आइतबार, मंसिर २३, २०८१

गंगा जस्ती ‘नयना’ – भाग तीन

निल थापा / कोपनहेगन, डेनमार्क२०८१ असार २४ गते १:२५

(गंगा जस्ती ‘नयना’ को पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्  र गंगा जस्ती ‘नयना’ को दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस् ।)

नयनासँगको भेटले म भित्र एक किसिमको उर्जा थपिएको थियो। आफूमा साहस बढेको थियो। सामान्य परिचयबाट हामी एक अर्काप्रति धेरै नजिक हुँदै गयौं।

नयना ‘घरको कारणले बाहिर निस्कन मिल्दैन’ भन्थी । तरपनि बेलाबेलामा बाहिर निस्केको बेला फोन गर्थी मलाई ।

हामी कहिलेकाहीँ साँझतिर भेट्थ्यौं। उ तरकारी किन्ने बहानाले निस्कन्थी । म कहिलेकाहीँ अलि घुम्न जाउ भन्ने प्रस्ताव राख्थे। तर उ ‘आमाले घरबाट जान दिनुहुन्न’ भन्दै टार्ठी । आमासँग खुब डराउँथी ऊ।

उसले घरबाट बाहिर निस्कन नसक्ने कुरा बारम्बार सुनाएता पनि कारण भने खुलाईन। अलि टाढा घुम्न नगए पनि हामी बसेकै टोल छेउछाउ भेट्थ्यौं धेरैजसो । कहिलेकाहीँ रेष्टुरेन्टमा भेट गर्र्थ्यौं।

कहिलेकाहीँ कहिलेकाहीँ भेट्दा भेट्दै तीन वर्ष बित्यो। एकपटकको भेटमा सँगै फिल्म हेर्न जाने कुरा गरेका थियौं। तर त्यो दिन कहिल्यै आएन।

पहिलो पटक उसलाई देखेको दिन म स्नातक प्रथम वर्षमा पढ्थेँ। स्नातक तेस्रो वर्षमा पुग्दा समेत भेट्दै गयौं। बितेका तीन वर्षमा हामीले एक अर्कालाई निरन्तर भेटेपनि नत एकले अर्कोलाई मन पराएका कुरा गर्यों न प्रेमी वा प्रेमिकाको रुपमा कुरा अगाडि बढायौं। मात्र असल साथीको रुपमा सम्बन्ध अगाडि बढाईरह्यौं।

हामी निरन्तर साथीको रुपमा सामान्य बोलचाल र भेटघाट मै सिमित थियौं। म स्नातक तेस्रो वर्षको परीक्षाको तयारीमा लागे। परीक्षाको बिचमा उसले मलाई फोन गर्थी। एक दिन हामीले फोनमा कुरा गर्दा मैले ‘परीक्षा सकिएको भोलिपल्ट भेटौंला’ भने। उसले पनि भेटने वाचा गरी।

म आफ्नो परीक्षाको तयारीमा लागें। परीक्षा सकियो। परीक्षा सकिएको दिन शुक्रबार थियो। त्यो त्यही थियो जुन रात राजदरबार हत्याकान्ड भयो। अर्थात त्यो शुक्रबारको दिन थियो २०५८ साल जेष्ठ १९ गते।

म र मेरो एकजना साथी परीक्षा सकिएको दिन सिनेमा हेर्न गयौं। सिनेमा हेरिसकेर एउटा क्याविन रेष्टुरेन्टमा गई बियर खायौं। त्यो बेला काठमाडौंको गल्ली गल्लि क्याविन रेष्टुरेन्ट खुलेका थिए।

क्याविन रेष्टुरेन्टमा बसेर बियर पिउँदा धेरै खर्च हुने तथा त्यहाँ काम गर्ने महिला कर्मचारीहरुले ‘यो खान्छु त्यो खान्छु’ भनेर हैरान बनाउँथे।

उमेरको हिसाबले क्याविन रेष्टुरेन्टमा बस्न मन लागे पनि गोजीको हिसाबले हामी बस्न डरायौं। हामीसँग पैसा धेरै थिएन।

रेष्टुरेन्टबाट निस्केपछि मेरो कोठामा बसेर बियर खाने योजना बनायो साथीले। मैले सहर्ष स्विकारें।

मेरो साथी त्यतिखेर जागिर खान्थ्यो। मेरो भन्दा चालढाल बेग्लै थियो उसको। मोटरसाईकल चढ्थ्यो। कम्मरमा पेजर बोकेर सानका साथ हिँड्थ्य‍ो। पेजर बोकेर हिँड्दा पनि ठुलै सोच्ने समय थियो त्यो बेला। पछि म आफैँले पनि पेजर बोकेर हिँड्दा बेग्ले गर्व महशुस गर्थें।एक सहकारीमा व्यवस्थापकको काम गर्थ्यो ऊ। उसको सानोतिनो व्यवसाय पनि थियो। पैसा खर्च गर्न डराउँदैन थियो ऊ। पैसा नहुँदा उसले एकपटक घाटीमा लगाएको सिक्रि बेचेर पनि साथीहरूलाई रेष्टुरेन्टमा लगेर खुवाएको सम्झना छ मलाई ।

साथीभाइको लागि खर्चालु भएपनि उसको त्यतिखेर एउटा बानी भने असाध्यै नराम्रो थियो । सापटी लगेको पैसा सम्झेर फिर्ता नदिने। सापट लगेको फिर्ता माग्यो भने दुई सय लगेको भए बरु चार सय खर्च गर्ने। खाने वा पिउने कुरामा। तर सम्झेर ‘ला तेरो सापटी फिर्ता भो’ नभन्ने। पछि उ सुध्रिँदै गयो।

क्याविन रेष्टुरेन्टबाट निस्केर साथी र म मेरो डेरामा आयौं। साथीले चारवटा बियर किन्यो। त्यो बेला चारसय तिरेको जस्तो लाग्छ। बियर सँगै चुरोट पनि किन्यो। बियर पिउँदा कहिलेकाही हामी चुरोट पनि तान्थ्यौं। साथीभने गुट्खा असाध्यै खान्थ्यो।

मैले घर अगाडिकै मासु पसल गएर मासु किने। मासु किन्दा नयनाको पसल सम्झें। तर साथीले जिस्क्याउँछ अथवा थाहा पाउँछ भनेर त्यहाँ नजाने निर्णय गरे।

मैले मासु पकाएँ । गाउँबाट ल्याएको भटमास साँधेँ। मासु,भटमास र चिउरासँग बियर खान सुरु गर्यौ। बियर पिउँदै आफ्नै तालमा गफ गर्दै साथी र मैले फिल्म हेर्यौं।

एकछिन पछि हामीलाई बियर लाग्दै गयो। दिउँसै एक एक वटा बियर पिईसकेको हुनाले हामीलाई नसा लाग्दै गयो। लागेको सुरमा साथीले अर्को सिनेमा हेरम भन्यो। जुन सिनेमा हेर्दा म टिभिको आवाज बन्द गर्थे। अरु कोठाको मान्छेले थाहा पाउँछ भनेर।

फिल्म हेर्दै जादा हामी बिच सामान्य कुरामा असामान्य तर्क हुँदै गयो। नसाको सुरमा हामी ठूलो स्वरले गफ गर्ने भईसकेका थियौं। फिल्म हेर्दै जादा मातेको सुरमा साथीले ‘भात पका, भोक लाग्यो’ भन्न थाल्यो। मैले मानिन। ‘भोक लागे तैं पका’ भन्ने उत्तर दिए।

उरनठ्यउलो उमेर न हो खाए पछि निउ खोज्ने स्वभाव आउने। उसले निहुँ खोज्दै आफैँ भात पकाउन थाल्यो। कहिले गित बजाउँछ। कहिल्यै आफै गित गाउँछ। कहिले नाच्छ। मलाई उसको ताल देखेर झन रिस उठ्यो। उसलाई सम्झाउनु पर्ने मान्छे झन उल्टै म पनि ठुल्ठुलो स्वरले कराएछु।

मैले त उसलाई आमा चकारी गालि गर्न पुगेछु। घरमा डेरा गरि बस्ने सबै सुतिसकेका थिए। थाहा पाए पनि रक्सि खाएका केटाहरुसँग के मुखमुखै लाग्नु भन्ने भयो होला अरुलाई कसैले केही भनेनन् ।

त्यहीबेला अकस्मात् कुकुरमा बसाएको दालको सिठ्ठि लाग्यो। सिठ्ठिको आवाजले होला त्यही घरको माथिल्लो तलामा डेरामा बस्ने एकजना सरले गाली गर्नु भयो।

वहाँ सर अहिले पनि हुनुहुन्छ। सरकारको निकै ठूलो पदमा हुनुहुन्छ वहाँ अहिले । वहाँको व्यक्तिगत गोपनियताले गर्दा नामलाई मैले यहाँ सार्वजनिक गरिन।

सरले अकस्मात् गालि गरेपछि हामी सान्त भयौं। सर अगाडि बोल्दै जानु भयो ‘देशमा अनिष्ट भईसक्यो तिमीहरु भने रक्सि खाएर झगडा गर्दै हल्ला गरिराख्या छौ। वहियातहरु।अरुलाई डिस्टर्ब हुन्छ भन्ने थाहा छैन ?खोई तिमीहरुको बुद्दी ? यति राती भात पकाएर खाने हो ? बन्द गर। त्यो कुकुरको सिठ्ठि’ । कुटौंलाला जस्तै गर्नु भयो।

अघिपछि भने मलाई माया गर्नु हुन्थ्यो सरले । म अर्थशास्त्र र हिसाब सिक्थें वहाँसँग। बुढाबुढीनै शिक्षक पेसामा हुनुहुन्थ्यो वहाँहरु । कहिलेकाही सँगै बसेर चिया खाजा पनि खान्थ्यौं हामी।

त्यस्तो मिजासिलो सरको अकस्मात गाली खाँदा नराम्रो लाग्यो। सरले गाली गरेको सुनेर डेरामा बस्ने अरुहरु पनि उठे। घरबेटी पनि उठे। हामीलाई झन डर लाग्यो। सबैले पालो पालो गाली गर्छन जस्तो लाग्यो।

सरको कुराले म र साथी लज्जित भयौं। सरले कुरा अगाडि बढाउदै जानु भयो ‘तिमीहरु यहाँ हल्ला गरेर बस्या छौ। देशमा अनिष्ट भईसक्यो। दरबारमा गोली चल्यो रे। राजा रानी सबै मरे रे’ ।

सरले त्यसो भन्दा हामी कामेको जस्तो भयौं। घरबेटी दाइ भाउजु लगायत डेरामा बस्ने सबै जना बाहिर आए। सरलाई कसैले राति नै फोन गरेर दरबार घटनाको बारेमा बताएका रहेछन्। हामीले टिभी खोल्दा समाचारमा कतै केही भेटिएन। हामी घटना कसरी भयो भन्नेमा सोचमग्न भयौं।

बिहान दुई जति बजेको थियो । घरका सबै गरि दस ब्राह जना जति जम्मा भयौं। घर अगाडि खाली ठाउँमा बसेर गफ गर्यौं। घरबेटी भाउजुले सबैलाई कालो चिया पकाएर खान दिनु भयो । घटनाको पूरा बिवरण हामीलाई केही थाहा नपाए पनि तिनै सरले नै बताए ‘राजदरबारभित्रको पार्टीमा छोरा दिपेन्द्रले गोली चलाए रे।’ सरले त्यसो भन्दा सुन्नेजति सबैले जिब्रो टोकिरहेका थिए।

कुरा गर्ने क्रममा त्यहाँ जम्मा भएका सबैले आफ्ना तर्क बितर्क राख्दै गए। गोली कसरी चल्यो होला। अब के हुन्छ? को को मरे होलान ?

कसैले राजालाई पनि आफ्नै छोरालाई मार्छ र जस्ता तर्क राखे । कोही अब राजा को हुन्छ त भन्थे ? दिपेन्द्रले नै आफ्नो बाउलाई मारेको हो भने सजाय के हुन्छ भन्ने पनि भए । सबैका आआफ्ना सोच अनुसार तर्क राख्दै गए। म भने भित्र भित्रै डराएको थिएँ।

हामी गफ गर्दा गर्दै बिहानको चार बज्यो। बिहान पख एक कान दुई मैदान झैं भयो राजदरबार घटनाको दुखद समाचार।

बिस्तारै टोल छिमेकमा पनि सबैजनाले दरबार घटनाको कुरा थाहा पाए। धारामा पानी थाप्न उठ्ने। दूध लिन जाने। तरकारी लिन जाने। ट्याक्सि चालक सबैले घटना थाहा पाए। चोक चोकमा मानिसहरुको भिड बढ्दै हल्ला बढ्न थाल्यो।

सरले नै भन्नुभयो ‘देशमा अनिष्ट भयो। दरबारभित्र ठूलो षड्यन्त्रको घटना घटेको छ। हामी सबै नि:शब्द थियौं। एक दुई घन्टा सरको कुरा सुनी सकेपछि हामी सबै आआफ्ना कोठाभित्र लाग्यौं।

म र साथी केही समय अगाडि मातिएको भएपनि डरको कारणले होला सबै नसा उत्रियो। हामीले केही समय अगाडि पकाएको खाना पनि खाएनौं।

साथी त डराएर अब आन्दोलन हुन्छ। कर्फ्यु लाग्छ। म त आफ्नै डेरा जान्छु भन्दै मोटरसाईकल लिएर हिडिहाल्यो। मलाई के गरौं के गरौै भयो। म पनि वानेश्वर चोकतिर लागें।

चोक -चोकमा मानिसहरुको भिडभाड थियो। उमेरले पाका बुढाबुढीहरु भने रोएका देखिन्थे। युवाहरुमा भने आक्रोश थियो।

कोहि ‘यो भारतको षड्यन्त्र हो’ भन्थे। कसैले माओवादीको षड्यन्त्र भन्थे। कोहीकोहिले पारस वा ज्ञानेन्द्रले मारे होलान भन्थे। जसले जे आरोप लगाए पनि दरबारमा गोली चलेको तितो सत्य थियो।

यसको प्रमाणित सत्यतथ्य आजसम्म बाहिर आएको छैन। नत कुनै सरकारले छानबिनको राम्रो प्रयास गरे। तत्कालीन समयमा बनेको छानविन समितिले भने दिपेन्द्र शाहलाई दोषारोपण गर्यो।

वानेश्वर चोकमा जम्मा भएको भिडले राजाको सम्झना स्वरुप नारा लगाए ‘श्री ५ वीरेन्द्र अमर रहुन। हाम्रा राजा हाम्रा देश प्राण भन्दा प्यारो छ।’ कपाल खौरेर टाउको मुन्डन गर्नेहरुको भिड बढदै गयो । कतिले पसल बाहिर राखेर नि:शुल्क टाउको मुन्डन गर्न थाले। केही मान्छे भने उताउला जस्ता नि देखिन्थे। बलपूर्वक बाटामा हिड्नेहरुको कपाल मुन्डन गराउन खोज्थे।

मैले मिनभवन कलेज पढ्ने केही साथीहरु र म भन्दा ठूला केही दाईहरु भेटें। उनिहरुले मलाई पनि कपाल मुन्डन गर्न अनुरोध गरे। मेरो ब्रतबन्ध गरेको थिएन त्यसबेलासम्म। ब्रतबन्ध नगरेकाले मुन्डन गर्ने मिल्दैन भन्थे गाउँ घरतिर। त्यहि बहाना बनाएर टाउको मुन्डन गर्न ईन्कार गरें मैले।

सबैतिर प्रहरी टोलिको सक्रियता बढ्यो। मलाई भने भिडको पछि हिँड्न डर लाग्यो। म लुसुक्क दाई र साथीहरुसँग छलिएर डेरामा फर्किए।

डेरामा पुग्दा मन खल्लो भए पनि एककप चिया पकाएर खाएँ। कोठाको अवस्था एकदम अस्तब्यस्त थियो। सफा गर्न जागेर चलेन। अघिल्लो दिनको नसा, अनिन्द्रा अनि भोकले म त पुरै गलेछु। बिहान दश बजेतिर एकछिन आराम गर्छु भनेर पल्टेको। मस्त निदाए छु ।

दिउँसो कसैले मलाई नामले बोलायो। ढोका खोलेर हेरेको। त्यही घरमा डेरामा बस्ने एकजना दिदीले बोलाउनु भएको रहेछ।

दिदी र म सँगै पढ्थ्यौ। कलेज मात्र फरक थियो। वहाँसँग मेरो राम्रो साथीको जस्तै सम्बन्ध थियो। पछि सामान्य विवादमा बोलचाल भएन । अचेल जर्मनी बस्नुहुन्छ वहाँ।

दिदीले बोलाए पछि बाहिर निस्केर सोधें ‘किन बोलाउनु भएको दिदी? दिदीले उत्तर दिईन् ‘तिमीलाई भेट्न साथी आएकि छिन्। उ गेटमा उभिएकि छिन्। भन्दै ती दिदीले मुल गेटतिर ईशारा गरिन।

म गेटमा गएर हेरेको त नयना उभिएकि रहिछे बाहिर। म छक्क परें उनलाई देखेर । अफ्ठ्यारो मान्दै मैले ढोका खोलेर नयनालाई भित्र बोलाएँ ।

ती दिदीले भने मतिर हेर्दै हाँसिन र आफ्नो कोठाभित्र लागिन। मैले लाज मानें । टाउको झुकाउँदै नयनाका साथ म कोठाभित्र पसें। घरमा अरु मान्छे धेरै थिएनन् । सुनसान थियो घर।

मैले नयनालाई सोधिहालें केही नभनि आए छौ त ? उसले उत्तर दिई ‘कति फोन गरेको तिम्रो घरबेटीकोमा । फोन नै उठेन। फेरि अहिले घरमा बा आमा भाइ बहिनी सबै बाहिर गएका छन् । त्यही भएर तिम्ले आज भेट्ने भनेको कुरा सम्झेर आएँ नि।’

‘परीक्षा सकिएको भोलिपल्ट भेट्ने भन्या होईन अनि आफैले ?’ उल्टै उसले प्रश्न गरि मलाई । मैले केही जवाफ दिन नपाउँदै ।

उसले फेरि सोधी ‘के हाल बनाएको यस्तो कोठाको ?’ कोठा यति फोहर थियो कि म आफैलाई लाज लाग्यो।

मैले केही भन्न नपाउँदै उसैले कुरा अगाडि बढाई ‘राजालाई गोली हानेर मारे रे। दरबारमा गोली चल्यो भन्छन्। कस्तो डराई डराई आको म त ।’

उसले दरबार घट्नाका कुरा निकाली ‘बा-आमाहरु पनि डराई डराई बागबजार मामा घरमा गएका छन्। मैले घर छाडेको थाहा पाए भने मलाई मार्छन।’

मैले उसको कुरा नसुन्या जस्तै गरें ‘एकछिन है। मैले मुख नि धोएको छैन। म मुख धोएर आउँछु है’ भन्दै कोठा बाहिर गएँ । मुख धुने बहानामा तौलिया काँधमा राखेर चर्पी गएँ । निन्द्राबाट उठेको हुनाले जिउ अल्छी लाग्दो थियो। ट्युबवेलबाट पानी निकालेर नुहाएँ। चिसो पानीले नुहाएपछि मात्र अलि जाँघर चल्यो।

म दस मिनेट पछि कोठामा आएँ । अनि मात्र उसलाई सोधें ‘चिया खान्छौ? उसले सहमति जनाई । म पसल गएँ दूध लिन। आउँदा उसले भद्रगोल ओछ्यान चिटिक्क पारेर मिलाईदिई छ।

मैले चिया पकाउनु भन्दा पहिले अघिल्लो दिनको सबै फोहर सफा गरें। बियरको बोत्तल एउटा प्लाष्टिकमा राखेर बाहिर राखें। अघिल्लो दिनको खाना गनाईसकेको थियो । सबै फालें र भाँडा माझ्न थालें। भाँडा कोठाभित्रै माझ्थें म।

मैले भाँडाकुँडा सफा गर्न लागेको देखेर उसले भनि ‘म भाँडा माझिदिन्छु। तिमी चिया पकाऊ ।’

मैले ‘नाई म आफैं माझ्छु’ भने। तर उसले जिद्दि गरि। भाँडा उसैले माझी। मैले चिया पकाएँ।

एकछिन त यस्तो लाग्यो ‘मानौं हामी भर्खरै बिबाहित नव जोडि जस्तै मिलेका छौं । घरका काम बाँडेर गर्दैछौं ।’

चिया खाँदै गर्दा मैले नयनालाई सोधिहालें ‘तिमी यसरी सिधै कोठामा आउन नहुने।’ उ चुपचाप थिई।

मलाई नयना आएकोमा आपति थिएन। तर घरबेटी दाइभाउजुले थाहा पाउँछन कि भन्ने डर थियो।

उसले जवाफ दिई ‘तिम्रो घरबेटीको फोन उठेन। तिमी रिसाउँछौं कि भन्ने डर लागेर सिधै कोठामा आएँ नि।’

मैले जिस्क्याउँदै सोधें ‘म रिसाउँछु कि भन्ने डर छ र तिमीलाई ?’
उसले हाँस्दै जवाफ दिई ‘आफ्नो मान्छे रिसाउँछ कि भन्ने डर भईहाल्छ नि सबैलाई।’

उसले एकैछिनमा ‘आफ्नो’ बनाई मलाई । मैले गफकै सिलसिलामा उसलाई भनें ‘म गाँऊ जादैछु एकदुई दिनमा।’

उसले सोधिहाली ‘किन नि?’ मैले जिस्किंदै भनें ‘घरमा बिहेको कुरा उठ्या छ। बिहे गर्न जान लाग्या नि।’

उसले पत्याए झैं गरी । अँध्यारो मुख लाउँदै सोधि ‘साँच्चै होर ? यस्तो सानो उमेरमा नि बिहे गर्छन र ?’ एकैछिनमा उसले सानो देखि मलाई ।

म हाँसे।
ऊ पुन बोली ‘फटाहा मान्छे।’
मैले हाँस्दै सोधें ‘किन नी ?’

‘अरुलाई डर देखाउने हो त ?’ उसले प्रश्न गरि।

चिया सकियो। फेरि गिलास र चिया पकाएको भाँडा माझेर सफा गरिदिई उसैले ।

मैले टिभि खोलें । हामी सँगै बसेर टिभि हेर्यौं एकछिन। नेपाल टेलिभिजन लगायत अरु टिभिहरुले भने शोक धुन बजाईरहेका थिए।

टिभि हेर्दै गर्दा मैले नयनालाई भनें ‘मैले त केही खाएको छैन भोक लाग्यो। तिमी पनि केही खाने ?’

उसले उल्टै प्रश्न गरी ‘के खान्छौं ? म बनाईदिन्छु।’

मैले उसलाई फेरि सोधें ‘तिमीलाई भोक लागेको छैन?’ उसले ‘छैन’ भनी।

‘चाउचाउ खाउँ है ?’ भनें । म चाउचाउ लिएर आउंछु भन्दै कोठा बाहिर निस्किएँ। पसलमा गएर एउटा कोक र चुरोट पिएँ। चार वटा अन्डा र दुईटा चाउचाउ लिएर आएँ।

चाउचाउ कसले बनाउने भन्ने कुरामा हामीबिच हानाथाप भयो।

उसले चाउचाउको प्याकेट खोस्दै म पकाउँछु भनेर मेरो नजिक आई। मैले उसको हात समातेर रोकें।

मैले हात समात्दै गर्दा उसले सोधीहाली ‘चुरोट पिएको?’ मैले ढाँटेर ‘होईन’ भनें । उसले पुन: पहिलेको शब्द दोहोर्‍याई ‘फटाहा मान्छे!’

म फेरि हाँसें। ऊसले ‘म मुख सुघौं ?’ भन्दै मेरो नजिक आई।

म जहाँको त्यही उभिएँ। उसले मुख सुघौं भन्दै मेरो अगाडि उभिदा नजिकबाट हाम्रा आँखा जुधे। एकछिन सम्म अलि टाढा बसेर गफ गरेका हामी। एकछिनैमा नजिक भयौं।

मैले उसलाई रोके जस्तो गरें। तर मेरा हातले अकस्मात् उसका हात छुन पुगें । मेरो स्पर्शले उसको शरीर काँपे जस्तो भयो। ऊ हलचल नगरी उभिई। मैले बिस्तारै उसका हातमाथी आफ्ना हात राखें।

उसले अकस्मात् लामो सास तानी। मेरो पनि मुटुको ढुकढुकि बढ्यो। बिस्तारै उ लजाए झै सिर निहुर्याई। मैले उसको झुकेको सिर उचाल्दै बिस्तारै उसको कपाल मुसारें। ऊ शान्त भई। उसको शान्तिपूर्ण धैर्यता टुटाउने प्रयास गरें मैले।

मैले घाँटी अनि उसका अन्य अंगलाई स्पर्श गरें। मैले त्यसो गरिरहँदा उसका आँखा भने बन्द थिए।

उसले बन्द गरेको आँखामा चुमें मैले। ऊ दृष्टिविहीन झैं भई। त्यसबेला मैले ऊसको शरीरलाई नजिकबाट नियाल्ने मौका पाएँ।

गोरो अनुहार, कालो लामो केश, फराकिलो निधार, सुन्दर आँखी भौ, ठूला आँखा, सर्लक्क परेको नाक, चिल्ला गाला, पातला ओठ अनि अलि कति माथि फर्केका पोटिला स्तन। उसका शरिरका अंग अंगले मलाई ऊ प्रति आकर्षित हुन बाध्य बनायो।

मैले आफूलाई बसमा राख्न सकिन। हेर्दाहेर्दै म उसको अंगालोमा बेरिन पुगे । हामी दुबैका आँखा बन्ध भए। देश राष्ट्रिय शोकमा डुबेको दिन हामी दुबैले बैंसको भरपुर सुखानुभुति गर्यौं।

केही घन्टा पहिले नयनाले चिटिक्क पारेको ओछ्यान फेरि उही दयनीय अवस्थामा थियो। केही समयको सुन्यता पश्चात् हाम्रा आँखा खुले। तर यो पटक हामीले एक अर्कामा आँखा जुधाउने साहस भने गर्न सकेनौं।

क्रमश:

तपाइँको प्रतिक्रिया