शनिबार, वैशाख २२, २०८१

अमेरिकी राष्ट्रपति स्विजरल्याण्डमा, वाइडेन र पुटिनको अलग्गै पत्रकार सम्मेलन हुने

नेपालप्लस संवाददाता / जेनेभा२०७८ असार २ गते ०:०९

अमेरिकी राष्ट्रपति जो वाइडेन जेनेभा आइपुगेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुधवार (जुन १६) मा हुने ऐतिहासिक वार्ताको निम्ति जेनेभा ओर्लिएका वाइडेनलाई स्विस राष्ट्रपति गि पारमलाँ र विदेश मन्त्री इनाजियो काजिसले स्वागत गरे । स्विजरल्याण्ड र अमेरिकाले भविष्यमा अझ राम्रोसँग सहकार्य गर्दै जाने अमेरिकी राष्ट्रपति बस्ने होटल इन्टरकन्टिनेन्टलमा स्विस राष्टपति पारमलाँले पत्रकारहरुलाई बताए ।

निकै कटुतापूर्ण सम्बन्धबाट गुज्रिएको अमेरिका र रुसको सम्बन्धमा जेनेभामा भोलि हुने वैठकले केही महत्वपूर्ण सहयोग पुग्ने आशा सबैले गरेका छन् । तर सन् ०१८ को मार्चमा पुटिनलाई हत्यारासम्म भन्न भ्याएका वर्तमान राष्टपति जो वाइडेनले ब्रसेल्समा जी ७ को वैठकपछि बोल्दै रुसले गरिरहेको साइबर हमलाको विषय, छिमेकी देशहरुसँग राम्रो सम्बन्ध कायम गरेर क्षत्रीय सन्तुलन कायम गर्ने विषय उठ्ने कुरा बताए ।

त्यस्तै, रुसी राष्ट्रपति पुटिनले भने अमेरिकाले लगाउँदै आएको आरोप निराधार भएको बताउँदै चीनको खुलेर प्रशँसा गरे । जबकी वाइडेनले जी ७ को वैठकमा चीनको बढ्दो प्रभाव रोक्नको निम्ति ७ वटा मुलुकहरु मिलेर जानुपर्ने बताएका थिए ।

वाइडेन आउँदै गर्दा जेनेभाका विभिन्न ठाउँहरुमा साना विरोध प्रदर्शन पनि भएका छन् । अमेरिकाले ठूलो दुश्मन मानेका जुलियन असान्जको पक्षमा कोही उत्रिए भने अर्काथरी नाभाल्नीलाई जेलमा कोचेर पुटिनले मानवअधिकारको उल्लँघन गरेको बताए । दुवै राष्टपतिहरुको आवत जावतमा जेनेभाको सुरक्षा कडा पारिएको हुनाले अन्य विरोधका कार्यक्रम हुने सम्भावना छैन । आफूलाई तटस्थ बताउने स्विजरल्याण्डले दुवै नेतालाई स्वागत गरेर संसारका दुई बलिया राष्टहरुको बीचमा वार्ता गराउन पाउनु देशकै लागि गौरवको विषय भएको जनाएको छ ।

वाइडेनलाई स्विजरल्याण्डको तर्फबाट स्वागत गरिएपनि रुसी राष्टपति पुटिनले स्विस सरकारको तर्फबाट औपचारिक स्वागत लिन अस्वीकार गरेका छन् । पुटिनको कार्यतालिका पनि सार्वजानिक छैन । बरु भोलिको पत्रकार सम्मलेन भने वाइडेन र पुटिनले अलग अलग रुपमा गर्ने बताइएको छ । झण्डै ४ देखि ५ घण्टासम्म दुवैको वार्ता अठारौं शताब्दीको ‘भिला द ग्रान्जा’ भवनमा हुनेछ ।

यसैसित संवन्धित समाचार

वाइडेन र पुटिनबिच भेटघाट हुने खबरले तातेको जेनेभा

तपाइँको प्रतिक्रिया

फेसबुक