शनिबार, वैशाख १५, २०८१

एनआरएनएमा प्रबिधिलाई किन कमजोर बनाइन्छ ?

मदन दवाडी / बेल्जियम२०८० पुष १७ गते २०:१३

मदन दवाडी

यो पंक्तिकार सानो छँदा आमाले काम गर्ने खेताला कस्ता हुन्छन भन्ने विषयमा कुकुर र बिरालासँग तुलना गर्दै भन्ने गर्नुहुन्थ्यो “बाबु कोहि खेतलाहरु कुकुरले जस्तै सोच्ने गर्दछन। कुकुरले आफ्नो मालिकको सधैँ राम्रो होस भन्ने चाहन्छ । मालिक धनि भयो भने राम्रो घरमा बस्न पाइन्छ, मिठो खाना पाइन्छ भनेर सोच्दछ रे । तर बिरालो चाहिँ मालिकको मृत्यु भएमा आफू तातो चुलोमा बस्ने थिएँ। घरको खाना आफू मात्रै खाने थिएँ। मनै मालिक हुने थिएँ भनेर सोच्ने गर्दछ रे । बिरालोले यो सोचेको हुँदैनकि मालिकनै नरहेपछि घरनै रहँदैन, खाने कुरो रहँदैन, चुलो पनि तातो हुँदैन। यसर्थ बिरालोलो एकदम क्षणिक समयको लागि आफू सर्वेसर्वा रहन खोज्छ। भविष्यमा के हुन्छ भनेर सोचेकोनै हुँदैन।

अहिले अधिकांश एनआरएएका अभियान्ताले क्षणिक पद, क्षणिक शक्ति मात्र खोजेको देखिन्छ । यसको भविष्यको बारेमा कुनै चिन्तानै गरेको देखिँदैन। एनआरएन अहिले इतिहाँसकै जटिल मोडमा छ। जतासुकै यस प्रति तिब्र बितृष्णा छ। यसको भविष्य के हो भने कसैले पनि आँकलन गर्न सक्ने स्थिती छैन। तर यसका अभियन्ताहरु त्यसमा चिन्ता गर्न भन्दा पनि बिरालोले जसरि क्षणिक तातो चुलोमा रमाइरहेका छन।

एनआरएनएलाइ मजबुत बनाएपछि हामी आफू पनि मजबुत भइन्छ भन्ने कुराको हेक्का नराखिकन यसलाइ कम्जोर बनाउन र त्यसलाइ दुरुपयोग गर्नको लागि मात्र दुरुत्साहित भइरहेको देखिन्छ।

यहि दुरुत्साहको एउटा उदारण हो-सदस्यता बितरण प्रणाली अर्थात् एमआइएस सिस्टम

दुरुपयोग गर्नकै लागि एमआइस सिस्टमलाइ कति कम्जोर तवरले निर्माण गरिएको छ भन्ने कुराको यहाँ चर्चा गर्न चाहन्छु।

एमआइएस सिस्ट अन्तर्गत सदस्यता ग्रहण गर्नको लागि शुरुमा अनिवार्य रुपमा टेलिफोन नं र इमेल दिनु पर्दछ र उक्त टेलेफोन वा इमेलमा कोड प्राप्त हुन्छ अनि कोड दिएपछि मात्र सदस्यता ग्रहणको अर्को चरणमा प्रवेश गर्न सकिन्छ। तर यो सिस्टममा टेलेफोन नम्बर वा इमेल सहि भए नभएको जाँच गर्न सक्ने बनाइएको छैन।

अहिलेको कृतिम बौद्दिकताको जमानामा एउटा सामान्य पिजा रेस्टुरेण्टको अनलाइन अर्डर गर्ने सिस्टममा त गलत टेलेफोन नं वा इमेल प्रयोग गरियो भने मिलेन भनेर अर्डर गर्न मिल्दैन भने ८० लाख प्रवासी नेपालीको साझा सँस्था, लाखौंले सदस्यता शुल्क तिरेर सदस्यता ग्रहण गर्ने संस्थमा इमेल वा फोन नं ट्र्याक गर्न सक्ने फिएचर राखिएको छैन। मोबाइल नं १२३४५६७८९ वा इमेल [email protected] दिए पनि स्विकार्छ।

कोडको लागि इमेल वा फोन नं मध्य कुनै एक सहि दिएर अर्को जे राखेपनि हुन्छ। तर राख्न चाँहि फेरि अनिवार्य पर्दछ। यो कम्जोरीले गर्दा दुरुपयोग गर्नेलाइ त सहज हुने भयो तर सहि तरिकाले प्रयोग गर्न चाहनेलाइ सदस्यता ग्रहण गर्न युद्द लडे भन्दा गाह्रो पर्दछ। यदि इमेल वा फोन भुल वस वा टाइपमा गल्ति भएर गलत दिइयो भने दुबै काम लाग्दैन। म आफूले मेरो इमेलमा डट कम (com) हुन पर्नेमा भोम (vom) भएछ। इमेल त गल्ति भएपछि कोड आउने कुरा भएन तर फोन नं पनि काम लाग्दैन। यो फोन प्रयोग भइसक्यो कोड राख भन्छ । त्यो कोड कुन ब्रमाण्डको इमेल. vom मा गयो कसरि राख्ने?

सामान्यतया कोड प्रयोग नभएसम्म त त्यो टेलेफोन नं वा इमेल पुन प्रयोग गर्न मिल्नपर्ने हो। तर त्यो बनाइएको छैन।

त्यस्तै कयौँ पटक कोडनै प्राप्त हुँदैन त्यसपछि इमेल र फोन नं दुबै काम लाग्दैन। प्रयोग भइसक्यो कोड राख्न भन्छ तर कोडनै प्राप्त भएको हुँदैन। अनि बाध्य भएर फेक इमेल वा फोन नं राख्नपर्ने हुन्छ। पँहुच हुनेले मात्र प्रयोग गर्न सक्ने र जुनसुकै बेला सजिलै दुरुपयोग गर्नकै लागि यो कम्जोर सिस्टम बनाइएको हो।

त्यस्तै गरि सदस्यता प्राप्त भए पछि नाम र फोटो परिवर्तन गर्न सकिन्छ। यहि व्यवस्थाको दुरुपयोग गर्दै कतिले प्रोफाइ नाममा आलुको अचार, तोरिबारीको स्याल, कालि भैँसि जस्ता नामहरु पनि राखेको पाइन्छ। यसरि नाम र फोटो परिवर्तन गर्ने सुबिधा हुँदा एउटै व्यक्तिको डकुमेन्टबाट सयौँ सदस्यता बनाउन सकिन्छ। जस्तै-राम बहादुरको डकुमेन्ट प्रयोग गरेर राम बहादुरकै नाममा सदस्यता बनाएर त्यसको एप्रुभ पछि नाम र फोटो परिवर्तन गरि श्याम बहादुर गर्न सकिने भयो र राम बहादुरको नाम र डकुमेन्टमा पुन अर्को सदस्यता बनाउन सकिने भयो । एबँ रितले नाम र फोटो परिबर्तन गर्दै हरि बहादुर, हर्क बहादुर, कालि प्रसाद, च्यान्टे प्रसाद आदि आदि सयौँ प्रोफाइल एउटा डकुमे्न्टबाट बन्ने भयो। यसर्थ कसैले नाम परिवर्तन गरेमा पुन डकुमेन्ट सहित एप्रुभ हुनुपर्ने व्यवस्था नगर्नु दुरुपयोग गर्नकै लागि हो।

यहि प्रणालिको दुरुपयोग गर्नको लागि गत एघारौँ अधिवेशनमा काठमाडौंमा डेलिगेट्स परिचय पत्र बनाउने क्रममा अन्य कुनै आइडी चेक नगरिकन एपको फोटो र नाम चेक गरिएको थियो। जस अन्तरगत जो कसैले अरु कसैको नाम र फोटो परिवर्तन गरि प्रबेश पाउने थियो। मैले चाहेको भए मेरो एपमा गएर नाम बद्रि केसी राखि फोटो पनि बद्रि के सीको राखेर मै बद्रि केसि हो भन्न सक्ने अवस्था थियो।

स्मरण रहोस, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता साप्कोटाको नाममा अर्कै फोटो र सदस्यता आइडी भएकाले केहि समय मतदान गर्न दिइएको थिएन।

अब कुरा गरौँ एनआरएनएले नेताहरुले हामीले अत्याधुनिक फेस भेरिफिकेसन सिस्टम बनाएका छौँ भनेर गर्व गर्ने विषयको। यो फेस भेरिफिकेसन हैन, हल्लाउने भेरिफिकेसन हो। जे हल्लाए पनि फेसनै हल्लेको भनेर सिस्टमले क्याच गर्दछ। हात हल्लाउँदा तालि पिट्दा, वा हातले लामखुट्टे मारेजस्तो गर्दा पनि फेस क्याच गर्छ।

हेर्नुस भिडियो

https://youtube.com/shorts/QO77sYmSaqg?si=Jc-fvbjbMynEzn9Q

यसर्थ फेस भेरिफिकेसन भनिएको छ तर फेसनै चाँहिदैन। ल ठिकै छ फेस नदेखिए पछि सदस्यता समितिले सदस्यता एप्रुभ नगर्ला । तर अहिले बिभिन्न एपहरु बनेका छन जसमा फोटो राखेपछि हाँसेको, आँखाँ झिम्क्याएको बनाइदिन्छ। उक्त एप प्रयोग गरि सजिलै फेस भरेफिकेसन गराउन सकिन्छ र त्यो सदस्यता समितिले पनि चाल पाउँदैन। यसर्थ दुरुपयोग गर्नकै लागि यो प्रणालिमा यो कम्जोरीको फिएचर कायम राखिएको हो र दुरुपयोग गरि बनाइएका मतदाताहरुलाइ मत हाल्ने सुविधा दिनकै लागि गत एघारौँ अधिबेशनमा पहिला १०० प्रतिशत फेस भेरिफिकेसन त्यसपछि ८० प्रतिशत र ६० प्रतिशत गरिएको थियो।

त्यस्तै गरि एनआरएनएको एपमा भोट हाल्न मिल्ने voting भन्ने छुट्टै आइकनको व्यवस्था गरिएको छ। यहि एपको प्रयोग गरि भोट हाल्ने व्यवस्था गरिएको भए एनआरएनएको हजारौँ डलर खर्च पनि बच्ने, त्रुटी रहित हुने र विश्वसनिएता पनि हुने थियो। तर किन यो एपमा भएको सुबिधा प्रयोग नगरिकन बाह्य कम्पनिको भोटिङ सिस्टम प्रयोग गरियो त?

एनआरएनएको एपमा राखिएको voting आइकन।

यो दुरुपयोग गर्नकै लागि हो भन्नेमा कुनै द्विबिधानै रहेन।

म प्रमाण पत्र तह पढ्दै गर्दा पहिलो चोटि कम्प्युटर देखेको र स्नातक तह पढ्दै गर्दा बागबजारको इन्सचिच्युटका साँघुरो कोठामा जुत्ता बाहिरै खोलेर भित्र पसी कम्प्युटरको बेसिक कोर्ष गरेको मान्छेले त यति बुझेँ भने आइटिका एक्सपर्टले यति नबुझेका त पक्कै हैन होला ?

अत: एनआरएनएको अभियान्ताहरुलाइ क्षणिक प्रयोजनको लागि एनआरएनएलाइ कमजोर बनाएर लाभ लिन भन्दा यो बलियो भयो भने हामी स्वत मजबुद हुन्छौं भन्ने सोच राख्दै बिरालो सोचबाट बाहिर आउनको लागि अनुरोध गर्दछु।

तपाइँको प्रतिक्रिया