मंगलबार, फागुन २२, २०८०

आफ्नै जिल्ला जान पासपोर्ट चाहिने त्यो बेला, नदी जस्तै सुस्साउने पेरिसका यि सडक

ध्रुव वाग्ले / पेरिस, फ्रान्स२०८० जेठ ९ गते १८:२५

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ध्रुव वाग्ले

नेपालमा रहँदा स्विस एजेन्सी फर टेक्निकल असिस्टेन्स (साटा) प्रोजेक्टको महारोगी खानामा ड्राइभर बन्दै गर्दा म दुखी मानिसहरु प्रति म बढी नै संबेदनशिल बनेँ । खोकनामा रहेको यो महारोगी खानालाई अंग्रेजीमा लेप्रोसी क्याम्प भनिन्थ्यो । यसलाई आनन्द भवन पनि भनिन्छ । यहाँ काम गर्दै गर्दा मैले काठमाडौंका एकजना धोवीलाई ड्राइभिङ् सिकाइदिएँ । साटाको यो प्रोजेक्ट समय समयमा नविकरण भइरहन्थ्यो । मलाइ पनि प्रोजेक्ट नविकरण गर्ने बेलामा बिदा दिन्थे र प्रोजेक्ट भइसकेपछि पुन बोलाउँथे ।

फ्रान्स आउने बेलामा म छुट्टीमा नै थिएँ । तर यहि बेला यिनै धोवी मार्फत हेमचन्द्र श्रेष्ठसँग परिचय गरेँ जो कविवर सिद्दिचरण श्रेष्ठका आफन्त हुनुहुन्थ्यो । त्यो बेला एकले अर्कालाई चिनेपछि आफन्त जस्तो ठान्ने र सम्पर्क सम्पर्कमै काम खोज्ने या मिलाइदिने हुन्थ्यो ।

अचेल त वल्लो घरको मानिसले पल्लो घरको चिन्दैन । एउटै कार्यालयमा काम गर्छन् तर खुलेर बोल्दैनन । मानिसहरु बोल्न या बास्तविक कुरा गर्न डर मान्छन् । अनुशासनको नियमले जुन मानिसस पाको या पुरानो छ त्यसलाई नमस्कार गर्नुपर्छ । तर अचेल यस्तो सम्मान हरायो । उस्तै परे अचेल पाका मानिसहरुले तरुणहरुलाई नमस्कार गर्नुपर्छ ।

हेमचन्द्र सर त्रिभुवन बिश्व विद्यालय मातहतको सिरिड अर्थात शैक्षिक अनुसन्धान केन्द्र नवाचार र विकास (केरिड्) शिक्षा अनुसन्धान केन्द्रमा काम गर्नुहुन्थ्यो । उ बेला पेरिसमा नेपाली राजदुत रहनुभएका डा. त्रैलोक्यनाथ उप्रेतीले एकजना ड्राइभर खोजिरहनु भएको रहेछ । त्रैलेक्यनाथ सरको साला उद्वदेव भट्ट र हेमचन्द्र सरको चिनजान रहेछ । हेमचन्द्र सरले नै मलाइ ‘पेरिस जाने हो त ? त्यहाँ ड्राइभर चाहिएको छ’ भन्नुभयो । मैले दायाँ बायाँ नसोचिकनै ‘हुन्छ नि सर’ भनेँ र पेरिस आउने निधो गरेँ ।

अहो काभ्रेको रोशी जस्तै नदी यतापनि रहेछ भनेर पेरिसमा सुस्साएको नदी खोज्दै खोज्दै गएँ । रसियन दुतावासको पछाडी पुगेछु । त्यो त कहाँको नदी हुनु ! पेरिसमा गाडीहरु चार लाइन जाने र चार लाइन फर्कने गरी आठ लाइनको चक्रपथ रहेछ । आम्मा नि त्यो आठ लाइन बाटोमा गाडी एक पछि अर्को कुदेका कुद्यै । त्यसकै आवाज अलि परबाट सुन्दा नदी बगेको जस्तो सुनिदोँ रहेछ । हत्तेरी भनेर लाज मानेँ ।

उ बेला नेपाली राहदानी बनाउन निकै गाह्रो थियो । नेपाली राहदानीको अबधि जम्मा एक वर्षको हुन्थ्यो । मलाइ लाग्छ, सन् १९८८ तिर मात्र नेपालको राहदानी पाँच वर्षमा नविकरण गरिनुपर्ने नियम आयो । राणाकालमा त एक जिल्लाबाट अर्को जिल्ला जान पनि नेपालीले राहदानी बनाउनु पर्थ्यो । नविकरण गर्न काठमाडौं पुग्नु पर्थ्यो । पासपोर्ट नविकरण गर्न गएका मानिसको कुनै रिसइवी थियो भने त पासपोर्ट परराष्ट्रका कर्मचारीले राखिदिन्थे र सर्जमिन गर्ने बाहानामा पासपोर्ट दिने बेला हुन्छ हुन्छ भन्दै झुलाइदिन्थे । उ बेला कर्मचारीका हातमा शक्ति थियो । अहो बढो गाह्रो पो थियो त ।

राहदानी लिन फाराम भरेपछि कम्तीमा दुइ महिना कुर्नुपर्थ्यो । पराराष्ट्ले गृहलाई खबर गर्थ्यो र नजिकको प्रहरीले असल व्यहोरा भए नभएको सर्जमिन गर्थ्यो । कतिपय ठाउँमा घुस माग्थे । घुस पनि सस्तो हो र ! घर जग्गा बेच्दा पनि नपुग्ने गरि माग्ने भएपछि कसैले पनि पासपोर्ट बनाउने आँट नै गर्दैनथे । तर मेरा लागि भने गाह्रो भएन । त्रैलोक्यनाथ सरकै सालो र उहाँहरुको चिनजानका मानिस भएपछि मैले त बढो शानले पासपोर्ट लिएँ । फोटो खिचेर पराराष्ट्र मन्त्रालय गएँ । ढोकामा बसेको पालेले ‘किन आइस ?’ भनेर हेपे जस्तो गरि बोल्यो । मैले ‘सचिवले बोलाएर आएको’ भनेपछि लुत्रुक्कै छाडिगयो । मेरो लागि कुनै झन्झट भएन । किनभने सबै व्यवस्था त्रैलौक्यनाथका सालाले मिलाउनुभयो ।

मलाइ संझना छ, हरेक वर्ष नविकरण हुने गरी मैले तीन पटक राहदानी परिवर्तन गरेँ । त्यसपछि त नेपाली राहदानीको अवधि पाँच वर्षको हुन थाल्यो ।

राजालाई राम्रो लागेका मानिसलाई उ बेला हुकुम दिएर (जसलाई हुकुम प्रमाँगी भनिन्थ्यो) बिभिन्न सरकारी काम काजमा लगाउँथे । पूर्व दुइ नम्बर रामेछापका मेजर जनरल पद्मबहादुर खत्री यस्तै मानिस थिए । उनले सन् १९४८ मा संयुक्त राष्ट्र संघको सदस्यताका लागि नेपालको तर्फबाट पहिलो आवेदन दिएका थिए । उनी धेरै राम्रा मानिस थिए । उनलाई सन् १९८२ मा राजा वीरेन्द्रले परराष्ट्रमन्त्रीको रूपमा नियुक्त गरेका थिए । उनकै पालोमा ‘सरकार नेपालको राहदानी पाउने व्यवस्था अलि खुकुलो गर्नुपर्यो’ भनेपछि बल्ल नेपालीले पनि राहदानी पाउन थाले । नत्र त मंगोल अनुहारका तिब्बतियनहरुले सजिलै राहदानी पाउने अरु बाहुन क्षेत्रीले त राजाको दरवारमा मुगाको अभाव जस्तो पो गाह्रो थियो । जसले राहदानी पायो त्यसको उ बेला बडो इज्जत हुन्थ्यो ।

मैले राहदानी निकाल्दा डा. त्रैलोक्यनाथले पेरिस स्थित नेपाली दुतावासको आधा आधी कार्यकाल बिताइसक्नुभएको थियो । उ बेला पनि पेरिस स्थित नेपाली राजदुतले शिक्षा, विज्ञान र संस्कृतिको लागि संयुक्त राष्ट्र संघिय निकाय (युनेस्को) लागि पनि राजदुतकै भूमिका खेल्थे । यो बेला काठमाण्डुको स्वयम्भु आसपासको जग्गा भासिएको रहेछ र विश्व सम्पदा सुचिको आसपासको जग्गा भासिएका कारण त्यसकै अवलोकन गर्न उहाँ युनेस्कोका प्रथम महानिर्देशक आमादु माथर एम्बाउसँग नेपाल भ्रमणमा जानुभएको रहेछ ।

नेपाली राहदानी बनाएपछि टिकट किन्ने व्यवस्था पनि त्रैलोक्यनाथ सरले नै गरिदिनु भयो । ‘भन्दा भन्दै फर्किन सकिँदैन ल घरखर्ची पैसा घर जहानलाई देउ’ भनेर उ बेला चालिस हजार नेपालीपनि गोजिबाट झिकेर दिनुभयो । आमालाई १० हजार, श्रीमतीलाई पनि १० हजार गरेर खर्च दिएर हिँडेको । त्यस्ता मानिस अचेल कहाँ पाउनु र ! उहाँ त अर्कै स्वभावको मानिस हो भन्ने मलाइ लाग्छ । कुनै लप्पन छप्पन, दुस्टाइँ भन्ने कुरा केहि नजानेको । उहाँ त मेरो बुबा समानको मानिस हुनुहुन्छ । पछि पेरिस आएर काम गरिवरी उहाँलाई यो पैसा बिस्तारै फिर्ता गरेँ ।

उनले त हेर्दा हेर्दै एक सय ५० मा पनि कुदाए । यो देखेपछि त मेरो हंसले पनि ठाउँ छाड्यो । डरले हातमा खलखल पसिना आयो र ओठ तालु सुक्यो ।

पेरिस आउने बेलामा पनि रमाइलो छ मेरो कथा । त्रैलोक्यनाथ सरले ‘ल दिल्लीमा भेटौँला तिमी आउँदै गर’ भन्नुभयो । र आफू पहिला नै दिल्ली हिँड्नुभयो । असार अन्तिमको गर्मीको समय तरर पसिना बग्ने । म काठमाण्डूबाट पटनाकालागि उडेँ । अनि पटनाबाट दिल्ली चाँहि रेल चढेर गएँ । उ बेला दिल्ली भन्दा पटनामा बढी चहलपहल भेटिन्थ्यो । समयमै दिल्ली पुगेँ तर के गर्ने दिल्लीमा त झमझम पानी परिरहेको । फेरी गर्मी उस्तै छ । छानी छानी सिनेमा हल गएर तीनवटा फिलिम हेरेँ । पछि त्रैलोक्यनाथ सरसँगै एयरपोर्टमा भेट भयो । हामी रातीको जहाज चढेर मस्कोको लागि उड्यौँ । उहाँ चाहिँ कुटनीतिक क्षेत्रको मानिस । उहाँलाई त बढो मानसम्मानका साथ भित्र लगे । म चाहिँ गान्धी सीटमा (इकोनोमिक क्लासमा) थिएँ । सोभियत संघले कुटनीतिज्ञहरुलाई सम्मानको व्यवहार गरेको देखेँ ।

म सन् १९७८ को जुलाइ १८ तारिख अर्थात बिसं २०३५ को असार २८ गते पेरिस आइपुग्दा साँझको त्यस्तै नौ बजेको हुँदो हो । हामीलाई लिन दुताबासका माराँगोस नाम गरेका ड्राईभर र दुताबासका प्रथम सचिव इन्द्र बहादुर सिंह (जो पछि राजदुत हुनुभयो) आउनुभएको थियो । उहाँहरु दुतावासको गाडिको पछिल्लो सिटमा बस्नुभयो । ड्राइभर ग्रीसका रहेछन् । पेरिसका गल्ली गल्ली कन्ठै भैसकेका । पेरिसको सीडीजी एयरपोर्टको टर्मिनल एकबाट गाडी उनले राजमार्गमा हाले । शुरुमा तीस अनि पचास हुँदै एक सय २० किमी प्रति घन्टाको गतिमा गाडि कुदाउन थाले । यतिमै मलाई डर लाग्न थाल्यो । अझ उनले त हेर्दा हेर्दै एक सय ५० मा पनि कुदाए । यो देखेपछि त मेरो हंसले पनि ठाउँ छाड्यो । डरले हातमा खलखल पसिना आयो र ओठ तालु सुक्यो ।

अहो मैले त नेपालमा मुस्किलले १५ देखि २० को गतिमा गाडी गुडाउँथें । इत्रुको काठमाण्डुमा सरर गाडी गुडाउन मिल्ने फराकिलो सडक नै कहाँ थियो ! जति थियो त्यो पनि साँघुरो थियो । उत्तरमा बुढानिलकन्ठ, दक्षीणमा दक्षीणकाली, पूर्वमा बनेपा र पश्चिममा थानकोट । काठमाण्डुको सेरोफेरो यति नै त थियो ।

उ बेला नेपाली राहदानी बनाउन निकै गाह्रो थियो । नेपाली राहदानीको अबधि जम्मा एक वर्षको हुन्थ्यो । कतिपय ठाउँमा घुस माग्थे । घुस पनि सस्तो हो र ! घर जग्गा बेच्दा पनि नपुग्ने भएपछि कसैले पनि पासपोर्ट बनाउने आँट नै गर्दैनथे ।

भारतमा हूँदा भने ३५ किलोमिटर प्रति घन्टाका दरले चलाएको थिएँ । ड्राइभरलाई थाह हुन्छ ड्राइभिङ भनेको आनन्द लिनु पनि हो भन्ने कुरा । त्यत्रो गतिमा गाडी गुडाउँदा कतै पनि जोल्टिङ भएन र हुत्तिएन । भाइब्रेसन पनि नहुने र सरर गाडी कुद्ने भएपछि रमाउन पनि थालेँ । दुतावास आइपुग्दा सम्म मन शान्त भैसकेको थियो । उ बेला नेपाली दुताबास पेरिसको वडा नम्बर १६ मा पर्ने रु दुफ्रेन्वाको सात नम्बर घरमा थियो ।

राजदुत निवास आइपुगिवरी कति बज्यो होला भनेर सोधेँ । उहाँहरुले बेलुकाको ११ बज्यो भन्नुहुन्छ । बेलुकाको ११ बजेको भनेपनि घरका टुप्पा टुप्पामा घाम देखिँदा बिस्वासै नलागेको जस्तो भयो । होइन यो ठाउँ कस्तो हो रातै नपर्ने भन्ने भयो । भोलिपल्ट बिहान छिटै व्युँझियो । म उठेपछि त्रैलेक्यनाथ सरले ‘जाउ बाहिर फेर एकचक्कर लगाएर आउ’ भन्नुभयो । बाहिर निस्केको त सुइँ सुइँ गरेर नदी सुस्साएको सुनेँ । काभ्रेको रोशि खोला मात्र होइन अन्य नदीनाला पनि त यसैगरी सुसाउँछन् नेपालमा । अहो रोशी जस्तै नदी यतापनि रहेछ भनेर खोज्दै खोज्दै गएँ । रसियन दुतावासको पछाडी पुगेछु । त्यो त कहाँको नदी हुनु ! त्यो त पेरिसको पेरीफेरिक अर्थात चक्रपथ रहेछ । चार लाइन जाने र चार लाइन फर्कने गरी आठ लाइनको मोटर बाटो । आम्मा नि त्यो आठ लाइन बाटोमा गाडी एक पछि अर्को कुदेका कुद्यै । त्यसकै आवाज अलि परबाट सुन्दा नदी बगेको जस्तो सुनिदोँ रहेछ । हत्तेरी भनेर लाज मानेँ ।

बिस्तारै पेरिस वरपर डुल्ने घुम्ने र गाडी लिएर निस्कन पनि थालेँ । उ बेला भाषा जानेको थिइन । जता गाडी लिएर गयो उतै हराउँथे । दुताबासको ड्राइभर खोज्दै आउँथे ।
क्रमश :
प्रस्तुती : अनुराधा पौडेल

तपाइँको प्रतिक्रिया

फेसबुक