मंगलबार, वैशाख १८, २०८१

एन आर एन मिडिया टिम ‘खुकुरी दल’ मा यसरि रुपान्तरित

नेपालप्लस२०७७ असोज २५ गते १५:४७

‘बर्मा पुग्यो कर्म सँगै, नेपाल पुग्यो कपाल सँगै’ भनेझैँ युरोपका केहि पत्रकारहरुले यो पटक राम्रैसँग आफ्नो कर्म प्रकट गरे । यो कर्म प्रकट गर्दा मानिसको गोपनियताको पनि ख्याल भएन । प्रतिष्ठाको हेक्का भएन । गालिगलौज, एक पत्रकारले अर्काको हुर्मत लिने, बदनाम गर्ने, आफैं बदनाम हुने, निजात्मक कुराहरु खोतल्ने र एकले अर्कोलाई नंग्याउने गर्दागर्दै एन आर एनको मिडिया टिम ‘खुकुरी दल’ मा बदलिएर टुंगियो ।

एनआरएनए युरोपको क्षेत्रिय बैठक १२ पटक बसिसकेको थियो । १२ वटै बैठकमा नेपालबाट ठूला मिडियाका केहि पत्रकारहरु समाचार संप्रेषणका लागि ‘ल्याईन्थे’ या ‘आउँथे’। यो पटक त्यस्तो भएन ।

यो पटक परिस्थिति पनि फरक थियो । कोभिड १९ का कारण । अर्कोतिर जुमको उपलब्धता पनि थियो । बिना यात्रा क्षेत्रीय बैठकमा भाग लिन सकिने अवस्था थियो, घरमै बसेर । एनआरएनएको समाचार संकलनकालागि कुनै कठिनाई थिएन ।

एनआरएनए युरोपले जुम मार्फत् यो पटक युरोपमा रहेका पत्रकारहरु परिचालन गर्ने र नेपालबाट पनि केहि पत्रकार जोड्ने निर्णय गर्यो । जसको नेतृत्व सम्हाले, एनआरएनएका युरोप उप संयोजक शुक्रराज न्यौपानेले ।

अक्टोबर ३ र ४ मा सम्मेलन हुने भयो । पत्रकारिता क्षेत्रबाट सहयोग र सहभागिताको अपेक्षा गर्दै एनआरएनए मिडिया टीम २०२० गठन गरियो । न्यौपानेले शुरुमा यस टीममा युरोप र नेपालका गरी २० जना पत्रकार, एनआरएनएका प्रवक्ता र आफू गरी २२ जनाको टीम गठन गरे । यो टीममा नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राई र बेलायतबाट नरेश खपांगी लगायत पत्रकार महासंघ बेल्जियम र पोर्चुगल शाखा सहित अन्य पत्रकारहरु सम्मिलित गराईयो । टीम गठन गरेपछि उनले भने, ‘कृपया मिडियाका साथीहरुले अरुपनि साथीहरु जोड्नुहोला । सबैसँग हाम्रो पहुँच छैन ।’

उनले समिति के गठन गरेका थिए गालीको ओईरो आईहाल्यो । स्पेनको म्याड्रिड बस्ने गजुरेल थरका पत्रकारले, ‘अनुहार मिल्ने जोड्ने र आफू ईतरका पत्रकारहरु राख्ने मिशन सफल होस्, सुभकामना’ भन्दै उनले समूह छाडे । उनले छाडेपछि अध्यक्ष केजिन राईले पनि ग्रुप छाडे ।

उनीहरुले ग्रुप छाडेपछि रंगमन्चमा देखिए पेम्बा गुलु शेर्पा । एडमिन दुरुपयोग गर्दै उनले नाम राखे ‘एनआरएनए युरोप कमिडी टीम २०२०’ । पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईले शेर्पालाई महासंघमा भित्राएका हुन् ।

यति मात्रैले पुगेन । नाम शिफारिसको मापदन्ड के हो भनि हा हु भो त्यसपछि । शुक्रले पुन मिडीया समितीको एडमिन आफ्नो हातमा लिएर केहि नामहरु थपघट गर्दै ‘एनआरएनए युरोप १३ औं बैठक तथा दोस्रो ज्ञान सम्मेलन मिडीया टीम’ नामाकरण गरे । भागेका केजिन राईहरु फेरी जोडिए ।

२० सेप्टेम्बर अर्थात भोलिपल्टै फेरि शुक्रराजले भने ‘पत्रकार साथीहरुको मत मतान्तर आफ्नै ठाउँमा होला । सबै पत्रकार साथीहरुमा गैर आवासिय नेपालीको कार्यक्रममा अपनत्व कायम हुन सकोस् भन्ने अपेक्षा राख्छु ।’

२४ सेप्टेम्बरका दिन पहिलो पटक जुम बैठक भयो, कार्यक्रम तयारिका सन्दर्भमा । सोही साँझ, अचेल फूर्सदमा रहेका बेल्जियमका पत्रकार सन्तोष न्यौपानेको प्रबेश भयो । शुरु भयो अर्को पर्दा खुल्ने क्रम ।

शुक्र न्यौपानेलाई फेरि पत्रकारलाई लाईनमा ल्याउन रातो झन्डा उठाउनुपर्ने भयो, ’एनआरएनएको बाहेक अरु लिंकहरु यहाँ नराखौँ र कृपया व्यक्तिगत छलफल पनि नगरौँ ।’ उनले यति लेखेका के थिए केहि पत्रकार समूह छाडेर हिँडे ।

जति जति बैठकको मिति नजिकिन्छ उति उति अरु पत्रकारहरु पनि जोडिए । कुनै कुनै पत्रकारले क्षेत्रीय बैठक भएकोले युरोप क्षेत्रको मुद्दा उठ्नुपर्ने माग गरे । कसैले अन्तर्राष्ट्रिय मेलामा भाग लिने भन्दै एनआरएन कै समितिमा बस्नेहरुले पैसा खाएर बेल्जियम ल्याईएका मानिसहरु भागेको एसेन्टा मेलाको कुरा कोट्याए । कसैले अनुजा गौतम कान्ड उठाए । कसैले नेपालमा हडतालमा रहेका डा. गोबिन्द केसी बचाउ अभियानलाई एनआरएनको क्षेत्रीय बैठकले सरकारसँग बचाउ गर्नुपर्ने माग गर्नुपर्छ भन्ने प्रसंग उठाए । तर यिनिहरुको उत्तर कुनैपनि एनआरएनका नेताबाट आएन ।

यसको लगत्तै एनआरएनको बैठकको जुम कोड पत्रकारको ग्रुपमा आईपुग्यो । फेरी छुद्र टिप्पणी देखियो एक पत्रकारको, ‘बैठकमा सहभागि हुने आफ्नालाई एउटा लिंक र सौताका छोराछोरीलाई अर्को लिंक हालेछन् ।’ भलै त्यस्तो केहि भएको थिएन । तीन कोठामा तिनथरी बैठक थियो । जुम आईडी सबैकै लागि थियो ।

३ अक्टोबरका दिन एनआरएन युरोपको कार्यक्रम उद्घाटन पछि मेडिया शेसन थियो । कार्यक्रमको शिर्षक थियो, ’प्रवासमा पत्रकारिता र एनआरएनएसँगको सम्बन्ध ।’ तर कार्यक्रम शुरु हुनुभन्दा ठिक अगाडी बक्तामा राखिएका पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले कार्यक्रम बहिष्कारको घोषणा गरे । तर कार्यक्रमको रुपरेखा पहिलै सार्वजनिक थियो ।

राईले एनआरएनए युरोपका उपसंयोजक शुक्र न्यौपानेले आफूहरुसँग सल्लाह नगरि कार्यक्रम राखेको आरोप लगाए । तर कारण भने अर्कै थियो, हालै बेल्जियममा समाचार लेखेबापत धम्कि खेपेकी पत्रकार निलम घिमिरेको कार्यक्रममा उपस्थिती र महासंघको केन्द्रले यो धम्कीको भर्त्सना गर्दै निकालेको बिज्ञप्ति ।  केन्द्रले बिज्ञप्ति निकालेकै दिन राईले त्यसको बिपक्षमा एक फेसबुक लाईभ गरेका थिए । त्यस कार्यक्रममार्फत् उल्टो निलम घिमिरेले माफी माग्नु पर्छ भनेका थिए ।

बैठक आयोजकलाई उनले तिमीले त्यो पत्रकारलाई मसँगै कार्यक्रममा राखेका छौं, म उसँग एउटै मन्चमा सँगै रहन सक्दिन भने । तर पछि यो लफडा के भएर मिल्यो कुन्नी केहि घन्टामै उनी विशेष साज सज्जामा कार्यक्रममा आए । कार्यक्रमको महत्वपूर्ण समय उनैले लिए ।

समूहमा जोडिएका एक पत्रकार गणेश पान्डेले टिप्पणी गरे, ‘भर्चुअल कन्फ्रेन्समा जोडिन पाईन भनि रोईलो गर्नेहरु प्रत्यक्ष कार्यक्रममा भएको भए खादामाला र आसन ग्रहणकालागि मारामार र हानाहान गर्ने रहेछन्’ । त्यसपछि समय लिए, बेलायतका पत्रकार नरेश खपांगीले । समूहमा रहँदा दमदार ईश्युहरु उठईरहेकाहरुले पछि छलफलमा पुच्छर लुकाए । आएका समाचार ग्रुपमा शेयर भयो । बैठक सकियो । सबै घर घर लागे ।

कार्यक्रम सकिएपछि शुक्र न्यौपानेले पत्रकारबिच सौहार्दपूर्ण छलफल कायम होस् र फुटेका पत्रकारहरु मिल्न सकुन् भन्ने अभिप्रायले पत्रकारको मिडिया टीमको चौथो पटक नामाकरण गरे, एनआरएनए यूरोप मिडीया सहयोग टीम’ । उनैले पत्रकारलाई छलफलकालागि ग्रुप खुलै राखेको बताए ।

त्यसपछि अर्को इपिसोड सुरु भो पत्रकारहरुको । बेल्जियम बस्ने पत्रकार उनै सन्तोष न्यौपानेले सोधे, सबैका समाचारका एंगल एउटै देखिए । कसैका फरक एंगलका समाचार छन् भने पढ्न पाउँ ।’

उनलाई ओंठे जबाफ दिए पत्रकार महासंघ युरोप शाखा अध्यक्ष केजिन राईले भने, ‘तिमी नै लेख फरक एंगलका समाचार । लेख्नेलाई भन्दा बकबास गर्नेलाई ग्रुपमा जोडिएछ’ । यसपछि उनै सन्तोषले केजिनलाई प्रश्न गरे,’ पत्रकार दील निशानी मगरलाई पत्रकार महासंघ युरोप शाखाले स्पोन्सर गरेर ल्याएको हो रे । खास कुरा के हो ? टुरिष्ट भिषामा ल्याएर यतै बस्ने मौका हितैषीलाई मिलायौ त ?’

यहि मौकामा राईले प्रसंगबिनै नेपाल पत्रकार महासंघका अघ्यक्ष गोविन्द आचार्यलाई पोहोर यूरोप आउँदा महामहिमले पत्र लेखिदिएकोले भिषा लागेको कुरा बताए । सन्तोषले उनलाई अझै छाडेनन । उनले राईलाई भने ‘दुतावासलाई एक दुई लाख दिएर आफ्नो मानिसलाई भिषा लगाउनुस् अनि पोर्चुगल पठाउनुस् । तपाईको तरिका काईदाको छ ।’

यस पछि राईले दील निसानी मगरसँग बात मारे । मगरले आफ्नो गोपनियता ख्याल गर्नु भन्दै आफ्ना व्यक्तिगत कागजात राईलाई पठाए । राईलाई लेखेकोे मेसेजमा दिल निशानीले भनेका छन्, ‘केजिन दाई मलाई घुमाएका कारणले, केहि दिन आश्रय दिएका कारणले, तपाईलाई कहिं कतै समस्या परेको छ भने, प्रश्न चिन्ह उठेको छ भने कहाँ उपस्थित हुनपर्ने हो म तयार नै छु । म तपाईंलाई सबै कागजपत्र दिन सक्छु । तर मेरो डाटा सुरक्षित रहोस् । व्यक्तित्व हनन् नहोस् ।’
यति भन्दाभन्दैपनि राईले उनका व्यक्तिगत कागजपत्र ग्रुपमा हालिदिएर भने, ‘दील निंसानी मगर बेल्जियममा कसरी बसेको छ भन्ने कुरा कल्पना मगरलाई सोध । उनलाई स्पेन्सर गर्ने बाग्लुङकै साथी रहेछन् ।’ कल्पना मगर माओवादी नेतृ बिना मगरकी बहिनी हुन् ।

निसानीका व्यक्तिगत कागजात आएपछि ग्रुप बन्द गर्न अनुरोध गरे केहि पत्रकारहरुले । तर शुक्र न्यौपानेको जवाफ थियो ‘रोईलो र रमिता त हामी नेपालीको संस्कार नै हो । तैपनि दही मोथेपछि घ्यू बन्छ भन्ने बिस्वासले आशाबादी भएर यो ग्रुपलाई निरन्तरता दिएको छु ।’

त्यसपछि पनि फेरी केहि पत्रकारहरुले विषय बदलौँ भने । तर किचलोले पुन निरन्तरता पायो । केजिन राईलाई प्रश्न सोध्ने सन्तोष न्यौपानेलाई माफी माग्ने सर्त ल्याएन् दीपेन्द्र गजुरेल र रविचन्द्र भट्टराईले । राई पनि न्यौपानेले आफूसँग यस्तो प्रश्न सोधेकोमा माफी माग्नु पर्ने शर्त तेर्स्याए ।

व्यक्तिगत ईगो र झैझगडामा बिषय मोडिएपछि एनआरएन युरोपका संयोजक नारायण आचार्यले ग्रुप बन्द गर्न अनुरोध गरे शुक्रलाई । शुक्रले त्यसको जिम्मा पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मालाई दिनुपहिल्यै पुन यो समुहको नाम परिवर्तन गरे स्पेनका दीपेन्द्र गजुरेलले । र राखे नाम, ‘खुकुरी दल यूरोप ।‘ उनले नाम मात्र होईन फोटो पनि खुकुरी नै खुकुरीको राखिदिए ।

यसरी एनआरएन युरोपबाट एक उद्देस्य राखेर गठन भएको मिडिया टीम बाझाबाझ, बेईज्जती, मान मर्दन हुँदै ब्यक्तिगत सूचना चुहाउने समूहमा पुगेर टुंगियो । सबैभन्दा चीरहरण भयो यो समूहको नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्षबाट ।

यूरोपमा संघर्षरत पत्रकार दील निशानी मगरको कागजपत्र छताछुल्ल पारे । उनले एनआरएनलाई दिनुपनि थिएन र लिनुपनि । यसरि मिडीया टीमबाट नाम बदलिएर खुकुरी दल यूरोप बन्यो ।

छन त यो टिममा कहिँ न कतै ददि सापकोटा, बसन्त रानाभाट, भगिरथ योगी, थानेस्वर सापकोटा, लक्ष्मण देवकोटा, निराजन श्रेष्ठ, यदु प्रसाद भट्ट, बिपिन निरौला, अनुराधा पौडेल, ओम शर्मा, शेरबहादुर छन्त्याल, एभरेष्ट गौतम लगायत अन्य केहि जोडिएका थिए । तर तिनले यो टिमको गाइजात्रा हेरेर बसे । कहिँकतै बोलेनन् !

तपाइँको प्रतिक्रिया

फेसबुक