बुधबार, फागुन १६, २०८०

रुप्सेको उर्लंदो बैंस र मृत्यु टरेको त्यो रात

डा. हरिकुमार श्रेष्ठ२०८० असोज २१ गते ६:२६

डा. हरि कुमार श्रेष्ठ

करीब ३७ वर्षपछि पुनः हिमाल पारिको जिल्ला मुस्ताङ्ग जाने साइत जुरेर आयो यस वर्ष । वि।सं। २०४३ को भाद्र महिनामा मनाङ्गबाट थोराङ्ग गल्छी पार गरेर मुस्ताङ्गको मुक्तिनाथ, जोमसोम हुँदै पोखराको यात्रा गरेको थिएँ । यसपटक भने आफ्नी अर्धाङ्गिणी लक्ष्मीको साथ म्याग्दीको रुप्से, मुस्ताङ्गको मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमानथाङ्ग र नेपाल–चीन सीमा कोरला नाका जानको लागि करीब एक वर्ष अगाडिदेखिको सोच थियो । तर “म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो” भनेझै समय जुरेको थिएन ।

यस वर्ष पनि काठमाडौँको एक ट्राभल एजेन्सीसँग कुराकानी गरी मिति २०८० असोज ३–८ गतेसम्म छ दिनको यात्रा प्याकेज निर्धारण गरेका थियौँ । तर वर्षादको कारण म्याग्दीको रुप्से छहरा आसपासमा गएको पैरोको कारण मुस्ताङ्ग जाने कार्य केही समयको लागि स्थगन भयो । र दशैँ तिहारको आसपासमा जाने कुराको जानकारी पाइयो । हामीले मन मस्तिष्कलाई मुस्ताङ्गमा फक्राइराखेका थियौँ। त्यसैले ओइलिन दिनु हुन्न भन्ने लाग्यो । अनि, हामीले दिएको पेश्की रकम फिर्ता मागी आफैँले छुट्टै व्यवस्था गरेर जाने निधो गर्‍यौँ ।

असोज चार गते बिहान १० बजेतिर बुद्ध एयरको अफिस, जावलाखेलमा गएर सोहि दिन पोखरा जानको लागि सवा चार बजेको टिकट मिल्यो । ट्याक्सीबाट त्रिभुवन विमानस्थल जानको लागि करीब साँढे दुई बजे घरबाट प्रस्थान गर्‍यौँ । वानेश्वरमा शिक्षक शिक्षिकाहरूको हडतालको ब्यवधानले मुख्य सडकको बाटो नगई थापाथलीबाट नर्भिक अस्पत्ताल हुँदै अगाडि के मात्र बढेका थियौँ त्यता पनि जाम । अहो ! भीडका कारण गाडीहरू कमिलाका ताँती जस्तै । डेक चल्न मुस्किल । समयमा विमानस्थल पुग्न हम्मे हम्मे परेतापनि हवाईजहाजको उडान समय भने पछि सारिएको रहेछ ।

कतिपय देशहरूमा धर्ना, हडताल तथा आन्दोलनको लागि सरकारले नै क्षेत्र तोकिदिनाले सडक अवरुद्ध भई सर्वसाधारण जनताको आवतजावतमा कुनै असर पर्दैन । यसको लागि पनि पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । नेपालले पनि यसबारे केही सोच्ने हो कि !

पोखरा उडानको लागि बुद्ध एयरको प्रस्थान गेट नम्बर पाँचमा माइक बज्यो । हामी लामबद्ध भएर बाहिर बस चढ्ने बेलामा भेट भए रुपान्तरण नेपालका पुरानो साथी शंकर पौडेल । करीब सात वर्ष पछिको त्यो क्षण निकै रमाइलो भयो । पहिलाभन्दा अलि मोटाएका तर खिस्स हास्ने, सरल र शीतल उही पुरानै स्वभाव ।

काठमाडौँ छाडेको पच्चिस मिनेटपछि हवाईजहाजको पाङ्ग्राहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्पर्स गरेको आवाज सुनियोे । जहाजबाट बाहिर निस्कने बित्तिकै लाग्थ्यो हामी कुनै विकसित देशमा छौँ । त्यहाँको भवनको आकृति, हवाईजहाज अवतरण मैदान, आवागमन र बाहिरिने कक्षहरू, लगेज संकलन स्थान, ट्रली संख्या, आफ्नै छायाँ स्पष्ठ देखिने भुइँ, आकर्षक सिलिङ्ग, व्यवस्थित ट्याक्सी पार्किङ्ग र अन्य व्यवस्थापन पक्ष निकै नै लोभलाग्दो थियो । अहा ! मेरो देशले पनि काँचुली फेर्न लागेको आभाष भयो ।

यदि सुशासन कायम गर्दै भ्रष्टाचार, तस्कर र महंगी मात्र नियन्त्रण गर्नसके देशको काँचुली फेर्न दशकौँ कुर्न पर्ने थिएन । तर कठै ! यसको विपरीत दिशामा घुमेको छ सुई । सधैँ भ्रष्टाचारको विषाक्त कुण्डमा डुबुल्किएको, अस्तिरताले गाँजेको र सत्तालुछाचुँडीको भुमरीमा रङ्मङिएको छ मेरो देश बिचरा !

बेनीदेखि जोमसोम जाने सडक खण्ड म्याग्दीको दानामा रहेको रुप्से छहरा

बाहिर निस्केर विशाल पार्किङ्गमा रहेको ट्याक्सीको लाइनमा पुग्यो आँखा । त्यहाँबाट लेकसाइड बाह्र नम्बर गल्लीमा अवस्थित होटेल डिप्लोमेछसम्म गएको ट्याक्सी भाडा दर रू। १,००० रे ! किन यति महङ्गो भनेर सोध्दा, यो विमानस्थल व्यवस्थापनको जिम्मा निजी क्षेत्रका बतास समुहलाई दिइएको कारण ट्याक्सी पार्किङ् शुल्क नै महङ्गो छ भन्ने जवाफ दिए ट्याक्सी चालकहरूले । अहिले त यात्रीहरूलाई चुर्लुम्मै महङ्गीको कुण्डमा डुबाउने रहेछन् । ट्याक्सी भाडामा मोलमोलाई पनि हुनेरहेछ । भाडा रू। १,००० बाट घटाई रू। ९०० तिरी करीब पच्चिस मिनेटमा आफ्नो गन्तव्यमा पुग्यौँ ।

एउटा लगेज होटेलवालाले बोके भने अरु आफैँले बोकी कोठामा लगेर बिसायौं । उमेरमा मनाङ्गको जागिरमा आफ्नो भारी बोकी तीन दिनभरी पैदल यात्रा गर्दा पनि त्यति थकानको महसूस थिएन । तर अहिले त सानो लगेज बोकेर केही दूरी हिँड्दा पनि पीडादायी हुँदोरहेछ जीवन । त्यसै परिवेशमा तारादेवीको “सोँचेजस्तो हुन्न जीवन” भन्ने गीतको याद आयो र मन बुझाएँ ।

हामीले मुस्ताङ्ग जानको लागि कुनै गाडीको व्यवस्था नगरेको र पोखरामा यससम्बन्धी अनभिज्ञ नै भएको कारण होटलवालालाई नै सहयोगको लागि अनुरोध गर्‍यौँ । बसमा जाँदा सीटमा सजिलोसँग जान पाइन्छ भन्ने सल्लाह मुताविक बसमा जाने निधो गरियो । पोखराबाट जोमसोम जान रू १४०० लाग्ने भए तापनि उनले रू। १६०० लिए हामीसँग । उसले हामीबाट रू। चारसय ठगेको कुरा मुस्ताङ्गबाट फर्कने दिन मात्र थाहा भयो । हाम्रो वंशाणुगत गुण । त्यसपछि मेरो उप्रति हेर्ने दृष्टिकोणमा ऐजेरु पलाउन थाल्यो ।

जोमसोम जानको लागि सबै कुराको व्यवस्था भएपछि बजारतिर के निस्केका थियौँ पानी फिस्फिसाउन थालिहाल्यो । भोकले पेटमा औधी छेपारो नाचेको थियो आफ्नै सङ्गित र लयमा । त्यसैले, नजिकैको लाजिल हलाल होटलमा खानाको लागि गयौँ ताकि ठूलै वर्षाद भए पनि सजिलै होटल जान सकौँ । खाना स्वादिष्ट र सेवा उत्कृष्ट पायौँ ।

होटलमा गयौँ । भोली सबेरै साँढे पाँच बजे होटेलबाट बाहिरिनपर्ने भएकोले कोठाको भाडा पनि तिर्‍यौँ र होटेलवालासँगको केही भलाकुसारीपछि बिछ्यौनातिर लाग्यौँ ।

होटेलवालाको श्रीमती र दुईछोराहरुसहित चारजनाको सानो परिवार । त्यति राम्रो व्यवसाय भएतापनि ठूलो छोरा अध्ययनलाई प्राथमिकतामा राखी अमेरिका गइसकेका रहेछन् । सायद उ नेपाल बस्ने गरेर आउने जस्तो देखिन्न भने अर्को छोरा पनि विदेसिने पाइपलाइनमा । हिजोआज १२ कक्षा पासगर्ने बित्तिकै अध्ययन वा जागिरको लागि बिदेसिने हुट्हुटी छ कलिला युवाहरूमा । यदि केटाकेटी ऋण काढेरै भए पनि विदेश पठाउन सकिएन भने ईज्जतको सवाल छ बाबुआमामा ।

केही छिनमै ढिकुरपोखरी हुँदै लुम्लेको काँडे पुगेपछि गाडी ओरालो घुम्तीतिर लाग्न शुरुभयो । हरिया बोटबिरुवाले ढपक्क ढाकिएका सुन्दर पहाडहरूको काखमा रहेका तरेलीहरूमा धान बालीले आफ्नो यौवन देखाइरहेको थियो अतिनै मनमोहक तरिकाले ।

देशले युवा तथा प्रतिभा आगमनभन्दा पनि पलायनको नीति लिएकोले दैनिक हजारौँ युवाहरू विदेसिएका छन् । यसरी रित्तिँदै जाने हो भने अबको दशकपछि नेपाली युवा खोज्न, वा विवाह, ब्रतबन्ध र चाडपर्व मनाउन पनि बृद्धा बाबुआमालाई विदेश नै भासिनुपर्ने स्थिति नआउला भन्न सकिन्न । त्यसैले, अब भनेको युवालक्षित गुणस्तरीय शिक्षा र स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्ने हुन्छ । अन्यथा, भोलीका दिनहरूमा पहाडी क्षेत्रमा त मृत्यु संस्कारमा लास बोक्नसक्ने मलामी पनि पाउन मुश्किल हुनसक्छ ।

यात्राको दोस्रो दिन बिहानै साँढे पाँच बजेनै उठ्यौँ । आफ्नो नित्यकर्म सकेर लगेजसहित आगन्तुक कक्षमा झरेर होटलवालालाई उठायौं । उनले होटेलदेखि हलचोकस्थित बस स्टपसम्म जानको लागि रू। ३०० भाडा तिर्ने गरी ट्याक्सी व्यवस्था गरिदिए । चालकले बस एकछिनमा आउँछ कुर्नुहोला भनेर फिर्ता भए ।

हामी त्यहाँ बसको प्रतिक्षामा खम्बा बनेर उभिइरह्यौँ । मानिस थपिएको पनि हैन, बस आएको पनि हैन । बस साँढे छ बजे छुट्ने भनिए तापनि उक्त समय बितिसक्दासम्म पनि न त बस आयो न त यात्रीको कुनै चहलपहल नै त्यहाँ । हामीमा छटपटि भयो । वरिपरि सोध्यौँ । त्यहीँ आउँछ भने । गाडिवालालाई फोन गछौँ, उठ्दैन । होटलवालालाई फोन गछौँ, उठ्दैन । नौलो ठाउँ, नौलो परिवेश र टाढाको गन्तव्य भएकोले नराम्रैसँग पसिना चिटचिटिन थाल्यो ।

मन खुर्सानीको खार बनेर उड्दैथियो । तर एकछिनपछि बसको सहचालक भाइ हामीलाई खोज्दै मुस्काएर आइपुगे त्यहाँ । उनको पो के दोष ? लाए अह्राएको काम गर्ने व्यक्ति बिचरा ! चिन्ताको पारो सर्लक्कै घटेर मन शान्त र ढुक्क भयो । बस रोक्ने ठाउँ त परिवर्तन भइसकेको रहेछ । ती भाइले हाम्रो लगेज बोकेर हिँडे । हामी उनको पछिपछि लाग्यौँ अर्कै बस बिसौनितिर ।

हामी गाडीमा चढ्यौँ र ढुक्कसँग बस्यौँ । गाडी बिस्तारै अगाडि बढ्यो । शुन्य किलो मिटरमा गएर रोकियो । थप केही मानिसहरू आए । टिकट काटेका केही व्यक्ति नआएकाले सहचालक भाइले उनीहरुलाई घरमै बोलाउन गए । उनीहरू आएपछि गाडी बाग्लुङ्ग सडकमा अगाडि बढ्यो । एकैछिनमा गाडी देब्रेतिर एउटा साँघुरो गल्लीभित्र मोडिएर एक व्यक्तिको हार्डवयर स्टोरभित्र छिर्‍यो । केही पाईप र घर निर्माणका सामग्रीहरू हाले ।

“घुम्ति घुम्ति रोड, मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, अहा क्या राम्रो बाग्लुङ्ग पञ्चकोट” एक गीतको भाकाको याद आयो ।

त्यही समयमा केही भारतीयहरू पनि मुस्ताङ्ग जाने तयारीमा रहेछन् तर कुनै परिचय नभएका । चालक र सहचालकसँग कुराकानी गरे । मुस्ताङ्गमा रहेका कोही चिनेको व्यापारी छ छैन भनेर उनीहरुलाई सोधे । उनीहरुबाट छ भन्ने प्रतिउत्तर आयो । त्यसो भए चेकपोष्टमा वा कसैले सोधेमा त्यहिँ जानलागेको भन भनेर सिकाए र अरु व्यवस्था गरौँला भने । उनीहरू पनि गाडीमा चढे । गाडी साँढे छ बजे पोखराबाट छुट्ने भनिए तापनि पौने सातमा मात्र छुट्यो ।

बस पोखरा बजार कटेर हरिचोक हुँदै घट्टे खोला पुल तरी हेम्जा प्रवेश गर्‍यो । गाडीको दाहिनेतिर सेती नदी सुसाउँदै अनकण्टार खोँचतिर लुक्ने तरखरमा थिइन् । बस भने सेतीलाई विदाई गर्दै बिपरित दिशामा छ लेनको सडकतिर कुलेलम् ठोक्दै थियो । हेम्जा सडक हेर्दामा विमानस्थलजस्तै फराकिलो, गुणस्तरीय र उत्कृष्ट थियो । विश्वको एक गुणस्तरीय र उत्कृष्ट सडककै हाराहारीमा । सडकका किनारामा घरहरूले ढाकिएका थिए भने आसपासमा धान खेत, वर्षे तरकारी, मनमोहक डाँडाहरूको हरियालीले हेम्जाको रौनक बढेको थियो ।

सुईखेत कटेपछि डाँडा फेदीको दोबाटोमा पुग्यो बस । अनि दायाँतर्फ धुम्पुस जाने बाटो छाडी वायाँतर्फ मोडिएर घट्टखोलाको पुल तरी सितल, शान्त, हरियाली र नागबेली सडकतिर उकालो लाग्यो । केही छिनमै ढिकुरपोखरी हुँदै लुम्लेको काँडे पुगेपछि गाडी ओरालो घुम्तीतिर लाग्न शुरुभयो । हरिया बोटबिरुवाले ढपक्क ढाकिएका सुन्दर पहाडहरूको काखमा रहेका तरेलीहरूमा धान बालीले आफ्नो यौवन देखाइरहेको थियो अतिनै मनमोहक तरिकाले ।

गाडी नयाँ पुलको प्रवेश विन्दु (जहाँबाट घान्द्रुक लाग्दछ) कटेपछि धौलागिरि प्रवेशद्वार प्रवेश गर्दै कास्कीलाई बाईबाई गरी पर्वत जिल्ला लाग्यो । अब हाम्रो दाहिनेतिर मोदी नदीको भङ्गालो, वेग र आवाज चर्को थियो । हामीभन्दा पनि हतारमा थिइन् मोदी । त्यसैले निकै मिडारिँदै र धमिलिँदै निरन्तर अगाडि लम्किरहेकी थिइन् ।

डिमुवा पुगेपछि मोदी नदीको पुल तरेर नदीलाई देब्रे पार्दै अगाडि बढ्यो गाडी । मोदीलाई हेर्दा उसको रुपरङ्ग उस्तै थियो । बस पातीचौर, जलविद्युत, खरेहवा हुँदै त्यहिँबाट मोदी नदीसँग पारपाचुके गरी कालीगण्डकीतर्फ मायापिरती लाउने गरी अगाडि बढ्यो र सवा नौ बजे पर्वतको कुश्मा बजार पुग्यौँ । बाटोमा ठाउँठाउँमा अजङ्गको ढुङ्गासहित पैरोका थुप्राहरूले केही दिन अगाडि बाटो अवरुद्ध पारेको अवस्था देखिन्थ्यो । खोलाका काँठतिर काँसका बिरुवाहरू सेताम्मै भएर फुलेका थिए भने डाँडा पाखा सुन्दर हरियालीले छाएकै थियो । डाँडाको फेदीबाट लमतन्न भई मोदी र कालीको दोभानसम्म फैलिएको थियो आफ्नो सुन्दरता फैलाउँदै कुश्मा बजार, जसको सुन्दरतामा कालीनदीमाथि निर्मित संसारकै लामो झोलुङ्गे पुलले सुनमा सुगन्ध थपिरएको थियो । बाटोमा त्यहाँ नाम चलेका होटलहरू बेन्जु, धौलागिरि र बन्दना पनि देखिन्थे ।

तल कालीगण्डकी बौलाइरहेकी थिइन ठूलाठूला भङ्गालो र आवाजमा । निरन्तर चड्काइरहेकी थिइन दुई किनाराहरूलाई । तर पनि उकासिरहेकी थिइन बेनीको मानोभाव ।

हामी कुश्मा बजार छाडेर काली नदीको किनारै किनार म्याग्दीतर्फ सीधै अगाडि बढ्यौँ । बाटोमा गुम्बा, सरकारी कार्यालयहरू पारगर्दै छमर्के, अर्मादी, बयरबोट, नयाँ पुल, सहस्रधारा हुँदै बाग्लुङ्ग जाने चोक मालढुङ्गा पुग्यौँ । मालढुङ्गा नेपाली मन मुटुमा कब्जा जमाउन सफल ठाउँ हो । मालढुङ्गामा काली नदीमाथिको पुल तरेर बाग्लुङ्ग जानेतिर नलागी हामी सीधै अगाडि बेनी जाने बाटो तर्फ लाग्यौँ । त्यतिखेरै “घुम्ति घुम्ति रोड, मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, अहा क्या राम्रो बाग्लुङ्ग पञ्चकोट” एक गीतको भाकाको याद आयो ।

मालढुङ्गा कटेपछि बाटो कतै पैरो त कतै हिलो । गाडी झल्लिँदै अनि हिलोमा मडारिँदै थियो । अब त लक्ष्मी पनि थकित भइसकेकी थिइन् । बिस्तारै खनियाघाट हुँदै करीब पौने एघार बजेतिर पर्वतको बेनी पुग्यो । बिहान खाना खाएको केही हैन । भोकले हामी सुसुपाल ।

बाहिर एक पसलमा स्थानीय केरा झुण्डिएको देख्यौँ । पसलमा अधबैसे एक महिला थिइन् । प्रति कोशा केराको रू. चालीसका दरले ठूला ठूला ४ कोशा किन्यौँ । खानलाई बोक्रा छोडाएको मात्र के थियौँ बाहिर राम्रै देखिए तापनि भित्र कुहिएकोले ती बहिनिलाई केराको कोशा देखाउँदै नछोडाएको तीन कोशा केराको पैसा फिर्ता माग्यौँ । तर मलिन र निन्याउरी भइन् । बसले हर्न बजाउन थालिसक्यो । पैसा फिर्ता गर्न अन्कनाउँदै श्रीमान गुहार्न पुगिन् । उनको श्रीमानले पुलुक्क हाम्रो हातको कुहिएको केरा र हाम्रो अनुहार हेर्दै पैसा फिर्ता गरे । पैसाको जिम्मेवारी र निर्णयाधिकार पुरुषमै सीमित रहेछ भन्ने लाग्यो । गाडी पनि गुडिहाल्यो ।

जोमसोममा अवस्थित एक विशाल र सुन्दर बौद्धिष्ट गुम्बा

पर्वत र म्याग्दीको सीमास्थित कालीगण्डकीको पूलमा रहेको म्याग्दी प्रवेशद्वारले स्वागत गरिराखेको थियो प्रत्येक आगन्तुकहरूलाई । तल कालीगण्डकी बौलाइरहेकी थिइन ठूलाठूला भङ्गालो र आवाजमा । निरन्तर चड्काइरहेकी थिइन दुई किनाराहरूलाई । तर पनि उकासिरहेकी थिइन बेनीको मानोभाव ।

गहिराइमा बगेकी कालीगण्डकी नदी, वरिपरि र वारिपारिका हरिया प्राकृतिक मनोरम दृश्यहरूले पनि चिन्ता कम गर्न केही भूमिका त खेलेकै थियो ।

म्याग्दीतर्फको बेनी बजारमा पनि बस एकछिन रोकियो । विभिन्न ठाउँमा जाने जीप तथा बसको जमघट राम्रै थियो । हाम्रो बसका खचाखच यात्रुहरू बेनीसम्म पुग्दा आधा जस्तो मात्र बाँकी थियो । बसले थप यात्रु पाउन सकेन । सधैं यस्तै हातल हुने होभने त व्यवसाय चौपट । लाग्दथ्यो, बसमा कम मानिस भएमा यात्रा सहज होला । तर कच्ची र उकालो बाटोमा त भार (तौल) पुगेन भने त झनै झल्लदो रहेछ गाडी र उकालो चढ्न पनि गाह्रो हुने रे ।

गाडी दाहिने मोडिएर कालीगण्डकीलाई दाहिने पार्‍यो । बाटो पैरोले अस्तव्यस्त । वर्षादको समयमा पैरिएको साँघुरो र हिलाम्य भीरको बाटोमा गाडीमा यात्रा गर्नु भनेको ज्यानलाई खुकुरी धारको कालपाशमा पार्नु सरह हो ।

सडकमा डोजरहरू पैरो सफा गर्न व्यस्त देखिन्थ्यो । तर पनि छिनछिनमा अगाडि–पछाडि अनि दायाँ–बायाँतिर देखिने अजङ्गको पहिरोले कहाँ मन पूर्णरुपमा भुलाउन सकिन्थ्यो र ! त्यो दृश्यले त “टुर त महाझुर” हुन्छ कि जस्तो लाग्न थालेको थियो ।

माटो सलल बगेर पहाडको आलो घाउ बनेको देखिन्थ्यो । जीन्दगीको यात्रा कतिखेर कालीगण्डकीमा अन्त्य हुन्छ कुनै अत्तोपत्तो थिएन । त्यसैले, बारम्बार घरमा फोन खबर पठाइरहन्थेँ । तर गाडी चालक र सहचालक भाइ निकैनै सम्यमित र गम्भीर देखिएकाले मनमस्तिष्कको केही भागमा पीडा र त्रास बिसेक गर्ने आशाको बीउ अंकुराउँथ्यो ।

लक्ष्मीको ढाड र कम्मर दुख्ने समस्या निकै नै पुरानो थियो । गाडीले केही घण्टा झ्यालटुङ् पार्दा पीडाको ज्वालाले हानिराखेको सजिलै अनुभूति गर्नसक्दथेँ । कतिखेर फेरि पुरानो व्यथा नराम्रोसँग बल्झने हो थाहा थिएन । कता यात्रालाई पूरा गर्न नसकी बीचबाटै फर्कन पर्छकि भन्ने चिन्ताले मनमथिङ्गल भरी कालो बादल रुमल्लिन थाल्यो । पीडाको ज्वाला मभित्र पनि दन्दनी दन्कन थाल्यो ।

गलेश्वरमा सडकको दाहिनेतिर केही तल गलेश्वर महादेवको मन्दिर थियो । गहिराइमा बगेकी कालीगण्डकी नदी, वरिपरि र वारिपारिका हरिया प्राकृतिक मनोरम दृश्यहरूले पनि चिन्ता कम गर्न केही भूमिका त खेलेकै थियो ।

एकैछिनमा टिप्ल्याङ्गमा बसले कालीगण्डकी नदीको पुल पार गरी नदीलाई देब्रे पारेर अगाडि बढ्यो । पुल कटेको एकैछिनमा अन्नपूर्ण गाउँपालीकाको वडा नं। ७ को कार्यालय कटेपछि बाटोमा महादेव झरनाले सबैको मन लोभ्याउँदै थियो । तर पनि बाटोको रुप, रङ्ग र दर्दनाक अवस्थाले मन फुलेर ढक्क हुन्थ्यो । डर र त्रास फिटिक्कै कम भएको हैन के रे ! बनको बाघले खाओस् नखाओस् मनको बाघले भने नराम्रैसँग खान थाल्यो हामीलाई ।

गाडी पिङ्ग बन्दै थियो । हामी पनि बसमा पिङ्ग खेल्दै पोखरेबगरको अन्नपूर्ण गाउँपालीकाको कार्यालय कटेर कालीगण्डकी पूल तरी नदीलाई फेरी दाहिने पार्दै म्याग्दीकोे तातोपानी पुग्यौँ । म्याग्दीमा यस्ता तातो पानी १४ स्थानमा रहेछन्, जसको तामक्रम सरदर ५० देखि ५८ डिग्री सेन्टिग्रेट ।

रुप्से सेतो गुजुल्टोले शोभायमान नीलो, सुन्दर र आकर्षक आकाशबाट झरेको जस्तो आभास मिल्दथ्यो । यसै छहराको तल बग्ने कालीगण्डकीले दुई पहाडको संगम स्थलसँग लाप्पा खेल्दै र चिर्दै संसारकै सबभन्दा विकराल गहिरो घाँटी बनाएको रहेछ ।

तातो पानीमा कालो नुन र फोस्फोरस तत्वको मिश्रण भएकोले प्राकृतिक एण्टिबायोटिकको काम गर्नेहुँदा एकै पोखरीमा धेरैजना बसिरहँदा पनि कुनै रोग नसर्ने रहेछ । बरु त्यहाँ त जोर्नी दुख्ने, ग्याट्रिक, चर्म (छाला), युरिक एसिड, ढाड दुख्ने, शरीर सुन्निने, गलगाँड (गोइटर) जस्ता रोगहरू निको हुने भएकोले मानिसहरू तातोपानी नुहाउन जाने रहेछन् । यो नै त्यहाँको आकर्षण रहेछ र पो होटेलहरू पनि धेरै बनेका रहेछन् ।

यस क्षेत्रमा त झनै साना तथा ठूला होटेलहरूले नै तातो पानीमा नुहाउने व्यवस्थित कुण्डहरू बनाएकोले पर्यटकीय गन्तव्य बनेको पाइयो । त्यस क्षेत्रको आयस्रोत बनाउने यो एक दरिलो माध्यम बन्नसक्ने भएकोले यसको त्यत्तिकै महत्वका साथ प्रचार प्रसार गर्न पनि जरुरी छ । हामी बसमा गएको हुनाले त्यहाँ झरेर डुबुल्की मार्दै नुहाउने अवसर भने जुटाउन सकिएन ।

त्यसपछि हामी म्याग्दीको दानामा रहेको रुप्से छहरामा पुग्यौँ । पहिरोको कारण बाटो अवरुद्ध भएर हाम्रो असोज तीन गतेको निर्धारिक यात्रा रोकिएको ठीकै रहेछ भन्ने लाग्यो । धन्न बगाएनछ पहिरोले साँघुरो पुल पनि ।

यो छहरा पोखरादेखि जोमसोम सडकमा पोखरादेखि करीब एकसय दश किलोमिटरको दूरीमा पर्दोरहेछ । यसको लम्बाई तथा उचाई जम्मा तीनसय मिटर जति रहेछ । यो छहरा म्याग्दी जिल्लाकै एक अलौकिक तथा अनुपम उपहार तथा पर्यटकीय गन्तव्य हो । त्यसैले मुस्ताङ्ग जाने पर्यटकहरू यो छहरा नहेरी गएमा यात्रा पूरा नहुने भन्ने भनाई पनि छ ।

रुप्से झरनाले उर्लंदो बैंस ओकल्दै थियो । त्यसैले त पर्यटकहरू उनको बैँसमा आनन्द लिइरहेका हुन्थे । कतिपय शूरवीर तथा विरङ्गनाहरू मृत्युको कुनै पनि प्रवाह नगरी नजिकै गएर चुम्दथे रुप्सेलाई अनि नारिएर अंकमाल गर्दै उन्मत्त भएर फोटो खिचेर रमाउँथे ।

रुप्से सेतो गुजुल्टोले शोभायमान नीलो, सुन्दर र आकर्षक आकाशबाट झरेको जस्तो आभास मिल्दथ्यो । सायद संसारमा यस्तो दृश्य विरलै भेटिन्छ होला । यसै छहराको तल बग्ने कालीगण्डकीले दुई पहाडको संगम स्थलसँग लाप्पा खेल्दै र चिर्दै संसारकै सबभन्दा विकराल गहिरो घाँटी बनाएको रहेछ । यो ठाउँ अति ठाडो र साँघुरो भएकोले भङ्गालो निकै दरो थियो ।

माथिबाट तल हेर्दा महेन्द्र पुलबाट सेती नदी दबिएजस्तै कहाली लाग्दो । यसो छेउतिर हेर्न खोजेको शरीरको सारा अङ्ग प्रत्यङ्ग जिरिङ्ग भई रौँहरू पनि ठाडा ठाडा हुन्थे । तर टिकटकर, युट्युवरको लागि त मध्यअसार लागिरहेको हुन्थ्यो त्यो ठाउँ । पर्यटकहरूको लागि रुप्से एक आकर्षक र मनोरञ्जनको गन्तव्य भए तापनि नदी डिलमा बारको अभावमा नदीमा खस्ने हुन कि भन्ने डर र त्रास बोकेकोले यात्रुको सुरक्षाको लागि नदी छेउतिर मजबुद बार व्यवस्था गर्नुपर्ने अवस्था देखिन्छ । अझ नदीको घाँटीमाथि पुल बनाउनसके नदीको दृश्यमा झनै रमाउने थिए पर्यटकहरु ।

रुप्से कट्ने वित्तिकै अलि उकालो बाटो पैरोको कारण समस्याग्रस्त र डरलाग्दो थियो । त्यहिमाथि बस खाली भएर लोड पुगेन भने कतिपय बस त उकालो पनि चढ्नै नसक्ने हुँदोरहेछ ।

घाँसाभन्दा केही यता एक होटल अगाडि रोकियो बस । बिहानदेखि पेटमा खाना नपरेकोले थकाली चिकन थाली सेट मगायौँ । भोक निकै नै मीठो भएकोले खाना पनि निकै नै स्वादिष्ट भयो ।

बिहान विना ईजाजत बसमा सवार सबै भारतीयहरूलाई गाडीका सहचालकको ईसारामा कुनै चेक जाँच नगरी पास भए । यस बापत भारतीयहरुले बस भाडा रू. सातसय बढी दिएको कुरा खुलाएका थिए । यसले हाम्रो सुशासन व्यवस्थापनलाई ठाडै चुनौति दिइरहेको आभाष भयो ।

त्यसपछि हामी केही छिनमै म्याग्दी र मुस्ताङ्गको सीमा क्षेत्र दाना पार गरी मुस्ताङ्गको घाँसा (२,०१० मिटरको उचाई) मा पुग्यौँ । घाँसामा अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट तथा सूचना केन्द्रमा पर्यटकहरूको चेक जाँच गरिने रहेछ । चेक जाँचपछि अवैध तरिकाले विना ईजाजत आउने पर्यटकहरूलाई रोकिनुपर्नेमा चेक जाँच कार्य भने निकै फितलो रहेको पाइयो ।

बिहान विना ईजाजत बसमा सवार सबै भारतीयहरूलाई गाडीका सहचालकको ईसारामा कुनै चेक जाँच नगरी पास भए । यस बापत भारतीयहरुले बस भाडा रू. सातसय बढी दिएको कुरा खुलाएका थिए । यसले हाम्रो सुशासन व्यवस्थापनलाई ठाडै चुनौति दिइरहेको आभाष भयो ।

त्यसपछि हामी ठीक सवा बाह्र बजे लेते (२,४८० मी.) पुग्यौँ, अनि लार्जुङ्ग (२,५५० मी.), कोबाङ्ग (२,६४० मी.), मार्फा (२,६७० मी.) हुँदै बेलुकी करीब चार बजे २,७२० मी. को उचाईमा रहेको मुस्ताङ्गको सदरमुकाम जोमसोम पुग्यौँ । पोखरेबगरमा कालीकण्डकी पुल तरेर नदीलाई दाहिने पारेर अगाडि बढेपछि जोमसोमसम्म यो नदीलाई फेरि तर्न नपर्ने रहेछ ।

यो ठाउँमा वि.सं. २०४३ मा तीनदिनसम्म बसेको थिएँ । त्यहाँ थपिएका केही पक्की नयाँ घरहरू, विशाल सडक, सेनाको थप व्यारेक, सशस्त्रको व्यारेक, ठूलो गाउँपालीका भवन, क्याम्पस र स्कूलहरू, विशाल र सुन्दर गुम्बा, गाडी गुड्ने पक्की पुलहरू मेरो लागि नयाँ आयाम थिए ।

वास्तवमा जोमसोम तिब्बती भाषा जोङ्साम (नेपाली अर्थ नयाँ किल्ला) अपभ्रंश भएर बनेको शव्द हो । नेपालीमा यसलाई झुम्सा भनिन्छ । अन्नपूर्ण हिमालको उत्तरपट्टि रहेको हुनाले पानी एकदम कम पर्दछ तर दिउँसो भने हावा वेगले चल्दछ । यहाँ जानको लागि पोखराबाट पैदल, हवाई तथा गाडीको मार्ग प्रयोग गर्न सकिन्छ भने मनाङ्गदेखि थोराङ्ग भन्ज्याङ्ग कटेर मुक्तिनाथ हुँदै पैदल बाटो पनि छ ।

पोखराबाट गाडीमा आउँदा म्याग्दीको बेनीबाट कालीगण्डकीको तिरतिरै बाटो छ । जोमसोमलाई कालीगण्डकीले दुईभागमा विभाजन गरेको छ । वारि र पारि जोमसोम जोड्न सबभन्दा पुछारमा झोलुङ्गे पुल, बीचमा काठको पुल र सबभन्दामाथि गाडी गुड्ने पक्की पुलहरु छन् । माथिल्लो पक्की पुलबाट मुस्ताङ्गको माथिल्लो क्षेत्रको केही अंश र कालीगण्डकीलाई अवलोकन गर्न सकिन्छ ।

हेर्दामा करीब पैँतीस वर्ष उमेरकी उनकी एक मात्र छोरी जोमसोमकै एक बैँकमा मेनेजर रहिछन् । कहिल्यै यो काम सानो, त्यो काम ठूलो नभन्ने । होटलमा कामगर्ने भएपनि अफिसबाट घरमा आएपछि घर तथा होटलको काममा व्यस्त ।

घरपाझोङ् गाउँपालीका चारमा पर्ने जोमसोम अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । जिल्लाको अधिकांश सरकारी कार्यालयहरू, स्कूल, कलेज, अस्पत्ताल, गुम्बा यहीँ छन् । मौसम सफा भएको अवस्थामा पहाड, जंगल, दक्षिणमा नीलगिरि र धौलागिरिहरूको अति राम्रा दृश्यहरू देखिन्छन् । तर खराब मौसमको कारण बादलको बाक्लो गुल्छाहरूले बेरेर राखेकोले ती हिमाली मुस्कानहरूसँग नजिकिन पाएनौँ ।

बस्नको लागि धेरै पहिलादेखि कृषि ज्ञान केन्द्र, जोमसोम, मुस्ताङ्गका साथीहरूको सिफारिसमा मुक्तिनाथ होटलमा कुराकानी भए तापनि हामीले त्यहाँ बस्नको लागि दिउँसो मात्र यकीन गरेको थियौँ । होटलमा पहिला मसँग कुराकानी भएकै बहिनी रहिछन् । कोठामा झोला थन्क्याएर होटलवाला बहिनीसँग भलाकुसारी गर्न गयौँ । चोखो बोलीको मिठासपनले सुमधुर मुस्कानको साथ पाहुनालाई गरिने सत्कारले हामी मन्त्रमुग्ध भइहाल्यौँ । वास्तवमा उनी एक सक्रिय किसान पनि रहिछन् र पो कृषि ज्ञान केन्द्रको नजरमा परेकी रहिछिन् । परिवारमा छोरा बुहारी विदेशमा, श्रीमान्, अविवाहित अमाजू, छोरी, ज्वाई र एक सानो नातिनी साथमा ।

हेर्दामा करीब पैँतीस वर्ष जति उमेरकी उनकी एक मात्र छोरी जोमसोमकै एक बैँकमा मेनेजर रहिछन् । उनी निकैनै सरल, सभ्य, सिष्ट, अनुशासित र मेहनती । कहिल्यै यो काम सानो, त्यो काम ठूलो नभन्ने । होटलमा कामगर्ने व्यक्ति भए तापनि अफिसबाट घरमा आएपछि पनि घर तथा होटलको काममा व्यस्त । अनि पो हुन्छ विकास ।

आमा बुबाको काममा ढपक्क ढाकिदिने र पो बुबा आमाको अनुहार र हाँसोमा रौनक र उर्जा थियो । यस्ता श्रमजीवी छोरी विरलै भेटिन्छन् हिजो आज । ज्वाईँ पनि त्यत्तिकै असल र मेहनती । काठमाडौँमा करीब एक दशकभन्दा बढी राम्रै होटलमा काम गरेर राम्रो अनुभव सँगालेका । कतिपय युवाहरू विदेसिए तापनि उनीहरूलाई विदेशी मोहले तान्न नसकेको । गाउँमै केही काम गर्नुपर्छ भन्ने हुटहुटी जागेर काठमाडौँबाट आफ्नै क्षेत्र फर्केका । त्यसैले उनीहरू एक प्रेरणाका स्रोत बनेका छन् ।

जोमसोमसम्म त पुग्यौँ । त्यसभन्दा माथिल्लो क्षेत्रतिर जानको लागि गाडीको व्यवस्था थिएन हाम्रो । त्यसैले, दिउँसो बसको ड्राईभरले दिएको ट्याक्सीवाला भाइ कुमारलाई सम्पर्क गर्‍यौँ, जो पहिला बसबाट झर्ने वित्तिकै पनि भेट भएका थिए । भाइ होटलमै आए । उनी गोरो, मध्यम गदको, ऋष्टपुष्ट, एकदम मिजासिला, सहयोगी र फूर्तिला थिए । गाडी व्यवस्थापनमा राम्रै सहयोग पाइयो । दुईदिनको लागि हामी दुईजनाको लागि कागबेनी, मुक्तिनाथ, लोमानथाङ्ग, कोरला नाका गएर आउन दुईदिनको लागि रू। २२,००० मा टुङ्गो लगायौँ ।

मृत्युदेखि नडराउने व्यक्ति म । तर डराएँ म बेस्सरी यसपटक । विवाहपछिका एकसाल बाहेक हरेक जोरसालले मृत्यु बोकेर ल्याएको छ मेरो लागि तर मर्न सकेको छैन ।

लक्ष्मीकी माहिली बहिनीको छोरी ज्वाइँ पनि त्यहिँ जोमसोमको नेपाली सेना (शिक्षण) मा जागिरे भएको कारण फोन गरेर हामी आएको जानकारी दियौँ । केही समयमै हामीसमक्ष आउनुभयो मृदूभाषी युवा जोशिलो र फूर्तिको साथ । त्यसपछि हामीलाई घुमाइदिनुभयो वारिपारिको जोमसोम बजार । करीब डेढ घण्टाको घुमाईपछि हामी होटेल फक्यौँ ।

थकाली खाना नेपालमा एक विशेष गुणस्तरीय ब्राण्ड नै बनिसकेको छ । तल्लो क्षेत्रहरुमा यात्रा गर्दा त थकाली खाना खोजीखोजी खाने गर्दथेँ । त्यो दिन त झन् थकाली खानाको राजधानी थाकखोलामा हामी । त्यसैले, बेलुकी विशेष थकाली चिकन थाली सेट खायौँ हामी सबैले त्यहिँ होटेलमा । खानाको गुणस्तर र स्वादको वयान गर्ने शव्दहरु नै छैनन् ।

मुस्ताङ्गको सदरमुकाम जोमसोममा कालीगण्डकी नदी पुलमा श्यामलाल श्रेष्ठ (ज्वाईं) र श्रीमती लक्ष्मीमाया श्रेष्ठ

करु (उवा), जौ, स्याउ, खुर्पानी तथा आरुबखडाको रक्सी त्यहाँको स्थानीय उत्पादन भएकोले लक्ष्मीले थकान दूर गर्न उवाको एक प्याक लाउने विचार गरिन् । हामीले ज्वाईंलाई पनि एक प्याक लिनको लागि निकै नै अनुनय विनय गर्‍यौँ । तर लिनु भएन । आजको युवा पनि यति कट्टर भएर बस्नसक्ने बानी । होटेलवाला बहिनीसहित हामी दुबैजना निकैनै प्रभावित भयौँ ।

खानापछि विदावादी भयौँ र हामी पनि विस्तारै बिछ्यौनातिर लाग्यौँ । तुलनात्मक रुपले खानाभन्दा रक्सी महङ्गो पर्नेरहेछ । फोनमा कुराकानी हुँदा बस्ने कोठाको एक रातको पन्ध्र सय रूपियाँको टुङ्गो लगाएको भए तापनि एकहजार रूपियाँको दरले मात्र लिए ।

त्यति उचाईमा पुग्दा पनि लामखुट्टेले छाडेको होइन के रे ! डेङ्गुको डरले विद्युतीय झोलयुक्त विषादीको प्रयोग त गर्‍यौँ तर जाडोको कारण झ्याल ढोका पनि बन्द गरेका थियौँ । मध्य रातिमा ब्युँझदा म त निकै नै निस्सासिएर अप्ठ्यारोमा परेको रहेछु । शरीर पसिनाले निथ्रुक्क । एक त अक्सिजनको कमी त्यसमाथि विषादीको ग्याँसको गन्ध ।

एकछिन पछि अक्सिमिटरले अक्सिजन मापन गर्दा असी प्रतिशतभन्दा कम । विश्वास नलागेर तीनपटक नापेँ तर एकै देखियो । कोभिड बिरामी हुँदा थाहापाए अनुसार शरीरमा अक्सिजनको मात्रा बयान्नब्बे प्रतिशतभन्दा कम भएमा स्वास्थ्यमा निकै नै जोखिम हुनेरहेछ ।
त्यसपछि, श्रीमतिलाई पनि तुरुन्त उठाएँ, उन्को पनि हालत त्यस्तै । एकछिनमा अक्सिजन जाँचगर्दा उनको पनि निकैनै कमी देखियो । तर मेरो जस्तो गम्भीर अवस्थाको थिएन । म विषादीको गन्धप्रति अति नै संवेदनशील छु । केही वर्ष अगाडि विदेशी पाहुनासँग अफिसबाट बीउबिजन सर्भेको लागि लगनखेलमा एक एग्रोभेटमा पसेका मात्र के थियौँ त्यहाँको विषादीको गन्धले झण्डै बेहोस भएको थिएँ । मसँग साथै जाने सबैजना निकै अत्तालिएका थिए । अनि कामै नगरी फिर्ता भएका थियौँ ।

हिमाली क्षेत्रमा प्राकृतिक रुपमै अक्सिजनको कमी हुने क्षेत्र । बन्द कोठामा दाउरा, कोईला, ग्यास वा विद्युतीय हिटर बालेर सुत्दा अक्सिजनको कमीले मानिसहरूको सुतेको सुत्यै मृत्यु भएको घटना त ताजै थियो । तर लामखुट्टे नियन्त्रण गर्न प्रयोग गरिने विषादीको ग्यास बन्द कोठामा लामो समयको प्रयोगले पनि मानव स्वास्थ्यमा असर गर्दोरहेछ ।

जाडो भए तापनि त्यसपछि हत्तपत्त एउटा झ्याल खोल्यौँ, विषादीको विद्युतीय लाइन पनि बन्द गर्‍यौँ । घरबाट लगेको घरेलु औषधीको धुलो चाट्न थाल्यौँ। कोभिडको बेलामा अक्सिजन लेभल बढाउन सिकाइएको कसरत गर्‍यौँ । तातो पानी पनि पियौँ । करीब आधा घण्टाको प्रयाशपछि अक्सिजन स्तर चौरान्नब्बे प्रतिशतभन्दा माथि गयो । त्यसपछि त मेरो मृत्यु टरेर गयो त्यो रात जस्तो लाग्छ । अक्सिजन स्तर बढे तापनि स्वासप्रश्वासमा भने अप्ठ्यारो नै भएकोले दुबै जना नसुती जागाराम बसियो त्यो रात ।

मृत्युदेखि नडराउने व्यक्ति म । तर डराएँ म बेस्सरी यसपटक । विवाहपछिका एकसाल बाहेक हरेक जोरसालले मृत्यु बोकेर ल्याएको छ मेरो लागि तर मर्न सकेको छैन । मेरी श्रीमती पनि छस्किन्छिन् जोरसालसँग ।

विवाहपछिको जोरसालको कुरा गर्दा मेरो जीवनी, व्यक्तित्व र कृतित्वको बारेमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसकी स्नातकोत्तर तहकी विद्यार्थी नानीमाया मल्लले २०७८ मा उनको सोधपत्रमा पनि मेरो विवाहपछिको जोर सालको कारुणिक तथा र व्यथाहरुको चित्रण गरेकी छिन् ।

सायद, अब त लाग्छ मेरो मृत्यु पनि जोर सालमै हुन्छ होला । केही वर्ष अघि सिमिटमा कामगर्दाको कुरा हो कामगर्ने सहकर्मी मित्र शैलजा थापा जोर सालमा मसँग गाडीमा सँगै यात्रा गर्दा डरलाग्ने कुरा पनि सुनाउने गर्थिन ।

जोमसोमको २०८० असोज पाँच गतेको मध्यरातपछिको समयले एक दह्रो सन्देश दिएको छ हामीलाई । बन्द कोठामा धुवाँ आउने कुनै पनि किसिमको बस्तु लामो समय प्रयोग गरेर सुत्दा अक्सिजनको कमीले स्वास्थ्यमा गम्भीर समस्या आउने रहेछ । त्यहिमाथि हिमाली क्षेत्रमा प्राकृतिक रुपमै अक्सिजनको कमी हुने क्षेत्र । बन्द कोठामा दाउरा, कोईला, ग्यास वा विद्युतीय हिटर बालेर सुत्दा अक्सिजनको कमीले मानिसहरूको सुतेको सुत्यै मृत्यु भएको घटना त ताजै थियो । तर लामखुट्टे नियन्त्रण गर्न प्रयोग गरिने विषादीको ग्यास बन्द कोठामा लामो समयको प्रयोगले पनि मानव स्वास्थ्यमा असर गर्दोरहेछ ।

बिहान भयो । स्वासप्रश्वासमा केही सुधार भएकोले निर्धारित समयमा माथिल्लो मुस्ताङ्ग जाने तयारीमा लाग्यौँ र करीब पौने सात बजे त्यहाँबाट प्रस्थान गर्‍यौँ ।

नोट : मुस्ताङ्गमा यात्रा गर्दाका अन्य दुईवटा लेखहरु पनि क्रमशः आउँदैनन् । प्रतिक्षा गर्नुहोला ।

तपाइँको प्रतिक्रिया

फेसबुक