रानी ऐश्वर्यका नाउँमा नेपाली राजदूत निवास किनिएको त्यो बेला
(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला र दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोला)
पेरिस आइपुगेको दुइ तीन महिना पछि दूतावासका पुराना सवारी चालकको ठाउँमा आफैंले काम गर्न थालेँ । शुरुका केहि महिना त जता गयो उतै हराउने भयो । भारतमा बसेकोले भारतीयसँग मिल्ने बानी थियो मेरो । पेरिस आएपछि भारतीय दूतावासमा आउने ‘टाइम्स अफ इन्डिया’ दैनिक, बिश्वामित्रा जस्ता पत्रिका लिन म जान्थेँ । त्रैलोक्यनाथ उप्रेती सरले ति पत्रिका पढ्नुहुन्थ्यो । यसै क्रममा भेरो भारतीय दूतावासका सवारी चालक रविनायरसँग चिनाजान भयो । उनले पेरिसको नक्सा हेर्ने र बाटोघाटो चिनाइदिएर ठूलो गुन लगाए ।
उ बेला नेपाली दूतावासमा को सहचारि पदमा घनश्याम लाल जोशी हुनुहुन्थ्यो । उहाँ पनि ड्राइभिँग सिकिरहनु भएको रहेछ । रहँदा बस्दा उहाँ र म ढुंगाको भर माटो र माटोको भर ढुंगो जस्तो भइयो । मैले उहाँबाट सिक्ने र मबाट उहाँले सिक्ने भयो ।
म पेरिस आइपुग्दा उ बेला मुस्किलले दुइ दर्जन नेपाली थिए । मिलेर बस्नु भन्दा मै ठूलो भन्ने स्वभाव नेपाली समुदायमा थियो । ‘तिमीले भाषा जानेका छैनौ, तिम्रो यहाँ बस्ने दिर्घकालिन आवाशिय अनुमति कागज छैन, तिमीले भन्दा मैले बढी कमाएँ, कठै नि तिमी’ आदि भनेर ‘खत्री बनाउने’ र हेप्ने खालको बानी देखाउने गर्थे । यस्ताहरुलाई तह लगाउन पिएको बेलामा ‘लागेको जस्तो’ बहाना पारेर ‘तिमीहरु झैं भाँडा माझ्न आएको होइन’ भनेर जवाफ दिनुपर्थ्यो । कोही त बुझ्थे तर कोही चाहीँ बुझ्दैनथे ।
उ बेला पेरिसको १६ वडाको नेपाली दूतावास सानो थियो । त्रैलोक्यनाथ सरको राजा वीरेन्द्रसँग सीधा वात गर्ने क्षमता थियो । देशका हितमा हुने कुराहरु खुलेर भन्ने र विस्वस्त पनि बनाउन सक्नुहुन्थ्यो उहाँ । उहाँकै पालोमा ‘पेरिसमा एउटा घर किन्न पाए हुन्थ्यो सरकार’ भनेर मौखिक माग भयो । राजा वीरेन्द्रको आदेश अनुसार पेरिसको १६ नम्बर वडाको अल्बेरिक मेग्नार्डमा रहेको गल्लीमा घर किनियो । अमेरिकन एक्सप्रेसको चेकबाट पैसा आएको थियो नेपाल राष्ट्र बैंक मार्फत । तीन तले यो घर अहिले नेपाल सरकारका राजदूतको निवासस्थान हो । घरको मुल्य र मर्मत संभार भनेर १६ लाख फ्रेन्च फ्रेंकमा किनेको हो यो घर । खासमा १३ लाख फ्रेन्च फ्रेक परेको हो । यो घरको मूल्य अहिले करोडौँ युरोमा पुग्छ । एउटा कर्मचारी दुरदर्शी बनिदियो भने राज्यले कसरी लाभ लिन सक्छ भन्ने उदाहरण हो यो ।
खै के मिलेन कुन्नी शुरुमा । किन्दा यो घर रानी एश्वर्यका नाउँमा किनिएको थियो र पछि नेपाल सरकारका नाउँमा नामसारी भएको हो । नेपाल सरकारका नाउँमा कहिले नामसरी भयो भन्न सक्दिन । तर मलाइ लाग्छ, यो काम कल्याण बिक्रम राजदुत हुँदा भएको हो । यो घरको सबैभन्दा माथिल्लो तलामा रोयल शुट थियो । यो रोयल शुटमा दवारका मानिस पेरिस घुम्न आउँदा सुत्थे । राजपरिवारका जयन्ती शाह, हेलेन शाह, शान्ति सिंहका जेठो छोरा, धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह पनि आएर यहाँ बसे । जयन्ती र हेलेन शाहलाई त मैले पनि ल्याउने लाने गरेँ ।
राजपरिवारको कुरा गर्दा पेरिसमा रहँदा संझन पर्ने त्यस्ता कुरा अहिले मनमा आएनन् । तर २०६१ को शाही कू पश्चात् राजाको शासन कालमा शिक्षामन्त्री बनेका राधाकृष्ण मैनालीले भने हाम्रो अनुहार रातो पार्ने हर्कत गरे । भएको के थियो भने शिक्षा मन्त्रीका हैसियतले उनी युनेस्कोको कार्यक्रममा आएका रहेछन् । त्यसैबखत एभरेष्ट एसोसीएन भन्ने नेपालीहरुको एउटा एसोसीएसनले कार्यक्रम राखेको थियो । र कार्यक्रमका मुख्य अतिथी थिए शिक्षा मन्त्री । कार्यक्रम शुरु हुनु भन्दा पहिला नै उनी अल्कोहलको नशामा डुबिसकेका थिए । मन्चमा मन्त्रीका हैसियतले बोल्नु पर्ने बेला भयो । उनी त खाली एस आइ नो अबाउट नेपाल एन्ड फ्रान्स भन्न थाले बाँकी कुरै निस्केन । फ्रान्सेलीहरु मन्त्रीका कुरा सुन्न बसेका छन् । मन्त्री चाहिँ खाली ‘एस आइ नो अबाउट नेपाल एन्ड फ्रान्स’ भन्ने ।
उ बेला कार्यवाहक राजदुत थिए निरन्जन मान सिंह बस्नेत । अनि उनैले ‘होइन हजुरले दुख गर्नु पर्दैन मेरो कानमा साउती मारिस्यो के भन्ने भनेर म उल्था गरिदिन्छु’ भने । अनि मन्त्रीज्युले नेपाल र फ्रान्सको सम्बन्ध निकै पुरानो छ र यसरी खोज्दै जाँदा भीमसेन थापा सम्म पनि पुग्न सकिन्छ भनेर कुरा मिलाए । अनि यिनै बस्नेतले भीमसेन थापाको नाम पेरिसको शार्ल द गोल एत्वालमा पनि लेखिएको छ र प्राइम मिनिस्टर भीमशेन थापाले अज्ञात शहिदहरुका नाममा माल्यार्पण पनि गर्नुभएको थियो उ बेलामा भनेर च्याट चुट मिलाएर कुरा गरिदिए ।
कार्यक्रम सकिएपछि नाचगान सुरु भयो । मन्त्री त बच्चासँग नाच्न थाले । रमाइलोको लागि नाचेपनि फ्रान्समा बच्चालाइ हत्तपत्त छुन पाइन्न । त्यहाँ त डरै भयो, मन्त्रीले हात समातेर नाचेको देखेपछि । हाम्रा त मुखै सुके । कुटनीतिको ज्ञानै नभएका मानिस पनि मन्त्री हुनेरहेछन् भनेर आश्चर्य मानियो ।
म फेरी त्रैलोक्यनाथ उप्रेती सर तिरै लाग्छु । उहाँपछि कृष्णराज अर्याल राजदुत भएर आउने हुनुभयो । अर्याल पहिला शिक्षा राज्य मन्त्री हुनुहुन्थ्यो । पछि परराष्ट्र मन्त्री बन्नुभयो । परराष्ट्र मन्त्री बनेको मानिस खै के रहरले हो राजदूत बनेर पेरिस आउनुभयो । त्रैलोक्य सर पदिय हिसाबले पूर्व भिसी र उहाँ पदिय हिसाबले पूर्व राज्य मन्त्री । त्रैलोक्य सरलाई मलाइ गरिखान दिदैनन भन्ने के लाग्यो । ‘अब म फर्कने बेला भयो, बाहिर अन्त कतै काम खोज’ भन्नुभयो ।
आठ दश वटा दूतावासमा चिठी पठाएँ । अनि एकदिन सरले ‘के के गर्यौ त ?’ भनेर फेरि सोध्नुभयो । मैले ‘आठ दश ठाउँका दूतावासमा पत्र पठाएको छु’ भनें जसमा नाइजेरियन दूतावास पनि थियो । ‘ए नाइजेरियाको दूतावासमा त मेरो साथी राजदूत छ’ भन्नुभयो । उहाँले नै पछि एक कल फोन पनि गरिदिनु भयो । संयोग त्यहाँ एउटा पद खाली पनि रहेछ । क्यानडामा उहाँहरु दुवैजना सँगै पढ्नुभएको पनि रहेछ र नाइजेरियन राजदूत त्यो भन्दा पहिला भारतकालागि पनि राजदूत भैसकेका रहेछन् ।
त्रैलोक्यनाथ सर सँगका १८ महिनाको अनुभव अति सुखद र सहयोगले भरिपूर्ण रह्यो । उहाँको परिवारलाई मैले सधैं नै आफ्नो परिवार मानेँ र मान्छु । त्रैलोक्यनाथ सर जस्तो मानिसको संगतमा रहन पाउनु मेरो सौभाग्य हो । उहाँ भनेको मेरो बुबा सरहको मानिस हुनुहुन्छ । एउटा मानिसले गरिखाओस भनेर ह्दय खोलेर सहयोग गर्ने मानिस अचेल पाउन गाह्रो छ ।
त्रैलोक्यनाथ सर नेपाल फर्कनु भएपछि मैले नाइजेरियन दूतावासमा काम शुरु गरेँ । उ बेला नाइजेरियाको पैसा फ्रान्सको भन्दा महँगो थियो । युरोपमा उनीहरुको रवाफ थियो । शानले जिउँथे उनीहरु । धनि दूतावास न पर्यो । नाइजेरियन राजदूतका श्रीमतीहरुले समेत सवारी चालक राख्न पाउने सुविधा थियो । मैले नाइजेरियन दूतावासका राजदूतहरुको श्रीमतीहरुका गाडि चलाएँ ।
यि महिलाहरु उ बेला नै हाम्रो नेपालका महिलाहरुभन्दा निकै फराकिलो दृष्टिकोण राख्थे । चालकहरुलाई कहिल्यै पनि तिमी या तँ भनेर सम्बोधन नगर्ने । किचनमा जे छ त्यो झिकेर खाउ भन्ने र किनमेलका लागि आफ्नो बैंक कार्ड दिएर पठाउने गर्थे । हाम्रोमा त सवारी चालकहरुलाई हेपेर बोल्ने बानी छ । किनमेलका सवालमा त हाम्रा राजदूतका श्रीमतीहरु आफैं जाने गरेको देखेँ । यसलाई पनि ठीकै मानौँ रे ल । तर केहि केहिले त नेपाल सरकारको सुविधा प्रयोग गरेर नेपालबाट चालक ल्याए । यताको पैसामा दिनुपर्ने तलब नदिएर नेपाली रुपैयाँमा तलब दिए । कतिसँग उल्टो नेपालमै दलालले जस्तो पैसा खाएर यता ल्याए अनि बाहिरै जागिर खोज्न लगाएर त्यो पैसा पचाए । सवारी चालकको पैसामा समेत र्याल चुहाएको देखियो र सुनियो ।
म नाइजेरियन दूतावासमा काम गर्दा एक नायरा (नेपाली एक रुप्पै जस्तै) बराबर एक दशमलव ५२ डलर थियो । डलर भन्दा नायरा महँगो ! फ्रेन्च फ्रेँक भन्दा झन् महँगो । अहो उनीहरुको मान सम्मान र रवाफ । अमेरिका भन्दा पनि हामी धनी भन्थे । ‘तिमीहरु जस्तो जान्ने त कोही छैन’ भनेर मैले पनि फुर्काइदिन्थेँ । खनिज तेलको अभाव भएका बेला सन् १९७३ मा यो नायरा भन्ने पैसा निस्केको रहेछ । तामा, सुन, हिरा आदि पाइने त्यो देश । पछि पश्चिमी देशहरुले बजार कब्जा गरे र नाइजेरियाको पैसा अवमुल्यन गरिदिए ।
मलाइ ‘तिम्रो देश बिचरा गरिब’ भन्थे । म चाहिँ ‘देश गरिव भएपनि मुद्रा स्थिर छ’ भन्थें । मैले काम शुरु गर्दा एक नायराको ६ फ्रेन्च फ्रेँक हुन्थ्यो । सन् १९८४ मा काम छाड्दा एक फ्रेन्च बराबर ११ नायरा भयो । अचेल त यसको अवमुल्यन यति भयो कि अचेल त चार शय ६० नायराको एक डलर हुन आउँछ । देशमा नीति राम्रो नभएपछि र शासक भ्रष्टाचारमा डुबेपछि यस्तो हुँदो रहेछ भन्ने कुरा आँखै अगाडी देखेँ । उनीहरुको रवाफ घटेर शुन्य हुँदै माइनसमा पुगेको पनि देखेँ ।
त्यहाँ मैले करिव १५ वर्ष काम गरेर छाडेँ । पेटको बिमार भएर काम गर्न गाह्रो भयो । सल्लाहमै म बिदाबादी हुँदा उनीहरुले मलाइ पाँच लाख फ्रेन्च फ्रेंक दिए । एक लाखले नेपाल पुगेर बिराटनगरमा जग्गा किने । अर्को पैसामा थप पैसा थपेर अहिले पेरिसमा बसिरहेको अपार्टमेन्ट किनेँ ।
नाइजेरियन दुतावासमा काम गर्दै गर्दा नेपालबाट परिवार पनि ल्याएँ । परिवार त ल्याएँ नयाँ ठाउँ छ कहाँ राख्ने । अहो नि डेरा पाउन कति गाह्रो ! यसको पनि कथा लामो छ । क्रमश………
(लेखन : अनुराधा पौडेल, अतिथि सम्पादक, नेपाल प्लस)