“कसैलाई एनआरएनएको साँचो सुम्पने, संघ खारेज गर्ने परराष्ट्रको अधिकारनै छैन” जीवा लामिछाने
सबैका आआफ्नै भात्री संस्था छन् । एनआरएन भनेको सबैको संस्था हो । यो संस्थालाई यही अनुसार ब्यवहार गर्नुपर्यो । पहिले सबै पार्टीका नेताहरुले यसलाई साझा संस्थाकै रुपमा रहन दिनुपर्छ भन्ने थियो । अहिले पनि मैले सबै पार्टीका नेताहरुलाई त्यही भनिरहेको छु । धेरै मान्छेहरुलाई हामीहरुले केही गरेकै छैनौं भन्ने लागेको हुनसक्छ । तर हामीले अहिलेको समस्यामा साँच्चिकै गम्भिर रुपमा लागेका छौं । मैले एनआरएन सबै कुरामा राम्रो र आइडियल छ भन्दिन । संस्था भित्र कमिकमजोरीहरु पनि छन् होला । त्यसलाई सुधार गर्दै लैजान सकिन्थ्यो । तर अहिले संस्था नै बन्धक बनाएर परराष्ट्रले साना साना ईश्युमा यसरी हस्तक्षप नगरेको भए हुन्थ्यो । सानातिना बदमासी पहिले पनि हुन्थ्यो अहिले पनि छ । अब त्यो विद्यार्थीको कुरा उठाएको छ, यो विषयमा कही थोरै होला कही धेरै होला । मलाई लाग्छ मध्यपुर्वका एनसीसीमा विद्यार्थी भएको कुरामा मलाई शंका छ । त्यहाँ पनि केही विद्यार्थीहरु सदस्य बनेको कुरा सुन्नमा आएको छ । हाम्रा भएका जती पनि एनसीसीहरु छन विद्यार्थीहरु सदस्य नभएको शायदै कुनै होला । जापानमा एउटा केस भएको हुनाले उजुरी पर्यो । र भोली छानविन भयो भने त सबैको हुन्छ । र, यसरी नै जाने हो भने संस्था नै रहँदैन । यस्ता सामान्य कुराहरुलाई ठुलो ईश्यु बनाइएको छ । आफूले गरेको ठाउँ ठीक छ । आफू अनुकुल नभएको ठाउँमा अन्याय भयो भनेका छन् एकथरी साथीहरुले । यो पनि राम्रो भएन- जीवा लामिछानेले भन्दै गए । एनआरएनको विषयमा त्यती खुलेर कुरा नगर्ने लामिछाने धेरै पटकको आग्रह पछी बल्ल तयार भएका थिए । उनले पटक पटक परराष्ट्रको हस्तक्षेपको कुरा उठाए । सम्भवत: धेरै मान्छेहरुलाई परराष्ट्रका कदमले बोल्न बाध्य पारिरहेको छ । एनआरएनको विधान मस्यौदाकार मध्येका एक यिनै लामिछानेसँग नेपालप्लसले गरेको वार्ता संक्षेपमा ।
एनआरएनको अहिलेको विवाद सल्ट्याउनका लागि तपाईंले कस्तो भूमिका वा जिम्मेवारी वहन गर्नुहुन्छ ?
म के कुरामा स्पष्ट छु भने अहिलेसम्मपनि केही बिग्रिएको छैन । अहिलेको विवादको समाधान पनि कार्य समितिकै साथीहरुले गर्नुपर्छ । उहाँहरुले नै गर्ने हो । त्यो सम्भावना किन छ भने परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेपछी यो अक्टोवरमा अधिवेशन सम्भव भएन । विधान अनुसार पनि उहाँहरुले आफ्नो कार्यकाल थप्नु पर्दछ । शनीवारको बैठकले त्यो निर्णय पक्कै गर्ला । त्यो थपिसके पछी जती पनि समस्याहरु छन नि ति सबैको समाधान गर्ने उहाँहरुले नै हो ।
नबुझेरै यो सब भैरहेको हो ?
केही साथीहरुले कुरै नबुझेर अहिलेको विवाद सुल्झाउन संरक्षक परिषदलाई बुझाउने भन्नुहुन्छ । हाम्रो विधानले त्यस्तो कल्पना नै गरेको छैन । भोली कुनै परिस्थितिमा संस्था डुब्ने अवस्था आयो भने संरक्षक परिषदले आइसीसीको बैठक बोलाउ भन्ने हो । यदी आइसीसी मिटिङ डाकेन भने सबै एनसीसीहरुलाई भेला गरेर अब के गर्ने भन्ने कुरा छलफल गराउने भनेर मात्रै हाम्रो विधानमा उल्लेख भएको छ । विधानको मस्यौदाकार मध्येको म पनि एउटा हुँँ । किन त्यो गरेको भने नयाँ अध्यक्ष र कार्यसमितिका साथीहरु भनेका के हुन भने सबै पहिलेका अध्यक्षले ग्रुप गरेको हो । आफ्नै भाईहरु जस्तो मान्छेहरु हुन्छन ।
अध्यक्षहरु मिलेपछि कब्जा गर्छन् भन्न खोज्नुभएको कि के ?
पूर्व अध्यक्ष सकृय भए भने त नयाँले काम पनि गर्न सक्दैनन् । त्यसैले यो विषयमा हामी पहिले नै स्पष्ट भएको हो । मैले आफैंले देखेको छु, पूर्व अध्यक्षहरुको हस्तक्षेपले त्यो संस्था लामो समयसम्म बन्धक बने जस्तो देखिएको हुनाले पूर्व अध्यक्षहरुले आफ्नो कार्यकालमा जे गरे गरे त्यसपछी उनिहरु जाने र सल्लाहकारको भन्दा बढी भूमिकामा हुनु हुँदैन । हस्तक्षेपकारी भूमिकामा त हुनु हुँदैन भन्ने मेरो शुरु देखिकै धारणा हो । अझै पनि हामीहरुले हस्तक्षेप गर्ने तहमा कुनै पनि समस्या पुगेको छैन । साथीहरु अहिलेको यथार्थतालाई बुझेर दुबै पक्षका साथीहरु आए भने सहमती खोज्न सकिएला । तर परराष्ट्रले भने जस्तै बाटोमा हिंड्ने हो भने कहीं पुगिदैन । परराष्ट्रको हस्तक्षेपले दुबै पक्षलाई फाईदा गर्दैन । त्यहि भएर एउटा बिचको बाटो पत्ता लगाउन जरुरी छ ।
दुबै पक्षलाई मिल्नुस् भनेर कुरा गर्नु भएको छ त तपाईले ?
म नेपाल आएकै दिनमा सबभन्दा पहिला कुलजीलाई भेटेर “कुलजी सबैतिर हेर्दा तपाईंकै पक्षमा बातावरण बनेको देखिन्छ । तर तपाईंले यस्तो माहौल हुँदा पनि किन आँट नगरेको ? विवादहरु भनेका साना साना कुराहरु हुन् । अन्ततिर जहाँँ भएको छ त्यहाँ बोल्नु भएको छैन । अनुकुल नभएको ठाँमा विवाद भयो भन्नु भएको छ । मैले त सबै कुरा देखीरहेको छु नि” भनें । अझै पनि कार्य समितिका साथीहरुले यो समस्यालाई समाधान गर्न सक्नुहुन्छ । एक थरी साथीहरुको के छ भने नि यो संरक्षक परिषदलाई लगेर बुझाईदिने भन्ने छ म चाँही त्यो पक्षमा छैन ।
संरक्षक परिषदमा बुझाउने भन्ने कुराले संस्थामा कस्तो खालको असर पार्दछ ?
कार्य समितिले हामीले सकेनौं, अब तिमीहरु आउनु पर्यो भनेको हो । यो भनेको कार्य समिती असक्षम भयो भन्ने हो । अहिलेको कार्य समितिलाई कसरी असक्षम भयो भन्ने ? कोभिडको यत्रो विषम परिस्थिती हुँदा पनि यती धेरै कामहरु भएका छन् । अब नेतृत्व हस्तातरण गर्ने बेलामा ‘ग्रेसफुल हेण्डओभर’ गर्न पनि खोजेको हुन् साथीहरुले । तर यस्तो परिस्थिती बन्यो । बाहिर देखिंदा परराष्ट्रले हस्तक्षेप गरेर यस्तो परिस्थिती बनेको हो । परराष्ट्रबाट दुई दुई वटा पत्रहरु आए । ति पत्रलाई नै अवज्ञा गरेर जाने कि भन्ने कुराहरु भएको छ । यस्तो गर्दा पनि झन विवाद बढ्छ । त्यसकारण पनि यसमा साथीहरुले शायद छलफल गर्दै हुनुहुन्छ । तर परराष्ट्रको हस्तक्षेप हुनै हुँदैन, रोकिनु पर्दछ ।
परराष्ट्रको यस्तो हस्तक्षेपलाई रोक्नका लागि संरक्षक परिषदको के भूमिका हुन्छ ?
म फेरी पनि भन्छु, अहिले हामीहरुको भूमिका अथवा हस्तक्षेप गर्नका लागि अहिले बेला नै भएको छैन । यो सबै कार्य समितिका साथीहरुले नै आइसीसीमा छलफल गरेर बैधानिक तवरबाट ६ महिना अवधी बढाउन पाईन्छ । अलिकती सहज हुने बित्तिकै एक डेढ महिनामा अधिवेशन गराएर राम्रो सँग नै नेतृत्व हस्तान्तरण गर्न सक्नुहुन्छ जस्तो लाग्छ । अहिले संरक्षक परिषदको आवश्यकता नै मैले देखेको छैन ।
परराष्ट्रको पत्रमा बिद्यार्थी र १ जुलाई देखी ३० जुलाई भित्रमा राष्ट्रिय परिषदको अधिवेशन हुनुपर्ने भन्ने बिधानको कुरा उठाएको छ । यि कुरामा कसरी दुबै पक्ष मिल्न सक्छन् ?
मलाई कस्तो लाग्छ भने परराष्ट्रको पत्रमा उल्लेख भएका कुराहरु एनआरएन आइसीसी सँग सम्बन्धित हुन् । राष्ट्रिय परिषदका हकमा कस्तो हुन्छ भने उनिहरु जुना देशमा छन् ति त्यहिंको निती नियम र कानुन अनुसार दर्ता भएका छन् । अधिवेशन कसरी गर्ने, कार्यसमिती कसरी चयन गर्ने भन्ने कुरा राष्ट्रिय परिषदहरुको आफ्नै क्षेत्राधिकारको कुरा हो । एनआरएन जुन छ नि यो परराष्ट्रमा दर्ता भएको छ । अनी हामीले दुनियाँका हरेक देशमा हाम्रो उद्देश्यसँग मिल्दोजुल्दो गरी जुन संस्था दर्ता भएका छन् तिनलाई हामीले हाम्रो ग्लोवल नेटवर्कको पार्ट भयौ है भन्दै हाम्रो एफिलिएशन पत्र दिएर यो नेटवर्क भित्र राखेको हो ।
त्यो भनेको के हो ? स्पष्ठ पार्नुस् न !
यो भनेको के भने उनिहरुलाई पनि फाईदा छ यत्रो ठूलो संस्थाको हामी मेम्बर बन्न पायौं भनेका छन् । र हामीलाई पनि हाम्रो यो नेटवर्क विश्वभरी विस्तार भयो भन्ने छ । तर कानुनी रुपमा आइसीसीले कुनै पनि एनसीसीलाई हस्तक्षेप गर्न मिल्दैन । आइसीसीले के मात्र भन्न सक्छ भने तपाईंहरु मिलेर विवादहरु समाधान गर्नुस अथवा आइसीसीबाट पर्यवेक्षक पठाउने र यदी साँचै नै धाँधली भएको छ, चुनाव नै अबैधानिक तरिकाले भएको छ भने त्यसलाई आइसीसीमा रिपोर्ट गर्ने भन्ने हो । तर अहिले परराष्ट्रले हस्तक्षेप गर्ने तहमा केही पनि भएको छैन । परराष्ट्र आफैंले प्रमाणिकरण गरेको विधान हो र विधानले स्पष्ट भनेका कुराहरुलाई हेर्दै नहेरी यसरी चिठ्ठी लेख्ने कुराले म त अचम्मित छु ।
सिधा रुपमा भन्दा एनआरएनको केन्द्रिय विधान जुन परराष्ट्रले प्रमाणिकरण गरेको हो त्यसले राष्ट्रिय परिषदहरुलाई प्रभाव पार्न सक्दैन । कुरो यही होइन त ?
कुरो यही हो । मैले भन्नुपर्ने कुरा के हुन्छ भने यदी हाम्रो उद्देश्य र हामीले केही क्राइटेरिया राखेका छौं । त्यो क्राइटेरिया पुरा नगरेको र उद्देश्य विपरित काम गरेको जस्तो देखियो भने तिमी हाम्रो एफिलिएशनमा छैनौ, हामी हाम्रो अनुबन्ध पत्र फिर्ता लिन्छौं, तिमी आफ्नो हिसाबले काम गर भनेर छोड्दिने हो । त्यो भन्दा बढी अरु केही पनि अधिकार परराष्ट्रलाई छैन ।
भनेपछी नेपालको परराष्ट्र मन्त्रालयले तिम्रो एनसीसीमा यस्तो गलत भयो वा त्यो गलत भयो भनेर भन्न पाउँदैन ?
उद्देश्य अनुरुप काम भएको छैन भने हामीले अनुवन्धन नदिन सक्छौं । तर हस्तक्षेप गर्न सक्दैनौं । यो कुरामा एकदम प्रष्ट हुनु जरुरी छ । र त्यस्ता संस्थाहरुलाई जवाफदेहिता खोज्दै परराष्ट्र मन्त्रालयले प्रश्न गर्न पाउँदैन ।
अहिले राजनीतिक हस्तक्षेपको कुरा पनि आएको छ । हो यही कुरा नेपाली राजनीतिक दलका मान्छेहरुलाई किन बुझाउन नसकेको ?
मैले आफूले नै पटक पटक विभिन्न दलका नेताज्युहरुलाई नै भेटेर यो कुरा बुझाउने प्रयास गरेको हुँ । तर उहाँहरु किन बुझ्नु हुँदैन मैले पनि बुझेको छैन ।
भनेपछी नेपालका पार्टीहरु एनआरएनको मामिलामा सच्चिनु पर्ने जरुरी छ ?
यो विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्था हो । म यो संस्थाको संस्थापक भएको नाताले पार्टीगत रुपले यसरी चालिएका कदमहरुलाई इन्डोर्स गर्न सक्दिन । यस्ता संघ संस्थाका सामान्य विवादमा कुनैपनि राजनीतिक पार्टीहरु जोडीनु हुँदैन । यो संस्था जतिबेला जन्मियो, त्यतिबेला त्यहाँ राम थापा, उपेद्र महतो, भिम उदास, दिपक खड्का, ईन्द्र वन र नरेश कोइराला हुनुहुन्थ्यो । यि सबै जना सचेत नागरिक भएको हुनाले हाम्रो कुनै न कुनै राजनीतिक आस्था थियो । उपेद्रजी देखिने गरेर नै नेपालमा राजनीति गरेर र सोभियत संघमा पनि विद्यार्थी छँदा कम्युनिष्ट फेडेरेशनको राजनीति गरेको मान्छे । तर हामीले एनआरएन अभियान बनाउने बेलामा कसैले पनि हाम्रो राजनीतिक आस्थाको कुरा बाहिर ल्याएनौं । अझै पनि मलाई कती साथीहरुको आस्थाका बारेमा थाहा छैन । र, कहिल्यै पनि सोधेनौं । हाम्रो लागि मुख्य कुरा के थियो भने एउटा साझा चौतारी बनाउने हो । हामी कसैलाई नेता हुने चाहना पनि थिएन । हामी पहिला पनि नेताहरुकहाँ जान्थ्यौं । उहाँहरुले बोलाउनु हुन्थ्यो । सद्भावपूर्ण थियो । तर दवाब थिएन । त्यो बेलाको हाम्रो गौरव खोइ अहिले ? साथीहरु कतै भेटे पनि अर्कोतिर अनुहार फर्काएको छ । उ बेला कत्रो उत्साह थियो । सद्भाव थियो । खोइ ति सबै अहिले ? मुख्य कुरा त्यो सबै बिगारेको पनि हामीले नै हो । समस्या हामीहरु मै छ । हामी सुध्रिने हो भने समाधान पनि निस्किन्छ । हामीले नै हो राजनीतिक दलका नेताहरुलाई गुहारेर हामीलाई हस्तक्षेप गरिदिनुस् भनेको । यसमा एक दुई जना होइन हामी सबैको दोष छ ।
अहिलेको यो बिवादमा जुन जुन कुराले काम गरिरहेको भए पनि, संघका अर्का संरक्षक शेष घलेले संरक्षक परिषदलाई जिम्मा दिए समस्या समाधान गर्न सकिन्छ भन्नु भएको छ । घलेजीले विधान बुझ्नु भएको छैन र ?
उहाँले किन भन्नु भो मलाई थाहा भएन । मेरो बुझाई, मेरो विश्वास अघी मैले जे भने त्यही हो । बिधानले जुन बेला संरक्षक परिषद सकृय हुन सक्छ भनेको छ त्यो बेला आएकै छैन । त्यस्तो बेला आएछ भने हामी छलफल र विचार गरौंला । त्यो अवस्था आएकै छैन । त्यसैले अहिलेको कार्यसमितिका साथीहरुले नै विधान भित्र रहेर यि विवादलाई समाधान गर्न सक्नुहुन्छ भन्ने कुरामा म पूर्णरुपले विश्वस्त छु । संरक्षक परिषदले हस्तक्षेप गर्ने अवस्था आउँदैन होला । उहाँले किन त्यसो भन्नु भो मैले बुझ्ने कुरा पनि भएन ।
परराष्ट्रले संस्थामा हस्तक्षेप गरेर शेष घलेलाई संघको साँचो सुम्पिने समाचारहरु आएका छन् । यदी यसो भयो भने एनआरएनको भविष्य कस्तो देख्नु हुन्छ ?
त्यो त म कल्पना पनि गर्दिन । आजको दिनसम्म मैले कल्पना नै नगरेको विषय हो यो । यदी त्यसो भयो भने दुर्भाग्य हुन्छ । संस्थाको लागि भयानक कुरा हो त्यो ।
एनआरएनमा यत्रा बिवादहरु आएका छन् । तर तपाईं भने कुनै एउटा उम्मेद्वारलाई जिताउने दौडमा लाग्नु भएको छ भन्ने कुरा सुनिन्छ । तपाईं जस्तो मान्छे तटस्ठ बस्नुपर्ने होइन र ?
म तटस्थ नै छु । चुनाव आउँदै छ भनेर भाई साथीहरुसँग बोलचाल नै बन्द गर्ने कुरो भएन । म त कुलजी र बद्री जी दुबै सँग नजिक छु । दुबै मेरा प्रिय साथीहरु हुन् ।