बिहीबार, वैशाख २०, २०८१

कुन राष्ट्रिय योगदानका लागि प्रकाश दहालको मूर्ती ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असार १७ गते १६:५८

फोटो स्रोत- अनलाईन खबर

जनयुद्दमा सानोतिनो सहयोग गरेका प्रकाश दहालको शालिक नुवाकोटको ककनीमा मूर्ति निर्माण गरिएपछि सामाजिक सन्जालमा ब्यापक बिरोध शुरु भएको छ । बिरोध नहोसपनि किन, यिनै माओवादी हुन् जसले जनयुद्दकालमा देशका धेरै मूर्ति तोडे । भत्काए । ढलाए । र मूर्ति ढाल्ने संस्क्रितिको बिउनै रोपे । त्यसलाई मज्जाले मलजल गरे । अहिले फेरि आफैं र आफ्नै कार्यकर्ताको मूर्ति ठड्याउन थालेका छन् ।

तिनले रोपेको मूर्ति ढाल्ने संस्क्रिति हलक्कै बढ्यो । त्यो यस्तरि बढ्यो, आफ्नो राजनितिक आस्था, धार्मिक सोच, बिपक्षी पार्टी, फरक भाषी र पूर्व राजा, शासक र पन्चायत कालमा बनेका मूर्ति सबै भत्काउने मेसोनै चलाए । माओवादीको त्यहि भत्काउने ज्ञानबाट शिक्षित र दिक्षित भएर विध्वंशकारीले गौतम बुद्ददेखि नारायण गोपालको मूर्तिसम्म तोड्न बाँकि राखेनन् ।

माओवादीमा आफूलाई मन नपरेपनि अरुलाई मन पर्न सक्छ । आफूले बिरोध गरेपनि समर्थन गर्ने अरु हुन सक्छन् र तिनको आस्थामा चोट पार्नुहुन्न भन्ने ज्ञान त हुने कुरै भएन । माओवादीलाई मूर्तिले देशको ईतिहास खोल्छ । कुनै कालखण्डमा कुनै वर्ग, त्यो समाजकालागि आवश्यक हुनसक्छ । र ति प्रति अनास्था भएपनि विध्वंशको बाटो अपनाएर भत्काउने, फुटाउने, सिध्याउने होइन कि तिनका नकारात्मक पक्षनै भएपनि जनताले सिक्न, जान्न र बुझ्न पाउनुपर्छ भन्ने ज्ञान पनि रहेन । त्यसैले देशका बिभिन्न ठाउँमा मूर्ति फोड्ने अभियान चलाए ।

अहिले त्यहि माओवादी सत्ताको राप र तापमा छ । हिजो आफू इतरका सबै सोच, आदर्श, वर्गका बिरुद्द लागेका, योगदान दिएपनि आफ्नो चिन्तन बिरुद्दका सबैको मूर्ति तोड्न लगायो माओवादीले । आज ऊ यो देशको लागि खासै योगदान नगरेका ब्यक्तिको मूर्ति निर्माण गर्दै हिंडेको छ ।

साँच्चै मूर्ती नै बनाउनुपर्ने के छ त प्रकाश दहालको योगदान यो देशकालगि ? सगरमाथा चढेकैले उनको मूर्ति स्थापना गर्नुपर्ने हो त ? त्यसो हो भने हाम्रो सगरमाथाको सफल आरोहण प्रकाश दहालले मात्रै गरेका होइनन् । लगभग चार हजार मानिसले सगरमाथा आरोहण गरेका छन् । नेपालमै बिना अक्सिजन, सबैभन्दा पाको उमेरको, सबैभन्दा छिटो, कम उमेर गरेर सगरमाथा आरोहण गर्ने नेपाली धेरैनै छन् । तिनको मूर्ति किन बन्दैन ? प्रकाश दहाल सँगै सगरमाथा सफल आरोहण गर्नेमा कृष्ण केसी, बिना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), मदन चुडाल, महेश्वर फुयाल, र शिव डाँगी पनि हुन् । तिनको मूर्ति किन बनेन ? सगरमाथाको आरोहण गर्दैमा देशकोलागि ठूलो योगदान हुने भए उनी अघिका अझ विशेष रेकर्ड तोडेका आरोहीको मूर्ति किन बनेन ?

लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते प्रकाश दहाल सँगै सगरमाथा आरोहण गर्ने बाँकीकोपनि कतै ठडिन्छ त मूर्ति ?

सगरमाथा आरोहण गरेका प्रकाश दाहाल (साकार) को शालिक नुवाकोटको ककनीमा निर्माण गरिनुको प्रमुख कारण उनका बाबु पुष्प कमल दहालको शक्ति र माओवादी सरकारमा हुनु अर्थात् राज्य शक्तिको दुरुपयोग हो । मनपरितन्त्र हो । होइन भने प्रकाश दहालले यो देशकोलागि के योगदान गरे ? राष्ट्रको कुन सम्मानित ओहदामा पुगे । सामाजिक क्षेत्रमा के उल्लेखनिय के काम गरे ? यो राष्ट्रले पल पल सम्झिनुपर्ने के गुन लगाए ? पर्यटन, आरोहण क्षेत्रमा के विलक्षण योगदान छ उनको ? कुन चमत्कारिक कर्म गरे त्यो क्षेत्रमा जसले प्रकाश दहाललाई सदा स्मरणयोग्य, पूजनिय बनाउने हुँदा मूर्ति ठड्याउनुपर्‍यो ?

देशमा ठडिएको हरेक मूर्तिले त्यस पात्रको बिगत, वर्तमान मात्रै खोल्दैन । उसले त्यो देश, समाज र क्षेत्रलाई गरेको योगदानको ईतिहास र नागरिकले शिर झुकाउने प्रेरणा पनि दिन्छ, दिनुपर्छ । अर्थात् मूर्ति यस्तो पात्रको बन्छ जसका बारेमा आम नागरिकमा चासो, चाख र सम्मान लुकेको हुन्छ । प्रकाश दहालले आफ्नो पार्टीका लागि केहि योगदान गरे पक्कै । उनैको पार्टीले सम्झिए हुन्छ । उनैको पार्टीले जति सम्मान गरेपनि भयो । तर देशलेनै शिर झुकाउनुपर्ने के त्यस्तो योगदान गरे जसले गर्दा उनको मूर्तिनै बनाउनुपर्‍यो ?

आफ्नो बिचार, आफ्नो वर्गिय भिन्नता, राजनितिक आस्था फरक भएकै भरमा मूर्तिहरु तोडफोड गरेको माओवादीले आफ्नो पार्टीका कार्यकर्ताको मूर्ति ठड्याएर के सन्देश दिन खोजेको हो ? उसले हिजो मूर्ति भत्काउने र तोडफोड गर्ने जुन संस्क्रिति र पाठ सिकायो, जुन सन्देश दियो त्यो देखेसिकेका आम नागरिकले प्रकाश दहालको मूर्तिलाई के सहज रुपमा लेलान् ? माओवादी आफैंले सिकाएको ज्ञान र देखाएको बाटो भुलेपनि आम नागरिकले पक्कै भुलेका छैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक