शुक्रबार, वैशाख २१, २०८१

फ्रान्समा रोटीले ल्याएको तहल्का

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ पुष २० गते १५:५९

बागेट भन्ने घोंचा जस्ता रोटी फ्रान्सेलीको मुख्या खाना हो । राष्ट्रपति एमानुएल माख्रोंले बागेटालाइ “२५० ग्रामको जादु र पूर्णता” भन्दै ब्याख्या गरेका थिए । उर्जाको मूल्य आठ देखि १० गुणा बढेकाले अब ओभन तताउन सकिन्न भन्दै बेकरहरुले चेतावनी दिएका छन् । आगामी शनिवार बिरोध जुलुस गर्दै छन् । बेकरहरुले ओभन तताउन सकिन्न भन्नासाथ सरकार, जनता, सामाजिक संघसंस्था सबैको जरो हल्लिएको छ फ्रान्समा । देख्दा सानो विषय जस्तो अलग्छ, ‘जाबो रोटी ।’ तर रोटी फ्रान्सको जनजिवन, दैनिक आहाराको अति महत्वपूर्ण पाटो हो । त्यसैले हाल चौतर्फी बागेटको चर्चा भैरहेको छ ।

बागेटकै बारेमा केन्द्रित रहेर थुप्रै टिभी कार्यक्रम भैसके, भैरहेका छन् । गत डेढ वर्षमा मखन, पिठो र चिनीको मूल्यमा भएको तीव्र वृद्धिसँग संघर्ष गरिरहेका थिए बेकरले । अब उर्जाको मूल्य ज्यादा बढेपछि झनै चिन्ता थपिएको छ । सामान्य बेकरको मासिक पावर लागत प्रति महिना लगभग ४०० यूरोबाट बढेर लगभग १,५०० युरो पुगेको छ । तर वैकल्पिक आपूर्तिकर्ताको लागि किनमेल गर्दा कुनै राहत भने नपाएको गुनासो छ ।

देशमा करिब ३५ हजार रोटी पसल रहेको र तिनलाई जोगाउन मन्त्रिपरिषदले भरमग्दुर प्रयास गर्ने भनाई अर्थमन्त्रीको छ । प्रधानमन्त्री एलिजाबेथ बर्नले कर ढिलो तिर्ने, सामाजिक शुल्क ढिलाई गर्ने भनेकि छन् र अर्थमन्त्री ब्रुनो ल मेयरले बेकर महासंघलाई वार्ताकोलागि बोलाएका छन् ।

फ्रान्सको बागेट युनेस्कोको विश्व सम्पदा सूचीमा दर्ता भएको छ । यो रोटी विश्व सम्पदा सूचीमा दर्ज भएको करिब एक महिना भयो । यस्तो ऐतिहासिक मान्यता पाएर सम्मानित भएको एक महिनामै राष्ट्रका रोटी निर्माताहरू चिन्तित र केही पूर्ण निराशामा पुगेको अर्थमन्त्री ल मेयरले स्वीकार गरेका छन् ।

उद्योगलाई मद्दत गर्न केहि योजनापनि सार्वजनिक भएका छन् । प्रत्यक्ष राज्य सहायता र उनीहरूलाई आपूर्तिकर्ताहरूबाट उनीहरूको बिजुलीको बिल घटाईदिन माग गर्ने भनिएको छ । यो संयन्त्रले धेरै व्यवसायहरूको लागि लगभग ४० प्रतिशतले विद्युत लागत घटाउन मद्दत गर्न सक्ने भनाई उनको छ ।

सुपरमार्केटहरुले ठूलो मात्रामा मेशिनबाट बागेट उत्पादन गर्नाले निकै सस्तोमा बेचिरहेका छन् । मेशिनबाट औधोगिकरुपमा रोटी बेच्ने गरेकाले स्थानिय, हातले बनाईने हस्तकला खालका रोटीवालाले मूल्य बढाउनसक्ने स्थितिपनि छैन । अहिलेनै यि स्थानिय स्तरका रोटी पसलेले संघर्ष गर्नुपरेको छ, औध्योगिक रोटी उत्पादकसित ।

फ्रान्समा बेकरहरुको जिन्दगी कठिन मानिन्छ । किनभने ति सबेरै ४ बजे भन्दा अघिनै उठेर रोटी बनाउन थाल्नुपर्छ । बेकरहरु क्रोधित बनेका हुन्छन् । तातो न तातोमा काम गर्नुपर्छ । बेकरको जीवन कठिन छ। तिसित आफू र आफ्नो परिवारकोलागि जीवन छैन, कुनै आइतवार वा अन्य दिन कुनै बिदा हुन्न । लामो समय रोटी बनाउने र बेच्ने, बिदाका दिनपनि रोटीमै ब्यस्त रहनाले आफ्ना छोराछोरीहरू हुर्केको समेत देख्न पाउँदैनन् । तर ति यो पेशा जोशका साथ गर्छन् ।

फ्रान्सेली ग्रामीण इलाकाका ठूला भागहरूमा बुलँजरी (रोटी र केक पसल) विगत आधा शताब्दीदेखि गिरावटमा छन् । उर्जा महँगो, औध्योगिक उत्पादनको बाढी, युवाहरु शहर पस्ने र दुखको पेशा नगर्ने र बुढ्यौली जनसंख्याले पसलहरू बन्द हुँदै गएका छन् । कतिपय गाउँमा बेकरी अन्तिम जिवित ब्यवशायको रुपमा छ । कतिपय बेकरीले धानिन नसकेपछि चुरोटबिंडी, कफी, हुलाक र बस टिकट बेचेरपनि धानिन खोजिरहेको अवस्था छ ।

बागेट बेच्ने ठाउँ स्थानियको गफगाफ गर्ने, भलाकुसारी गर्ने, दुखसुखका क्षण साट्ने र गाउँका विविध विषयबारे छलफल, गाउँलेको भेटघाट गर्ने स्थलपनि हो ।

बागेट, रातो वाईन र चीज फ्रान्सेलीको मुख्य खाना हो । यो बिना फ्रान्सेली जिवन सोच्नपनि सकिन्न । यो तीन चिज हरेक भान्छा, हरेक टेबल, हरेक चोक, हरेक वस्तिमा हुन्छ । यो तीन चिज स्पर्ष गर्न नपाउँदा फ्रान्सेलीको आँत भरिन्न, सन्तुस्टी मिल्दैन र जिब्रोले निर्धक्क मान्दैन । त्यसैले बागेट पसलहरु बन्द भएभने फ्रान्सेलीको जिवनपनि अपुरो र अधुरो रहन्छ । त्यो कल्पना गर्नपनि सक्दैनन् फ्रान्सेलीहरु ।

त्यसैले रोटी पसलहरु कसरि टिकाउने भनेर फ्रान्समा ब्यापक चर्चा चलिरहेको छ अहिले । पत्रपत्रिका, टिभी कार्यक्रमले ब्यापक बहस चलाएका छन् । सरकारमाथि असाध्यै चर्को दबाब छ, रोटी पसलेकालागि विशेष सुविधा दिनकालागि ।

तपाइँको प्रतिक्रिया

फेसबुक