शनिबार, साउन १२, २०८१

फ्रान्समा रहेका मूर्ति फर्काउन पुरातत्व र परराष्ट्रको पत्राचार : ‘गिमे म्युजियमले चोरिएका मूर्ति प्रदर्शनीमा राखेको थियो’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ साउन १९ गते १९:१७

पाटनको च्यासलहिटीको विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) र भक्तपुर नासमना टोलको उमा–महेश्वर प्रस्तर मूर्ति ६० वर्षअघि चोरिएर अहिले फ्रान्सको सरकारी म्युजियममा भेटिएपछि ती पुरातात्विक सम्पदा घर फर्काउन नेपालले फ्रान्स सरकारलाई औपचारिक पत्र पठाएको छ ।

पुरातत्त्वविद लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ मा उल्लेख गरिएका यी दुवै सम्पदा पेरिसको एसियाली कलासम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम) मा छन् भन्ने ६ वर्षअघि सूचना बाहिर आएको हो ।

दुइ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स भ्रमण क्रममा गिमे म्युजियम पुगेर यी मूर्ति फर्काउने सहमती गरेका थिए । यीमध्ये विष्णु–लक्ष्मी–गरुडको मूर्ति दसौं शताब्दीको हो भने उमा–महेश्वर प्रस्तर मूर्ति १२ औं शताब्दीमा निर्मित हो ।

पुरातत्व विभागबाट लेखिएको पत्र

लक्ष्मी र गरुड साथमा राखेर उभिएको विष्णु आकृतिको मूर्ति सन् ७० दशकको अन्त्यतिर हराएको थियो  भने उमा–महेश्वरको मूर्ति सन् १९८४ मे २३ मा चोरिएको थियो ।

भक्तपुर नगरपालिकाका तर्फबाट लेखिएको पत्र

अब यी सम्पदा घर फर्काउनमा पेरिसस्थित नेपाली दूतावास र बिशेष गरेर राजदूत दीपक अधिकारीले सक्रियता देखाउनुपर्ने हुन्छ । आफ्नो नगरबाट हराएका मूर्ति फर्काउनमा पहल गरिदिन भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले परराष्ट्र मन्त्रालय र पुरातत्व बिभागलाई पत्र लेखेका थिए । यी दुबै मूर्तिको उत्पत्तिको प्रमाण र आधारसहित परराष्ट्र तथा पुरातत्वले पेरिसस्थित नेपाली दूतावासमार्फत फ्रान्स सरकारलाई ताकेता पत्र पठाइसकेको छ ।

पेरिसस्थित राजदूत दीपक अधिकारीका अनुसार ‘गिमे’ सरकारी म्युजियम भएकाले पनि त्यसमा रहेका नेपाली सम्पदा फर्काउन प्रक्रियागत कामकारबाही जारी रहेको र यही प्रकृयामा केही ढिलाइ भैरहेको मिडियालाई बताइसकेका छन् । युनेस्को अभिसन्धि अनुसार पुरातात्त्विक महत्त्वका यस्ता सम्पदा वा सामग्री जे जहाँ रहे पनि हकदाबीका आधारमा ‘उत्पत्तिको मुलुक’ लाई फिर्ता गर्नैपर्छ । यो अभिसन्धीमा हस्ताक्षर गर्नेमा नेपाल र फ्रान्स दुबै रहेका छन् ।

 संवन्धित समाचार

पाटनबाट चोरिएको मुर्ति अमेरिकाको डेनभर म्युजियममा

तपाइँको प्रतिक्रिया