शनिबार, वैशाख १५, २०८१

नेपाल बनेन भनेर कुण्ठा पोख्ने आफू चाहिँ कहिले सुध्रने ?

सन्तोष न्यौपाने / बेल्जियम२०८० माघ २४ गते ८:४०

“तपाईँहरू नेपाल बनेन, कर्मचारीहरूले देश बिगारे, सिस्टममा चल्नै सकेन लगायतका समस्याहरु सहित सामाजिक सञ्जालहरूमा पोखिनुहुन्छ । २५ वर्ष देखि बेल्जियममा बस्दै आउनुभएका तपाईँहरूले संचालन गर्ने कार्यक्रममा कुनै सिस्टम नै देखिँदैन । सामान्य कुरा गर्नुपर्दा कार्यक्रम समयमा संचालन हुँदैन । फेसबुक मेसेन्जरमा कार्यक्रमको दुई दिन खबर पठाएको आधारमा उपस्थिति हुनुपर्ने। कमसेकम तीन हप्ता अगाडी फोन वा इमेल मार्फत जनकारि खोइ ?”

यी बेनेलुक्सका लागि नेपाली राजदुत गेहेन्द्र राज भण्डारीले पोखेका निराशाजनक अभिव्यक्तिको रुपमा कुटनीतिक आक्रोश पोखेका हुन् । उनको यो अभिव्यक्तिले यहाँका संस्था प्रति कुरीकुरी गरिरहेको गर्नुका साथै अब चाहिँ सुध्रिनु पर्दछ भन्ने कडा सन्देश पनि दिएको थियो ।

नेपाली ब्यवसायी संघ बेल्जियमले आयोजना गरेको “अन्तर संस्था सुध्रिढ़ सम्बन्ध र गुणस्तरीय कार्यक्रमको आवस्यकता” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले कार्यक्रमको विषयवस्तु भन्दा बाहिर जान खोजेको पनि प्रस्ट हुन्थ्यो । धेरैले कार्यक्रमको आयोजक एन आर एन बेल्जियम हुनुपर्ने बताए । कतिपयले ब्यवसायी संघको कार्यक्रम भएकोले ब्यवसायसित सम्बन्धित हुने सोचेको तर आफूले अर्कै पाएको गुनासो समेत गरे । कतिले एन आर एन माथि नकारात्मक टिका टिप्पणीमा समय खर्च गरे भने कतिपय वक्ता त एक आपसमै बहस गर्नमा सिमित देखिए ।

अन्ततः उपस्थितहरुको राय र निचोडलाई लिएर नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले एउटा प्रतिबद्दता पत्र जारि गरे । यसरी कार्यक्रम अर्ध सफलताका साथ सम्पन्न भयो ।

अब कार्यक्रम समिक्षा गरौं । आयोजक संस्थाले कार्यक्रम भनेकै समयमा सुरु गरेका थिए। उनीहरुले सकेसम्म कार्यक्रम आफूले तोकेको समयमा उचित नतिजा सहित समापन गर्न खोजेको देखिन्थ्यो। त्यसमा आयोजक माथि कुनै खोट लगाउने ठाउँ थिएन । बरु कार्यक्रमको मर्म अनुसार उपस्थित नहुने बिभिन्न संघ सस्थाको प्रमुख तथा प्रतिनिधिहरू देखिन्थे ।

संघले तीन हप्ता अगाडि सामाजिक संजाल र इमेल फोन मार्फत संस्थाहरूलाइ कार्यक्रम बारे जानकारी दि”को थियो । त्यसमा सहभागीहरुले राम्रोसँग तयारी गरेर आउनसक्ने प्रशस्त समय थियो । तर कार्यक्रम हलमा त्यो देखिएन । एन आर एनमा लामो समय देखि क्रियाशील नेता तथा ब्यबसायी रजनी प्रधानले आफूले ब्यवसायीसित सम्बन्धित कार्यक्रम होला भन्ने ठानेको तर यहाँ अर्कै रैछ भनेर गुनासो पोखेकी थिइन् । जबकि सूचनामा पहिल्यै कार्यक्रम बारेमा प्रष्ट लेखिएको थियो ।

बिभिन्न राजनीतिक दल आबद्द भात्रि संगठनका प्रमुखहरूले घुमाउरो पाराले कुनै पनि संस्थाको कार्यक्रम अतिथि सम्मान, आसनग्रहण बिना गर्दा त्यो प्रभावकारी नहुनेमा जोड दिइरहेका थिए । यिनै मध्ये केहिले एक अर्कामा दोषारोपण पनि गरे जुन कार्यक्रमको मर्म अनुरुप थिएन । कार्यक्रम समापनको अन्त्यतिर नेपाली कांग्रेसका नेता तथा एन आर एन अभियानमा लागेका गंगाधरधर गौतम ले भने “मैले एउटा चिटमा फलानो अतिथि आयो भनेर चिरण खबासजीलाई दिन्थें, उहाँले सञ्चालक यामु निरौलाजी लाई दिनुहुन्थ्यो । अनि उहाँले सोही अनुरुप पढेर कार्यक्रममा स्वागत गर्नुहुन्थ्यो ।” गौतम कार्यक्रमको आयोजक थिएनन् । तर किन यस्तो कार्य गरे ? प्रश्न अनुत्तरित नै थियो।खबास नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष हुन् ।

त्यस्तै, जनजाती महासंघका प्रतिनिधिहरूले आफूहरुले गर्ने कार्यक्रम अलि सांस्कृतिक र नेपालको मौलिक परम्परा बोकेको हुँदा खादा, माला लगायतका कुराहरू बन्देज गर्न नमिल्ने बताए । उनीहरुले बेल्जियममा आफ्नो संस्था मार्फत गरिने कुनैपनि कार्यक्रमहरूमा आगामी दिनहरूमा कुनै खोट आउन नदिनेमा प्रस्ट पारे।

कलाकार संघका प्रतिनिधिहरूले पनि कुनै पनि संस्थालाई कलाकारहरू चाहिने भए तीहप्ता अगाडि सम्पर्क गर्न अनुरोध गरे ।” आजको भोलि वा एक हप्ता अगाडिको सुचनाले धेरै कुरा मिलाउन ग्राहो पर्दछ । हामीले सहयोग गर्न सक्दैनौं” उनीहरुको प्रस्टोक्ति थियो ।

डेढ वर्ष अगाडि नेपाल पत्रकार महासंघ बेल्जियमले आयोजना गरेको यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रम पश्चात केही सुधारका सङ्केतहरू देखिएका थिए । केही संस्थाहरुले आफूले तोकेको समयमा नै कार्यक्रम गरे । गर्दै आएका पनि छन । तर सुधारका धेरै पक्ष आवश्यक रहेको थियो । त्यसै अनुरूपको दोश्रो कार्यक्रम नेपाली ब्यबसायी संघ बेल्जियमले गरेको थियो ।

कार्यक्रममा ३५ बढी संघ संस्थाका पर्तिनिधिहरुको उपस्थिति थियो । यदि आयोजकले पूर्व घोषणा अनुरुप कार्यक्रमको मर्म अनुरुप उपस्थित भएको भए बेल्जियममै सायद पहिलो पटक स्मरणीय कार्यक्रम बन्ने थियो । उनीहरुले आफ्नो संस्था भित्र पूर्व छलफल गरेको भए उनीहरूसँग आफ्नो संस्थाको एउटा ठोस निचोड निस्किन्थ्यो । सबै संस्थाका निर्णय माथि छलफल गर्दा अझ प्रभावकारी नतिजा निस्कने थियो । तर त्यो हुन सकेन । यसमा नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखा पनि अछुतो रहन सकेन । अध्यक्ष महासचिव कसैले पनि यो कार्यक्रम बारे संस्थामा पूर्व  छलफल राखेनन् ।

डिजिटल क्यालेन्डर बनाउने बारे आएको प्रस्ताव विशेष थियो । यसमा कुन संस्थाले कहिले कुन कार्यक्रम गर्दैछ भन्ने जानकारी दिने र संस्थाले बीचको कार्यक्रम नजुध्ने बताइएको थियो । यदि सबै सक्रिय संस्थाहरुले यो क्यालेन्डर बनाउन सहयोग गरे भने सबैलाइ सहज हुने पक्का छ ।

बेल्जियममा सक्रिय संघसस्थाका प्रतिनिधिहरूको सामुहिक जमघट र अन्तरक्रिया गरिनु निकै सकारात्मक पक्ष हो । उनीहरुले एक आपसमै प्रत्यक्ष रुपमा आफ्ना विचार सहित बिभिन्न असहमति मञ्च मार्फत प्रस्तुत गरेका छन् । त्यसका कारण आगामी दिनहरुमा संस्थाहरुका कार्यक्रम योजनामा के कसरी सुधार गर्दै जान सकिन्छ भन्नेमा मन्थन हुन्सक्यो । सबैले कार्यक्रममा गरिएका प्रतिबद्द्ताहरू कार्यन्वयन गर्नुपर्नेमा सहमति जनाएका थिए । त्यो सकारात्मक पक्ष हो । तर आगामी दिनहरूमा कुन संस्थाले कसरि आफूलाई लैजान्छ त्यो चाहिँ हेर्न बाँकी नै छ ।

तपाइँको प्रतिक्रिया