शनिबार, वैशाख १५, २०८१

जति टाढा गयो आफ्ना प्रियतमहरु उति नै संझनामा

अनुराधा पौडेल / फ्रान्स२०८० असार १० गते ७:४७

लियोँ शहरबाट बार्सलोना तर्फ बस गुड्दै गर्दा माइकमा अरवी लवजका चालकले ‘बस रोकिने ठाउँहरुमा आफ्नो शुटकेशको ख्याल गर्नुहोला’ भने । फ्रान्सको लियोँ शहरमा हराएको सुटकेश बारे मोबाइल मार्फत उनले कम्पनीलाई जानकारी दिए । आफूलाई साथ दिने सवारी चालकसँग भने उनले हराएको शुटकेस पाइने संभावना कम रहने र इन्सुरेन्स पनि नहुनेभएकोले क्षतिपूर्ती पनि नमिल्ने बताए । बसमा सामान राख्दा एकापट्टीको मात्र हुटको ढोका खोलेको भए चोरी रोकिन सक्थ्यो भन्ने संभावना पनि व्यक्त गरे ।

बिहान पख म एकछिन झकाएँ । सूर्योदयको मनमोहक उज्यालोले आँखा छुल्नथाल्दा बस निम शहर कटिसकेछ र भूमध्य सागर छुने फ्रान्सको एक शहर मोपोँलिएको किनार आइपुगेछ । यहि सहरमा मेरो भाइसँग अस्कल क्याम्पस अध्ययन गर्ने उनका साथि लक्ष्मण गगन बस्छन् । फ्रान्समा बसेर उनी असाध्यै मिठा गजल लेख्छन् । उनले हामीलाई केहि रात बस्ने गरी बोलाएको धेरे भैसक्यो । यो पटक उनकै शहर भएर बाटो काटियो र मनभरी उनलाई संझियो तर छिर्न सकिएन ।

मोपोलिएबाट पश्चिम लाग्दै गर्दा बाटोमा बार्सिलोना भनेर लेखिएका ट्राफिक संकेत पाटीहरु देखिन थालियो । चराहरुको चिरविर, पहेला तोरीबारीहरु, काटछाँट गरिएका अँगुरका बगैंचाहरु, गाइ, घोडा र भेडाहरुका फार्महरु देखिन थाले । बाटोमा पर्ने खोँच, पाखा, पखेरा, वनजंगल र खेतिपातीले मन पनि उज्यालो पार्न थाल्यो । ओद तथा पिरिने ओरिअन्ताल भन्ने क्षेत्रका केहि वनहरु भने फेब्रअरी महिनामै आगलागीले सखाप भएका रहेछन् । राजमार्ग छेउछाउमै यस्तो दृश्य देख्दा मन डढेको वनसँगै मन पनि अँध्यारो भयो । समुन्द्रमा चल्ने हावा एकदम सुख्खा हुने र झमझम बर्षा हुनुपर्ने फेब्रुअरी र मार्च महिनामा पर्याप्त पानी परेन भने यो भुमध्यसागरीय वनहरु जाडो याममै पनि हुर् हुर् बल्न सक्छन् रे ।

पोहरको वर्ष युरोपसँगै फ्रान्स पनि प्रचन्ड गर्मीले अक्रान्त थियो । यहाँका धेरे वनजंगल आगलागीमा परेर सखापै भएका थिए । मानिसको गल्तीको कारण हुने आगलागी क्षम्य पनि हुन्छ तर कोही मानिसमा चाहिँ वनजंगलमा दन्केको आगोको ज्वाला देखेर रमाउने खालको रोग हुने रहेछ जसलाई पिरोमान (प्य्रोमने) भनिदोँ रहेछ । यो रोग भएको एक मानिसले फ्रान्सको उत्तरी फ्रान्सको ब्रोतान्य क्षेत्रको वनमा १६ ठाउँमा आगो लगाइदिएको रहेछ । उता शारँत भन्ने ठाउँमा ससुरा र बुहारी नै यस्तै रोगबाट ग्रसित रहेछन् र उनीहरुले त्यही क्षेत्रको २३ वटा वन इलाकामा आगो लगाएका रहेछन् । दन्ड जरिवाना जेल चलान जस्ता व्यवस्था हुँदा हुदैपनि पिरोमानका कारण हुने यस्ता दुखदायी समाचारहरु बेला बेलामा देख्न सुन्न र देख्न पाइन्छ फ्रान्समा । नेपालमा पनि यस्तो रोग हुँदो हो तर मैले अहिले सम्म यस्तो रोग भएको मानिसको बारेमा भएको चर्चा सुनेकी छैन ।

पेरिसबाट हिँड्दा राष्ट्रिय राजमार्ग ६ नम्बरमा थियौँ हामीहरु । त्यसपछि सात र नौमा गुड्यो बस । यहि नौ नम्बरकै राजमार्गमा एयर द नारबोन भिनासाँ भन्ने ठाउँमा बस रोकियो जहाँ तेल हाल्न सकिन्थ्यो भने ट्वाइलेट जान र चिया चमेना लिन पाइन्थ्यो । चालकहरुले हामीलाई ‘आधा घन्टा मात्र समय बचेको छ छिटो आउनु है’ भनेर छाडे । जिसस क्राइस्ट जन्मनुभन्दा करिव शय वर्ष देखि नै बसोबास भएको यो रोमनकालिन शहर नारबोनमा रोमनकालिन पुरानो चर्च र क्यानल द मिदी भने नहर छ । टाढैबाट तिनलाई संझेर हामी अगाडि बढ्यौँ ।

विहानको नास्ता हतारमा गरियो । फर्केर आएपछि ‘बसको शिसा फोहर छ, पुच्छनकालागि कुनै टालो छ भने देउ न’ भनेको त अरबी चालक आफैँले ओट हालिकन निकै राम्रो सँग आफ्नो अगाडीको शिशा र मेरो छेउको शिशा पुछिदिए । राम्रो राम्रो फोटो खिच्न मन छ जस्तो छ भनेर उनले मलाइ हल्का डोजमा जिस्काए । मैले पनि यो भूमध्यसागर किनारको यात्रामा तिमीहरु सँग गफिन मन छ भनेँ । नभन्दै दुवैले मलाइ अगाडी बस्ने र कुराकानी गर्न अवसर जुराइदिए ।

बसमा हामी ‘क्याप्टेन’ हरुको नमस्कार भन्ने चाहिँ राशिद रादेक रहेछन् जो मोरक्को देशको माराकेश शहरबाट २५ वर्ष पहिला फ्रान्स आएका रहेछन् । आधा शताब्दीमा हिँडिरहेका राशिद पहिला घर छाउने काम गर्थे रे । घर छाउँदा डोरीमा झुन्डिनु पर्ने र टायल, टीन, किला काँटी तथा काठहरु बोकेर दिनमा कयौँ पटक छानो चढ्नुपर्ने । हप्प गर्मी र हात कठ्याग्रिने चिसो, हावा, हुरी, बतास केहि भन्न नपाइने बाध्यताले उनले पेशा परिवर्तन गरेछन् र चालक बनेछन् ।

‘जीवन अमूल्य छ’, उनले अरबी लवजमा थपे, ‘म सँगै काम गर्ने साथि डोरीबाट चिप्लेर दुइ तला मुनि खस्यो अहिले ढाड भाँचिएर घरमा छ । इन्सुरेन्सले पैसा त तिर्यो तर के गर्नु उ कहिल्यै ओच्छ्यानबाट उठ्न सक्दैन ।’

पूर्व पेशाको त्रास संझदै उनले थपे, ’उमेर छिप्पिदैँ गएपछि यस्तो काम गर्न गाह्रो हुनेरहेछ ।’ उनले श्रीमती र छोराछोरीलाई अक्सेयरमै राखेर पढाएका रहेछन् । भन्दैथिए ‘अक्सेयरमा राम्रो बिश्वविद्यालय नभएकोले जेठो छोरो चाँही पेरिस बसेर पढेको छ ।’

उनको अनुसार सवारी चालकमा असाध्यै धेरै एकाग्रता र सडकको अवस्था ‘अब्जरभेसन’ गर्ने क्षमता चाहिन्छ ।

अर्का चाहि इज्गेइस (ज्गिएर्ज् पोल्यान्डको उच्चारण) रहेछन् जो पोल्यान्डको ओउदा (ओुज्द) भन्ने ठाउँबाट १३ वर्ष पहिला फ्रान्स आएका रहेछन् । उनी फ्रान्स आएर सिकर्मी काम गरे । खासगरी झ्याल ढोका हाल्ने । उनलाई घुमफिर जस्तो पनि हुने र काम पनि हुने अनि अलिकति जीवनको स्वतन्त्रता पनि भोग्ने चाहना भएकोले बस चालक बने रे ।

यि दुवै चालकलाई मैले, ‘युरोपका बस चालकमा के गुण महत्वपुर्ण हुन्छ’, भनेर सोधेँ । दुवैले ‘यात्रुहरुको सुरक्षा नम्बर एकमा पर्छ’, भनेर जवाफ दिए । गाडि चलाउन जानेर मात्र हूँदैन, एकाग्रता, बिनम्रता र दायाँ बायाँ टर्निँग कता गुडेको छु भनेर हेक्का राख्ने, पछाडी र अगाडि के छ भनेर बारबार ध्यान दिन सक्ने क्षमता बिकास गर्नुपर्छ भन्दै उनीहरुले थपे, ‘आफ्नो लापरवाहिले आफ्नो अपांगता हुन सक्छ र ज्यान जान्छ सक्छ । यति मात्र नभै कम्पनीको छवीमा धक्का पुग्छ । अनि अरुको पनि ज्यान जान्छ र अरुको परिवारकोपनि बिचल्ली हुन्छ । यो पेशा खेलाँची गर्ने पेशा होइन ।’

अनि तिमीहरु दुवै जनाले कुन बेला परिवार संझन्छौ भनेर मैले सोधेँ । राशिदले बाटोमा देखिने आफ्नै गाउँका जस्ता घरहरु र आँगनमा फुलेका फूलहरु देख्दा परिवार संझने रहेछन् । यस्तो बेला उनलाई आफ्नो गाउँले बोलाइरहेको छ जस्तो भान हुन्छ रे । स्पेन जाँदै गर्दा उनले बाटोमा देखिएका जैतुनका बगैंचाहरु र समुन्द्री किनारका नरिवल अनि छोकडाका रुखहरुले आफ्नो गाउँको संझना ताजा भइरहेको बताए । इज्गेइसले चाहि बस बाट देखिने आकर्षक प्राकृतिक दृश्यहरु, सूर्यास्त तथा सूर्योदयका दृश्यहरु देख्दा परिवार संझन्छन् रे । ‘जति टाढा गइयो आफ्ना प्रियतमहरु उति नै नजिक बनेर संझनामा आउने रहेछन्’ उनले थपे, ‘यस्ता दृश्य देख्दा उनीहरुसँग यस्तो दृश्यको एक छेउमा बसेर फोटो खिच्न पाए भन्ने रहर लाग्छ’ ।

राशिदले बस चढ्ने ग्राहकहरु कहिल्यै खुसी देख्दैनन रे । जाममा पर्दा कति न ढिला भए झैँ खुइय गर्ने गरेको र छिटो चलाएपनि गुनासो नै गर्नेहरु ग्राहकहरुबाट उनले खाली बस चढदा ‘नमस्ते’ को अपेक्षा राखेका हुन्छन् रे । कसैले उक्लँदा नमस्कार र झर्दा बाइ बाइ भन्यो भने म खुसी हुन्छु भनेर उनी हाँसे ।

इज्गोइजलाई भने यात्रा कहिल्यै नरोकिने चिज रहेछ जस्तो लाग्छ रे । ‘भन्नलाई सबै बाटो रोम पुग्छ भन्ने भनाइ छ तर म कहिल्यै रोम आइपुगिन’, उनले हाँस्दै जवाफ दिए, ‘बसका यात्रुहरु मुस्काएमात्र पनि मेरो मन खुसीले नाच्छ ।‘

इज्गोइजले एउटै कम्पनीका आफू दुइ चालकहरु पहिलो भेट भएको भन्ने जनाउ दिए । कम्पनीले नै रुटिन मिलाएर रुट तथा घन्टा र समय तोक्ने काम गर्छ । उनले थपे, ‘एउटै कम्पनी भएपनि सबै चालकहरुको एकैपटक भेट कहिल्यै हुँदैन । म स्पेन तिर छु । अर्को लन्डनतिर त अर्को पेरिसतिर हुन्छ । हामीहरु सबै समय र बसको इन्जिन जस्तै चलायामान छौँ । हामीहरु एक अर्काका निम्ति रोकिन सक्दैनौँ ।’

म सँग कुरा हुँदै गर्दा कहिले इज्गोइज त कहिले राशिदले बस गुडाए । कुराकानीको अन्त्यमा राशिदले माइकमा आज हामीले नेपाली पत्रकार भेट्यौँ र कुरा गर्यौँ । तिमिहरुलाई कुनै असुबिधा पुगेको भए माफी चाहन्छौं भने । यात्रुहरुले म तिर आँखा तन्काए र मैले पनि इशाराले धन्यवाद भनेँ । म बसेको सिट यात्रु सिट नभै दुइ ड्राइभर बिचको भर्याँगको सीँढी थियो ।

यात्रा सकिने दुइ घन्टा अगाडी अघिल्लै दिन बार्सेलोना पुग्नुभएका कविन्द्र कायस्थ दाइलाई फोन गरेँ । उहाँले त्यहाँ एक गाडी भाडामा लिनुभएको थियो र हामीहरु एउटै होटलमा बस्दै थियौँ । दाइले बसबाट झरेर कुर्नु म आउँछु भन्नुभयो ।

पेरिसबाट गुड्दा डेढ घन्टा ढीला भएको बस बार्सेलोना भने ठीक समयमा आइपुग्यो । बसबाट झरेपछि राशिद र इज्गोइज सँग तस्विर खिचाएँ । बार्सेलोनाबाट पेरिस जाने यात्रुहरु यहि बस कुरिहरेका थिए । तिनै यात्रुहरु टिपेर यि दुइ चालकहरु मेरा आँखै अगाडी बिदा भए । हामी भने कविन्द्र दाइलाई कुर्न थाल्यौँ ।

(लेखिकाको यो बार्सेलोना यात्राको भाग दुइ हो । भाग एक हेर्न यहाँ क्लिक गर्नुहोस ।)

तपाइँको प्रतिक्रिया