“आउ न… नजाउ न !”
म जोर्डनको राजधानी शहर अम्मानबाट प्रसिद्ध पर्यटकीय नगर पेत्रा जाँदै थिएँ। तर मन त्यहाँ थिएन। एक्लै कतै बहकिइरहेको थियो। ब्याकुल थियो। ब्यग्र थियो। बेखवर थियो। थाहा छैन के कारणले आफु भित्रै रूमल्लिइरहेको थियो।
एक पटक उसलाइ थप्थपाएर सुताउने कोशिस गरें। तर उसको निद्रा कोशौं टाढा थियो। असफल भए पछि आइ-फोनमा यु ट्युब खोलें। भारतीय गायक जगजीत सिंहको “तेरे आने कि जव खबर महके …..” सुनाएर भुलाउने यत्न गरेँ। अचम्म! संगीतको अगाडि मन बाग बाग भयो। नागिन भयो। लठ्ठा पर्यो। मन लट्ठिए पछि शरिरले पनि कसैले अंगालोमा बेर्दाखेरिको समयमा जस्तो न्यानो महसुसा गर्यो। यु-ट्युबमा “अटो मोड अन” रहेछ।
जगजीत सिंहको उक्त गजल सकिएपछि सबा अफगानीको “मेरे महबूब न जा” बज्न थाल्यो। गायिका सुमन कल्याणपुरले “नूर महल” फिल्मका लागि म जन्मनु अघि गाएको त्यो गजल त्यति सुरीलो होला जस्तो लागेको थिएन। स्वरको अलावा गजलका हरेक शब्दले मेरो हृदयमा आर्दताको संगित भर्न थालेका थिए। पेत्रा पुग्दासम्म शायद मैले त्यो गजल कम्तीमा दस पटकसम्म रि-प्ले गरेर सुनें। गजलका हरेक शब्द एक आपसमा कसरि बाँधिएका छन् भनेर परख गरें।
म कथार्सिसमा थिएँ। त्यति धेरै पटकसम्म त्यो गजल सुन्दा मेरो आँखाको डीलमा डग्मगाएका आँसुहरु बिस्तारै खस्न थालेका थिए। शरिर भरी उठेका ‘गूजबम्प’ पनि बस्न थालेका थिए। केही समय भड्केको मन शान्त हुँदै थियो।
गायिका धनश्री देशपाण्डेले करिव एक वर्ष अघि त्यो गजललाइ सुरीलो स्वरमा रेकर्ड गरी यु-ट्युबमा हालेकि रहिछिन। त्यो गजलले राजधानी अम्मानबाट जोर्डनको अति प्राचिन सभ्यता बोकेको पेत्रा शहर पुग्न लाग्ने दुइ घण्टाको पट्यार लाग्दो यात्रालाइ केहि छोटो पारिदियो।
उक्त गजलमा प्रेमीलाइ प्रेमिकाले आफूलाइ छोडेर जानबाट रोक्ने कोशिस गरेको बडो मार्मिक प्रसंग छ।
प्रेमिकाले वर्षौँ कुरेर भेटे पछि बिछोड नहुन धेरै अनुरोध गर्छिन। एउटा पंक्तिमा त उनले आफ्नो प्रेमीको अनुहार समेत राम्रोसँग हेरेर भ्याइनसकेको कुरा गर्छिन। अन्तमा त उनले भन्छिन नै – तिमिले छोडेर गयौ भने चन्द्रमाले आगो ओकल्ने छिन।
जोर्डनको त्यो सुख्खा रेतमा गाडि गुड्दै गर्दा छोरी गर्भमा हुँदाको एउटा अविष्मरणिय प्रसंग स्मृतीको गर्तमा देखापर्यो। म अफिसको कामले धरान जानुपर्ने थियो। हिँड्ने बेलामा मेरी उनीले बडो मायालु स्वरमा ‘आज नजाउ न’ भनिन्। विमानस्थल जानको लागि स्वास्थ्य मन्त्रालयले पठाएको गाडी फर्काएर डेरामै बसेँ।
त्यसरी गाडी फर्काएको एक घन्टा नबित्दै दिउँसो तिन बजे तिर कार्यक्रम संयोजक डा. तिमिल्सिना सरको फोन आयो। “ड्राइभरले त तपाइले उसलाइ एक्लै फर्काएको कुरा गर्दै छ त कृष्ण जी। सन्चै त हुनुहुन्छ नी!”
बडो अप्ठेरोमा परें। कमिट्मेन्ट भनेको कमिट्मेन्ट नै हो भन्ने सोंची उनलाइ फकाएँ । अनि ट्याक्सि लिएर विमानस्थलका लागि हिंडेँ। धन्न, जहाज उडिसकेको थिएन।
आजकल मैले कुनै यात्रा तय गरें भने उनले पहिले जस्तै मायालु स्वरमा “आज नजाउ न” भन्दिनन। उनलाइ थाहा छ म ढीठ हुँछु भनेर। के अरू लोग्ने मान्छे पनि म जस्तै ढीठ हुन्छन् होला ? शायद हुन्छन्। यदि हुँदैनथे भने सबा अफ्गानीले किन यो गितको रचना नै गर्नुपर्थ्यो होला र ? अनि के अरूका श्रीमतीहरूले पनि केहि समय पछि मेरी आफ्निले जस्तै हार मान्छन् र अन्ततः “आज नजाउ न” भन्न छोड्छन् ? मध्यपूर्व, युरोप, या अमेरिका जाने युवा युवतीलाइ उनिहरूका खसमले “नजाउ न!” भनेर कति रोक्न खोज्दै रून्छन् होला। कति अतृप्ती जाहेर गर्छन् होलान्।
तर मानिस यात्रामा निस्कन्छ। बिछोडिन्छ। “एक्ला चलो रे“ भइदिन्छ। कुर्ने अनि कुराउने दुबैको एक्लो यात्रा कति दुखित, थकित र पिडीत हुन्छ भन्ने कुरा बल्ल अहिले आएर बुझ्दै छु। लोग्ने मानिसले अरु सबै कुरा छिटो बुझ्छ होला । तर प्रेमको भाषा बुझ्ने मामिलामा अलिक ग्वाँच नै हुन्छ जस्तो लाग्छ। कुरा ढिलो बुझ्छ जस्तो लाग्छ मलाइ। नपत्याए अव मलाइ नै हेर्नुस् न!