खादा संस्कृतिको बिगबिगी र प्रवाशीका मुद्दा
अग्रज पत्रकार किशोर नेपालले उहिल्यै कुनै एक सन्दर्भमा पत्रकारितामा आकर्षित युवाहरुबारे रोचक टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘बीस बर्षको उमेरमा पत्रकारितामा के के न हुन्छ भन्ने सपना देख्दै आकर्षित हुन्छन् । बीस बर्ष यो क्षेत्रमा काम गरेपछि आफ्नो हातमा केही देख्दैनन् र ब्युँझन्छन् ।’
झण्डै उनको टिप्पणी जस्तै भयो यो लेखकको जीवन पनि । म नेपालका बिभिन्न मिडियामा ठिक अठार वर्ष काम गरेर विदेश हानिएँ । केही बाल्यकालका, केही कलेजका र केही पेशाका कारण नजिकिएका साथीहरुसँग बाहिर जाने रहरका बारे सल्लाह गरेँ । धेरैले भने,‘आऊ न, संघर्षमा रमाउँदा मजै हुन्छ जिन्दगी ।’ यसो भनेपनि गुमनाम परदेशी र राजेन्द्र पुडासैनीले अर्को कुरा पनि सम्झाएका थिए । त्यो थियो, विदेशिएपछि गर्नुपर्ने कामका बारे । उनीहरुले भनेका थिए,‘फेरि यता आएपछि काम चाहीँ जेपनि गर्नुपर्ने हुन्छ नि ! कामले यहाँ ठूलो सानो हुँदैन ।’
विदेशिएका साथीभाइ र आफन्तबाट पहिल्यै सुनेको यो कुरा त्यति अनौठो लागेन । शायद दिमागले यहि कुरा धेरै पटक स्टोर गरेका कारण होला, काममा कहिल्यै समस्या भएन । मैले आफू के र को थिएँ भन्ने एकछिन बिर्सने बित्तिकै काममा सजिलो हुन्थ्यो, हुन्छ । तर एउटा अनौठो लाग्ने कुरा चाहीँ कसैले मलाई भनेका थिएनन् । त्यो हो, परदेशिएपछि फेला पर्ने अनौठा नेपाली पात्रहरु । मधेशको भित्री कुनाबाट काठमाडौं आएर विद्यार्थी संगठनको कार्यकर्ता, कवि र पछि पत्रकार बनेको मेरा लागि विदेशिएका नेपालीमा त्यस्तो अनौठो व्यवहार हुन्छ भन्ने सय मनमा एक मन पनि थिएन । सोच्थेँ, नेपाल छाडेर झन् गोरेको देश जानेहरु त सांस्कृतिक रुपमा परिस्कृत र उच्च संस्कारका होलान् ।
स्पेनको सिमा क्षेत्रमा पर्ने फारो जिल्लाको एउटा पर्यकटीय शहरमा बस्दाको समयको कुरा हो । मेरो छुट्टीको दिन नेपाली स्वादका खाजा खान नेपाली रेस्टुरेन्ट पसेँ । त्यही शहरमा बस्ने चिनजानका एक हुल नेपालीसँग जम्काभेट भयो । उनीहरु एनआरएनए नामको संस्थाको अलगार्भ प्रान्तीय कमिटी बनाउनका लागि छलफल गर्दै रहेछन् । यो मेरा लागि खासै चासोको बिषय थिएन । तर, ओल्लोपल्लो टेबुलमा बसेपछि यिनका चर्का स्वरका कुराले मलाई नछोइ सकेन ।
‘हाम्लाई कि सचिव कि प्रवक्ता नदिने भए हामी यो छाडेर स्याङ्जाली समाज खोल्छौं ।’ मैले यसो भन्ने मान्छेको सर्कल सम्झिएँ र मनमनै हाँसे । उसले भनेको मान्ने र जिल्लाका मान्छे संस्थाको कोरम पुग्ने गरी थिएनन् । उसको सन्दर्भ पछि फेरि ल्याउँछु ।
‘वडाध्यक्ष त मलाई नभइ हुन्न ! म जतिको लायक यहाँ को छ र ? हरेक काममा खटेको छु ।’ म जिल्ल परेँ । अरुले पनि सोधेपछि उसले आफूले रोजेको पदबारे ब्याख्या गर्दै भन्यो, ‘खातापाता राख्ने वडाध्यक्ष, क्या त !’
अब बल्ल सबैले बुझे उसको कुरा । बिचराले कोषाध्यक्ष भन्न खोजेको रहेछ, वडाध्यक्ष भन्न मात्र जानेको रहेछ । पद बाँडफाँटको जिम्मा लिनेहरुले यी दुबैलाई पद दिएनन् । एनआरएनमा वडाध्यक्ष माग्ने भाइ पदबिहीन भए पनि चुप लागेर बस्यो । सचिव माग्नेले चाहीँ आफ्नो भनाइ अनुसार अर्को संस्था खोलेछ । संस्थाको पनि फेरि छुट्टै कहानी छ । त्यो नामको समाज पोर्चुगलकै लिस्वनमा पनि रहेका कारण नाम जुधाउन मिलेन । त्यसैले संस्थाको नाम राखियो,‘आँधीखोला प्रजातान्त्रिक समाज !’
हरेक साता यो संस्थाको बैठक बस्थ्यो । एउटा रेस्टुरेन्टमा चार जना भेला भयो । चुरोट तान्दै बियर पियो । छुट्टियो । कहिलेकाहीँ मैले काम गर्ने ठाउँमा आएर बैठक बस्ने भएकाले नचाहेर पनि तिनको निश्कर्ष सुन्न पुग्थेँ । संस्थाको अगुवा भाइले आफैं हौसिँदै पनि सुनाउँथ्यो । निश्कर्ष हुन्थ्यो,‘यो देशमा बस्ने जिल्लाभरका मान्छेको बिवरण संकलन गर्ने । त्यसका लागि फेसबुकमा लेखेर आह्वान गर्ने र अलिक स्थापित मान्छेलाई खादा ओढाएर सम्मान गर्ने ।’
लेखकलाई बेलायतका प्रवासी नेपालीका बिषयमा धेरै जानकारी छैन । तर, यता बाँकी युरोपमा भने धेरै नै गाईजात्रा हेर्न पाइन्छ । प्राय फेसबुक या अन्यत्र प्रकाशित बिभिन्न घटना वा समाचारमा विश्वभरिका नेपालीले गर्ने एउटा साझा कमेन्ट हुन्छ, ‘विदेश गएर पनि कांग्रेस, कम्युनिस्ट भनेर बसेका छन्, काम नपाएर ।’ यस्तो कमेन्ट गर्नेहरुले अझ विदेश बस्नेहरुका गाउँ र नगरपालिका पिच्छेका समाज छन् भन्ने थाहा पाए झन् के भन्थे होलान् ?
साँच्चै नै पोर्चुगल र बेल्जियममा चाहीँ हरेक गाउँपिच्छे, जातपिच्छे र पार्टीपिच्छे मात्र नभएर पार्टीका पनि गुटैपिच्छे समाज बनेका छन् । पोर्चुगलकै एउटा उदाहरण यो पंक्ति लेख्दालेख्दै मेरो दिमागमा ताजा भएको छ । करिब चार बर्ष अगाडि एउटा संस्था खुल्यो, एउटा दारु बैठकमा । संस्थाको नाम थियो, ‘झापा, मोरङ्, पोर्चुगल समाज’ या यस्तै । केही महिना साँझ बियर र वाइन खाँदै गम्भीर बैठक बस्यो । बैठकमा पछि झापाली र मोरङेबीच कुरा मिलेन र संस्था दुईवटा बन्यो । संस्था त के थियो र दुईतिर बन्नु ! त्यस दिनदेखि बियर खाने समूह दुई वटा भए ।
आत्मरतीमा रमाउनका लागि बढि नै सामाजिक बनेको देखाउने रोग हामी नेपालीको समस्या नै हो कि जस्तो देखिन्छ । अन्य देशबाट आएका आप्रवाशीमा संस्था भन्ने चलन नै छैन । भारतीयहरु पनि नेपाली एनआरएन जस्तो एउटा मूल संगठन एनआरआईमा मात्रै सिमित देखिन्छन् । पक्कैपनि मर्दापर्दा या अफ्टेरोमा पर्नेका लागि यस्ता संस्था सहयोगी बन्छन् । तर, संस्थालाई बेवास्ता गर्दै अलिक फराकिलो दायरामा सोच्नेहरुका लागि यस्ता गतिबिधि हाँस्य सामग्रीबाहेक केही बन्दैनन् । अनि यहाँनेर एउटा अनौठो चाहीँ के छ भने यस्ता संस्था खोल्ने र अध्यक्ष हुन रहर गर्नेहरुको भित्रभित्रै एउटा अर्को छुट्टै संगठन हुन्छ, जो परिदृश्यमा देखा पर्दैन । कुनै रामबहादुरको संस्थालाई कसैले आलोचना गर्दै खादा संस्कृतिको विपक्षमा केही लेख्यो भने श्यामबहादुर बचाउमा आइलाग्छ । जबकि श्यामबहादुर त्यहि रामबहादुरसँग पदमा कुरा नमिलेर केही अघि छुट्टिएको हुन्छ । ऊ अन्यत्र त्यहि रामबहादुरलाई गाली गरिरहेको हुन्छ । यहाँनेर कोरम पुग्नेबित्तिकै संस्था खोल्ने र मान्छे भेट्नेबित्तिकै खादा ओढाइहाल्ने संस्कृतिका पक्षधरहरुबिच अभूतपूर्व एकता देखिन्छ ।
कार्यक्रम पनि कति अनौठा भने एउटा हल भाडामा लियो र केही मान्छे बोलायो । सहयोगी र संस्थाका मान्छेलाई मञ्चमा बोलाएर खादा ओढायो । वक्ताले आफू नेपालमा हुँदादेखिका सन्दर्भ सुनायो । दर्शक दिर्घामा श्रोता भन्दा मञ्चमा बढि मानिसको उपस्थिति ! अन्त्यमा खाजा खाएर छुट्टियो । अहिलेको चलन अनुसार फेसबुक लाइभ गर्न एक जनालाई खटायो । आफू नजिकका अनलाइन छन् भने त्यहाँ समाचार लेख्यो, लेखायो । हामी नेपालीले कस्तो संस्कृति निर्माण गर्न खोजेको र यस्ता कार्यक्रमको उपादेयता के भन्ने बारे कहिँ कतै कुरा उठ्दैनन् ।
अहिले म आफैंलाई आफ्नै बिगततिर फर्किएर हेर्ने गर्छु । जीवनमा मिडियामा काम गर्ने र स्वभावले पनि अराजक भएका कारण यस्ता औपचारिकताका पक्षमा कहिल्यै भइएन । आफूलाई कतै खादा ओढाउन लागे पनि भाग्ने प्रवृत्तिकै साथीभाइको समूह बन्यो । तर परदेशमा सबैभन्दा बढी चाहिँ त्यहि सर्कल गुमाएको अनुभव हुन्छ । नेपालका हरेक कुनाबाट आएका हरेक पेशा र क्षमताका मान्छे फेला पर्छन् भन्ने कुरा दिमागमा राखेपनि खादा संस्कृति र पदका लागि मरिहत्ते गर्ने मान्छेका बिषयमा कहिल्यै सोचिएको रहेनछ । अलिकति सामाजिक, राजनीतिक बिषय बुझेको गुणस्तरिय मान्छे खासै नभेटिने कारण परदेशमा अर्को समस्या भनेको नयाँ र मिल्ने साथी बनाउनु हुँनेरहेछ । पार्टीमा हनुमान भएर नलागेका र दिमागले अलिक फराकिलो सोच्ने जमात देशमै घट्दै गएको हो कि विदेशमा मात्र ? सामान्य जस्तो लाग्ने यो बिषयमा म मेरा सामाजिक क्षेत्रमा पनि सक्रिय साथीहरुलाई लेख्न र बहश गर्न आह्वान गर्छु ।
अन्त्यमा अर्को पाटो पनि यहाँ बिर्सन हुँदैन । सबै प्रवासी नेपालीको साझा संगठन एनआरएन पनि यो संस्कारबाट अछुतो छैन । अब यो प्रवृत्ति छाडेर प्रवासी नेपालीका सरोकारका मुद्दामा केन्द्रित हुने विषयमा पनि बहश गर्ने हो कि महाशयहरु ? त्यसो गरेमा खादा ओढाउन कार्यक्रम गर्नै पर्दैन, आम नेपालीले सम्मानका साथ सधैं माथि राख्नेछन् । आफैं सेल्फी खिचेर राहत बाँड्नै पर्दैन, जनताले नै यहाँहरुको कामको प्रचार गरिदिनेछन् ।
-पत्रकार तथा कवि गौतमलाई https://twitter.com/G_padam मा भेट्न सकिन्छ।)