सोमबार, फागुन २६, २०८१

फ्रान्सका नेपालीहरुमा फागु पूर्णीमाको उमंग

नेपालप्लस संवाददाता / फ्रान्स२०८१ फागुन २६ गते १:०१

फ्रान्सको राजधानी पेरिसमा आइतवार रंगहरुको पर्व फागू पूर्णीमा उल्लासपूर्वक मनाइएको छ ।

नेपाली सांस्कृतिक गृहद्वारा आयोजित कार्यक्रम नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरुले हर्षोल्लासका साथ मनाएका हुन् ।

कार्यक्रममा तराई क्षेत्रमा विशेष लोकप्रिय मानिने पानीपुरी र नेपाली परिकारहरुको ब्यवस्था गरिएको थियो । फागुसँग संवन्धित विभिन्न गीत र नृत्य समेत देखाईएको थियो ।

नेपाली दुतावास पेरिसका राजदूत सुधिर भट्टराईले नेपाली पर्व फागु (वा होली) का अवशरमा सबैलाई शुभकामना दिँदै फ्रान्सेलीहरुलाई नेपाल घुम्ने निम्तो समेत गरे । उनले कहिल्यै नेपाल नगएकालाई नेपाल घुमेर रमाउन र गएकाहरुलाई एक पटकले नेपालको सौन्दर्यताको रस लिएर नपुग्ने भन्दै फेरि नेपाल घुम्न निम्ता दिएका हुन् ।

नेपाली सांस्कृतिक गृहका अध्यक्ष नन्द थेबेले फागु पूर्णीमा र फागुमा खेलिने रङका बारेमा फ्रान्सेलीहरुलाई जानकारि गराए।

सांस्कृतिक गृहका पूर्व अध्यक्ष हेमन्त उपाध्यायले नेपाली सांस्कृतिक गृहले फ्रान्सका नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरुलाई नेपालका विविध सामाजिक, सांस्कृतिक र भौगोलिक पक्षका बारेमा जानकारि दिने र पर्व तथा प्रदर्शनी गर्दै आएको उल्लेख गरे । उनले यस वर्ष गठित नेपाली सांस्कृतिक गृह फ्रान्सको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई परिचित समेत गराए ।

कार्यक्रममा ईशाबेल शाक्यले नेपाली सांस्कृतिक गृहको भूमिका, हरेक कार्यक्रम गरिँदाको तयारि, स्वयंसेवकहरुको काम र फागु पूर्णीमाबारे फ्रान्सेलीहरुलाई जानकारि गराईन् ।

फ्रान्समा यो संस्थाले बिधिवत रुपमा सन् २००३ देखि फागु पुर्णीमा मनाउने कार्यक्रमको शुरुवात गरेको हो ।

सहभागिहरुले फागुको रङ एक अर्कालाई धसेर रमाएका थिए ।

 

तपाइँको प्रतिक्रिया