आइतबार, मंसिर २३, २०८१

ब्रिडाको पीडा

निर्मला प्रसाईं सापकोटा२०७९ माघ १५ गते २२:१९

निर्मला प्रसाई सापकोटा

झिसमिसे उज्यालोलाई छिचोल्दै काममा दौडनको हतार । सधैं एउटै दैनिकी । केही दिन अघिदेखि एउटा दृष्यले सताइरहेको छ मलाई । म त्यहि दृष्यको बयान गर्न गइरहेछु ।

एक बिहान सधैं हिडिरहने बाटो वाटर गार्डेनको माथिल्लो तलाउको बायाँतिर कुनामा एउटी महिला ठिङ्ग उभिएर एकोहोरो पूर्व क्षितिजमा हेरिरहेकी छ । झिसमिसे उज्यालो भएकोले ऊ भएको ठाउँमा पुगेपछि मात्र मैले उसलाई राम्ररी देखें । सुनसान गार्डेनमा एक्कासी त्यो महिलालाई देखेर झसंग भएँ । तैपनि केही वास्ता नगरी त्यो दिन आफ्नो बाटो लागेँ ।

कामको तालिका उही । भोलिपल्ट फेरि उही महिला, उही समय, उही ठाउँमा उही अवस्थामा अस्ताउन लागेका तारालाई विदाइ गरेर उदाउन लागेको सुर्यको प्रतिक्षामा उभिएकी हो भन्ने अनुमान लगाउँछु म । मध्य हिउँद, लामो बिहान कुर्नुपर्छ क्षितिजमा सुर्य देख्न पनि भन्ने कुरा मनमनै सोच्दै हिंडेँ ।

यो क्रम पाँच दिनसम्म निरन्तर चलिरहयो । छैठौं दिन चाहीँ काममा पुग्ने हतार भए पनि उसको परिचय लिएर उसको बारेमा बुझ्ने खुल्दुली भयो मलाई ।

दिनदिनै देखेको मान्छे त नचिने पनि चिनेजस्तै हुँदो रहेछ । त्यसैले उसको छेऊमा गएर मुस्कुराउँदै नमस्ते भनें । उसले भने गम्भिर भएर नमस्ते फर्काई ।

मैले सोधें, ‘यहाँलाई धेरै दिनदेखि यही समयमा यो ठाउँमा देखिरहेकी छु । त्यसैले परिचय गर्न मन लाग्यो ।’

उसले त्यही गम्भिर मुद्रामा मलाई आफ्नो परिचय दिँदै भनी, मेरो नाम ब्रिडा हो । म यहाँ नजिकै बस्छु । बिगत ३० वर्षदेखि घानाबाट परिवार सहित बेलायत आएर बसोबास गर्दै थियौं । आनन्दले जिविका चलिरहेको थियो । श्रीमान डक्टर थिए । उनलाई सन २०२० मा कोभिड लाग्यो । बचाउन सकिएन । मेरा दुई छोरा, एक छोरी सहित मलाई पनि कोभिड लागेको थियो । मेरा तीन छोरा छोरीलाई पनि कोभिडले लग्यो । म भने कोभिडसँग जुध्दै महिनौं हस्पिटलमा बसेँ । मेरो परिवार गुमेको कुरा पनि धेरैपछि मात्रै थाहा पाएँ । त्यसपछि कोभिडलाई परास्त गरेर आफु बाँच्न सफल भएको कुनै खुशी रहेन मसँग ।

सास छऊन्जेल मान्छेले जिविका चलाउँनै पर्दोरहेछ । दिनभरी त काम गरेर भुल्ने कोशीस गर्छु, रातभरी निद्रा लाग्दैन । त्यसैले बिहान सबेरै आएर यो सुन्दर गार्डेनबाट क्षितिजसम्म देखिने खुल्ला र अग्लो ठाउँमा आएर बस्छु । यहाँबाट मेरा श्रीमान र सन्तानहरुलाई सम्झँदै क्षितिजमा बिस्तारै उदाउन लागेको सुर्यसँग उनीहरुको आत्मा शान्तिको कामना गर्दै मेरो पनि उनीहरुसँग चाडै भेट होस् भन्ने प्राथना गर्छु । काममा जाने बेलासम्म यहीँ बसेर उनीहरुको सम्झनामा बिताउँछु । यसरी नै बिताउँदैछु उनीहरुलाई गुमाएपछिका मेरो दिनहरु ।

उसका कुरा सुन्दासुन्दै निकै आँशु झरेछन् मेरा पनि । त्यसपछि सान्तवना दिँदै निकैबेर अंगालोमा बाँधिरहेँ उसलाई ।

आफूलाई काममा जान हतार भएकोले उसको मोबाईल नम्बर मागें । फेरि सम्पर्कमा रहने वचन दिँदै उसँग छुट्टिएर हतार हतार आफ्नो बाटो लागेँ । दिनभरी उसैलाई सम्झेर मनमा दुख लागि रहयो ।

तपाइँको प्रतिक्रिया