हामी भन्दा साना कसरि ठूला ? हामी कसरी साना ?
एकपटक कामको सिलसिलामा एउटा नेपाली भाईले डेनिस साथीसँग चिनजान गर्नेक्रममा आफ्नो परिचय खुलाए । परिचय दिँदा ‘आफू सानो देश नेपालबाट अध्ययनको लागि डेनमार्क आएको’ बताए । जबकि भौगोलिक आकार र जनसंख्याको आधारमा नेपाल भन्दा डेनमार्क धेरै नै सानो छ । यो कुराले मेरो मनमा एउटा प्रश्न तेर्सियो – हामी कसरी साना ?
आज संसार २०२१ नजिक छ भने हामी २०७७ मा छौं । संवतका हिसाबले हामी संसारभन्दा ५७ वर्ष अगाडि छौं । संसारका आठ हजार मिटर अग्ला १० हिमालहरुमा सात वटा त नेपालमै पर्छ । सगरमाथा संसारका सामु सधैँ हाम्रो गर्वको नाम हो । नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ । जाती, भाषा, भेषभुषा, धर्म, संस्कृति र संम्पदामा हामीले विश्वलाई दिने कुरा धेरै छ । जलश्रोत, जडिबुटी र भौगोलिक हिसाबले हामी धेरै अगाडि छौं । बुद्द र बौद्ध धर्मको देन हाम्रै देश नेपाल हो । जनसंख्याका आधारमा हामी संसारका मुलुकहरुमा ४८ औं स्थानमा छौं । २५० वर्ष अगाडि अमेरिका भन्ने देश स्वतन्त्र नहुँदा हाम्रो पाटनको कृष्ण मन्दिर र वसन्तपुरको हनुमान ढोकाको परिचय बनिसकेको थियो । आज भन्दा ६ सय वर्ष अगाडि नै अरनिको हाम्रो परिचय बनेका थिए । तरपनि हाम्रो सोच नै सानो हो कि ? वा ठूलो भएपनि सानो भन्ने लागेको हो ?
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका बेला टुक्राटुक्रामा विभाजित जर्मनी र ईटाली सय वर्ष पछि एकीकृत भएका थिए । नेपाल एकिकरणको लगभग १०० वर्षपछि आधुनिक जापान बनेको थियो । नेपाल एकिकरण हुनुभन्दा २०-२५ वर्षपछि मात्र अमेरिका बेलायत उपनिवेशबाट स्वतन्त्र हुन सकेको थियो । तैपनि विश्वसामु नेपाल कसरि सानो ?
हुनत नेपाल एकीकरण पश्चात पृथ्वीनारायण शाहले नै नेपाललाई दुई ढुङ्गा बिचको तरुल भनेर भारत र चीनसँगको दाँजोमा देशवासीका दिमागमा (सानो) क्षुब्द परिचय हालिदिएका थिए । त्यसै बेलादेखि नै हामी नेपालीले आफूलाई सानो बनायौं । विदेशीलाई पनि आफू सानो भएको सुनायौं । संसारले नै हामीलाई सानो भन्यो । हामीले आफ्नो काम, उन्नति, प्रगतिलाई पनि सानोमा अथवा थोरैमा सिमित राख्यौं ।
समाजमा आँखा लाग्ने वा नजर लाग्ने डरले हामीले सबैकुरा सानो भनेर संकुचित मनस्थिति बोकेका हौं कि ? १० करोड रुपियाँ मूल्य पर्ने घर बनाए पनि ‘सानो कुटि बनाएँ’ भन्छौं । जागीरलाई सानो देख्ने, जग्गा किने पनि सानो टुक्रा जग्गा किनें भन्ने । सानो शब्दलाई यत्रतत्र प्रयोग गर्छौं । सानो घर, सानो गाडि, सानो व्यापार, सानो कम्पनी, सानो रेष्टुरेन्ट । हुँदाहुँदा मठ मन्दिरमा गएर वर माग्दा समेत सानो जागिर होस्, सानो घर होस्, सानो व्यापार होस् भनेर सानो कुरामै सीमित राख्छौं ।
हिजो राणाकालमा जनताको केही प्रगति देखियो अथवा ठूलो देखियो कि राणाहरुले कब्जा गर्थे अथवा खोस्थे भनेर राम्रो कुरा लुकाउने प्रचलन थियो । त्यो कुराले पछिसम्म पनि जनतामा प्रभाव पर्यो भन्ने मान्यता अग्रजहरु बेला बेलामा सुनाउने गर्थे । पछिल्लो द्वन्द कालमापनि चन्दा आतंकले गर्दा त्यसको अलि अलि प्रभाव परेको देखियो ।
ईतिहास पल्टाउँदा श्री ३ जंगबहादुर राणा बेलायत भ्रमणमा जाने बेलामा बेलायती दूतसँग मलाई कति तोपको सलामि दिनुहुन्छ भनी प्रश्न गरेछन् । दुतले जवाफ दिए ‘भारतका कार्यकारी बेलायत भ्रमणमा जाँदा ६-७ तोपको सलामी दिने चलन छ । तपाईंलाई पनि त्यति नै दिन्छौं ।’ यो कुरा सुनेर जंगबहादुरले कड्किएर जवाफ दिएछन् – ‘म एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँ । तिमीहरुको उपनिवेशको एउटा पुतली प्रमुख होईन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न ।’ पछि बेलायतले उनलाई सम्मानकासाथ निम्ता दिई बेलायत भ्रमणका क्रममा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारीको हैसियतमा राजकिय सम्मान दियो ।
यात्राकै क्रममा उनलाई बेलायत सरकारले १७ लाख पाउन्ड अनुदान दिँदा उनले “हामी सनातन धर्म मान्ने ठूलो र फराकिलो छाति भएको नेपाली लिने होईन, दिने जात हो” भनेर अनुदान लिन मानेनन् । भनिन्छ, त्यतिबेला बेलायतबाट फर्किदा जंगबहादुरलाई हेर्न भारतमा ३ लाख भन्दा बढि मान्छे जम्मा भएका थिए । त्यतिबेला नै जंगबहादुरले त्यसरि आफ्नो परिचय ठूलो बनाएका थिए ।
राजा महेन्द्रको १९६० को बेलायत भ्रमण र १९६७ को अमेरिका भ्रमणले संसारका मुलुकले नेपाल देशलाई चिन्ने मौका पाएका थिए । नेपालमा वर्ल्डकप फुटबल टिभिमा हेर्न सुरु भएपछि मात्र हाम्रो पुस्ताले भुगोल सिक्ने अलिकति मौका पायो । विदेशीनेको संख्या फाट्टफुट्ट हुन्थे भने अन्तर्रास्ट्रिय पत्रपत्रिका पढ्ने बानी धेरै कम थियो ।
वर्ल्डकप फुटबल खेल्ने देशहरु ठूला होलान् जस्तो लाग्थ्यो । पछि थाहा भयो, १९७८ मा वल्डकप फाईनल र १९९८ मा वल्डकप क्वाटरफाइनल खेल्ने देश हल्यान्ड (नेदरल्यान्ड) नेपालभन्दा आकारमा एक तिहाई र जनसंख्याका हिसाबले झन्डै दुई तिहाई सानो रहेछ ।
युरोपका धेरै देशहरु आकारमा र जनसंख्याका आधारमा नेपालभन्दा साना छन् । डेनमार्क जस्तो सानो युरोपियन मुलुकले विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
नेपालमा हरेकले स्विट्जरल्यान्डको अति चर्चा गर्छन् । तर धेरैलाई थाहा छैन कि यो देश नेपालको एक तिहाई जत्रो मात्र छ । आकारमा भुटान जत्रो । धेरै खाडी मुलुक नेपालभन्दा आकार र जनसंख्यामा साना छन् । तर उनीहरुको प्रगति र विकास नेपालको भन्दा कयौं गुणा अगाडि छन् । खाडी मुलुक कतार नेपालभन्दा धेरै सानो छ । तर यसले गरेको प्रगति संसारकै अब्बल देशहरु बराबर छ । भुटानको जति जनसंख्या छ त्यति जनसंख्याका नेपाली मात्र कतारमा श्रमिकको रुपमा काम गरिरहेका छन् । हाम्रो देश आकार र जनसंख्याका आधारमा ठूलो भएपनि अन्य मुलुक बराबर आर्थिक तथा सामाजिक रुपमा प्रगति गर्न नसक्नुको कारणले सधैँ सानो मुलुकको रुपमा खुम्चिनुपर्यो ।
विश्वयुद्दले तहसनहस गरेका मुलुक जापान, अमेरिका लगायत युरोपका देशहरुले निकै छोटो अवधिमा आर्थिक तथा सामाजिक रुपमै निकै प्रगति गरेका थिए । ५० वर्ष अगाडि चीन, भारत, मलेसिया, कोरिया, ताईवान चरम गरिबीको अवस्थामा थिए । तर बिस्तारै आज आएर उनिहरु आर्थिक र समाजिक रुपमा संसारकै अब्बल मुलुकमा पर्छन् । यी मुलुकले आर्थिक उन्नतिका आधारहरु तयार गरे । उनीहरूले राजनीतिक स्थायित्व र जवाफदेही सरकार तयार गरे । कानुनी शासनलाई बढावा दिए जसले शुसासनलाई सुनिश्चित गरि भ्रष्टाचार र दन्डहिनतालाई न्युननिकरण गर्यो । देशभित्रै कलकारखाना उद्द्योग धन्दा वृदि गरे । रोजगारमा वृद्दि गरे । खुला बजारनीति लागू गरे ।
डेनमार्क लगायत नर्डिक (उत्तरी ध्रुविय) क्षेत्रका स्विडेन, नर्वे, फिनल्यान्ड जस्ता मुलुकले दुर्घटना वीमा, राष्ट्रिय पेन्सन, विरामी वीमा , वृद्द भत्ता, वालवालिका भत्ता तथा सामाजिक सुरक्षा कार्यक्रमहरु लगभग १८३१ देखि १९३९ भित्र नै लागू गरेका थिए जतिबेला उनीहरु निकै गरीब र आौधोगिकिकरणको प्रारम्भ मै थिए ।
हामीले आर्थिक तथा सामाजिक रुपमा प्रगति गर्न नसक्ने विभिन्न कारणमध्ये राजनीति नै मुल कारण हो । मुलुकको नेतृत्व सम्हाल्ने राजनीतिक दलहरुमा आर्थिक पारदर्शिता भए त्यसको सकारात्मक प्रभाव राज्य संचालनमा पर्छ । तर नेपालको कुनैपनि राजनीतिक दलमा आर्थिक पारदर्शिता छैन । राजनीतिक दलको आम्दानीको श्रोत र खर्चको सन्दर्भमा राज्य बेखवर रहनुपर्ने अवस्था दुरभाग्यपूर्ण हो ।
मलेसियाका भाग्यविधता पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आएका थिए । उनको शैली देखेर त्यतिबेला नेपालमा पनि महाथिर जस्तो नेता खोजियो । भारतमा अन्ना हजारेले भष्ट्राचार विरुद्धको जनलहर ल्याए । हामीलाई पनि अन्ना हजारे जस्तै नेता चाहियो । केहि वर्ष अगाडि नेल्सन मन्डेला बिते । हामी पनि नेपालमा नेल्सन मन्डेला जस्ता नेता कहिले जन्मेलान भनेर कामना गर्छौं । भारतकै नरेन्द्र मोदीले असाधारण जनलहरबाट चुनाव जिते । त्यतिखेर मोदी जस्तै नेता खोज्न थालियो । भारतकै अर्का भष्ट्राचार विरोधी नेता अरविन्द केजरीवालले दिल्ली राज्यमा निर्वाचनद्वारा भारतीय कांग्रेसलाई हराएर आफ्नो सरकार बनाए । हामीलाई केजरीवाल जस्तो नेता चाहियो । फिनल्यान्डमा ३४ वर्षिय सन्ना मरिन प्रधानमन्त्री भईन् । हामीलाई पनि उनी जस्तै कम उमेरको प्रधानमन्त्री, नेत्रित्व गर्न सक्ने नेता चाहियो । हामीलाई यी सबैको चरित्र होईन चित्र चाहिएको छ । अहिलेपनि नेपालमा राजनीतिज्ञहरु कागजी दस्ताबेज बदल्न लागिपरेका छन् । तर राजनीतिक संस्कार बदल्ने सोचमा छैनन् । हामीले प्रगति पथमा अगाडि बढ्न नसक्नु नै राजनीतिक संस्कार खराब भएर हो ।
सानो दिमागलाई नै प्रयोग गरेर विचार गर्दा एउटै कारणले नेपाल बिग्रन सुरु भयो- शासकले देशलाई धनी र ठूलो होईन कि आफू धनी हुने र ठूलो हुने ईच्छा राख्नु । नेपाल र नेपालको समृद्दिको तगारो पथभ्रष्ट राजनीतिक नेतृत्व र यसको कर्मचारीतन्त्र नै हुन् । विभिन्न वहानामा राजनीतिक खेलाडीको जुँगे लडाइँ देखिए पनि स्वार्थ मिल्दा सँगसँगै शक्ति र सत्ताका लागि आफ्नो आफ्नो दाउपेचमा लागिपरेका हुन्छन् ।
बिगत ३० वर्षमा करिब ३० पटक जति सरकार फेरियो होला । तर पनि ३० वर्ष देखि सत्तामा रहँदै आएका दलहरुले यी अवधिमा शाह राजालाई हटाएर आफैँ राजा हुनेबाहेक कुनैपनि त्यस्तो उपलब्धिमूलक काम गर्न सकेनन् ।
१० वर्षमा देशलाई सिंगापुर बनाउँछु भन्ने जस्ता झुठा आश्वासन नदिई बरु हरेक वर्ष विदेशीने लाखौं युवालाई आफ्नै मुलुकमा प्रविधि र ज्ञान उपलब्ध गराउने, तिनीहरुले जानेको ज्ञान र सिपलाई प्रयोग गर्ने मेसो मिलाइदिएको भए आज देशको अनुहार बदलिने थियो । साथै लाखौं विदेशमा रहेका युवालाई फर्काउन आफ्नै मुलूकमा बिकासको वास्तविक बाटोमा हिँडाउने दृष्टिकोण, विवेक र आत्माविश्वास देखाउन सके मुलुकले कोल्टे फेर्ने कुरामा ढुक्क हुन सकिन्थ्यो । यी सबै एजेन्डालाई बोक्न सक्ने ईमान्दार, सक्षम र प्रतिवद्द नेतृत्व हुने हो भने अबको ३० वर्ष भित्र नेपाल मध्य आय भएको गतिशील मुलुक बन्न सक्छ ।
(लेखक नेपाली जनसम्पर्क समिति डेनमार्कका उपसभापति हुन् )