‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’
सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको ११ औं संस्करणअन्तर्गत ‘बुद्ध : भगवान् कि दार्शनिक ?’ सत्रमा यही प्रश्नमा केन्द्रीत रहेर शनिबार बहस भयो । यो बहसमा वक्ता ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल र भिक्षु धज्जवन्तो र सहजकर्ता लेखक सरस्वती प्रतीक्षा थिए ।
लेखक पौड्यालले बुद्ध भगवान् नभई मार्गदर्शक भएको बताए । ‘बुद्ध तपाईं हामीलाई सही बाटो देखाउने मार्गदर्शक हुन् । बुद्धले पाली भाषामा आफूलाई कल्याण मित्र भनेका छन् । अर्थात् राम्रो गर्ने मित्र भन्ने हो,’ उनले भने, ‘बुद्ध भगवान् होइनन् यद्दपि लोक व्यवहारमा भगवान् भनिएको छ ।’
बुद्धलाई दार्शनिक भन्न मिल्नेमा भने पौड्याल सहमत देखिए । बुद्धको दर्शन जीवनलाई लिएर व्याख्या भएकाले दार्शनिक भन्न मिल्ने उनको तर्क छ । ‘बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवनलाई लिएर छ । बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवन कसरी चलिरहेको छ भनेर छ । दुःख कसरी आइलाग्छ ? त्यसको कारण के हो ? हटाउन सकिन्छ कि सकिँदैन ? उपाय भए त्यो के हो ?’ उनले थपे, ‘बुद्धको सम्पूर्ण दर्शन यही वरपर घुम्छ । त्यस हिसाबले बुद्धलाई दार्शनिक भन्न सकिन्छ ।’
भिक्षु धज्जवन्तो पनि बुद्धलाई भगवान् नै मान्ने विषयमा सहमत देखिएनन् । बुद्धलाई भगवानभन्दा पनि विभिन्न मोह त्यागेको व्यक्तिको रूपमा बुझ्दा राम्रो हुने उनको भनाइ थियो । ‘हामी नेपालमा बसेर भगवान् भन्ने गर्छौं । भगवान् भन्ने शब्द बुद्धसँग जोड्दा बुद्धको ओहदालाई निकै तल झारिरहेका हुन्छौं हामी । उहाँलाई राग, द्वेष, मोहबाट मुक्त व्यक्ति भनेर बुझ्दा राम्रो हुन्छ,’ धज्जवन्तोले भने ।
बुद्धलाई किन भगवान् भनिएको हो त ? परम्परामा बुद्धलाई भगवान् मान्ने मनोविज्ञान रहेको र अहिले भगवान् मानिएकाले अहिले त्यसैको निरन्तरता भएको लेखक पौड्यालले बताए । ‘जुन परम्परादेखि चलिआयो त्यसलाई पछ्याउने मनोविज्ञान थियो । बुद्धकालभन्दा पहिल्यैदेखि यस्तो मनोविज्ञान थियो । त्यसकारण उनलाई भगवानको रुपमा व्याख्या गर्ने गरिएको हो,’ उनले भने ।
छलफलमा बुद्ध महिला द्वेषी भए-नभएको विषय पनि उठ्यो । दुवै वक्ता बुद्धलाई महिला द्वेषी भन्न नमिल्नेमा एक ठाउँ देखिए । भिक्षु धज्जवन्तोले बुद्ध क्रान्तिकारी विचार धारा भएको व्यक्ति भएको र महिलाको उत्थानबारे सोच्ने गरेको जिकिर गरे ।
महिलालाई कुन अवस्थाबाट उकास्ने भन्ने सोच्नुहुन्थ्यो,’ उनले भने, ‘महिला निर्माणको पक्षलाई साक्षात्कार गर्न सक्छन् तर एकैपटक हुँदैन विस्तारै गर्नुपर्छ भन्ने हो ।’
बुद्धलाई किन महिला द्वेषी भनियो त ? लेखक पौडेलले बुद्धबारे पुस्तान्तरण हुँदा महिला द्वेषी मानिसकता भएका व्यक्तिले त्यसलाई प्रचलनमा ल्याएको हुनसक्ने बताए । ‘बुद्धपछिको अर्को पुस्तालाई हस्तान्तरण गर्यो । उसले अर्को पुस्तालाई हस्तान्तरण गर्यो ।
त्यसैबीचमा महिला द्वेषी मानसिकता भएका कसैबाट ती कुरा घुसेका हुन सक्छन्,’ पौड्यालले थपे, ‘यसको आधार के हुनसक्छ भने बुद्धका वाणी संकलन गर्न सभा डाकिन्थ्यो । त्यसमा कतै महिला वा भिक्षुणी सहभागी हुन पाएनन् । पुरुषमात्र सहभागी भएको ठाउँमा उसले महिला द्वेषी मानसिकताबाट प्रक्षेपण गरेको हुनसक्छ ।’
भिक्षु धज्जवन्तोले पछिल्लो समय मानिस सानो समस्याले पनि तनावमा रहने गरेको सुनाए । भूत र भविष्यको चिन्ताले वर्तमानमा मान्छे अल्झिएकाले खुसी हुन नसकेको उनको भनाइ थियो । चिन्ता र तनाव कम गर्न नियमित ध्यान गर्न उनले सुझाए ।