मंगलबार, वैशाख १८, २०८१

वरिष्ठ पत्रकार तथा साहित्यकार कसजूको स्मृति सभा

नेपालप्लस सम्वाददाता / काठमाडौं२०७७ मंसिर ११ गते १४:१३

वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कुमार कसजूको वार्षिक तिथीको दिन स्मृतिसभा भएको छ ।

बाल वाँगमय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रम वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको प्रमुख आतिथ्य, कला प्रतिष्ठानका कुलपति केके कर्माचाय विशिष्ट आतिथ्य र अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा चलेको थियो ।

८६ वर्षीय वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरले कसजूलाई सम्झँदै भन्नुभयो, नेपाली जनतालाई सुसूचित गर्ने, वालवालिकाको मनोविज्ञान अनुसार सुक्ष्म अध्ययन गरी सोही अनुसार लेख्न सक्ने र नयाँ प्रविधिसँग सँगसँगै जानसक्ने उहाँको क्षमता थियो ।

पूर्व सचिव तथा सूचना आयोगका आयुक्त कृष्णहरि बाँस्कोटाले विनय कुमार कसजू पहिलो पटक सूचना आयुक्त भएर धेरै महत्वपूर्ण कामहरु गर्नुभएको बताउनुभयो । विद्यार्थीहरुले आफूले दिएको परीक्षामा कति नम्बर आयो भनेर हेर्न पाउने सूचनाको हक, लोकसेवा आयोगमा आफूले कति नम्बर पाइयो भनेर हेर्न पाउने हक, सरकारी अड्डा अदालतमा सूचना पाउने हकलाई कानूनी रुपमै पास गराई व्यवहारमा उतारेर देखाउने काम कसजूकै पालामा भएको थियो । बाँस्कोटाको भनाइ थियो, ‘एकजना सर्वोच्च अदालतका न्यायाधीलाई भन्दै नभनेको आरोप लगाएर न्याय परिषदले दण्डित गर्ने निर्णय गरेकोमा सूचनाको हककै कारण न्यायाधीशको जागिर जोगिएको र कैलालीमा विद्यालयमा भएको भ्रष्टाचारको सूचना सार्वजानिक गरेबापत शिक्षिका पदबाट जागिर खोसिएकी शिक्षिकाको जागिर पुन थमौति उहाँकै पालामा भएको थियो । त्यति मात्रै होइन ती शिक्षिकाले ७ लाख क्षतिपूर्ति पनि पाएकी थिइन् ।’

प्रेस स्वतन्त्रता सेनानी तथा कसजूका सहकर्मी मेघराज शर्माले विनय कुमार कसजूलाई राष्टिय स्तरमा परिचित गराउने काम सत्य साप्ताहिकले गरेको र अन्तर्राष्टिय स्तरमा उहाँको पहिचान ग्रामीण सशक्तिकरणको अवधारणा बोकेको गाउँले देउराली पत्रिकाको कारण भएको बताउनुभयो ।

मानवअधिकारकर्मी तथा कसजूकी अर्धाँगिनी गंगादेवी कसजू, कसजूको सम्पादन टिममा रहेर काम गरेका पत्रकार लक्ष्मण देवकोटा, रेडियो मदनपोखराका स्टेशन म्यानेजर राजेश कुमार अर्याल, लेखिका सुशीला श्रेष्ठ,वरिष्ठ साहित्यकार डा चुडामणि बन्धु, लघुकथा लेखनमा विनय कसजूको लघुकथासँगै पिएचडी गरेका डा पुष्करराज भट्ट, साहित्यकार विजयसागर, वाग्लुङका समाजसेवी लालचन्द्र राजभण्डारी लगायतले विनय कुमार कसजूको बहुआयामिक व्यक्तित्वको बारेमा बोल्नुभएको थियो ।

                  स्मृतिसभामा कसजूका लघुकथा

श्रृजना र विवेचना, स्मृतिमा विनय कसजू र विनयशील विनय गरी तीनवटा पुस्तकको विमोचन गरिएको थियो । कृतिहरुको समीक्षा गर्दै साहित्यकार हरि भण्डारीले समालोचना, जीवनी र संस्मरण समेटिएका कृतिहरुको समिक्षा गर्नुभएको थियो ।

सूचना आयोगका प्रथम पूर्व आयुक्तको रुपमा सूचनाको हकको क्षेत्रमा महत्वपूर्ण निर्णय गराउन सफल विनय कुमार कसजू पाल्पामा बसेर पंचायती कालखण्डमा सत्य साप्ताहिक र बहुदल प्राप्ति पश्चात् गाउँले देउराली साप्ताहिकको सम्पादन प्रकाशन गर्नुभएको थियो । पत्रकारिता र लेखनका प्रशिक्षक कसजू बाल वाँगमय अनुसन्धान केन्द्रको अध्यक्षको रुपमा रहेर बाल साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँका सय भन्दाबढि बाल साहित्यका कृति प्रकाशित छन् भने दर्जन भन्दा बढि लघुकथा संग्रह प्रकाशित छन् ।

दक्षिण एशियाकै पहिलो गाउँले भाषामा प्रसारित हुने सामुदायिक रेडियो मदनपोखराको स्थापना पनि कसजूकै अग्रसरतामा स्थापना भएको हो । पाल्पाको मदनपोखरामा यो रेडियो संचालित छ । साहित्यकार विजयसागरसँग नेपालमै पहिलो हवाइपत्रिका चौतारोको प्रकाशन गरेर ०३२ सालमै नयाँ प्रयोग गरेका कसजूले नेपाल प्रेस इन्टिच्यूटको प्रशिक्षण प्रमुखको रुपमा पनि काम गर्नुभएको थियो ।

गोपालदास पत्रकारिता पुरस्कार लगायत दर्जनौं पुरस्कार र सम्मानबाट सम्मानित कसजूको गत वर्षको मङ्सिर १० गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक