इनासको दशौं युरोपेली कार्यक्रमको सबै तयारी पूरा
पञ्चेबाजा, लाखे नृत्यसहित गायिका नलिना चित्रकारको प्रस्तुति रहने
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप क्षेत्रीय समिति अन्तर्गत आयोजना हुन गइरहेको दशौं युरोपस्तरीय कार्यक्रम आगामी मे १६ र १७ तारिखका दिन डेनमार्कको राजधानी कोपनहेगनमा भव्य रूपमा सम्पन्न हुने भएको छ। कार्यक्रममापञ्चे बाजा, लाखे नृत्य र चर्चित गायिका नलिना चित्रकारको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले बताएका छन । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी आयोजकले दिएको छ।
यस पटकको कार्यक्रम दशौं युरोपस्तरीय एकल नृत्य तथा सातौं एकल गायन प्रतियोगिता सहित सम्पन्न हुनेछ। इनास युरोप क्षेत्रीय समिति र आयोजक राष्ट्र इनास डेनमार्कको संयोजनमा, युरोपभरका इनास राष्ट्रिय समितिहरूको प्रत्यक्ष सहकार्य र सहभागितामा कार्यक्रम आयोजना गरिने छ।
नौ–नौ जना प्रतियोगीको सहभागिता
इनास युरोप संयोजक प्रकाश तिवारीका अनुसार, अडिसनमार्फत विभिन्न युरोपेली राष्ट्रहरूबाट छनोट भएका नौ–नौ जना प्रतिभाशाली कलाकारले नृत्य र गायन दुवै विधामा प्रतिस्पर्धा गर्नेछन्।
दुई दिने कार्यक्रमको स्वरूप
पहिलो दिन (मे १६):
इनास युरोप अन्तर्गतका राष्ट्रिय समितिहरूको बैठक, प्रगति प्रतिवेदन प्रस्तुतिकरण, तथा भावी कार्ययोजनाका विषयमा छलफल गरिनेछ।
दोस्रो दिन (मे १७):
मुख्य दिनको कार्यक्रम अन्तर्गत नृत्य तथा गायन प्रतियोगितासँगै विविध सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।
मुख्य सांस्कृतिक आकर्षणहरू
- नेवा गुठि डेनमार्कद्वारा परम्परागत लाखे नाच सहित विभिन्न सांस्कृतिक झाँकी तथा लोक नृत्य प्रदर्शन
- नेपाली बाजा समूह डेनमार्कद्वारा पञ्चे बाजाको विशेष प्रस्तुति
- चर्चित गायिका नलिना चित्रकारको विशेष सांगीतिक प्रस्तुति
इनास ग्लोबल महासचिव तथा कार्यक्रम संयोजन प्रतिनिधि राजमान तामाङले यस्ता कार्यक्रमहरूले युरोपभर रहेका नेपाली समुदायहरूबीच एकता, सांस्कृतिक सम्बन्ध विस्तार, र प्रतिभा विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
विशाल सहभागिता अपेक्षित
बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, नेदरल्याण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, चेक गणतन्त्र, आइसल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रहरूबाट उल्लेख्य संख्यामा कलाकार, साहित्यकार, पत्रकार, गैरआवासीय नेपाली संघ (NRNA), नेपाली कूटनीतिक नियोग तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै, अन्य महादेशहरूबाट पनि इनास तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूको उपस्थिति अपेक्षित गरिएको छ।
इनास डेनमार्कका अध्यक्ष सुदीप बाबु श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन युरोपभरका संघ–संस्था, व्यवसायी, सञ्चारकर्मी तथा व्यक्तिगत रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गरेका छन्। साथै, डेनमार्कमा बाह्य पाहुनाहरूको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि दिएका छन्।