तिन हजार मिटरमा पाटे बाघ : खुशिको कुरा कि दुखको ?
पूर्वी नेपालको इलाम जिल्लामा पाटे बाघ भेटिएकोमा अहिले धेरै मानिसहरु खुशियाली मनाईरहेका छन् । समथर भूभागको गर्मी भागमा बस्ने बाघ ३१६५ मिटर उचाईको चिसो मध्यपहाडी भेगमा पाइनु शुभ समाचार हो कि होइन ? यस तर्फ भने कसैको ध्यान गएको देखिन्न । वास्तवमै यो खुशि हुनुपर्ने विषय हो कि होइन ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको प्रेस बिज्ञप्तीले रेड पाण्डाको अनुगमन गर्न राखिएका क्यामराले एउटा बाघको फोटो खिच्यो । यसबाट त्यो उचाईमा बाघ पाइएको पुष्टि त भयो । तर विभागको प्रेस बिज्ञप्तीले यो बाघ त्यहाँ पाइनुको अवस्था, कारण र अन्य संभावनाहरु भने खोल्दैन ।
एशियाली पाटे बाघ मूलत गर्मी ठाउँमा बस्छन् । घाँसे फाँट यिनको वासस्थान नभएपनि यिनको प्रमुख आहार चित्तल र म्रिगको प्रमुख वासस्थान घाँसेफाँट हो । घाँसे फाटमा चर्ने म्रिग समात्ने हुनाले घाँसेफाँट बाघकोपनि वासस्थानमा पर्छ । ईलामको त्यो उचाईमा म्रिग चर्ने घाँसेफाँट खासै छैनन् । त्यसैले त्यो वासस्थानमा बाघलाई चाहिने प्रमुख आहारा म्रिगहरुको संख्या उल्लेख्य हुन संभव देखिन्न ।
क्यामरामा देखिएको पाटे बाघ एक्लो थियो कि त्यहाँ अन्य बाघपनि छन् । अथवा हुनसक्छन् । विभागको प्रेस बिज्ञप्तीले खोल्दैन । डमरु बिनाका बाघ मूलत एक जोडी (भाले-पोथी) बाहेक एक्ला हुन्छन् । भालेले ओगटेको क्षेत्रमा त्यो भालेसित जोडी बन्ने अर्कि पोथी हुन सक्छे । नत्र हुर्केका बाघ भेटिने एक्लो अवस्थामै हो । तरपनि लामो समयसम्म बाघ एक्लो बस्दैन । बाघसित बघिनी वा बघिनीसित भाले हुन्छ नै ।
चितवन, पर्सा, बर्दिया आदि गर्मी क्षेत्रका राष्ट्रिय निकुन्जहरुमा उसले खाने आहार सहजै त पाइन्छ नै, उसकलागि पनीको स्रोतपनि महत्वपूर्ण भैदिन्छ । गर्मीमा नुहाउन, पानी पिउनपनि बाघलाई पानीको स्रोत यत्रतत्र चाहिन्छ । यो संभावना बाघ भेटिएको इलामको क्षेत्र वरिपरि छ कि छैन ? किनभने बाघका आहारा चित्तल र म्रिगलाईपनि पानी नभैहुन्न । जहाँ म्रिगहरु पाइन्नन् त्यो पाटे बाघकालागि दिर्घकालिन रुपमा स्थायि बासस्थान हुन संभव देखिन्न ।
एउटा मात्रै पाटे बाघ भेटिएको हो भने त्यो बाघ एक्लै त्यहाँ कसरि पुग्यो ? समथर भागको झन उपयुक्त वासस्थान उसकालागि के कारणले अनुपयुक्त भयो ? वा त्यो बाघ भर्खरै जवान भएर आमाबाट छुट्टिएको थियो कि ? आमाबाट छुट्टिएर आफैंले बासस्थान खोज्दा बलिया भालेहरुबाट लघारिएर भौंतारिँदै पो त्यति उचाईमा पुगेको हो कि ? अर्थात्, यो बाघ कुनै अर्को भालेसित लड्दा घाईते भएर वा लडाइमा हारेपछि भौंतारिँदै त्यति माथि पुगेको हो कि ? यस तर्फ न त विभागको प्रेस बिज्ञप्तीमा केहि उल्लेख छ न त बाघ उचाईमा भेटियो भनेर खुशियाली मनाउनेलेनै ध्यान दिएका छन् ।
असाध्यै गर्मी भएकाले गर्मीले आत्तिएर यो बाघ ठण्डि खोज्दै उचाईतिर लागेहोला भन्ने संभावनापनि न्युन देखिन्छ । किनभने अहिले जाडोयाम लागिसकेकाले तराईका राष्ट्रिय निकुञ्जहरुमा बाघ आत्तिने खालको गर्मीपनि भैसकेको छैन । र बाघलाई अति गर्मी हुँदा निक्ञ्जहरुमै प्रशस्त खोलानाला, तालहरु छन् जहाँ बाघहरुले नुहाएर आफ्नो शरिर चिस्याउने गर्छन् । पानी वरिपरिको झाडीमा लुकेर पानी पिउन आउने म्रिगहरुलाई निशाना बनाउँछन् ।
बरु दुई देशबिच सिमा जोडिएका वन र जंगलबाट पद मार्गका रुपमा नेपालबाट भारततिर वा भारतबाट नेपालतिर छिर्न खोजेको विषयलाई भने नकार्न सकिन्न । पहाडी भेगको बाटो भएर छिर्दा अन्य बलिया बाघबाट जोगिन सहज हुने बाटो ईलाममा भेटिएको बाघले रोजेको भने हुनसक्छ । वा अन्य केहि कारण हुन सक्छन् । ति कारण वैज्ञानिक अधययनबाटै खोजिनुपर्छ ।
त्यसैले कुनै नौलो क्षेत्र र अपत्यारिलो उचाईमा बाघ भेटिनु आफैंमा खुशिको विषय नहुन सक्छ । बरु वर्षौंदेखि आफ्नो थातथलोमा रमाइरहेका बाघ अन्यत्र क्षेत्रमा फेला पर्नु तिनमाथि अन्य कुनै प्रतिकुल स्थिति स्रिजना भएर, वासस्थनमा दखल पुगेर वा अन्य जैविक कारण हुनसक्छ भन्ने तर्फ ध्यान जानु जरुरि छ । वर्षौंवर्षदेखि बाघ संरक्षणको प्रयास र तिनको वासस्थान संरक्षण गर्न खर्चिएको आर्थिक र अन्य स्रोत, साधन बेक्कारमा जान्छ कि भन्ने चिन्ता लिनुपर्ने देखिन्छ ।
ईलामको ३००० मिटरभन्दा माथिल्लो उचाईमा भेटिएको यो बाघका बारेमा थप अध्ययन र अनुसन्धान हुनु नितान्त आवस्यक छ । बाघ भेटिँदैमा खुशि भैहाल्नुपर्ने भन्दापनि गम्भिर हुनुपर्ने देखिन्छ ।