बैधानिकता खोज्दै नेताका दैलो दैलोमा एनआरएन अभियन्ता
गैर आवाशीय नेपाली संघ (एनआरएनए) का नेताहरुको जम्बो टोली अहिले नेता घर दैलोमा छ । पूर्व अध्यक्ष कुमार पन्तले नियुक्त गरेका एनआरएनए जम्बो टोलीको खास बल, पदमा पुग्ने आधार भनेकै गैर आवाशीय नेपाली संघका आम सदस्य हुन् । तर उनीहरुले अहिलेसम्म ति आम सदस्यहरुलाई सम्झेको देखिन्न । जसको बलमा पद पाए तिनलाई भन्दा अभियन्ताहरुले नेता र राजनितिक दलहरुलाई र्पाथमिकतामा राखेको देखिन्छ ।
गैर आवाशीय नेपालीहरुले एनआरएनए मार्फत् ठूलो लगानी गरेका छन्, अहिलेको नेतृत्वलाई । अहिले ति अभियन्ता कोरोनाकाल, भूकम्प र नेपालमा बाढी पहिरोका बेला गरेको सहयोगको फेहरिस्त नेताका दैलोदैलोमा सुनाउँदै हिंडेका छन् । त्यो सहयोगको मूल खम्बा भनेकै एनआरएनहरु हुन् । तिनैले सहयोग दिएका थिए र नेतृत्वले ‘यति सहयोग गर्यौं’ भन्दै नेताका कान फुक्न पाएका छन् । तिनले दिएको सुका मोहोर जम्मा गरेर तिनको सहयोगको राशी जुटेको हो ।
तर यति बिघ्न विवाद र त्यस विवादपछि पनि न त महाधिवेशन राम्रोसित भयो । न निर्वाचननै हुनसक्यो । विधानका धारा बदलिए तर ति आम सदस्यहरुसित यि अभियन्ताले मन फुकाएर आफ्ना समस्या र विवाद समाधानका प्रकृया, गाह्रासाह्राबारे खोलेका छैनन् । गल्ति भए तिसित क्षमायाचना र गाह्रोसाह्रो फुकाउनैकालागि सहमति गरिएको भए त्यसको जानकारि गराएका छैनन् ।
कम्तिमापनि यत्रो जम्बो टोली नेतृत्वमा चयन भएपछि त्यसका प्रक्रियाबारे जान्न र बुझ्न पाउनु आम एनआरएनए सदस्यहरुको अधिकार हो । तिनको समर्थनबिना अहिलेको नेतृत्वले कम्तिमा नैतिक बैधानिकता प्राप्त गर्न सक्दैन । ति आम सदस्यहरुलाई अहिलेको नेतृत्वले कम्तिमापनि महाधिवेशनका प्रकृयाबारे खुलस्त पार्नुपर्ने थियो । तर पारेका छैनन् । तिनको ध्यान आम गैर आवाशीय नेपाली संघका सदस्य, शुभचिन्तक र समर्थक भन्दा नेताहरुको दैलोतिर देखिन्छ ।
महाधिवेशनपछि आम एनआरएनहरु अचम्ममा परेका छन् । रातारात गरिएको विधान परिवर्तन, नेतृत्व चयन र हालको वैधानिक ब्यवस्थाको हैशियत के हो । आगामी कार्यकाल र महाधिवेशनकालागि अहिलेको प्रकृयाले कस्तो भूमिका खेल्छ भन्नेमा आम गैर आवाशीय नेपालीहरु रनभुल्ल छन् । द्विविधामा परेका छन् । तर नेत्रित्व यसको बारेमा सचेत देखिन्न ।
सामाजिक सन्जाल हेर्ने हो भने कि त नेपालको स्थानिय निर्वाचन कि गैर आवाशीय नेपाली राजनितिले भरिएको देखिन्छ । नेतृत्व तहले स्पष्ठ नपारिदिंदा एनआरएनए प्रतिको बितृष्णा, नेतृत्व चयन प्रतिको आक्रोश दिनदिनै छरपस्ट भएको छ ।
तर बाहिरबाट हेर्नेलाई लाग्छ, नेतृत्व पक्षलाई कि त त्यसमा वास्ता छैन । वा तिसित आम सदस्यलाई धक फुकाएर बोल्नसक्ने हिम्मतनै छैन । बरु ति दिनदिनै नेताका दैलो चहारेको तस्विर सन्जालमा राखेर पर्व मनाईरहेका छन् । हर्षबढाई गरिरहेका छन् । त्यो देख्दा लाग्छ, यहाँ केहि अचम्म भएकै छैन । नेताका दैला चहार्नु सामान्य हो । यो सबै देख्दा के बुझिन्छ भने ति नेतृत्वमा पुगे । अब आम सदस्यहरु तिनका लागि गौण बनेका छन् र नेताहरु प्राथमिकतामा परेका छन् । यदि यो सामान्य हो भने किन यस अघिको नेतृत्वले यो शैली अपनाएन ?
लगभग चार दिन भयो नयाँ नेतृत्व चयन भएको । तर तिनले यो चार दिन नेता र पार्टीका कार्यालय धाउनै समय खर्चिए । यो चार दिनमा तिनले कम्तिमापनि आफ्ना आम सदस्यहरुप्रति जिम्मेवारी देखाउनुपर्ने होइन ? प्राथमिकतामा यदि एनआरएनएका सदस्य पर्ने हो भने त नेतृत्वले कुनै न कुनै कार्यक्रम, लेखोट मार्फत् तिप्रति पो जवाफदेखिता, जिम्मेवारी देखाउनुपर्ने थियो । तर त्यो देखिएको छैन ।
यो नेतृत्वले गरेको अझ उदेकलाग्दो अर्को पाटो छ, हरेक पार्टीका नेता र तिनको कार्यालय धाएर थरि थरिका ज्ञापनपत्र बुझाउँदै हिंडेका छन् । अहिलेको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दल संलग्न छन् । के प्रधानमन्त्री शेरबहदुर देउवालाईनै ज्ञापनपत्र बुझाइसकेपछि फेरि त्यहि सरकारका अन्य मन्त्री र नेताहरुलाई फरक फरक ज्ञापनपत्र बुझाउँदै हिंड्नुपर्छ ? मन्त्री परिषद वा सरकारको मुलीलाई आफ्ना ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री भन्दा मुनी रहेकालाई फेरि ज्ञापनपत्र बुझाउनुपर्ने कारण के हो ? के एनआरएनएले प्रधानमन्त्रीलाई नपत्याएको संकेत हो ? वा मन्त्रीपरिषदमा बिभिन्न पार्टीहरु रहेकाले तिनले प्रधानमन्त्रीको कुरा टेर्दैनन् र फरक फरक ज्ञापनपत्र, पार्टी पिच्छेकै नेतालाई बुझाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको हो ? होइन भने यस अघि कहिल्यै नदेखिएको नेताको यो घरदैलो केका लागि हो ? किन यतिबिघ्न लोभ र लालच देखिएको नेताका घरदैलो गर्न ? साँच्चै एनआरएनएको यो पार्टीका नेताको दैलो चाहार्ने, मन्त्रीपिच्छे ज्ञानपत्र बुझाउने शैली उदेकलाग्दो छ ।
मन्त्री, नेता र पार्टी कार्यालय धाउँदै गरेको जम्बो टोली आफैंमा चाखलाग्दो छ । विशाल छ । तर एनआरएनएको शुरुवाती कालमा जब नेतृत्व चयन हुन्थ्यो त्यो बेला प्रमुख दलका नेता, मन्त्रीलेनै एनआरएनए नेत्रित्वलाई बोलाउँथे । अझ रात्रीभोजसम्म दिन्थे । सरकारले रातो कार्पेट ओछाएर निमन्त्रणा गर्थ्यो, स्वागत गर्थ्यो । त्यहाँ एनआरएनएबारे बहस चल्थ्यो ।
त्यति मात्रै हो र ? एनआरएनएको नयाँ नेतृत्व चयन हुनासाथ बिभिन्न देशका दुतावासहरुले निम्तो दिन्थे । जापानी, जर्मन, अमेरिकी र रुसी दुतावासले जीवा लामिछानेको अध्यक्षतासम्म रात्री भोज दिएको थियो । कूटनितिज्ञहरु सामेल हुन्थे कार्यक्रममा । त्यसपछि के भयो ? अहिले के भैरहेको छ ? एनआरएनए कार्यक्रममा दुतावासले शुभकामनाका दुई शब्दलेपनि पत्याउन छोडे । नेताहरुलेसमेत पत्याउन छोडे । र एनआरएनएको जम्बो टोली नेता, पार्टीलाई बिन्तिपत्रको शैलीमा घरघरै, कार्यालय धाएर ज्ञापनपत्र बाँडिरहेको छ । नेताले खोज्दै आउने एनआरएनएनै अहिले नेताको दैलो चहार्दै हिंड्नुपर्ने अवस्थामा पुगेको छ । यो दैलो चहार्ने कार्यक्रम चार दिनदेखि जारि छ ।
गैर आवाशीय नेपाली संघ गैर राजनितिक संस्था हो भनिरहँदा राजनितिक दल र राजनितिक नेतृत्वलाई दिईएको यो प्राथमिकताले एनआरएनएको छबीमा कस्तो प्रभाव पार्ला ? घरदैलो धाउने एनआरएनए प्रति ति नेताहरुले कुन द्रिष्टीले हेर्लान् ? यसको जवाफ अहिलेको नेतृत्वले आम गैर आवाशीय नेपालीहरुलाई दिनुपर्छ कि पर्दैन ? गैर आवाशीय नेपाली संघप्रतिको त्यत्रो साख, ईज्जत र प्रतिष्ठा किन र कसरि क्षयीकरण हुँदै गयो समिक्षा गर्नुपर्छ कि पर्दैन ?