बिहीबार, जेठ १०, २०८१

प्रेमपत्र

मणिकुमार श्रेष्ठ 'सिजन'/ भोजपुर२०८० जेठ ३ गते १७:४४

मणिकुमार श्रेष्ठ

झल्याँस्स सपनाले जागो बनाउँदा नेपाली भुमिमा टेकिँदै थियो । नेपालीपन र नेपाली मनले मनलाई फुरुङ पार्दै गयो । मनलाई फुरुङ्ग पार्दा पार्दै १७ बसन्त पार गरिसकेछ । १७ बर्ष अगाडीको प्रेमपत्र पल्टाउँदा अनि त्यस बेलाको एउटा माया (स्नेह) ले भरिएको पत्रमित्रको पानामा कोरिएको उनको पत्रको यादले आज पनि सताईरहेको छ । सायद भेट होला कि नहोला । जीवनको भोगाइहरुमा नै थाहा हुँदै जाला ।

२०६० साल साउन २२ गते मेरो वैदेशिक यात्रा तय भएको थियो, मलेशिया । यो एक स्वतन्त्र मुश्लिम देश हो जहाँ यौन, खानपान, लगायतका धेरै कुराको स्वतन्त्रता थियो । आज १७ बर्षपछि त्यस देशको स्वतन्त्रता अझ प्रगाढ हुँदै गएको हुनुपर्छ भन्ने मरो ठम्याइ छ । जे होस, नेपाली दाजुभाई तथा दिदी बहिनीहरु अहिले पनि मलेशियालाई आफ्नो कर्मथलो बनाएर घरबार चलाईरहेका छन् । अनि नेपालमा रेमिट्यान्स भित्र्याउने एउटा आधार तयार गरेका छन् ।

अहिलेको समयले कोल्टे फेरेको छ । मसँगै प्रदेश गएका धेरै साथीहरु आज पनि प्रदेशबाटै आफ्नो जिवन गुजरा साथै लालाबालाको शिक्षा, दिक्षाको आधार बनाईरहेका छन् । बाध्यता भएर हो या मेरो देशको अवस्थाले धेरै नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरु परदेशिनु परेको छ । हरेक घरमा छोरा÷छोरी २० बर्षको भएपछि प्रदेशको यात्रा गर्ने कुराको छलफल सुरु हुन्छ । धेरैजनाले प्रदेशको यात्रा तय गर्नु बाध्यता जस्तै हुन्छ । मेरो पनि यस्तै बाध्यताले २१ बर्षको उमेरमा रोजगारीको लागि मलेसिया जानु परेको थियो ।

ईतिहासले पनि कोल्टे फेर्दै गएको मात्रै होइन कि उमरले पनि पाको बनाउँदै लगेको छ । युवा अवस्थामा नै धेरै अनुभुति गरेको आफुलाई महशुस हुन्छ । माया, प्रेम, स्नेह, दया, धर्म, कर्म, ममता, इत्यादी शब्दको खेती गर्ने हो भने धेरै छन् । शब्दको खेतीले जीवन जलाउनेहरु पनि यही धर्तीमा छन् । आज तिनै शब्दको खेती गर्नेहरुको भिडमा आफुलाई पनि कुनैबेला कसैको माया पाउन शब्दको खेती मार्फत उपल्लो मुलुक समुन्द्रपारबाट एउटा हुलाक टिकटको सहाराले गन्तव्यसम्म आईपुगेको पत्रमित्रताको यात्रा निकै रोमान्चक थियो । खै किन किन बिर्सुँ भन्छु । तर यादले पछ्याइरहन्छन् ।

कहिलेकाहीँ प्रकाश कोविदको ‘मोति दिएर आँसु बटुलेँ हार भएन जीत, हाँगाबाट झरेको फुलले भुल्न सकेन प्रित’ बाक्यले झस्काईरहन्छ । साँच्चै उ बेला आजको जस्तो टेलिफोनको जमाना थिएन । टेलिफोनमा कुरा गर्न निकै लामो यात्रा तय गरेर जानु पर्दथ्यो । समुन्द्रपार भएको हुनाले पत्रबाटै हाम्रा कुराहरु आदान÷प्रदान हुने गर्दथ्यो । यसरी हामी बिच करिब दुई बर्ष भन्दा बढि समय पत्रको माध्यमबाट सुचना÷भावनाहरु एक अर्कामा आदान÷प्रदान भएको थियो ।

मेरो बसाई २०६० सालको साउन २२ गतेदेखी २०६३ साउन २२ गतेसम्म मलेशियामा रहन गयो । मलेशिया बसाईमा मैले अर्थपुर्ण अनुभुतिहरु जीवनको लागि सँगालेको छु । तिनै अनुभुति मध्ये एउटा अनुभति प्रेमपत्र हो । जसको माध्यमबाट हामीहरुले एक आपसमा विचारहरु भावनाहरु साटासाट गरेका थियौं । यसरी हामीले दुई बर्ष भन्दा बढि समयसम्म भावना साटासाट गरेर नेपाल आएपछि भावनाहरु साटासाट नभएको पनि १७ बर्ष भईसकेछ । मैले उनलाई लेखेको पत्र उनले पनि सुरक्षीत राखेको हुन सक्छ । मैले उनले पठाएका हरेक पत्रव्यवहारलाई एउटा असल साथीको चिनो रुवरुप सँगालेर राखेको छु । समय आएपछि ति पोकोहरु खोल्दै जाने नै छु । जुन पत्रमा उनले नेपालको त्यसबेलामा राजनैतिक वातावरण देखि हाम्रो माया पिरतीको कुरा सम्म उल्लेख गरेका छन् ।

आज विदेशमा हुने दाजुभाईहरुले आफन्तहरुसँग कुराकानी गर्नका लागि कुनै समय कुर्नु पर्दैन । केवल केही क्षणमा नै विश्वका हरेक कुना–कुनाबाट आफन्तहरुसँग कुराकानी गर्न सकिन्छ । समयको अन्तरालसँगै हाम्रो पत्रमित्र यात्रामा विराम लागेको निकै लामो समय भयो । सायद यहि नै पत्रमित्र थियो मेरो जिवनको पहिलो मित्रता । अपरिचित साथीलाई मित्रता बनाउने माध्यम । म हरेका पलमा उनलाई सम्झन्छु । अनि कल्पनामा पनि हेर्ने गर्दछु । उनको हँसिलो जिउडालको परिकल्पना गर्ने गर्दछु ।

उनको पत्रले पनि अझै मेरो मुहारमा चमक ल्याउने गर्दछ । म आफैँ सोच्छु, किन उनको पत्रले मलाई चमक ल्याउँछ । अनि मेरा दिलमा जरा गाडेर बसेको छ । म सोचिरहेको छु । सायद उनी पनि सोचिरहेका होलान् । मलाई पठाएको पत्रहरु उनले संग्रहमा राखेका होलान । मैले पनि उनले पठाएका पत्रको संगालो नै राखेको छु ।

यात्रा मिठास थियो । मलेशियाको ३ बर्षको बसाई अनि बसाईसँगै मित्रताको डायरीमा रहेको उनैका पत्रहरुको संगालो । मैले प्रयोग गर्ने धेरै सामानहरु मलेशियामा छाडेको थिएँ । तर, उनले पठाएका पत्र मित्रताको चिनो स्वरुप राखेको छुु । जसलाई मैले सात समुन्द्र पारीबाट ल्याएको एउटा सानो कोशेली हो त्यो ।

त्यही कोशेलीलाई एउटा संग्रहको रुपमा विकास गर्ने योजना बनाएको छु । मैले मित्रता जोडेको साथी कोही नभएर दिलु हुन् । उनको परिवारिक जिवनमा असर गर्न सक्ने उद्देश्य राखेर ठेगाना मात्र औंल्याउने कोशिष गरेको छु । मेरा अनन्य मित्र धनपाल राई (मोरङ टाडी धवेनी) मार्फत मलेशियाबाट पत्रमित्र सुरु भएको हो हाम्रो । मित्र अहिले कहाँ छन मलाई त्यो त थाहा छैन । तर, दिलुसँग भेटेर एक पटक मित्रता हात बढाई मेरो पत्रहरु फिर्ता लिने योजनामा छु । यदि जतनसाथ राखिएको रहेछ भने । अनि उनले पनि पत्र मागेको खण्डमा फिर्ता दिने मोडमा छु । किनकि उनले पठाएको पत्र र मैले पठाएको पत्रको शब्दलाई मिलाएर एउटा सुमधुर प्रेम डायरी तयारी गर्ने सोचमा छु । जसलाई भावि पुस्ताले समेत अध्ययन गर्ने अवसर पाउन् । प्रेमपत्रले साईनो केलाउन नपाउँदै सम्बन्धका पाटाहरु केवल अपरीचितमा सिमित हुन नपुगोस ।

तपाइँको प्रतिक्रिया

फेसबुक