पानीमा रन वे, पानीमै तालिम
घुर्मौलो घुर्मैलो थियो घाम । अलि पर खेतबारीमा गहुँ र जौ स्याहार्नेहरु एकाध थिए । बिचमा पानीका केहि पोखेरी । पोखेरीलाई वरिपरि झ्याँस र साना बुट्याउनहरुले पर्खालको काम गरेका थिए । त्यहि पोखरीमा लगभग आठ वटा निलसर चरा थिए । मैले परैबाट सुनें, पोखरीमा फत्ल्याङफत्ल्याङ आवाज । टक्क रोकेर हरियो बोटको छेल पारेर हेरिरहें, केहिबेर । छत्ल्याङछत्ल्याङ आवाज केहिबेर आइराख्यो । कुनै जिवले चरा समातेको हो कि भन्ने शंकालेपनि घेर्यो । तर अझै केहि बेर छेल पारेर हेरेपछि थाह भयो, चरा कुनै जिवले मारेको होइन रहेछ । बरु पाका चरा (सायद आमा) ले आफ्ना हुर्कँदै गरेका बचेरालाई उडानको तालिम दिँदै रहिछे । पानीको लमतन्नो धर्सोमा जवानी चढ्दै गरेका बचेरा एक पछि अर्को पानीमा उड्न थाले । तैरिन लागे । पानीमा ठडिन र पानीमा ‘रन वे’ बनाएर उडान भर्न सिक्दै, सिकाउँदै रहेछन् ।
मैले हरियो बोटको छेल पारेरै क्यामरा सुस्तरी सोझ्याएँ । चराले सकेसम्म नदेख्ने अक्किल अपनाएर क्लिक क्लिक क्लिक क्लिक पारिरहें । करिब १० मिनेट क्लिक क्लिक गर्दा झण्डै दुई दर्जन फोटा लिएछु । लगभग १०-१५ मिनेटको अन्तरालमा दुई तीनवटा अर्धवैंशे निलसरले पानीमा चोबलिंदै पखेंटा फट्फटाउँदै, झप्ल्याङझप्ल्याङ पार्दै उडे । केहि बेर उडेपछि पानीमा उभिन र उभिएपछि उड्न सिके । उड्दा तिनले केहि पटक सफलता पाएनन्, पानीमै पधारिए । माउ र उसका केहि बच्चाले छेउमा उभिएर हेरिरहेका थिए । कहिलेकाहि पानी छप्लङ छप्लङ पार्दा त पानी छचल्किएर हिउँ जस्तो सेताम्मे देखिएको थियो ।
उड्ने र हिंडेरै जमिनमा जिवन गुजार्ने सबै चराले आफ्ना बचेरालाई तालिम दिनै पर्छ । उड्ने, लुक्ने, जिउने, भाग्ने सबै कला एक एक गरेर देखाउनै पर्छ । बच्चाहरुले समुहका आफूभन्दा जान्ने अरु र माउबाटै सिक्ने हुन् यि सबै कला । केहिबेर फोटो लिएपछि चराको हुलले थाह पायो र ति भुरुर्रै उडेर आकाशिए ! बाटो लागे ।