अमेरिकी राष्ट्रपती बिडेन र रुसी राष्ट्रपती पुटिनबिचको वार्तास्थल किन रोजियो जेनेभा ?
अमेरिकी राष्ट्रपति जो बिडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच हिजो बुधवार स्विजरल्याण्डको जेनेभामा ‘संकट सम्मेलन’ को लागि वार्ता भयो । स्विजरल्याण्डका अन्य शहरपनि जेनेभा जत्तिकै सुरक्षित, जेनेभा भन्दापनि सुन्दर छन् । तर किन वार्तास्थल जेनेभानै रोजियो ?
यसको कारण बुझ्न अलिकति पछिल्लो ईतिहास हेर्नुपर्ने हुन्छ । नोभेम्बर १९८५ मा अमेरिकी राष्ट्रपती रोनाल्ड रेगन-मिखायल गोर्बाचोभबिच वार्ता भएको थियो । त्यो वार्तापनि जेनेभामै भएको हो । त्यस वार्तापछि जेनेभामा अमेरिका-रूसको यो पहिलो उच्चस्तरीय बैठक हो । स्विजरल्याण्ड कूटनीतिक वार्ताकालागि सफल मानिएकालेपनि यहिँ गर्न खोजिएको हो । स्विजरल्याण्डले कूटनितिक वार्तामा प्रसिद्दि कमाएकाले आफ्नो ‘गौरवपूर्ण छबी’ कायम गर्न खोजेको हो । तरपनि यस्तो संवेदनशील र उच्च प्रोफाइलका ब्यक्तिहरुको शिखर वार्ताको स्थान छनौट गर्दा तीन मुख्य मापदण्ड छन् ।
पूर्वाधार
न्यूयोर्क पछि संयुक्त राष्ट्र संघको कार्यालय र अन्य अन्तर् राष्ट्रिय संघसंस्था भएका दोस्रो सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएकोले जेनेभामा आवश्यक सुविधाहरू छन् । त्यसो त, रसिया र अमेरिकाले पनि जेनेभामा ठूलठूला अभियानहरू सञ्चालन गरिरहेका छन् । यहाँबाट यि दुई देशका ठूला ठूला ‘मिसन’ हरु पुरा गरिन्छ । उनीहरूले यहाँ धेरै गोप्य सेवा विभागहरू चलाएका छन् । त्यो आर्थिक र कूटनितिक क्षेत्रमापनि हो ।
अर्को महत्वपूर्ण पक्ष के हो भने मस्को र वाशिंगटनका सुरक्षा विज्ञहरूलाई जेनेभाको स्थानीय अवस्था थाहा छ । यी दुई विशिष्ठ नेताहरूको सुरक्षाको गाम्भिर्यता र आवस्यकताका बारेमा रुसी र अमेरिकी दुबै पक्षलाई राम्रो ज्ञान छ ।
तटस्थ स्विजरल्याण्ड
स्विजरल्याण्ड अन्य देशभन्दा कूटनितिक क्षेत्र र छबीमा तटस्थ मानिन्छ । वार्ताको प्रस्ताव गर्नु अघि कूटनितिक रुपमा कहाँ वार्ता गर्ने भनेर वार्ता पक्षधरले हरियो संकेत पठाउनुपर्छ नै । अर्थात् वार्ता कहाँ गर्ने भन्ने सांकेतिक खबर पठाइन्छ । बिडेन र पुटिनबिच हुने वार्ता रसिया वा अमेरिकामा हुन संभवनै थिएन । यि दुई देशबिचको संवन्धमा चिसोपनको विकास भैरहेका बेला । अर्थात् एकले अर्को ‘दुश्मन’ को ईलाकामा वार्ता गर्न निमन्त्रणा गर्ने कुरै भएन । निमन्त्रणा गरिहालेपनि स्विकार गर्दा संवन्ध र आफ्नो देशको छबीमा राम्रो सन्देश जाने कुरै हुँदैन ।
यस पटक नाटोको तालिकामापनि यो वार्ता योजना थिएन । जस्तो, सन् २०१० मा बाराक ओबामा र डिमित्री मेडभेदेवबिच परागमा वार्ता भएको थियो र वार्ता सहज भयो ।
वार्ताको लागि अर्को संभावना फिनल्याण्डको हेलसिन्की हुनसक्थ्यो । तर यसलाई रुसीहरुले अस्विकार गर्नसक्ने अवस्था थियो । किनभने फिनल्याण्डले नाटोको निकटमा बसेर काम गरिरहेको छ । त्यसैले वर्तमान अवस्थामा तटस्थ रहेको स्विजरल्याण्ड दुबै देशकालागि उचित र स्विकार्य बनेको हो ।
सहभागि र आयोजक देशको भूमिका
शिखर सम्मेलनमा सहभागी देश र वार्ता आयोजक देशबीचको द्विपक्षीय सम्बन्धले भूमिका खेल्छ । स्विट्जरल्याण्डलाई रुसले रुचाएको अवस्था छ । किनभने स्विजरल्याण्ड रूस बिरूद्ध पश्चिमी देशहरुले लगाएको प्रतिबन्धमा सामेल छैन । युक्रेनको मामिलामापनि पस्चिमी मुलुक र रुस कसैको पक्षमा लागेको छैन । अमेरिकी दृष्टिकोणबाट हेर्दापनि न त स्विजरल्याण्डले अमेरिका बिरुद्द बोलेको छ । न अमेरिकालेनै स्विजरल्याण्डबिरुद्द बोलेको छ । यि दुई देशका कठिन समयहरू गए जब होलोकास्ट कोष र बैंकिङ गोपनीयताले द्विपक्षीय संवन्धमा बनाएको चिसोपन पनि हटिसकेको अवस्था छ । जर्ज डब्लु बुशको शासनकालमा वाशिंगटनले स्विस विदेश नीति प्यालेस्टिनी समर्थक र ईरान समर्थक भएको सोचाई राखेका थिए । जो बिडेनको कालमा त्योपनि देखिएको छैन ।
छोटकरीमा भन्नुपर्दा मस्को वा वाशिंगटन दुबैको जेनेभा बिरूद्ध कुनै आरोप प्रत्यारोप, संलग्नता र दुखेसो थिएन । स्विजरल्याण्डलेपनि रोनाल्ड रेगन र गोर्भाचोभबिच जेनेभामै भएको वार्ताको प्रसिद्दि, जसलाई पूनर्जागरित बनाएर फाईदा लिन खोजेको हो । उसले कूटनितिक क्षेत्रमा आफू विश्वको सबैभन्दा तटस्थ देश भनेर देखाउन खोजेकोपनि हो ।
देखिन चाहने स्विजरल्याण्ड
स्विजरल्याण्डले द्वन्दरत देशहरुलाई बिभिन्न तरिकाले वार्ताको मध्यस्तता गर्छ । प्यालेस्टाईन र ईजरायलको मुद्दा होस् वा ईरान इराक वा अफ्गानिस्तान । अफ्रिकी मुलुकमा भएका द्वन्दमापनि स्विजरल्याण्डले मध्यस्थताको भूमिका खेल्दै आएको छ । वार्ता र मध्यस्थताको प्रस्ताव गरिहाल्छ । स्विजरल्याण्डले सहजकर्ताको रुपमा कूटनितिक तवरले आफूलाई उभ्याउन खोजिहाल्छ । यो भूमिकामा आफूलाई प्रतिनिधी पात्रकोरुपमा उभ्याउँछ । ऊ पर्दा पछाडि बसेर मात्रै होइन देखिनेगरि, खुल्लमखुल्ला तवरले अगाडि बढ्न खोज्छ । ऊ विश्वको शान्ति निर्माता बन्न चाहन्छ । सिरिया, यमन, लिबिया र हालसालै साइप्रसका लागि वार्ताकारको भूमिका खेलेर जेनेभामा धेरै महत्त्वपूर्ण सम्मेलनहरू भएका छन् । त्यस्ता वार्ता सधैं देखिने गरि सफल होउन वा नहोउन् वा टुंगोमा नपुगुन् उसले वार्ताका प्रयासहरु जारि राख्छ ।
हालैका दशकहरूमा, रूसी-अमेरिका शिखर सम्मेलन रिक्जाविक, वाशिंगटन, मस्को, भ्यानकुभर, हेलसिंकी (दुई पटक), लुब्जाना, ब्राटिस्लावा र प्रागमा सम्पन्न भए । तर जेनेभामा गत ३५ वर्षसम्म भएन । ईरानसँगको आणविक सम्झौताको सफलता सन् २०१५ मा भियनामा भयो । डोनाल्ड ट्रम्पले सिंगापुरमा किम जोंग-उनलाई भेटे ।
वर्षौंको प्रतिक्षा
अन्तर्राष्ट्रिय शहर जेनेभाले लामो समयदेखि शीर्ष-स्तरीय बैठकको आशा राखेको थियो । किनभने ठूला वार्ताहरु अन्य देशमा भैरहेका थिए । स्विजरल्याण्ड वार्ताको सहजिकरण, मध्यस्तकर्तामा आफ्नो छाबी कायम राख्न चाहन्थ्यो । स्विस सरकारले यसको लागि काम गरिरहेकोपनि छ । जेनेभाको कूटनीतिक केन्द्रको भूमिकालाई सुदृढ गर्दै स्विस सरकारले त्यो छबी एकपटक फेरि प्राप्त गरेको छ । यो महत्वपूर्ण छ किनभने वार्ताको सहजिकरण र मध्यस्थकर्ता बन्ने प्रतिस्पर्धापनि विश्वमा निकै चर्को छ ।
यस्तो शिखर सम्मेलनले प्राय: सहभागीहरूसँग आमनेसामने हुनकालागि अवसर प्रदान गर्दछ । आलोपलो गरि स्विजरल्याण्डको अध्यक्ष पदमा पुगिने प्रचलन अनुसार यस वर्ष स्विजरल्याण्डको अध्यक्ष पदमा पुग्ने गाय पार्मेलिनले स्विस चासो प्रस्तुत गर्ने मौका पाए । केवल बिडेन र पुटिनका कुरा सुनिने, तिनकै मुद्दा सार्वजनिक हुने दुनियाँमा स्विजरल्याण्ड जस्ता सानो देशले आफ्नो देश, शहरको चर्चा र आफ्नो मुद्दा सुनाउन पाउनुपनि कूटनितिक रुपमा ठूलो सफलता हो । किनकि स्विजरल्याण्डले आफ्ना मुद्दा र चासोहरु यसरि दैनिक रुपमा सुनाउन पाउँदैन ।
(स्विस इन्फो डटसिएचमा प्रकाशित जुलिआ क्रफर्डको आलेखलाई नेपालप्लसका तर्फबाट महत्वपूर्ण अंश थपेर भावानुवाद गरिएको-संपादक)
यसैसित संवन्धित अन्य रिपोर्ट
अमेरिकी राष्ट्रपति स्विजरल्याण्डमा, वाइडेन र पुटिनको अलग्गै पत्रकार सम्मेलन हुने
वाइडेन र पुटिनबिच भेटघाट हुने खबरले तातेको जेनेभा
अमेरिकी राष्ट्रपतीको युरोप भ्रमण : बेलायती प्रधानमन्त्री जोन्सनसित बेलायतमा भेट