शनिबार, वैशाख १५, २०८१

महिलाको अनुशासन र पुरुषको उन्माद देखेको अछाम

शिव बस्याल२०७८ साउन १९ गते १७:४४

यो साउनको सुनसान रात बाहिर झरी लागिरहेछ । भ्यागुतोको ट्यार ट्यार निरन्तर छ । सायद मधेसको गर्मीले पनि होला, निन्द्रा परेको छैन । घरी यता घरी उता ओछ्यानमा कोल्टे फेर्दाफेर्दै चार वर्ष अघिको मेरो अछाम बसाईका अनुभवहरुले मन चिमोट्न थालेका छन् । सिरानीको मोबाईल निकालेर केही कुरा लेख्न मन लाग्यो ।

२०७४ माघ को १ गते सुनौलीबाट जेसिभी कम्पनीको एक्साभेटर लिएर अछामतर्फ लागेको थिएँ । चार, पाँचदिनको यात्रापछी बल्ल गन्तव्यमा पुगियो । र मेसिन अनलोड गरियो, मङ्गलसैनको ठुलासेन बजारमा । त्यसपछि लागियो हाम्रो काम गर्ने क्षेत्र जनाली बन्डाली तर्फ ।

पञ्चदेवल बिनायक, कमलबजार र तुर्माखाँद गापामा पनि केही समय काम गरेको थिएँ । अछाम नेपालकै श्रोत साधन र सुन्दरताले धनी जिल्ला रहेछ । मनमोहक दृश्यले भरपुर । अति सुन्दर, रमाईलो रहेछ अछाम । नेपालको घुम्नैपर्ने ठाउँमध्येको एक जिल्ला हो यो ।

अहिले मध्यपहाडी लोकमार्गको अछाम खण्ड निर्माण भएसँगै भौगोलिक बिकटतालाई चिरेर सुगम बनेको छ । बिकासको नयाँ आयाम थपिएको छ त्यहाँ । तर बाहिर हेर्दा जति रमाइलो थियो भित्र त्योभन्दा पिडादायी जीवन देखेको थिएँ त्यहाँ मैले ।

मैले छाउपडी प्रथाको बारेमा अलिअली सुनेको थिएँ । त्यहाँ पुगेपछी आफ्नै आँखाले देख्न पाएँ ।

हाम्रो भेगतिर ढिकी अर्थात ढिकरी र झाँतो (कुटानी पिसानिको लागि प्रयोग हुने सरल यन्त्र) उहिल्यै बिस्थापित भैसक्यो । तर मैले ढिकी जाँतो मात्रै नभएर ओखल देखें त्यहाँ । घरका स्त्रीहरु सबेरै उठेर ओखलमा मकै पिस्ने, धान कुट्ने गर्दथे । यो चलाउन ढिकरी भन्दा पनि गाह्रो हुँदोरहेछ । मान्छेभन्दापनि अग्लो मुसल हातले चलाएर कुटानि पिसानि गर्नुपर्ने ।

यी अप्ठ्यारा घरायसी काममा पुरुष सहभागिता प्राय सुन्यजस्तै थियो त्यतिबेला । महिलाको अनुशासन र पुरुषको उन्माद मैले त्यहि अछाममा देखेको हुँ । छाउ भएको समयमा महिलाले घर छोए पाप लाग्छ भन्ने समाजले ओखल र घट्टको काममा महिलालाई काम नसघाए पाप लाग्छ किन भनेन होला ? म निकैबेर घोत्लिएको थिएँ यस्तै सोचाईमा ।

तर अब त्यो स्थिति छैन होला । मध्यपहाडी लोकमार्ग पिच भैसक्यो होला । गाउँगाउँमा बिद्युत पुगिसक्यो होला । ओखल र घट्टहरु बिस्थापित भएहोलान् । महिनावारी हुँदा महिला दिदीबहिनीहरु घरमै बस्न पाउनुहुन्छ होला । छाउगोठ पक्कै भत्किसकेका होलान् । कृषि र पर्यटनको प्रबर्द्धनले जिवनस्तर सुदृढ हुँदैछ होला । कमलबजार र साँफेका बिमानस्थलहरु पुन: सुचारु भएहोलान् । कर्णाली चिसापानी, मङलसैन सडक निमाणाधिन होला । यी यावत परिवर्तन पक्कै भएहोलान् भन्ने आशामा छु । अब छिट्टै कैलाशखोलाको माछा खानेगरी र रामारोशन जानेगरी अछाम घुम्न आउने छु ।

तपाइँको प्रतिक्रिया