आइतबार, वैशाख १६, २०८१

अघिल्लोभन्दा पछिल्लो पुस्तालाई बढी ऐश, आराम

सम्प्रास पौडेल२०८० असार २४ गते १३:३८

सम्प्रास पौडेल

बा‌आमाका अनुभव सुन्छु । उबेलाका दुख पढ्छु । बिहान कुखुरा नबास्दै शुरू हुने आमाको दैनिकी महशुस गर्छु । पूर्णकालिन (फूल टाइमर) कारिन्दा जस्तो खेतबारीका आलीमा थकाई मारिरहेका बाका कुरा गम्छु ।

हजुर‌आमा उहिल्यै बितेकाले एक बिहान समय लगाएर डोकोमा गाग्रीभरि पानी बोक्ने हजुर‌आमाका कथा हजुरबाबाट सुन्थेँ । कथा सुन्दै गर्दा मेरा हजुरबालाई जति त कसैका हजुरबालाई थाहै छैन झैँ लाग्थ्यो । पछि पछि धर्मकर्मका पूराना साहित्य बाहेक उनले अझै धेरै कुरा जान्नै बाँकी छ जस्तो लाग्न थाल्यो ।

त्यही क्रममा कम्मल ओढी तमसुक लिएर बाजी जित्ने हजुरबाका कथा सुन्थेँ । बुइँगल भाँचिनेगरी मकै फलाउने ठूलाबाहरूका कथा सुन्थेँ । वर्षभरि पुग्ने घीउ, चुक अमिलो, सिन्कीचाना, गुन्द्रुक, तामा, धान, मकै, जुनेलो, भटमास, कोदोसँगै बजारबाट एक बोरा ढिका नुन अगेना छेउ झुण्ड्याएर राखेपछि वर्षैभरि ढुक्कले निदाउने हजुर‌आमा, आमाहरूका पुस्ता सम्झिन्छु ।

चियाको भाँडो ग्यासमा बसालेर डेरिमा दुध लिन जाने, भुटन बसालेर पालमा प्याज किन्न पुग्ने पुस्ता आफैँ बनिरहेकोमा दङ्ग हुन्छु । भान्छादेखि अफिससम्मका सामान मात्रै होइन, भोक लागे घरमै खाजा आउने होम डेलिभरि सुविधा छँदैछ । तर हाम्रो पनि दुख आफ्नै खालको छ, एउटा घर बनाएपछि दशौँ वर्ष किस्तामा अलमलिरहेको हो नि मेरो पुस्ता । गाडी किनेर धान्न धौ धौ बनिरहेको पुस्ता हौँ । महिनाको केही हजार कमाएर पनि रेस्टुरेन्टमा थुप्रै हजार खर्च गर्नुपर्ने समयका हौँ हामी । न्यून कमाई हुनेले पनि हरेक पारिवारिक, सामाजिक कार्यक्रमलाई ‘पार्टी’मा बलिदान दिनुपर्ने बाध्यता छ । उहिले बहुभोज र जन्ते बाख्रो भोजमा गाउँ नै सरिक हुने पुस्ताले पार्टी प्यालेसको लाख लाखको मासु र रक्सीकै बील तिरेको हेरेर प्रेसरको अर्को ट्याबलेट निलिरहेको छ ।

जागिरमा मात्रै होइन, साइकल चलाउनदेखि पौडी खेल्न अनि बिहान बेलुका हिँड्नदेखि जीमखानामा फलाम उचाल्न समेत फरक फरक पोशाक आवश्यक पर्ने पुस्ताकै हौँ हामी । सन्तानले राम्रो पढ्दै जानु पनि लगानीका कारण तनाव बेहोर्ने पुस्ता भईरहेछौँ हामी । आउँदो पुस्ता विदेशिएर फर्कन चाहिरहेको छैन । आफैँलाई झुक्याउँदै तिनकै रहरलाई आफ्नो ठानेर पूरा गर्नुपर्ने दायित्व छ यो पुस्तामा ।

घर र समाजमा अभ्यस्त नभ‌एको पछिल्लो पुस्ता अमेरिका, अष्ट्रेलिया, क्यानडा ताकिरहेको छ । उनीहरूका पनि आफ्नै समस्या होलान् ।

भोक र शोकमा रहेको अघिल्लो पुस्ताभन्दा पछिल्लो पुस्ताले बढी नै ऐश आराम गरेको कुरा छर्लङ्गै छ । यसैले पछिल्लो पुस्ताले के गरी खाला भनेर ज्यादै चिन्तित हुनुपनि नपर्ला ।

(स्रोत: पौडेलको फेसबुक कमेन्ट)

तपाइँको प्रतिक्रिया