शनिबार, वैशाख १५, २०८१

निर्वाचनमा घम्साघम्सी, एनआरएनए बेलायतमा नेपालीको चासो भने ८ प्रतिशतभन्दा कम

नेपालप्लस संवाददाता / बेलायत२०७८ साउन १९ गते १५:१८

गैर आवाशिय नेपाली संघ (एनआरएनए) को सबैभन्दा पुरानो शाखा बेलायतको राष्ट्रिय परिषद निर्वाचन अहिले सकिएको छ । सोमवार दिउँसो १२ बजे देखी भएको मतदान प्रकृया मंगलवार दिउँसो १२ बजे टुङ्गिएको हो । मतदानको परिणाम विहिवार आउने जनाइएको छ । मतदान विद्युतिय माध्यमबाट भएको हो । यो एनआरएनका लागि नयाँ हो, तैपनि मतदाताहरुको उल्लेख्य सहभागिता रहेको प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलले बताएका छन् ।

निर्वाचनमा तीन दर्जन बढी उम्मेद्वारहरु मैदानमा थिए भने ११ हजार ३ सय ६३ जना मतदाताहरु छन् । निर्वाचन समितीले ९० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरेको थियो । तथापी त्यो अनुपातमा मतदान हुन नसकेको पर्यवेक्षकहरु बताउँछन । केही मतदाताहरुले आफूहरुले मतदान सम्बन्धी कुनै सुचना प्राप्त नगरेको गुनासो गरेका छन् ।

भनिए अनुसार सदस्य बनिसकेका सयौं मतदाताहरुले अनलाइन भोटिङ सम्बन्धि कुनै पनि सुचना प्राप्त गर्न नसकेका कारण मतदानबाट बन्चित भएका छन् । अनलाइन भोटिङका लागि साझेदार कम्पनी भेंन्डर च्वाइस भोटिङ युके हो । निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलले प्रमाणिकरण भएका ईमेलबाट समेत कुनै सुचना नआएको गुनासो प्राप्त भएको बताए । तर भेन्डर च्वाइस भोटिङ युकेले भने त्यसो हुन नसक्ने जनाएको कँडेलले बताए ।

बेलायतको एनआरएनमा हरेक पटकका उम्मेद्वारहरुले अधिवेशन लक्षित सदय बनाउने गरेको आरोप लाग्दै आएको छ । यसपटकको अधिवेशन पनि यसबाट अछुतो रहन सकेन । उम्मेद्वारहरुले नै कतिपय फर्जी मतदाता दर्ता गराएको चर्चा अहिले पनि छ । केही सदस्यहरु प्रायोजित रुपमा अरुबाट बनाइएको भन्ने गुनासोपनि छ । यदी यो सत्य हो भने यसले दिर्घकालिन रुपमा संस्थाको हित गर्दैन ।

त्यसो त, कतिपय एनआरएनकै अभियन्ताहरुले निर्वाचन समिति नै कुनै एउटा पक्षलाई चुनाव जिताउन लागेको बताउँछन । नत्र प्रायोजित मतदाता दर्ता गरिएको सुचना हुँदाहुँदै समिती किन मौन छ । बेलायतको एनआरएनको अधिवेशनमा सबैभन्दा उदेक लाग्दो पक्ष के हो भने करिब डेढ लाख नेपाली बसोबास गर्ने यो देशमा जम्मा ११ हजार सदस्य हुनु । यसले आठ प्रतिशत नेपालीमापनि एन आर एन एको चासो, चाख र आकर्षण नभएको पुष्टि गर्छ । पुरानो र निकै सकृय भनिएको यो शाखामा किन सदस्य बन्न चाहँदैनन ? सम्भवत: एनआरएनका अभियन्ताहरुले बुझ्न नखोजेको नचाहेको प्रश्न हो यो ।

एनआरएनए स्थापना भएको १८ वर्ष पुगेको छ । र यो लगभाग दुई दशकमा प्रचारको शैली उच्च देखिए पनि नयाँँ सदस्यहरुमा यो संस्था प्रती आकर्षण नदेखिनु यसका अभियन्ताहरुको असफलता हो ।

बेलायतलाई हेर्ने हो भने अन्दाजी १ लाख ५० हजार नेपाली रहेको भनिएको बेलायतमा यसको जम्मा ७ दशमलब ८ प्रतिशत नेपालीहरु एनआरएन अभियान सँग जोडीन चाहेका छन् । त्यसमा पनि केही सय सदस्यहरु फर्जी र अधिवेशन केन्द्रित रहेको आरोप छ ।

अहिलेको अधिवेशनमा प्रतिस्पर्धामा रहेका तिनै जना अध्यक्षका उम्मेद्वारहरुले पुर्व गोरखाहरुको मुद्दा, दोहोरो नागरिकताका मुद्दा लगायतका विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन । तर कसैले पनि संस्थाको आकार बढाउने मुद्दामा त्यती गम्भिर रुपमा चासो लिएका छैनन् ।

तपाइँको प्रतिक्रिया