सोमबार, भदौ ३१, २०८१

जब विमानका यात्रुले एकसाथ बेखुशीको आवाज निकाले

खेम आर लामिछाने२०८१ साउन १४ गते ८:२७

खेम लामिछाने

भरतपुरबाट विमानमा काठमाडौं आउँदै थिएँ ! जम्मा १८ मिनेटको यात्रा थियो । समयतालिका भन्दा दुई घण्टा ढिलो उडेको विमान झण्डै १५ मिनेट आकाशमा उडे पछि घोषणा गरियो, “काठमाडौँको एअरपोर्ट ट्राफिक ब्यस्तताका कारण आकाशमा प्लेन होल्ड गर्नुपर्ने भएको छ” ! यो सुनेर सबै यात्रुले एकसाथ बेखुशीको आवाज निकाले ।

तुरुन्तै अर्को घोषणा भयो, “जहाजमा पर्याप्त इन्धन नभएकाले आकाशमा प्लेन होल्ड गर्न सकिएन । त्यसैले इन्धन भर्न हामी भैरहवा जाँदैछौँ। कृपया सबै यात्रुहरु शान्त भै सिट बेल्ट बाँधेर बसिदिनु होला” ।

आकाशमा बादल निकै बाक्लो भएकोले विमान बेस्सरी हल्लिइरहेको थियो ! सबै यात्रु त्रासले रिसाउँदै कराइरहेका थिए ।

भर्खरै मात्रै सौर्य एयरलाइन्सको बिमान काठमाडौँ एयरपोर्टमा दुर्घटना भएकाले सर्वत्र त्रास छ । जहाज दुर्घटनाको केहि दिनअघि मात्र दुई वटा बसलाई पहिरोले बगाएको छ । त्यो त्रासदीपूर्ण घटनाले जनमानसमा ‘कुन बेला के नराम्रो सुन्नु पर्ने हो’ भन्ने डर छ ।

जहाजमा एकजना बुढी आमा हुनुहुथ्यो । उहाँ विभिन्न दुर्घटनाको खबरले उसै पनि जहाजमा बस्न डराइरहनु भएको रहेछ । समय भन्दा झण्डै दुई घण्टा ढीलो उडेको जहाज काठमाडौँ नपुगेर भैरहवा तिर हानिएपछि उहाँ झण्डै बेहोस हुनुभयो । भैरहवा पुग्नासाथ उहाँले काठमाडौंमा रहेकी छोरीलाई रुँदै टेलिफोन गरेर ‘आफुँ बाँच्ने वा मर्ने टुंगो नभएकाले मुटु दह्रो बनाउन र छोराछोरी परिवारलाई राम्रोसँग हेर्नु भन्दै हुनुहुन्थ्यो ।’

हुन त जहाजमा हुने हामी सबै जसो यात्रुको अवस्था ति आमाको भन्दा फरक थिएन ।
हामी करिब साढे छ बजे बल्ल काठमाडौँ ओर्लियौं ! अपरान्ह २ बजेदेखि साढे ६ बजेसम्म भोगेको सास्ती सम्झँदा अहिले पनि त्रासद अनुभव हुन्छ ।

यो बीच मनमा केही प्रश्नहरु आइरहेका छन् –
-काठमाडौँले उड्ने आदेश दिएपछि मात्रै जहाज भरतपुरबाट उडेको थियो होला । तर पनि ओर्लिने अनुमती किन नदिइएको होला ?

-असाध्यै छोटो यात्राका लागि मात्र इन्धन भरेर हिँड्ने र केही बेर आकाशमा होल्ड गर्नु पर्दा इन्धन भर्न भैरहवा जानु पर्ने अवस्था किन आएको होला ? यसका प्राविधिक पक्ष होलान् । तर यसबारेमा यात्रु अनविज्ञ हुँदा उनीहरुको मनस्थितिमा पर्ने असरको ख्याल राख्नु पर्ने हैन र ?

हैन, सम्बन्धित निकाए आम मानिसहरुमाथि अलिकति जिम्मेवार हुनुपर्ने हैन र ? यो देशमा सरकार र त्यसका अंगले काम गर्न छाडेकै हुन् त ?

(लामिछानेको फेसबुकबाट)

तपाइँको प्रतिक्रिया