बुधबार, साउन ९, २०८१

हजुरआमाको हड्डी हेर्दै पटक पटक रोएँ

संगिता गौतम अर्याल२०८० असोज २७ गते १८:१३

संगीता गौतम अर्याल

केही वर्ष अघि मेरो मामाघर हजुरआमा विमार हुनुभयो । मामाहरुले गोरखपुरको अस्पत्ताल लौजानु भयो । गोरखपुरले फेरि लखनउ लैजानुस्, उता राम्रो हुनसक्छ भनेर पठायो । लखनउमा धेरै दिन उपचार भयो । तर २० को १९ भएन । बरु बढेर २१ हुँदै गयो । त्यसपछि डाक्टरले अक्सिजनको भरमा राख्यो । त्यसलेपनि काम गरेन । केहि समयपछि ‘सरी’ भनेछ ।

अब कसो गर्ने ? हजुरआमाको शरीर अयोध्या ल्याउने कुरा भयो । आफन्तको इच्क्षा अनुसार नेपालबाट त्यहि थियो, जे गर्नुछ अब नेपालमै अन्त्यस्टि गर्ने ।

हामी सरयु नदीमा गयौं। हजुरआमालाई चितामा राखेको, आगो झोंसेको। शरिर जल्दै गएको देखेर धेरै रोयौं । बिस्तारै बिस्तारै हजुरआमाको शरिर आगाले जलाएर सक्दै लग्यो । जल्दै सक्किँदै गएर अन्तिममा खरानीमा परिणत भयो । त्यो खरानी पखाल्न भनेर सबै हामी नजिक पुग्यौं। हामी पनि पखाल्नेलिने र नुहाउने गर्‍यौं । नेपाल फर्कियौं र काजक्रिया भयो ।

मेरो आमाको अमेरिका जाने आउने क्रम जारी थियो । नेपाल भएको बेला आमासँग मैले ‘साथीहरू मिलेर मुक्तिनाथ जाँदैछु’ भनें । आमाले मेरो हातमा एउटा सानो डल्लो कपडाले बाँधेर दिँदै भन्नुभयो “संगी यो लगेर मुक्तिनाथ मन्दिरको पानी बग्ने ठाउँबाट बगाइदेउ है ?”

“हजुरआमाको नासो हो । आफु जान सक्नु भएन । अहिले जस्तो सजिलो थिएन” समेत भन्नु भयो ।

मैले ‘हस’ भन्दै जतन गरेर लगें । र मुक्तिनाथ मन्दिर पुगेर नुहाएँ । मन्दिरको दर्शन गरें । अनि आमाले दिएको डल्लो निकालें । बगाउने बेला मनमा खुल्दुलि चल्यो, के रहेछ ? खोली हेरें । त्यहाँ त हजुरआमाको हड्डी रहेछ । मेरो आमाले त्यो हड्डि कति जोगाएर राख्नुभएछ, आफ्नी आमाको हड्डी । धेरै पटक अमेरिका जाँदा सँगै लैजाने गर्नुभएको रहेछ। मायाले धेरैनै सताउने र चर्को सम्झना आउँदा खोलेर हेर्ने र रुने क्रम जारी रहेछ । म पनि त्यो हड्डी देखेपछि मुक्तिनाथ मन्दिर अगाडी बसेर धेरै रोएँ। मलाई हजुरआमा देखेजस्तै भयो । धेरै मायाँ लाग्यो ।

म त्यहाँ रोइरहेका बेला साथीहरू दायाँ बायाँ हुनु भएछ । बगेको पानीमा त्यो हड्डी बगाइदिएँ । पछि एक्लै रुँदै पैवाको होटलमा पुगें । र फेरी वाथरू पसें । लुकेर फेरी रूएँ । मायाँ लागेपछि के गर्ने ?

मैले त्यस्तै हृदय विदारक भिडियो देखें। ‘छोरा इजराल हमलामा परे । अब छैनन’ भन्ने खबरले स्तब्ध बाबा रुँदै, भक्कानिँदै ‘मेरो छोराको एउटा टुक्रा भए पनि मलाई ल्याइदिनु’ याचना गरिरहेका ।

इजरायलको हमलामा परेर ज्यान गुमाएका नेपालीका बाउ आमाले त्यसो भनेको सामाजिक सन्जालमा देख्दा मलाई आफ्नी हजुरआमाको त्यहि याद आयो । आज निकैबेर त्यहि संझेर धेरै रोएँ। मैले भगवानसँग प्राथना पनि गरें ‘हे भगवान यो युद्ध तुरुन्त रोकियोस !’ सबैले प्राथना गरौं ‘सबै मानव एकै हुन्, कसैलाई अकालमा मर्न नपरोस । यो लडाई रोकियोस ।’

(संगिता अर्यालले फेसबुकमा राखेको प्रतिक्रियालाई सम्पादन गरेर राखिएको-नेपालप्लस)

तपाइँको प्रतिक्रिया