बुधबार, असार ४, २०८२

टुक्रा टुक्रा जीवन

कृष्ण शर्मा२०८२ असार ४ गते १७:४५

नवराज गुरुलाई प्रहरीले पाठशाला हाताबाटै पक्रेर लगेपछि धेरै दिनसम्म हामीलाइ नेपाली विषय पढाउन कोही पनि आउनुभएन। तेस्रो घण्टी कक्षाकोठामा बिताउन मुश्किल हुन थालेपछि क्लास मनिटरलाई कान्छी औंला देखाउँदै शौच गर्ने बहानामा हामी दौंतरी एक एक गर्दै बाहिर निस्कन्थ्यौँ । अनि तीनधारा नजिकैको रुखमा छेलिएर पैतालिस/पचास मिनेटसम्म मस्तसँग गुच्चा खेल्थ्यौँ। कक्षाका अरु केटाकेटीहरु भने नवराज गुरुलाइ प्रहरिले किन गिरफ्तार गरेको होला; नवराज गुरुकि श्रीमतीले किन आत्महत्या गरेकि होलिन्; आदि अड्कलबाजीमा कक्षा बिताइदिन्थे।

लगभग एक महिनासम्म पनि नवराज गुरु नफर्किएपछि बिध्यालयले इन्दिरा गुरुआमालाई नयाँ नेपाली गुरूआमा बनाएर पठायो। पहिलो दिन कक्षा भित्र पसे पछि उहाँले हामीलाई नवराज गुरुले कुन पाठसम्म पढाउनु भएको थियो भनेर सोध्नु भयो। तुरुन्तै उठेर कसैले जवाफ दिएनन्। सधैं बाठो हुनुपर्ने फणिन्द्रले समेत जवाफ दिनको लागि हात उठाएन।  शायद मैले जस्तै सबैले बिर्सिसकेका थिए कि ? तर म गलत रहेछु।  गुरूआमाले पहिलो बेन्चमा बस्ने रमालाई उठाउनु भयो। रमालाइ याद रहेछ। उनले बालकृष्ण समको “मुटुको व्यथा” पढाएर सकाइसकेको जवाफ दिईन।

गुरूआमाले हातमा रहेको पुस्तकको पाना पल्टाएर त्यो नाटकमा रहेको एउटा उक्ती पढ्नु भयो। त्यसपछि त्यसलाई कालोपाटीमा लेख्नु भयो र भन्नुभयो, “अब यसलाई प्रसंग सहित ब्याख्या गर। एक अर्काको चोर्ने होइन नि!”

गुरूआमाले कालोपाटीमा लेखेका अक्षरहरू छापाखानाले छाप्ने अक्षर भन्दा पनि सुन्दर थिए। कालोपाटीमा समको प्रसिद्ध उक्ति छापिएको थियोः

“दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर ! दया राखी अरू दुःख दे।”

अरू साथीहरूले शरीर बांगो पार्दै, जिब्रो बाहिर निकाल्दै, काँध खुम्च्याउँदै, अटस मटस गर्दै …..आ-आफ्ना कापीका पानामा एउटा हातले लेख्ने अनि अर्को हातको हत्केलाले लेखेको कुरा ढाक्ने गर्न थाले। म अलमलमा धेरै बेरसम्म यत्तिकै बस्न सकिन। चकचके स्वभाव थियो। साथीहरूलाई हातको कुइना अनि खुट्टाको साप्राले धकेल्न थालेँ । गुरूआमाले “ए ….कृष्ण, नलेखेर किन अरुलाइ धक्याउँदै बसेको हँ … ?” भन्दै हकार्नु भयो। मैले जति कोशिश गरे पनि कापीमा एक वाक्य पनि लेख्न सकिनँ। तर पनि लेखेको नाटक गर्दै टाउको निहुर्याएर कापीमा चित्र बनाउन थालेँ। लामा लामा धर्का कोरेको देखेर गुरूआमा मैले चाल नपाउने गरी मेरो नजिकै आउनुभयो र मेरो बायाँ गालामा कस्सेर एक थप्पड लगाउनुभयो। मेरो मुख थप्पडको तोड र लाजको कारणले रातोनिलो भयो। नजिकका केटाहरू मैले थप्पड खाएकोमा मजा मानेर खित्खिताउन थाले। अगाडि बसेका केटीहरू समेत पछाडि फर्केर मलाई उडाउने शैलीमा केहि बेर मनमनै हाँसे अनि फेरि अगाडि फर्केर लेख्न थाले।

गुरूआमाको रिस मरिसकेको थिएन। उहाँ मलाई गाली गर्दै कक्षाकोठाको अगाडि पुगेर कुर्सिमा बस्नुभयो। जसै उहाँ बस्नु भयो, मेरो टाउकोमा बिजुली बत्ति बले झैँ अचानक बिचार जन्मियो। त्यसपछि मैले त्यहि बिचारलाइ पानामा उतार्न थालेँ। लेखमा मैले ईश्वर दुःखीको घरमा नबस्ने तर्क गरेँ। प्रमाणको रुपमा मैले दिनरात मेहनत गरेपछि मात्र खान लाउन पुग्ने आफ्नो परिवार र आफ्ना बुढो-मावलीघरका दीनानाथ काकाको बडो अप्ठेरो जीवनको प्रसंग निकालेँ। प्रसंग सहितको ब्याख्याको अन्तिम हरफमा बालकृष्ण समले बिना प्रसंग अस्तित्वमै नभएको ईश्वरले आफुलाइ वास्ता नगरेको टिप्पणी गर्दै कतै गरीबहरुको मसिहा बनाएर गरिवहरु प्रति नै मजाक गर्न खोजेका त थिएनन् भनी उल्टै प्रश्न तेर्स्याएँ।

मैले गरेको प्रसंग सहितको व्याख्याले बालकृष्ण समको नाटकले दिन खोजेको सन्देशलाई पूर्ण रूपमा बेवास्ता गरेको थियो। तर त्यो नजरअन्दाज मैले जानेर गरेको थिइनँ। लेख्नै परेपछि केही त लेख्न पर्यो भन्ने बाध्यतामा मनले जे सोँच्यो त्यहि लेखेको थिएँ। दीनानाथ काका पहाडबाट हाम्रो घरमा आएको समय परेको थियो। हामी र बुढोमावली दुबैको परिवारमा विध्यमान गरिबीमा इश्वर हाँस्दै थिए या थिएनन् त्यो कुरा थाहा भएन । तर उनि हामीलाइ सहयोग गर्न हाम्रो घरमा बास बसेको कतै तिरबाट पनि पुष्टि नभएकोले मैले त्यहि कुरालाइ पृष्ट्भुमी बनाएर लेखेको थिएँ।

अर्को दिन इन्दिरा गुरूआमाले मलाई कक्षाकोठाको अगाडि बोलाएर मैले लेखेको कुरा सबैका सामु पढ्न लगाउनु भयो। मैले डराइ डराइ पढेँ। त्यसपछि मलाई उहाँले दीनानाथ काकाको बारेमा केही भन्न लगाउनु भयो।

म बोल्ने कलामा अब्बल थिइनँ। अहिले जस्तै म केहि बोल्न खोज्दा त्यतिबेला पनि जिब्रो मुखमा भरिएर बसेको गलत आभास हुन्थ्यो मलाइ। त्यसैले हुनुपर्छ, म त्यतिबेला पनि अहिले जस्तै लर्बराएर बोल्थेँ। मलाइ दीनानाथ काकाको बारेमा धेरै कुरा थाहा थिएन। तर पनि आफुले जाने जति भनेँ । अनि पछाडिको बेन्चमा गएर बसेँ। मेरो कल्पनाको विपरीत गुरूआमाले मैले गरेको कक्षाकार्यलाई सबैका सामु मुक्त कण्ठले प्रशंसा मात्रै गर्नु भएन कि मलाई फेरि अगाडि बोलाएर एउटा सिसाकलम र एउटा कापी उपहार दिँदै थप्नुभयो, “गुच्छा पनि खेल्नु, चक चक पनि गर्नु, तर लेख्न कहिल्यै नछोड्नु …. बुझ्यौ ?” गुरुआमाको त्यो उक्साहट सम्झेर म आज पनि दंग पर्छु।

पाठक बृन्द, अब त थाहा पाउनु भयो होला नि, म सानो छँदा पनि अहिले जस्तै बेवकुफ थिएँ। त्यति मात्र होइन, अन्टसन्ट प्रश्न सोधेर नजिकका सबैलाई हैरान पार्थेँ।

एकदिन तिखो प्रश्न सोधेर दीनानाथ काकालाई नै घोच्न पुगेछु। त्यतिबेला उहाँलाई रुवाउने अभिप्राय भने किंचित् थिएन। अहिले सम्झँदा आँसु आफ्नै परेलाको डिलमा टल्पलिन्छन्।

मसँग दीनानाथ काकासँग बिताएका क्षणहरूको लामो शृङ्खला छैन। उहाँलाई बढीमा चार पाँच पटक भेटेँ कि जस्तो लाग्छ। तर ती चार पाँच भेट अहिले मेरो जीवनका थोरै तर प्रभावी स्मृती बनेर बसेका छन्।

दीनानाथ काका मैले पहिलो पटक देख्नु भन्दा पहिलेदेखि नै हात्तीपाइले रोगले ग्रस्त हुनुहुन्थ्यो। बडो अप्ठेरोसँग तल माथि गर्नुहुन्थ्यो। बोली प्रष्ट थिएन। अप्ठेरा शब्द उच्चारण गर्नु पर्दा म जस्तै लर्बराउनु हुन्थ्यो। अनि उहाँ बोल्दा दुई ओठका किनारबाट र्याल चुहिरहन्थ्यो। अरू केटाकेटीहरू उहाँले माया गरेर बोलाउँदा पनि नजिक जाँदैनथे। थाहा छैन किन डराउँथे। तर मलाई भने उहाँको निश्चल मुस्कानले सधैँ तान्थ्यो। जब म छेऊमा पुग्थेँ, उहाँले आफ्ना हातका दुवै हत्केलाले मेरा गाला मुसार्नु हुन्थ्यो र भन्नुहुन्थ्यो, “कति राम्रा हुनुन्च, हाम्रा झोलीका देवता”।

मान्छेले जानी जानी वा अन्जानमा आफू नजिककालाई मात्रै त रुवाउन सक्दो रहेछ। त्यति धेरै माया गर्ने काकालाई एक दिन सोधेछु, “मेरा सण्ठी जस्ता मसिना खुट्टा तपाईका जस्तै मोटा कहिले होलान्, काका ?” उहाँ मेरो प्रश्न सुनेपछि शुरूमा झोक्रिनु भयो । विस्तारै रुन थाल्नु भयो। मैया दिदीले, “यो कृष्णले पनि मनमा जे आयो त्यहि सोधेर काकालाई हैरान पार्छ,” भन्दै मलाई काकाको सामिप्यताबाट छुटाएर अन्यत्र लगेको सम्झनाले म अहिले पीडामा जल्छु। तर मेरो पनि आफ्नै समस्या थियो। बाल्यकालमा नेबिको बिस्कुटको खोलमा भएको हृष्टपुष्ट बालक जस्तै मोटो खाइलाग्दो देखिन कसलाई मन लाग्दैनथ्यो होला !

त्यसको अर्को दिन काकाले बारीको डिलमा एक्लै घाम ताप्दै, उखु तास्दै गरेको मौका पारेर म उहाँ नजिकै गएँ र त्यहि प्रश्न दोहोर्याएँ।

यस पटक भने काका झोक्रिनु भएन। रुनु पनि भएन। उहाँले थोरै बुझिने धेरै नबुझिने दार्शनिक जवाफ दिनु भयो। काकाले त्यति बेला भनेका मध्ये थोरै कुरा मैले त्यतिबेलै बुझेँ। बाँकी सब अहिले बल्ल बुझ्दै छु। “भान्जाबाबु, यी खुट्टा मोटाएका हैनन्। रोगले सुन्निएका हुन्।”

एकछिन पछि फेरि खुइय श्वास फेर्दै थप्नु भएको थियो, “हरेक दिन म यी मरेका खुट्टाको मलामी जाँदै आउँदै गर्ने गर्छु, भान्जाबाबु।” उहाँको यो वाक्य अहिले सम्झेर म द्रवित हुन्छु। त्यतिबेला नै यो वाक्यको अर्थ बुझेको भए नै पनि मैले के पो गर्न सक्थेँ होला र ?

“रोग लागे पछि यी खुट्टाले मलाई कहिल्यै साथ दिन सकेनन्, भान्जाबाबु। तर मैले यिनीहरूलाई सधै साथ दिइरहेको छु। जीवनले जस्तै मृत्युले पनि साथ खोज्दो रहेछ। कसैलाई माया, कसैलाई साथ। कसैलाई काया, कसैलाई काख। यी मरे भनेर छोड्न मिल्दो रहेनछ …..”

जीवनलाई खण्ड खण्डमा डाइसेक्ट (विच्छेदन) गरेर बचाउने र बाँच्ने कडि दिनुभएको थियो काकाले मलाई। म काकाले जस्तै खण्ड खण्डमा बाँच्ने कोशिश गर्छु; तर सक्दिनँ। मलाई २१औँ शताब्दीको पूर्णता चाहिन्छ। सबै कुरा दुरुस्त चाहिन्छ। त्यसले गर्दा म आधा मरेर लत्रिइरहेको छु। आज म अरूको लागि भन्ने कुरै छोड्नुस्, आफ्नै लागि पनि बाँच्न जानिनँ। सग्लोको खोजीमा मैले टुक्राको महत्व बिर्सेँ र सधैँ विकलांग बाँचेँ। दीनानाथ काकाले जस्तो टुक्रालाई साथमै राखेर पूर्णकदमा बाँच्न जानिनँ। मलाई लाग्छ, अनवरत रूपमा पूर्ण हुने आकांक्षा मेरो लागि एउटा श्राप रह्यो।

केही हप्ता अघि दन्त चिकित्सकले मेरा दुईवटा बुद्धि बंगारा निकालेर टेबुलमा छोडेपछि मैले स्वर्गीय दीनानाथ काकालाई झन् धेरै सम्झन पुगेको हुँ। काकाले आफ्नै शरिरमा टुक्रिएर बसेको मृत्युको स्याहार सुसार गर्दै एउटा सिंगो जीवन बाँच्नु भयो। तर म सिंगो जीवन खोज्ने क्रममा भएको एक टुक्रा जीवन पनि बाँच्न जानिरहेको छैन।

बिट मार्दै गर्दा सोंच्छु, समले काकाको टुक्रा टुक्रा जीवन सगोल भएर बितेको देखेको भए के लेख्थे होला ? उनले मलाइ प्राप्त सग्लो जीवन बाँच्न नजानेर टुक्रा टुक्रा बनाएको देखेको भए के लेख्थे होला ? कतै “मुटुको ब्यथा” ले अर्कै सन्देश दिने गरी पो बीट मार्थ्यो कि ?

तपाइँको प्रतिक्रिया

फेसबुक