै हुन्छ।
घर पनि ठूलो कुरा होइन
भाँडिएकै हुन्छ।
व्यवहार पनि ठूलो कुरा होइन
धानिएकै हुन्छ।
बस्ती पनि त्यस्तै हुन्
मासिएकै हुन्छन्।
जंगल फाँडिएकै हुन्छ।
खोला नदी मिचिएकै हुन्छ।
स्रोत सबै चोरिएकै हुन्छन।
तर गन्न नसकिए पनि
नातीलाई तारा देखाउनको लागि
युक्रेनी आकाशलाई बाँडिन नदेऊ।
मर तर नाती नातीनाका लागि
त्यो आकाशको रक्षा गर।
उनले मलाई निवास अगाडि छोड्न नपाउँदै एयर एलर्ट बज्यो। हामी दुबै निवासको तल बेसमेन्टमा छिर्यौं। “अल क्लियर” को सन्देश नआउँदा सम्म गफ गर्यौं। दुई भाषा र दुई पुस्ताले कसरी देश बुझेनन् भनेर उनले गरेको चिन्ता जायज थियो। “युक्रेन” शब्दको लाक्षणिक अर्थ “मझदारको देश” भन्ने हुंदोरहेछ। युरोप र पूर्वी एशियाको सामरिक सिमानामा युगौं देखि शक्तिको शिकार भइरहेको यो देशको पिडा बुझ्न सजिलो पनि रहेनछ। एयर अलर्ट अल क्लियरको सन्देश आएपछि उनी घर गए। उनी हिँडेपछि मैले उनको पूरा कविता सम्झने असफल कोशिश गरिरहेको छु। चढ्दो उमेरले निद्रा मात्र होइन यादका धर्सा समेत खोस्दो रहेछ ।