पिउने केटो-४ (अन्तिम)
(यस अघिको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस् । दोस्रो भाग हेर्न यहाँ र तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोला)
पिउने केटो-१ र २ लेख्दा सम्म म भ्रममा रहेछु। अहिले आएर बिस्तारै भ्रम छुट्दैछ। मन आमा जस्तै रहेनछ । मन बा जस्तो पनि रहेनछ। मन साथीजस्तो पनि रहेनछ । साथीको कुरा छोड्नुस। मन त मर्दा पर्दा जन्ती वा मलामी गइदिने आफन्त जस्तो पनि रहेनछ। मनको काख त पिसावको न्यानो मात्रै पो रहेछ जसको भ्रमलाई मैले माया सम्झेर स्वयमलाइ यति बिघ्न लामो समयसम्म बेकारमा अल्झाइरहेँः फ्रेडरिक नीचाले आत्मकथामा आफैलाइ अल्झाए जस्तै। डालीले जिन्दगीभर आफूलाइ ‘पर्सिस्टेन्ट अफ मेमोरि’ मा लुकाएर राखे जस्तै।
मैले अलिक बढि महत्व मात्रै के दिएको थिएँ, अस्ति बिहान एक्कासी झ्याली पिटेर मनले दश बजेको लागि भारदारी सभा बोलायो। सभामा उसले आफू श्री ४ भएको सगर्व घोषणा गर्यो। अर्को दिन दाम चढाएर दासत्व स्विकार गर्न आउने हुकुम दियो। त्यसै दिन साँझ उसले मोलाहिजाको लागि दरबारको मूल पटांगिनीमा आउने आदेश दियो। त्यस रातपछि बितेका तीन दिनसम्म म लगातार सोचिरहेछु- मनले बाटो किन मोड्यो? मित्रताको साइनो किन तोड्यो? निरङ्कुशता किन रोज्यो? चाकरी मात्र किन खोज्यो?
आजकल मन र मबीचको मनमुटाव उत्कर्षमा छ। मनको एकदलीय शासन अलिक बढि नै अराजक हुँदै गएपछि मैले उसलाई पुर्णरूपमा सुन्न छोडेको छु। मन चाहन्थ्यो-पहिले जस्तै हली बनेर म आफ्नो सबै उर्जा र समय उसलाई दिऊँ। ऊ चाहन्थ्यो, झोले बनेर म उसको वरिपरि घुमिरहुँ। उसको मात्रै काम गरिरहुँ। उसका मात्रै कुरा सुनिरहुँ। उसलाई मात्रै मन पर्ने कुरा गरिरहुँ। उसलाई मात्रै मन पर्ने भारदारसँग समय बिताइरहुँ। उसलाई मन नपर्ने भारदारलाई सिध्याउन भन्डारखाल रचुँ। कोतपर्व रचुँ। नारायणहिटी रचुँ। उसले दिएका सल्लाहलाई सर्वोपरि मानेर चलुँ।
मन एकदलीय शासनमा रमाउने श्री ३ हरु भन्दा एक कदम अगाडि पुगेर निरङ्कुश हुन थालेको अनुभूती भएपछि म उसँग बोलेको छैन। उसलाई अभिवादन गर्न गएको छैन। उसका कुनै आदेश मानेको छैन। बरू म स्वयम्लाई सोधिरहेछु, मैले पहिले नै मनको यस्तो निरङ्कुश स्वभावलाई किन चिन्न सकिन? बेचैनीको आहालमा म स्वयम् स्पष्ट हुन सकिरहेको छैन। एक हिसाबले भन्नु पर्दा म आफ्नै अन्तरमनसँग मौन बिद्रोह गरिरहेको छु। आन्दोलनमा छु। अब म उसलाई त्यति सुन्ने वाला छैन जति सुन्थेँ। शायद अब उसका कुराहरू यन्त्रवत एक कानबाट छिरेर अर्को कानबाट उड्ने वाला छन्।
मलाई थाहा छैन, म आज्ञाकारी नभएको थाहा पाएपछि मनले म माथि कस्तो बरताव राख्नेछ? शायद उसले मलाई आफ्नो विश्वासमा लिने कोशिस गर्ने छ। म टसमस नभए उसले मेरो टेलिफोन सुविधा काटिदिने छ। मेरो वरिपरि ज्यामर लगाउने छ। इन्टरनेट सुविधा काटिदिने छ। मैले समाजसँग बहस गर्ने फेसबुक, ट्विटर आदि सामाजिक संजालका माध्यमलाई बन्द गरिदिने छ। मस्तिष्कलाई आफ्नो वशमा लिन सरकारलाई आदेश दिने छ। त्यो पनि असफल भयो भने उसले शायद मलाई बरखास्त गर्ने छ। वा कतै दुर्गम ठाउँमा मेरो सरुवा गरिदिने छ। वा मलाई मनद्रोहको अरोपमा नजरबन्दमा राख्ने छ। वा मलाई मृत्युदण्ड दिने छ।
मलाई लाग्छ मैले उसको दासत्व बाहेक सबै कुरा स्वीकार्ने छु। मन उद्दण्ड हुनुमा शायद मेरो ऊ प्रतिको असिमीत आकाङ्क्षाले हो। उसको अभीप्सालाइ रेचन गर्न नसकेर हो जस्तो लाग्छ।
मनले संसार बनाउँछ भने, राज्य बनाउँछ, र राज गर्छ भने उसले मोक्ष पनि त बनाउँछ होला भन्दै म प्रतीक्षित रहेँ। तर मेरो बुझाइ गलत थियो। मन मोक्ष होइन मोज मात्र चाहन्छ। मनलाई बेवास्ता गरेपछि, उसले के कस्तो बरताव राख्ला भन्ने कुरा सोच्न छोडेपछि म हल्का भएको छु। अलिक चंगा भएको छु। लाग्छ मन बिनाको यात्रा नै मोक्षका धेरै मध्येको पहिलो धाम हो।
तर मनसँग बैरी भएपछि फेरि अर्को पीर थपिएको छः मैले मेरा कुरा अब कसलाई सुनाउने?
मलाई कोही एक मित्र त चाहियो नि जोसँग मैले मेरै कुरा काट्न सकुँ। अन्ततः बुझ्नु पर्ने आफैले मात्रै त रहेछ। अनि बुझाउनु पर्ने पनि त आफैलाई मात्र नै रहेछ। कि मैले गलत बोल्दै छु, प्रशान्त भाई?
मलाई सच्याऊ त!
कता छौ यार तिमी?
ए… बुबा आमासँग दशैँ मुडमा?