शनिबार, वैशाख १५, २०८१

स्याङजा समाजद्वारा पेरिसमा चेलीहरुलाई तीज

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ २४ गते २३:५६

स्याङ्जा समाज फ्रान्सले फ्रान्सको राजधानी पेरिसमा आइतवार नेपाली महिलाहरुको सांस्कृतिक पर्व तिजको उपलक्ष्यमा दर खुवाउने कार्यक्रम आयोजना गर्यो ।

दर खुवाउने कार्यक्रममा नेपालमा चलनचल्तीमा रहेका तीजका गीतहरु बजाइएको थियो । यिनै गीतहरुमा नेपाली दिदी बहिनीहरुले रमाइ रमाइ नाचगान गरे ।

पेरिस नजिकै रहेको ओवरभिलिए स्थित कामरान नामक नेपाली तथा भारतिय परिकार पाइने रेष्टुरेन्टमा आयोजित कार्यक्रम आयोजित थियो ।

स्याङ्जा समाज फ्रान्सको सन् २०२१ मा स्थापना भएयता यस सस्थाले हरेक वर्ष तिज कार्यक्रम गर्दै आइरहेको छ ।

पेरिसमा नेपालबाट आएका दिदीबहिनीहरुको संख्या उल्लेख्य बढिरहकोले एक आपसमा चिनजान, सहयोग आदान प्रदान होस र आपसी मित्रता गाढा बनोस भन्ने उदेश्यले तिज कार्यक्रम आयोजना गरिएको स्याङ्जा समाज फ्रान्सका महासचिव उदयराज पान्डेले नेपाल प्लसलाई बताए ।

कार्यक्रममा सँस्थाका संरक्षक घनश्याम पौडेलले तिजको मौलीक गीत लेखेर ल्याएका थिए जसलाई उनीसँगै मिलेर केहि दिदिबहीनीहरुले गाए ।

“नेपालमा रहँदा गाउँमा आफ्ना घर गएका दिदी बहिनी लिन गइन्थ्यो र रातै र पहेलैँ भएर दिदीबहिनी माइती आउँदा रौनक नै अर्कै हुन्थ्यो” भन्दै तिनै दिदी बहिनीहरुको संझनामा आफूले गीत रचेको उनले बताए ।

कुनै भाषण बिनाको यस तिज कार्यक्रममा दिदी बहिनीहरुलाई निशुल्क दर खुवाइएको थियो भने इच्छुकहरुले कार्यक्रम आयोजकहरुलाई चन्दा दिन सक्ने ब्यवस्था मिलाइएको थियो।

कार्यक्रममा फ्रान्सको एन्जर्स शहरमा पौडी खेल्ने क्रममा अकस्मात पानीमा डुबेर निधन भएका तेह्रथुम जिल्ला म्यागलुंग नगरपालिका वार्ड नं ४ का प्रतिक निरौलाको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । उनी विध्यार्थीका रुपमा अध्ययनरत थिए ।

स्वर्गिय प्रतिक निरौलाका बुबा आमाको चाहना बमोजिम निरौलाको शब नेपाल पठाउनका लागि पेरिसका सबै सँघसंस्थाहरु मार्फत आर्थिक सहयोग जुटाउने क्रम यतिबेला चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक