शनिबार, वैशाख १५, २०८१

बेल्जियममा खाद्य सामग्री कसरि गरिन्छ नियन्त्रण ? केमा ध्यान दिने ?

मदन दवाडी / बेल्जियम२०८० पुष २७ गते १४:५२

बेल्जियममा करिब ६० हजार रेष्टुरेण्ट छन । दैनिक लाखौँ मान्छे रेष्टुरेण्ट जाने गर्छन्। आफूलाइ मन पर्ने तर घरमा बनाउन नसक्ने खानाको लागि मानिसहरु रेष्टुरेण्ट जाने हुन् । अरुले सबै तयारि गरेर पाकशिक्षाका पारखीले तयार पारेको स्वादिष्ठ खाना खान पाउनु एक सुखद पल पनि हो।

त्यसो त, बेल्जियममा खाध्य सामाग्रीको कारोबार गर्ने हजारौं सुपरमार्केट पनि त छन। कतिपयले त्यहिँबाट किन्छन्, खाना ।

हरेक मानिसले बाँच्नको लागि हरेक दिन खाना खानैपर्‍यो । हरेक मानिसले स्वस्थ,सफा र सुरक्षित खाना पाइयोस भन्ने चाहना राखेको हुन्छ। त्यसकोलागि कोहि रेष्टुरेण्ट गएर खान्छ । कोहि सुपर मार्केटबाट सामाग्री खरिद गरि आफै पकाएर खान्छन् ।

मानिसहरुको यहि चाहना पुरा गर्न, खाद्य सुरक्षाको जाँच गर्ने हेतुले वेल्जियममा एक संघिय खाद्य सुरक्षा जाँच एजेन्सी (एजेन्सी (federaal Agentschap voor de veiligheid van de voedselketen)) खडा गरिएको छ। जसलाइ छोटकरीमा एफ ए भिभी (FAVV) भन्ने गरिन्छ।

एफ ए भिभीले खाद्य सामाग्रिको कारोबार गर्ने ठाउँमा खाद्य सुरक्षा मापदण्डलाइ पालना गरेको नगरेको अनुगमन तथा नियन्त्रण गर्छ। नियन्त्रण पश्चात यदि मापदण्ड पुरा भएको छैन भने कानुनत चेतावनी दिने, जरिवाना तोक्ने वा गम्भिर अवस्थामा व्यवशायनै बन्द गरिदिने पनि गर्दछ।

बेल्जियममा कोरोना महामारी पश्चात खाद्य शुरक्षा जाँचमा धेरै कडा गरिएको छ। पछिल्लो केहि चरणमा धेरै व्यवशायहरुलाइ बन्द गरिदिने गरेको छ। नेपालीहरु द्वारा संचालित केहि व्यबशाय पनि बन्द हुने मध्येमा पर्छन् । यस खाद्य शुरक्षा एजेन्सी (फव्व्) द्वारा गरिने नियन्त्रण पश्चात हुने चेतावनी वा जरिवाना वा व्यवशायनै बन्द गरिदिने अवस्थालाई न्युनिकरणको गर्नको लागि मैले केहि प्रश्नोत्तर राख्ने प्रयास गरेको छु।

व्यवशायीले खाद्य सुरक्षा एजेन्सी (FAVV) को मान्छे को हो र नियन्त्रण गर्न आएको हो भन्ने कसरी थाह पाउने ?

एफ ए भिभीले नियन्त्रकलाइ एउटा सूची (वडापत्र) उपलब्ध गराएको हुन्छ र उसले उक्त सूची अनुशरण गरि नियन्त्रण गर्नुपर्ने हुन्छ। उक्त सूची अनुसार अनुगमनपूर्व उसले आफ्नो परिचपत्र देखाइ नियन्त्रणको लागि आएको भनेर बताउँछ।

नियन्त्रणको शुरुवात अघि के हुन्छ ?

सर्बप्रथम त नियन्त्रकले कसरि र कुन कुन प्रकृयामा नियन्त्रण गर्नेछ भन्ने बताउँछ । आवश्यक पर्ने कागजातहरु तयारी अवस्थामा राख्न भन्छ। अनि बल्ल उसले नियन्त्रण शुरु गर्छ। नियन्त्रकले बार, किचन, स्टोरेज, हल, ट्वाइलेट लगायत व्यवशाय भित्र भएका सबै स्थान अनुगमन गर्छ। नियन्त्रणको समयमा रेष्टुरेण्टको काम चालु राख्न सकिन्छ वा चाहेमा केहि समय स्थगित पनि गर्न सकिन्छ वा उसले त्यो निर्देशन दिन्छ ।

नियन्त्रकले कस्ता कागजपत्र माग्दछ ?

नियन्त्रणकर्ताले पहिलो हेर्ने भनेको एफ ए भिभी द्वारा प्रदान गरिएको खाद्य अनुमति पत्र हो। जसलाइ व्लु कार्ड भनेर पनि चिनिन्छ। यो कार्ड अगाडी पट्टि सबैले देख्ने गरि टाँसेको हुनु पर्दछ। यो कार्ड नराखिकन कुनै पनि खाद्य सामाग्रिको कारोबार गर्न पाइदैन।

त्यसपछि एलर्जी रिपोर्ट माग्छ। एलेर्जि रिपोर्टमा मेनु अनुशारको हरेक खानामा के के एलर्जी हुन्छ भन्ने कुराको बिवरण तयार पारी वेटरले चाहेको बेलामा फेला पार्न सक्ने ठाउँमा राख्न पर्दछ। त्यस्तै मेनुमा ग्राकलाइ केहि एलर्जी छ भने ‘हामीलाइ सोध्न सकिनेछ’ भन्ने जानकारी पनि राखिएको हुनुपर्दछ।

युरोपको कानुन अनुसार glutenbevattende granen, ei, vis, pinda, noten, soja, melk, inclusief lactose, schaaldieren, weekdieren, selderij, mosterd, sesamzaad, lupine (बुझ्न सजिलो होस भनेर शब्दावली लाइ डच भाषामानै राखिएको हो) गरि १४ प्रकारका खानाको एलर्जी अनिवार्य रुपमा उल्लेख गर्नु पर्दछ। यदि मेनुमानै हरेक खाना सांकेतिक रुपमा कुन खानामा कुन एलर्जि रहेको छ भनि राखेको खण्डमा छुट्टै एलर्जी रिपोर्ट राख्न आवश्यक पर्दैन र ‘एलर्जि भएमा हामीलाइ सोध्नु’ भन्ने सुचना पनि राख्न आवश्यक पर्दैन।

एलेर्जी संकेत फोटोमा हेर्नुहोस

त्यस्तै सरसफाइ कस्तो छ भन्नेपनि नियन्त्रकले माग्छ। जसमा कुन कुन स्थान तथा उपकरणहरु तथा भान्छामा प्रयोग गरिने उपकरणहरु कोद्वारा र कहिले गरिन्छ भन्ने उल्लेख गरेको हुनुपर्दछ।

यस्तै, किटाणु नियन्त्रण योजना पनि नियन्त्रकले माग्ने गर्छ। जसमा मुसा तथा साङ्लाहरुलाइ नियनत्रण गर्नको लागि के कस्तो सावधानी अपनाइएको छ र त्यसलाइ कुन समयमा जाँच गरेको हो, जाँचको अवस्थामा केहि भेटिएको वा नभेटिएको बारेमा उल्लेख भएको रिपोर्ट हुनु पर्दछ।

भान्छामा प्याकिङ नभएको कुनै खाद्य पदार्थ छ भने त्यसको ‘डेलिभरी नोट (त्यो बितरणको जानकारि)’ वा बिल पनि माग्ने गर्दछ। जसले गर्दा कुन सामान कहाँबाट अएको हो बुझ्न (ट्र्याक गर्न) सकियोस।

हरेक फ्रिज तथा डि-फ्रिजमा हरेक दिन काम शुरु गर्नुभन्दा पहिला र काम समाप्त भए पश्चातको तापक्रम पनि लेखेर राख्नु पर्दछ। उक्त रिपोर्ट फ्रिज वा डिप फ्रिजमा टाँस्न सकिन्छ वा अन्यत्र टाँस्ने हो भने फ्रिज र डिप फ्रिजको नाम सहित टाँसेको हुनुपर्दछ।

नियन्त्रणको शुरुवात कसरि गरिन्छ ?

नियन्त्रण शुरु गर्नुभन्दा पहिला नियन्त्रकले ‘डिस्पोजएबल’ गाउन लगाउँछ । बाहिर लगाएर आएको कपडामै भान्छामा सामान्यतया जान पाइँदैन। किनकि कपडा सँगै बाहिरको जिवाणु आउन सक्दछ। त्यसैले नियन्त्रकले भित्र छिरे पछि छुट्टै गाउन लगाउने गरेका हुन् ।

साबुन पानीले हात धोएर हात सफा गरेपछि मात्र भान्छामा नियन्त्रणको लागि पस्छ। याद गर्नुहोस, यदि भान्छामा काम नगर्ने व्यक्ति पनि टोपी नलगाइ वा बाहिर लगाउने कपडा लगाएर भान्छा भित्र छिरेको छ भने त्यो मापदण्ड तोडेको मानिन्छ र जरिवाना तिर्नुपर्ने हुन्छ। भान्छा भित्र छिरेपछि नियनत्रकले जाँचबुझको सूची अनुसार सबै टिपोट गर्छ।

चेकलिस्ट भनेको के ?

नियन्त्रकले के के कुरामा नियन्त्रण गर्नु पर्दछ भन्ने निश्चित ढाँचा र नमुना सहतिको सूचीलाइ चेकलिस्ट भनिन्छ । यसमा नियन्त्रण गर्नुपर्ने सबै कुराहरुको सूची हुन्छ र हरेक सूचीको बायाँ भागमा ठिक छ, ठिक छैन र लागु नहुने गरि तीन वटा बिकल्प राखिएको हुन्छ । साथै त्यसको बारेमा टिपोट गर्ने ठाउँ पनि उपलब्ध हुन्छ। अत निश्चित ढाँचामा रहेर जाँच गर्ने सूचीलाइनै चेकलिस्ट भनिन्छ। सबै खाद्य स्थलहरुमा नियन्त्रणमा समानता होस भन्ने हेतुले यो चेकलिस्ट उपलब्ध गराइएको हो। यो चेकलिस्ट एफ ए डब्लु डब्लुको वेबसाइटमा पनि उपलब्ध हुन्छ। यसको माध्यमबाट आफ्नो रेष्टुरेण्ट नियन्त्रण, जाँचबुझ गर्न आँउदा के के हेर्छ र उक्त कुराहरु ठिक छन वा छैनन भन्ने कुराको जाँच आफैंले गर्न सक्नुहुने छ। यो लिंक https://www.favv-afsca.be/professionelen/checklists/ मा गएर चेकलिस्ट प्रयोग गर्न सक्नुहुनेछ।

चेकलिस्टमा के के राखिएको हुन्छ ?

अनुगमन गर्नुपर्ने कुरा नछुटाओस र नियन्त्रणमा भेदभाव नहोस भन्नको लागि नियन्त्रकले जाँच गर्नुपर्ने सबै उल्लेख गरिएको हुन्छ। भुइँ, भित्ता र सिलिङको सफाइको स्थिति, फ्रिज, डिप फ्रिज, भाँडा माझ्ने मेशिन लगायत सबै उपकरणको भित्र र बाहिरको सफाइको स्थिति। हात धुने ठाउँ र त्यहाँ हात धुने साबुन, हात पुछ्ने कागज भए नभएको, हरेक कामदारले किचनमा लगाउनुपर्ने पोशाक लगाएको या नलगाएको । हरेक फ्रिज एबं डिफ्रिजको तापक्रम मापदण्ड अनुसार भए नभएको साथै खाद्य पदार्थको पनि तापक्रमको मापन, प्याकिङ खोलिएको सामानमा खोलेको मिति,तयार गरेर राखेको खानामा तयार गरेको मिति र प्रयोग गर्न मिल्ने मितिको इ-टिकेट टाँसे नटाँसेको, कुनै पनि खानेकुराको मिति सकिएको पो छ की भन्ने जस्ता सम्पूर्ण जानकारि चेक लिस्टमा उल्लेख गरिएको हुन्छ।

चेक लिस्ट कसरि भरिन्छ ?

चेक लिस्टमा उल्लेख भएका कुराहरु ठिक भए नभएको वा उक्त व्यवशायको लागि लागु नहुने भन्ने कुन अवस्थामा छ त्यहि अनुसार रेजा गरिन्छ। यसमा हरेक बुँदाको पछाडी सि (confirm), एन सी (niet confirm) डब्लु (weging) र एन ए (niet van toepassing) भन्ने उल्लेख गरिएको हुन्छ। जाँच गरिएको कुरा ठिक भए सि, ठिक नभए एन सी अनि कुन हदमा ठिक छैन भन्ने १ देखि १० नम्बर यो डब्लु स्तम्भमा दिइन्छ। आवश्यक नपर्ने कुरालाइ एनएमा रेजा गरिन्छ।

ठिक भएको कुरालाइ ठिक छ भन्ने भयो भने ठिक नभएकोलाइ के कारणले ठिक नभएको भन्ने उल्लेख गरिनुको साथै जोखिमको आधारमा नम्बर दिने गरिन्छ। १ देखि १० नंम्बरमा १ नं भनेको सानो कम्जोरी भएको भन्ने बुझिन्छ भने १० नं भनेको एकदमै ठिक नभएको भन्ने बुझिन्छ। ठिक नभएको कुरामा तीन भन्दा कम नं दिइएको छ भने कुनै जरिवाना हुँदैन र तीन भन्दा माथि छ भने उसले केश फाइल बनाउँदछ र जरिवाना वा व्यवशाय बन्द के गर्ने भन्ने निर्णय गर्दछ।

चेकलिस्टको नमुना फोटोमा :

आफ्नो रेष्टुरेण्टमा नियन्त्रकले नियन्त्रण गरिसकेपछि के के कुरा ठिक रहेनछ भन्ने कसरि थाहा पाउने ?

नियन्त्रणकर्ताले नियन्त्रण गरेपछि उसले चेकलिस्टमा के के नोट गर्यो भन्ने व्यवशायी वा जिम्मेवार व्यक्तिलाइ बोलाएर सबै व्याख्या गर्दछ। के ठिक छ र के ठिक छैन सबै बताउँछ। त्यस्तै, ठिक नभएका कुरामा आफ्नो केहि भनाइ भए भन्न सकिन्छ र उसले तपाइको भनाइलाइ पनि आवश्यक परेमा नोट गर्छ। साथै के कारणले गर्दा उसले उक्त कागजपत्र कसरि भरेको छ भन्ने पनि उल्लेख गर्दछ।

नियन्त्रणकर्ताले भरेको प्रतिलिपि प्राप्त गर्न सकिन्छ ?

नियन्त्रक र रेष्टुरेण्ट मालिकको छलफल पश्चात नियन्त्रकले उक्त चेकलिस्ट प्रिन्ट गरि एक प्रति अनिवार्य रुपमा उपलब्ध गराउनुपर्छ । उनिहरुले आफ्नो साथमा रहेको प्रिन्टरबाट प्रतिलिपि उपलब्ध गराउँछन् ।

(लेखक नेपाली व्यवशायी संघ बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड,लक्जमबर्ग) को सदस्य सचिव हुन्) ।

[email protected]

तपाइँको प्रतिक्रिया