शनिबार, असार २, २०८१

भाग्य खोज्न बाबु आमाको आँखा छलेर १३ वर्षमै हिँडेको यात्रु म (भाग एक)

ध्रुव वाग्ले / पेरिस, फ्रान्स२०८० जेठ १ गते १०:१४

ध्रुव वाग्ले

होने को कुछ भी हो सकती थी वह
बारिश भी
कहीं भी बरस पड़ती बेपरवाह,
पर उसने नदी होना चुना
और मुझे पुकारती समुद्र तक गई ।
(भारतिय कवि सुवोध मिश्रको कविता)

यो कविता जस्तै म भाग्यको नदी खोज्दै पेरिस आइपुगेँ । पेरिस बसाइको कथा शुरु गर्नु अगावै म तपाइँलाई अतितमा लग्छु । त्यो अतित जसलाई अब मैले खोजेर पाउँदिन । केहि बाँकी छ भने मेरो स्मृतिमा छ । त्यो गाउँको घर जसको आगन थियो र भित्र बाहिर गर्ने आफन्तहरु थिए । ति अब छैनन । म आफैँ पनि त्यहाँ छैन । म गाउँ गएँ भने उस्तै परे म पनि यो गाउँको मानिस हुँ भनेर चिनिनु पर्छ अब । त्यहि गाउँको माटोमा म जन्मँदा जे भाग्य लेखिएको थियो त्यो भोगेँ । मैले किनेको जीवन भए पो बचाएर राख्न सक्थेँ त । यो जीवन मैले किनेको होइन । यो धरतीको केहि बर्षको पाहुना हुँ म जो तपाइँलाई मेरो कथा सुनाउँदैछु ।

मेरो बुबा एक किसान हुनुहुन्थ्यो । उहाँमा छोराहरु पढाउनुपर्छ भन्ने चेत थियो । काभ्रेको बनेपा शहर नजिकै पर्ने बासडोल जहाँ म जन्मे त्यहाँबाट बुबाले मलाइ काठमाडौं पढ्न पठाउनुभएको थियो, दाल चामल बोकाएर ।

मैले पढेको भए जे पनि हुन सक्थेँ होला । आठ दशक पहिलाको कुरा हो यो । काठमाडौं कत्रो थियो र ! इत्रुको काठमाडौंमा मैले पढेको भए त्यहाँ नअटाउने भन्ने कुरा थिएन । तर मेरो मन किताबमा पटक्कै अडिएन ।

मामाघर तिरका लालबहादुर अंकलले लाहुरबाट पैसाका बिटा बोकेर गाउँ आउनुभयो रे भन्ने गाइँगुइँ चल्यो । मलाई पनि पैसाका बिटाका आकर्षणले तान्यो । अनि उहाँसँग लाहुरको ठेगाना मागेँ । त्यो ठेगाना मलाइ काठमाडौंको इन्द्रचोक र असनका गल्ली भन्दा भव्य र बिशाल लाग्यो । मलाइ काठमाडौंको सुन्दरताले रोकेन । उहाँले दिनुभएको लाहुरको ठेगाना भारतको आसाम रहेछ । बुबा आमाले खानु भनि पठाएको दाल चामल बेचेँ र म पनि एक्लै आसाम हिँडेँ, त्यो पनि १३ वर्षमै । पढ्ने खर्च भनेर राखेको पैसा पनि जतन गरेँ । जम्माजम्मी १२, १३ रुप्पेमा म हिडेँ । न बुबालाई केहि भनेँ न आमालाई । म हिँडेको थाह पाएर बुबा आमा कति रुनुभयो होला मैले जान्न सक्ने कुरा भएन । यस्तोबेला हिडेँ जतिबेला त्रिभुवन राजपथ बन्दै थियो । पिच सिच हुने त कुरै भएन । पूर्व पश्चिम राजमार्गको कुरो चलिरहेको थियो ।

अहिलेको मेघालयमा पर्ने सिलोँगमा त एकदमै जाडो पो रहेछ । बस स्टपको काठे दलानमा रातभर थर थर काम्दै बास बसेँ ।

त्यो बेला त्रिभुवन राजपथमा पेट्रोलले चल्ने डिएमसी गाडि चल्थ्यो । साढे चार रुपैयाँमा म अमलेखगन्ज पुगेँ । अमलेखगन्जबाट नेपाली रेल चल्थ्यो । हाफ टिकट भनेर किन्दा रेलको भाडा पाँच रुप्पे ३२ आना (उ बेला भारतियहरु पैसालाई आना भन्थे) पर्यो । टिकट किन्दै जाँदै गरेर गुहाटी पुग्दा मेरो साथमा जम्मा १३ आना बाँकि थियो । पाँच पैसाले चिया खाएँ ।

जानुपर्ने सिलोँग थियो र भाडा तीन रुप्पे तीन आना लाग्थ्यो । पैसा पुगेन । एउटा तामाङ परिवार भेटेँ र उहाँकोमै केहि दिन काम गरेर १० रुपैया कमाएँ । कामको खोजिमा जाँदा बिचल्ली भयो या कतै कुनै आपतपर्यो भने सघाइदिने चलन जहाँपनि हुन्छ । मलाइ पनि तामाङको परिवारले मद्दत गरिदियो । उनैकोमा केहि दिन काम गरेको पैसाले म सिलोँग हिडेँ । जाँदाजाँदै राती पुगेँ । अहिलेको मेघालयमा पर्ने सिलोँगमा त एकदमै जाडो पो रहेछ । बस स्टपको काठे दलानमा रातभर थर थर काम्दै बास बसेँ ।

भोलिपल्ट कसैले मलाइ लालबहादुर अँकलकोमा पुर्याइदिए । लालबहादुर बाँचुन्जेल म उनलाई भेट्न भारत पनि पुगिरहन्थें छुट्टी मिलाएर । बिच बिचमा अँकलका छोराहरुसँग पनि भेट भइरहन्थ्यो । अचेल सम्बन्ध टुट्यो ।

अचेल पो सभ्य भाषामा म जस्तै कामको खोजिमा त्यसरी हिँडेकाहरुलाई बैधानिक र अबैधानिक श्रमिक भनेर छुट्टाउन थालियो त । उ बेला त लाहुर जाने भनेर हिँड्यो । गनतव्यमा पुगिन्छ पुगिन्न के थाह र ! गन्तब्य बनाएर हिँडेका मानिसलाई आपत विपत पर्दा अर्को मानिसले सहयोग गर्दो रहेछ भन्ने मेरो अनुभव छ ।

त्यो बेला म १३ बर्षको फुच्चे । लालबहादुरकै साथमा रहेर मैले काम सिक्ने मौका पाएँ । भारतका पाँचौं राष्ट्रपति फार्कुदिन अलि अहमेद उ बेला आसाम राज्यका अर्थमन्त्री थिए । भारतका बिभिन्न शहरमा उनको मोटर कम्पनी लगायत प्रेस र अरु पनि व्यापार थियो । आसाममा रहेको मोटर कम्पनीमा काम सिक्दै गर्दा म मोटरको मेकानिसियन र ड्राइभर दुवै बनेँ । पछि म कलकत्ता आएँ । कलकत्तामा काम गरेपछि ‘अब मलाइ भारत बस्न पुग्यो नेपालनै फर्कन्छु’ भन्ने भयो । र बि सं २०२४ तिर म नेपाल फर्केँ । त्यतिबेला म २४ वर्षको थिएँ ।

भारतिय कानुनले पाँच शय भन्दा बढी बोक्न पाइँदैनथ्यो । त्यसैले नेपाल फर्केने बेला मानिसहरु समुह बनाएर फर्कन्थे । एक्लै दुक्लै हिँड्दा लुटपाट हुन्थ्यो र नेपालीहरुलाई बिल्लिबाँठ बनाइन्थ्यो ।

भारतमा त्यतिबेला बैंकहरु खुलिसकेका थिए भने नेपालमा पनि भर्खर बैंकिङ सुविधा फस्टाइरहेको थियो तर पर्याप्त थिएन । भारतबाट काम गरेर फर्कनेहरुले उ बेला नेपाल फर्कँदा १० रुप्पेका नोटलाई बिटा बनाएर बोक्थे । त्यो बेला भारतीय रुपैया एक, दुइ, पाँच र दशको नोट प्रचलनमा थियो । शय रुपैया प्रचलनमा थियो तर त्यो नोट जाली हुन्छ भनेर बोक्ने चलन थिएन । (भारतमा १९७५ मा ७५ रुपैया र २००१ देखि मा २० रुपैया प्रचलनमा आएको हो) ।

भारतिय कानुनले पाँच शय भन्दा बढी बोक्न पाइँदैनथ्यो । त्यसैले नेपाल फर्केने बेला मानिसहरु समुह बनाएर फर्कन्थे । एक्लै दुक्लै हिँड्दा लुटपाट हुन्थ्यो र नेपालीहरुलाई बिल्लिबाँठ बनाइन्थ्यो । उ बेलाको भारतिय १० को नोट निकै बाक्लो र लामो पनि हुन्थ्यो । त्यसको आकार अहिलेको एक शय युरो जत्रो होला । बाक्लो भएकोले हातमा लिँदा कडक कडक आवाज आउँथ्यो । मेरो हकमा भने मैले कम्पनीका साहुलाई नेपाल गएर बैक खाता खोल्छु भनें र केहि पैसा बोकेर म नेपाल फर्केँ । खाता खोलेपछि मैले मेरो नेपाल बैक लिमिटेडमा खोलेको खाता नम्बर ‘तार गरेर’ (टेलिग्राम गरेर) पठाइदिएँ । पछि उनिहरुले मलाइ बाँकी पैसा बैक मार्फत पठाइदिए । उ बेला नेपाल बैकमा खाता खोल्नु पनि इज्जतको कुरा हुन्थ्यो ।

व्यापारी अंग्रेजहरुको प्रभावले होला भारतीय व्यापरीहरु उ बेलै प्रोफेशनल र इमान्दार थिए । म संझन्छु, उ बेलाको काठमाडौं । इन्द्रचोकको डबली आसपासमा रहेका घरहरु, असनको अन्नपूर्ण मन्दिरको पटांगिनी लगायतका केहि ठाउँमा पैसाको कारोबार हुँदा रमाइलो दृश्य देखिन्थ्यो । व्यपारिक कारोवार हुने मुटुहरु थिए काठमाण्डुका यि क्षेत्रहरु ।

काठमाण्डुको इन्द्र चोकमा तीन चार वटा पैसा साट्ने पसल थिए । कसैका पसल जान घुमाउरो भर्‍ञ्ग चढेर माथिल्लो तलामा उक्लनुपर्थ्यो । त्यसो त, आकास भैरव अगाडी, भिमसेन थान र काठमाण्डुको गणेश स्थान पछाडि पनि यस्ता पसल भेटिन्थे । यि ठाउँमा शर्राफीहरु (पैसा साट्ने मानिस जो अक्सर राजभन्डारी खलकका हुन्थे) ले नाङ्लोमा बन्डलका बन्डल पैसा मिलाएर राखेका हुन्थे । दिनभरी कारोबार गरेपछि ‘बजार बन्द’ हुन्थ्यो । भोलिपल्ट बिहान १० बजेतिर नेपाल राष्ट्र बैंकले भाउ दिन्थ्यो । जसलाई ‘भाउ खस्यो’ भनिन्थ्यो । ‘ल ल आजको भाउ खस्यो यति हो’ भन्दै हल्लाखल्ला हुन्थ्यो र पैसा साट्ने कारोबार शुरु गरिन्थ्यो ।

केहि गरी भारतिय नोट च्यातियो भने ‘खोटो पैसा’ भनेर साटिँदिदैनथे । यस्ता खोटा नोट साट्न फेरी भारतै लग्नुपर्थ्यो । पोखरा र विराटनगरतिर बस्ने नेपालीलाई भारतिय नोट साट्न गाह्रो थिएन । तर पहाडतिर भारी बोकेर ज्याला मजदुरी गर्ने नेपालीलाई नेपाल फर्केपछि पनि पैसा साट्न मुस्किल पर्थ्यो । तराइतिरको कारोबार भारतिय रुपैयामा हुन्थ्यो भने कतिपय साहुले कामदारलाई ज्याला पनि भारतिय पैसामा नै तिर्थे ।

नेपाल फर्केपछि मैले भारतमा प्राप्त लाइसेन्सलाई नेपालीकरण गरेँ । उ बेला सदर मुलुकी खानामा २४ रुप्पेको भौचर भरेपछि भारतको लाइसेन्सलाई नेपालीकरण गर्न सकिन्थ्यो । पछि गएर नेपाल राष्ट्र बैंक बनेको यो ‘सदर मुलुकी खाना’ हनुमान ढोकामा थियो ।

भारतमा त्यतिबेला बैंकहरु खुलिसकेका थिए भने नेपालमा पनि भर्खर बैंकिङ सुविधा फस्टाइरहेको थियो तर पर्याप्त थिएन । भारतबाट काम गरेर फर्कनेहरुले उ बेला नेपाल फर्कँदा १० रुप्पेका नोटलाई बिटा बनाएर बोक्थे ।

भारतमा कमाएको पैसाले फर्केर सानेपामा एउटा घडेरी किनेँ । केहि वर्ष घर बस्दा रमाइलो भयो । तर सानै देखि काम गर्ने बानी लागेकोले होला फेरी काठमाण्डु आउन थालेँ । चिनेजानेका मानिस खोज्दै गर्दा आसामबाट आएका अजित सिँहसँग मेरो भेट भयो । उनैले मलाइ स्विस सरकारको मातहतमा चलिरहेको साटा भन्ने अर्गनाइजेशन तिर काम खोजिदिए ।

उनलाई भेट्दा जाँघे लगाएर गएको थिएँ । ‘के जाँगे लगाएको ? ल भोलि पाइन्ट लगाएर च्याट्ट परेर आउ, ल यो चिठी लेखिदिएको छु’ भने । यसरी मैले साटामा काम शुरु गरेँ । साटाले धेरै प्रोजेक्टलाई मद्दत गर्थ्यो । म भने महारोगी खाना भनेर चिनिने कुष्ठरोगी राखिने ठाउँका लागि काम गरेँ । मानिसहरुले यो ठाउँलाई हेपेर कोडी खाना भन्थे ।

किर्तिपुरको हात्तीवनको मुनि रहेको यो खानामा नौ सय बिरामी राखिने नौ वटा भवन थिए र भवन पिच्छे गरि नौ नाइके थिए । मैले नर्सहरुलाई लाने लैजाने बाहेक कोडि खानलाई चाहिने सरसामान दाउरा, मट्टीतेल किनेर लग्थेँ । बाटो थिएन । लगेका सरसमान तलाबाट माथि बोक्नुपर्थ्यो । सुकुवा, फुलुवा र झरुवा गरि तिन किसिमको कोडिको उपचार हुन्थ्यो त्यहाँ । सुकुवा कोडीले डुँडो बनाउँथ्यो । फुलुवा कोडीले ओठ फुलाउँथ्यो र झरुवा कोडी लाग्यो भने अँगुलाहरु झर्थे । रोग लागेपछि अँगहरु नझरुन् भनेर बेटाडिन जस्तो तरल पदार्थ प्रयोग गरेर दुइ दुइ दिनमा घाउको ड्रेसिँग हुन्थ्यो । रोगीहरुले आफना लुगा आफैँ धुनुपर्थ्यो । यस्ता मानिसको अवस्था हेरिकन व्यक्ति पिच्छेलाई फरक फरक मात्राका मोलिक्युल मिसाएर ओखती बनाइन्थ्यो । यो कामले मलाइ धेरै मानविय र संवेदनशिल बनायो । यहाँ काम गर्दै गर्दा मैले एक जना धोवीलाई ड्राइभिङ सिकाइदिएँ ……।

तपाइँको प्रतिक्रिया

फेसबुक