मंगलबार, वैशाख २५, २०८१

एनआरएनए डेनमार्कमा महिलामाथि चरम हेपायती

सरस्वती कार्की / डेनमार्क२०८० असार १० गते ८:०९

गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय अध्यक्षका लागि उमेदवारी घोषणा गर्दा रविना थापाको क्षमतामाथि आलोचना गरिएको थियो “उनी बोल्न जान्दिनन्, उनको बोल्ने ढंङ्ग नै छैन, उनले संस्था लगाउँन सक्दिनन् ।” तर, समाजले स्वीकार गर्न नचाहेका पुरुषलाई भने हाम्रो सामाजले दुधले नुहाइदियो । जब रविना कार्यकारी अध्यक्ष बनिन् सफलता पूर्वक आफ्नो कार्यकाल पुरा गरिन् ।

डेनमार्कमा पनि आज त्यस्तै बनेकी छन् जमुना देवी रिजाल कँडेल । एनआरएनए राष्ट्रिय समन्वय परिषद डेनमार्कको करिव १५ बर्षे इतिहासमा पहिलो पटक महिलाले अध्यक्ष पदमा उमेदवारी दिएकी छन् । वर्तमान महिला अपाध्यक्ष समेत भएकी रिजालको उमेदवारी घोषणा भएसँगै उनीप्रति लक्षित गरेर तल्लो स्तरको आलोचना गर्न थालिएको छ – “हाउस किपर, अनपढ, अंग्रेजी लेख्न पढ्न नजान्ने, डेनिस बोल्न नजान्ने, एयरपोर्टमा पाहुना लिन जान नसक्ने किनकी ड्राइभिङ लाइसेन्स नभएको, अन्तर्राष्ट्रिय मञ्चमा बोल्न सक्दिनन्, अयोग्य उमेवदार, उनीबाट संस्था चल्दै चल्दैन । राति १२ बजे कतै जानु पर्‍यो भने जान सक्नुहुन्छ ? हिँड्दा हिँड्दै इमेल लेख्नुपर्ने भयो भने लेख्न सक्नु हुन्छ ? ।”

एउटा उमेदवारलाई प्र्श्न गर्न पाइन्छ सकारात्मक आलोचना गर्न सकिन्छ । तर, यो प्रश्न हैन र आलोचना पनि हैन । महिलामाथिको ‘उत्पीडन‘ हो अनि चरम हेपायती व्यवहार हो । यदि उनी शालिन, सहनशिल र संस्कारी महिला थिइनन् भने डिप्रेशनको शिकार भइसक्ने थिइन् ।

महारानी, महिला प्रधानमन्त्री, हरेक कार्यालयमा महिलै महिलाको वर्चश्व भएको देश हो डेनमार्क । संसारमा कम भ्रष्टचार गर्ने देशहरुमा प्रथम स्थानमा रहेको डेनमार्क, सबैभन्दा सफा देशमा उत्कृष्ट डेनमार्क, संसारमा सबैभन्दा खुसी नागरिक भएको देश डेनमार्क । यस्तो देशमा बसेर पनि विश्व बिद्यालयको प्रमाणपत्र देखाएर आफूलाई सर्ब स्वीकार्य, सर्बोपरि बिद्धान कहलाउने, सामाजिक अभियान्ता ठान्ने, समाजको पहरेदार घोषित गर्नेहरुबाटै महिलामाथि यो उत्पीडन भएको छ ।

विश्व बिद्यालयमा गएर कुनै पनि बिषयमा बिज्ञता हासिल गर्नु र ज्ञान आर्जन गर्न सक्नु नितान्त फरक विषय हो । विषयगत बिज्ञता तपाइहरुमा धेरै होला त्यसप्रति सम्मान छ तर, ज्ञान प्राप्तीमा रिजाल तपाइहरुभन्दा धेरै अगाडी छिन । यदि रिजालमा व्यवहारिक ज्ञान थिएन भने सामाजिक संजालमा ओकलिएका ती भनाइहरु, समुहगत छलफलमा तेर्र्याइएका अपमानित अडियोहरुलाई संपादन गरी सामाजिक संजालमा छरपष्ट गर्न सक्थिन । तर, मन, बचन र कर्मले कसैप्रति आघात नपार्ने रिजालको सहनशिलताका कारण विषयलाई इस्टन्ट गरेकी छैनन् । विश्व बिद्यालयको उच्चतम प्रमाणपत्र हातमा लिएर पनि अन्तत आफ्नो वास्तविक स्वरुप समाजमा देखाएरै छोड्नुभयो ।

एनआरएनए डेनमार्कको नयाँ कार्य समिति (२०२३-०२५) का लागि आगामी एक जुलाइमा निर्वाचन हुँदैछ । त्यसका लागि एक महिला सहित तीन जनाले उमेदवारी दिएका छन् । बिक्रम सम्वत २०४९-०५० सालमा आइकम पास गरेकी रिजाललाई कसरी अनपढ भन्ने हिम्मत गरियो ? कामको सम्मान हुने देशमा बसेर हाउस किपर भनेर हिन होच्याइयो ? एनआरएनका संस्थापकहरुले सुरुवाती दिनमा भाँडा मोलेर गर्जो टारेको इतिहास छ । के हाउस किपिङ गर्ने व्यक्ति एनआरएनए डेनमार्कको अध्यक्ष बन्न लायक हुँदैन वा सक्दैन ?

“नेपालीका लागि नेपाली” भन्ने मूल नारा बोकेको यो संस्थामा नितान्त स्वयं सेवक गर्न जाने हो । कुनै विषयमा बिज्ञता हासिल गरेर त्यो बिज्ञता प्रदर्शन गर्न जागिर खान जाने थलो हैन । जीविको पार्जनका लागि एप्स बनाउन जाने हैन, बस चलाउन जाने हैन, नक्सा कोर्न जाने हैन, रेल चलाउन जाने हैन । उपचार गराउन जाने हैन, अंग्रेजी पढाउन जाने हैन । डेनिसमा प्रवचन दिन जाने हैन । अन्तर्राष्ट्रिय मञ्चमा जानु भनेको नेपाली समूदायबीच नेपाली भाषामै भाषण गर्नु हो ।

संसारमा सबैभन्दा बढी लडाँई भाषा, चिनारी र पहिचानको विषयमा हुने गरेको छ । अब २०-२५ वर्ष पछि डेनमार्कमा हुर्कँदै गरेका हाम्रा सान्तानहरुले आफ्नो भाषा, धर्म, संस्कृति, पर्वहरु बारे सिकेर निरन्तरता दिए भने हामी सफल हुनेछौ अन्यथा त्यो दिन आफूहरुलाई धिक्कार्न सिवाय अरु केहि हुँदैन । यसर्थ नेपाली भाषा नै एनआरएनएको मन्त्र हो । गोजिको पैसा निकालेर, बचेको समयमा समाजमा सेवा गर्न जाने थलो हो । नेपाली बोल्न जान्ने, नेपाली लेख्न जान्ने र समाजमा स्वच्छ छवी हुने जो कोहि पंजीकृत सदस्य नै संस्थाको लागि योग्य उमेदवार हो ।

यसअघि सात जना दाजु भाइहरु अध्यक्ष भए । आफ्नो अवस्था, परिस्थिती अनुरुप समाजमा योगदान दिए । यी सात जनाले गर्न सकेका कामहरु व्यवहारिक र बैधानिक रुपमा रिजालले गर्न नसक्ने भन्ने छैन बरु त्यो भन्दा राम्रा र रचनात्मक काम गर्न सक्छिन् । दोभाषेको सहजै सुविधा लिन सकिने डेनमार्कका अध्यक्षहरुले अंग्रेजी र डेनिस भाषामा भाषण गरेका इतिहास छैन ।

जतिसुकै बिकसित र सभ्य समाजमा बसेपनि नेपाली समाजले पुरुषहरुलाई सुनपानी छर्केर शुद्ध पार्छ । उता महिलालाई भने सधै नजरअन्दाज गर्छ । सन् २००७ देखि पंजिकृत सदस्य भएकी उनले संस्थालाई लामो समयदेखि नजिकबाट नियाल्ने मौका बटुलेकी छन् । रिजालसँग एनआरएनए कार्य समिति सदस्य, महिला संयोजक हाल महिला उपाध्यक्ष भएर काम गरेको अनुभव छ। अनुभब सबैभन्दा ठूलो सिकाइ हो । यो सिकाइले एनआरएनएको नेतृत्वमा पुगेपछि के गर्न सकिन्छ, के गर्न सकिदैन उनलाई राम्रो हेक्का छ र हुनुपर्छ ।

आजसम्म कुनैपनि महिलाले हिम्मत गर्न नसकेको पदमा फलाम झैं अडिक भएर अभिनु नै रिजालको एउटा जित हो । आफू नेतृत्वमा पुग्ने लक्ष्य राखेर अगाडी बढेकी उनले इतिहासमै सबैभन्दा बढी महिलाहरुलाई कार्य समितिमा निर्बिरोध निर्वाचित गर्न सफल भैसकेकी छन् ।
पहिलो पटक हिम्मत गरेकी महिलालाई साथ, सहयोग र ढाडस दिनुको सट्टा मनोवल गिराउने उद्देश्यले हतोत्साहित गरिदैँछ । जुन समाजको लागि क्षति हुनु हो । लामो अनुभव, समाजशात्रिय ज्ञान, मानव सम्बन्धको ज्ञान, सहनशिलता, समानताका आँखाले देख्ने स्वभावकी धनी रिजाल नेतृत्वका लागि अब्बल छिन् ।

तपाइँको प्रतिक्रिया