आइतबार, असोज १९, २०८२

त्यसपछी देउवाप्रति मेरो मन भाँचियो

बिष्णु हरी घिमिरे२०८२ असोज १२ गते १८:५०

देउवा दम्पतीले कुटाइ खाएपछि लेखौँ नलेखौँ भन्दा भन्दै मन नै थामिएन। म गाउँमै हुँदा अग्रजहरूले कुरा गरेको सुन्थें । ‘किसुनजीले छात्रवृत्तीमा बेलायत पढ्न नपठाएको भए विपिन कोइराला जस्तै पञ्चायत छिर्ने थियो, आन्दोलनको बेला बेलायत बस्यो, अहिले फ्याट्ट गृहमन्त्री पायो। ‘

म काठमाडौँ आएकै महिना सडकमा ‘यस पटकको हैजा गिरिजालाई लैजा’ भन्ने नारा लागेको थियो। एमालेका महासचिव मदन भण्डारीको हत्या गिरिजा प्रसाद कोइरालाले गराएको र उनलाई कारबाही गर्नुपर्ने माग एमालेको थियो।

गाउँबाट भर्खर आएको केटो पहिलो पटक टियर ग्यास र प्रहरीको लाठी खाइयो । जवकी म आन्दोलनमा गएकै होइन। जुन समय म काठमाडौँमा हराउने अवस्थाको थिएँ ।

बेलुका रेडियोमा समाचार बज्यो, ठमेलमा बालिकाको निधन भयो। कोइराला थरकी एक ६ वर्षीया बालिका जो आफ्नै घरको झ्यालमा थिइन।

तत्कालिन गृहमन्त्री शेर बहादुर देउवाले ‘प्रहरीको बन्दुकको आँखा हुँदैन’ भन्ने निर्मम प्रतिक्रिया दिए। त्यसपछि उनीप्रति मेरो मन भाँचियो।

मध्यावधि पछि उनी प्रधानमन्त्री भए। अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल जो सभामुखको कुर्चीबाट थिए उनको अनुहार हेर्न लायक थियो त्यो बेला ।

सुन्नमा आए अनुसार गिरिजा प्रसादले सभामुख र संसदीय दलको नेता मध्ये एक छान्ने अवसर पौडेललाई दिएका थिए। कांग्रेस दोस्रो पार्टी थियो । त्यति छिटै प्रधानमन्त्री पाउँछ भन्ने थाहा पाएको भए पौडेलले सभामुखमा आफूलाई खुम्चाउँदैनथिए की ?

देउवा प्रधानमन्त्री भएपछि संसदीय व्यवस्थाको हुर्मत लिने काम भयो। संसद् किनबेच, प्राडो, पजेरो, सुरा सुन्दरी खै के के।

पछि पार्टी सभापति गिरिजा प्रसादको कुरालाई लत्त्याएर गोरखाका राजाले न्याय दिन्छन् भन्दै गए । र ज्ञानेन्द्रलाई प्रजातन्त्र बुझाए, पार्टी फुटाए। पछि तिनै राजाले असक्षम भनिदिए ।

त्यसपछि मूल पार्टीमा फर्किए। सिङ्गो कांग्रेसको पार्टी सभापति भए। पटक पटक प्रधानमन्त्री भए।

कमलरी प्रथा मुक्ति बाहेक देउवाले उनको तीस वर्षे शासनमा राम्रो गरेको भनेको उनले आफूले जिम्मेवारी पाएको समयमा समयमै चुनाव भने गराएका हुन्।

समयले उनलाई राजनीतिक शिखरबाट धेरै पटक ससम्मान बिदाइ हुने अवसर दिएको थियो। तर उनी अझै सकिनसकी पदमा रहने लोभमा फसे । त्यो भन्दा पनि श्रीमती आरजु राणाका लागि पनि उनले स्थान बनाउन खोजे।

नतिजा के भयो त ?

तीस वर्षमा पटक पटक प्रधानमन्त्री भएको देशकै ठूलो पार्टीको सभापति आफ्नै घरमा निर्घात कुटिए। समाजवादी पार्टीका नेताको आलिसान बङ्गला र त्यो घर भित्र देखिएको नगदका बन्डलहरूले देउवा दम्पतीले बेहोरेको कुटाइलाई ओझेलमा पारिदियो।

विडम्बना न त्यो बेला उनलाई त्यहाँ बचाउन उनको कोही कार्यकर्ता पुगे नत त्यसको प्रतिकारमा यतिका दिन सम्म पार्टीले न त भातृ सङ्गठनहरूले विरोधका कार्यक्रम घोषणा गर्न सके।

यति सम्मकी देउवा दम्पतीको स्वास्थ्य लाभको शुभकामना दिन, भेट गर्न पनि उनका कार्यकर्ता डराइरहेका छन्। यो अवस्थामा देउवालाई अस्पतालमा पुगेर स्वास्थ्य लाभ गरेको मैले सुन्न पाएको छैन।

न्यु योर्कको एक भेटमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले देउवाको पोल्टोमा पार्टी गयो भने सकिन्छ भनेका थिए। कस्तो थियो कांग्रेस । कहाँ पुग्यो ?

म पक्षपाती (वायस) पनि हुन सक्छु। देउवा प्रति म कहिल्यै सकारात्मक हुन सकिन्। वा उनले त्यस्तो काम नै गरेनन्। जसले मलाई प्रभावित पारोस।

तर अस्तिको त्यो भिडियो पछि मलाई बेचैन बनाएको छ। देउवाले थुप्रै कुरा बिगारेको भए पनि हामीले लेख्न र बोल्न पाउनु पर्ने भनेर आफ्नो जवानी अर्पण गरेका चाहिँ हुन्, भलै बुढेसकालमा धेरै  बिगारे।

तर पनि अहिलेसम्म जनताले बोल्न पाउन पर्छ भन्नेमा उनी स्पष्ट थिए। त्यस्तो नेता नेपालले अब पाउला ?

तपाइँको प्रतिक्रिया