मंगलबार, वैशाख १८, २०८१

सिमसारका पानी चरा गन्न खटिए चराविद

योगेश अधिकारी / सौराहा२०७७ पुष २६ गते १६:५६

सिमसार क्षेत्रमा पाइने चरा गन्न चितवनका विभिन्न क्षेत्रमा चराविद, पन्छी अवलोकनकर्ताहरु जुटेका छन् । तिनले पाँच दिनसम्म चितवनका तालतलैया, खोला, नहर, धाप, पोखरी, जलाशय आदि क्षेत्रमा पुगेर पानी र सिमसारमा रमाउने चराहरुको गणना गर्ने छन् । त्यसकालागि बिभिन्न टोलीलाई फरक फरक ठाउँ र क्षेत्रका चरा अवलोकनको जिम्मा दिईएको छ ।

बिश्वमा भएका सिमसार तथा सिमसारमा आश्रीत पन्छीहरुको अवस्था पत्ता लगाउने र त्यसै तथ्यांकको आधारमा संरक्षणको रणनिती बनाउने गरिन्छ । त्यहि उद्देश्यसाथ सन् १९६७ बाट अन्तर्राष्ट्रीय रुपमा गरिँदै आएको जलपन्छी गणनाको ५४ औ संस्करण आजै आइतवारबाट चितवनमा शुरु भएको छ । बर्ड एजुकेशन सोसाईटी चितवन सौराहाको संयोजनमा सोसाइटीका सदस्यहरुको सहभागितामा यो कार्यक्रम शुरुवात भएको हो । त्यसको लागि स्थानिय रुपमा ब्यापक जनसहभागिता जुटाउन र जनचेतना जगाउने उद्देश्यले स्थानिय वनका पदाधिकारी, स्थानिय संघ संस्थाका प्रतिनिधी, पत्रकार, सोसाईटीका सदस्यबिच गत पौष २४ गते अन्तर्क्रिया गरिएको थियो ।

सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीको प्रमुख आथित्यमा जलपन्छी गणनाको उद्घाटन तथा अन्तर्क्रिया कार्यक्रम सोसाईटीका अध्यक्ष रमेश चौधरीको सभापतित्वमा भएको थियो । सोसाईटीले आफ्नो स्थापनाकाल देखिनै संचालन गर्दे आएको यो गणना कार्यक्रम आज देखि ५ दिन सम्म चल्ने छ ।

एशियन वाटर वर्ड्स सेन्ससका नामले अन्तर्राष्ट्रीय रुपमा परिचित सन् २०२१ को यो गणनाका लागि नेपालको संयोजकको भूमिकामा हिमालय नेचरका प्रमुख डा. हेमसागर बराल छन् । चितवनको संयोजन भने बर्ड एजुकेशन सोसाइटिलाई जिम्मा दिईएको छ । यसको लागि सोसाईटिका तर्फबाट सोसाईटिका आजिवन सदस्य टिका गिरीको संयोजनमा ९ सदस्य छन् । सोसाईटीका अध्यक्ष रमेश चौधरी, पूब अध्यक्षहरु बासु बिडारी र टेक बहादुर गुरुङ, सोसाईटीका पूर्वान्चल संयोजक बद्री चौधरी तथा सोसाईटीका सदस्य दिनेश गिरी, अनिल गुरुङ, राम कृष्ण चौधरी र बिष्णु महत्तो छन् ।

यहि टोलीको नेतृत्वमा सोसाईटिका सदस्यहरुलाई परिचालन गरी आज पौष २६ देखि माघ १ सम्म चितवनका बिभिन्न सिमसारहरुमा जलपन्छीहरुको गणना गरिने छ । आज पहिलो दिन भण्डारादेखि जिम्दगानी घाटसम्म बद्री चौधरी, बिष्णु महतो, रामकृष्ण महतोको नेतृत्वमा, जिम्दगानी घाटदेखि सौराहासम्म टिकाराम गिरी, टेक बहादुर गुरुङ, अनिल कुमार गुरुङको नेतृत्वमा, सौराहा देखि कसरा लामीताल तथा तमरतालसम्म रमेश चौधरी, बासु बिडारी, दिनेश गिरीको नेतृत्वमा जलपन्छी गणना भएको छ । कार्यक्रममा सोसाईटीका पूर्ब अध्यक्षहरु लगायत आजिवन सदस्य, साधारण सदस्य, पत्रकार तथा फोटोग्राफर सहित ६० जनाको सहभागिता थियो । सहभागीहरुले पैदल, जिप र डुंगाको सहायताले राप्ती नदी लगायत यस आसपासका सिमसार क्षेत्रमा जलपन्छी गणना गरे ।

यसरिनै भोली पौष २७ गते रमेश चौधरी, बासु बिडारी र दिनेश गिरीको नेतृत्वमा बुढी राप्ती नदी; टिकाराम गिरी, टेक बहादुर गुरुङ र अनिल गुरुङको नेतृत्वमा ढुंग्रे खोला; बद्री चौधरी, बिष्णु महतो र रामकृष्ण महतोको नेतृत्वमा पटना तालमा जलपन्छी गणना गरिने कार्यक्रम छ ।

यसरी नै पौष २८, २९ र माघ १ गते सोसाईटीका सभापति रमेश चौधरीको नेतृत्वमा क्रमश दिब्यनगर र यसका आसपास, बिसहजारी ताल र माडी क्षेत्र, रियुखोला हुँदै सौराहा क्षेत्रको गणना हुने छ । यस कार्यक्रमबाट जलपन्छी गणना गरि यसको तथ्यांक तथा प्रतिवेदन संबन्धित निकायमा पुर्याईने बर्ड एजुकेशन सोसाईटीका अध्यक्ष रमेश चौधरीले बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक