शुक्रबार, वैशाख २१, २०८१

हाम्रा कारणले डायस्पोरा नेपालीको एकता नखल्बलियोस

डा. हेम राज शर्मा२०८० पुष १७ गते १९:२८

प्रिय महेशजी, जापानको दुइ हप्ता बसाइ पछि आज बेलायत फर्किँदै छु । विगतको जापानको बसाइमा जस्तो यस पटक धेरै अन्तरङ्गका कुराहरु हुन पाएनन् । त्यसैले टोकियो देखि दोहासम्मको १३ घण्टा लामो पट्यार लाग्दो उडानमा विगतको हाम्रो सम्वन्धबारे घोतलिन मन लाग्यो ।

म १९९७-१९९८ मा टोकियोमा रहँदा साथीहरुबाट तपाईको नाम सुनेको थिएँ । तर भेट्ने अवसर मिलेको थिएन । २००२-२००७ को मेरो जापानको दोश्रो बसाइमा भने हामी बिचको सम्बन्ध निकै गाढा बन्यो । आफ्नै गाउँ ठाउँको र तपाई व्यवसायमा स्थापित व्यक्ति भएकोले भन्दापनि एउटा अभियानले हामीलाई जोडेको थियो ।

सन् २००५ मा राजा ज्ञानेन्द्रले नेपालको सकृय राजनीतिमा हात हालेपछि यसको बिरोध गर्ने उद्देश्यले सन् २००६ को शुरुमा पिस एण्ड डेमोक्रेटिक फोरम जापान (पिडिएनएफजे) नामक एउटा संस्था गठन भएको थियो । त्यतिबेला अहिले जस्तो राजनितिक दलका भातृसंगठन सकृय थिएनन् । त्यसैले कुनैपनि राजनितिक विचारधारा राख्ने र स्वतन्त्र व्यक्तिहरुलाई समेटेर पिडिएनएफजे गठन गरिएको थियो । त्यसको नेतृत्व तपाईले गर्नु भएको थियो भने डा. सुर्य पाठक, डा. गोबिन्द राज पाण्डे, डा. तारा निधी निरौला, डा. विश्व कँडेल, तिलक मल्ल, बेलु थापा, शालिकराम भण्डारी, डा. भुपेन्द्र श्रेष्ठ, डा. भुपाल गोबिन्द श्रेष्ठ, सुरेश श्रेष्ठ, अरुण श्रेष्ठ जस्ता कयौँ साथीहरु सहयोगी थियौँ ।

पिडिएनएफजेको रणनीतिक योजना बनाउन टोक्यो भन्दा बाहिर रहेको म बस्ने शहर चुकुबाको एक शान्त पार्कमा बार्बिक्यु सहितको एउटा बैठक बस्यो । त्यसको आतिथ्यता गर्ने अवसर हामीलाई मिलेको थियो । संभवत त्यसै दिनदेखि हाम्रो पारिवारिक सम्वन्धपनि शुरु भएको थियो ।

तपाई जस्तो लोकतन्त्रमा विश्वास गर्ने, स्वच्छ र निष्ठावान व्यक्तिले एनआरएनएको खोल ओडेर र राज्यसत्ताको आडमा जे पनि गर्न पनि सकिन्छ भन्ने मानसिकता बोकेका र परिस्थितिको फाइदा उठाउने बिचौलियाहरुको गतिविधिलाई सहयोग गर्नु हुँदैन भन्ने हाम्रो अपेक्षा छ ।

पिडिएनएफजेको अभियान असफल पार्न टोकियो स्थित नेपाली दुतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व रहेका केही व्यक्तिहरुले निकै प्रयत्न गरेका थिए । दुतावासले राजा ज्ञानेन्द्रको कदमको विरोधी अभियानमा अवरोध गर्नु स्वभाविक भएपनि एनआरएनएका पदाधिकारीहरु सहभागी हुनु गलत थियो । त्यसैले २००६ को मे महिनामा भएको एनआरएनए जापानको अधिवेशनमा यसको विरोध जनाउने निर्णय भयो । उक्त अधिवेशनमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, भिम उदास, देवमान हिराचन लगायतको उपस्थिति थियो ।

मेरो महत्वाकांक्षा नभएपनि त्यस अधिवेशनमा तपाई लगायतका अभियानका साथीहरुको आग्रहमा एनआरएनए जापानको महासचिवमा जाने निर्णय भयो ।

पछि तपाई जनसम्पर्क समिति जापानको अध्यक्षमा चुनाव लड्ने निधो गर्नुभयो । जनसम्पर्क समितिको सदस्य नभएकाले मतदान गरेर सहयोग गर्न नसके पनि एक साथीको हैसियतले अप्रत्यक्ष रुपमा तपाईलाई जनसम्पर्क समितिको अध्यक्षमा निर्वाचित हुन सहयोग गरें ।

त्यसपछिका घटनापनि मेरो मानसपटलमा घुमिरहेकै छन् । २००७ अप्रिलमा बेलायत आएँ म । त्यसपछि भएको एनआरएनए जापानको निर्वाचनमा तपाईले भवन भट्टसँग अध्यक्ष पदमा लड्ने निर्णय गर्नुभयो । त्यो निर्वाचनको कहानी सुन्दा विचित्रको लाग्छ । सदस्य नभएका तर मतदान स्थल पुग्ने सबै नेपालीलाई मतदान गर्न दिइएछ । कसले कति पटक मतदान गर्यो त्यसको पनि लेखाजोखा थिएन रे । त्यस्तो निर्वाचनको परिणामलाई अस्विकार गर्न तपाईलाई साथीहरुले दबाब दिनु भएको थियो । तर आफ्नै सहमती र सहभागिताले भएको निर्वाचनको परिणाम अस्विकार गर्दा समाजको एकता खलबलिने र लोकतान्त्रिक मुल्य र मान्यताको विपरित हुने भएको भन्दै मतगणनामा सहभागी भएर भवन भट्टलाई बधाई दिँदै निस्किनु भयो ।

२०३७ मा विपी कोइरालाले जनमत संग्रहको धाँधलीयुक्त परिणाम स्विकार गर्नु भएको लोकतान्त्रिक आचरणलाई पछ्याउँदै एनआरएनए जापानको त्यो निर्वाचनलाई स्विकार गरेको स्वीकारोक्ति तपाईले गर्नुभएको थियो । तपाईको त्यो निर्णयबाट जीवाजी यसरी प्रभावित हुनु भएको थियो कि निष्ठा र इमान्दारिताको उदाहरण दिन त्यो घटना स्मरण गराउनुहुन्थ्यो । त्यो कदमले तपाईको कद सानो भएन बरु समाजमा झन् सम्मानित हुनुभयो । तपाईका यस्तै आदर्श र सिद्धान्तका कारणले हामी सधै साथमा रह्यौं ।

एनआरएनए अभियान हामीहरुलाई जुटाउन लागि शुरु भएको हो, न कि हामी बिच भइराखेको सम्बन्ध बिगार्न । एनआरएनए भनेको हाम्रो न पेशा हो, न भूत न भविष्य । हाम्रा लागि व्यक्तिगत सम्बन्ध, निष्ठा, इमानदारिताले निकै महत्व राख्छ ।

सन् २०१९ को निर्वाचनमा कुमार पन्तको नेतृत्वमा म महासचिवमा निर्वाचित भएँ, तपाई कोषाध्यक्षमा । आर्थिक पारदर्शिता, स्मार्ट एनआरएनए, फेस भेरिफिकेसन मार्फत अनलाइन मतदान जस्ता कयौँ रुपान्तरणका मुद्दामा हामीले सँगै काम गर्यौँ । बिहान उठ्ने बेला र राती सुत्ने बेला प्रत्येक दिन हामी बिच अभियानका यस्तै मुद्दा बारे चिन्तन मनन गर्थ्यौँ । यतिसम्म कि मेरो सानो छोराले म जोसँग फोनमा कुरा गरे पनि ‘महेश श्रेष्ठ अंकल हो’ भन्थ्यो ।

त्यति मात्रै हो र ? हरेक वर्षको मेरो जापान भ्रमणमा तपाईको घरमा कयौं रातहरू सँगै बिताएका छौं । भाउजूले पकाएको मिठो भोजन कयौं पटक खाएको छु । यस्तो प्रगाढ सम्बन्ध भएका हामी दुइ गत अक्टोबरमा भएको एनआरएनएको निर्वाचनमा विपरित धारमा उभिन्छौं भन्ने कसैलाई लागेको थिएन । निर्वाचनको बेला भाउजूसँग आँखामा आँखा जुधाएर बोल्न सकिन । र अहिलेको जापान भ्रमणमा भाउजूलाई भेट्ने सामर्थ्य जुटाउन पनि सकिन ।

२०१९ को निर्वाचनमा हायात होटलको निर्वाचनमा घटनाको प्रत्यक्षदर्शी थिएँ । जो व्यक्तिहरुले त्यहाँ हङ्गामा गरे उनीहरु निर्वाचनमा उपविजेता बने । उनीहरुले निर्वाचित समितिलाई २ वर्ष काम गर्न अवरोध खडा गरे । कोभिड जस्तो मानविय समवेदनासँग जोडिएको आइएलओ परियोजनालाई राजनीतिकरण गरे । निर्वाचनमा अनुमोदित भएका रुपान्तरणका एजेण्डाहरु (अनलाईन प्रणालीबाट सबै सदस्यहरुले मतदान गर्ने, शुन्य सदस्यता शुल्क, स्मार्ट एनआरएनए परियोजना, राजनीति र पैसाको प्रभाव नहुने खालको निर्वाचित प्रणाली आदि) लागु गर्न विधान संशोधन गर्न अवरोध खडा गरे । केही एजेण्डा (शुन्य सदस्यता शुल्क सहित) हटाए पछि विधान पास गर्न त सहयोग गरे तर अधिवेशनबाट संशोधित विधान प्रमाणिकरण नगर्न परराष्ट्र मन्त्रालयमा धर्ना दिए । पछि प्रमाणित विधानलाई मानेर एनसिसिको निर्वाचनमा गए । तर आइसिसिको निर्वाचनमा परिणाम आफ्नो पक्षमा नआउने भएपछि राज्यसत्ताको आडमा निर्वाचन रोकेनन् मात्र कि शेष घलेलाई समानान्तर महाधिवेशन गर्न समेत उचाले । तर पदको लोभमा रातारात शेष घलेलाई अलपत्र पारे । उनीहरुका यस्ता गतिविधि देखि म जस्तै तपाई पनि दिक्क हुनुहुन्थ्यो ।

२०२३ मा हुने निर्वाचनमा हामीले बोकेका मान्यता बोकेर अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो । बद्री केसी लगायतका साथीहरुलाई विश्वासमा लिएर निर्वाचनमा जान म, गौरीजी लगायतका रुपान्तरणको पक्षमा उभिएका (तपाईसँग राजनितिक रुपमा फरक धारणा राख्ने समेत) साथीहरुले सुझाव दिएका थियौँ । एनआरएनएको मर्म अनुसार सर्वपक्षीय उम्मेदवारहरुलाई साथमा लिएर हिँड्ने वातावरण बनाउनुहुन्छ भन्ने अपेक्षा थियो । तर दलीय राजनीतिको सानो घेरामा रहेको त्यही २०२१ निर्वाचनमा अवरोध खडा गर्ने समूहबाट चुनाव लड्दा आफूलाई सुरक्षित देख्नुभयो । त्यस दिन देखि हामी अक्टोबरको चुनावमा दुई धारमा उभियौँ ।

हामी आफैंले बनाएको निर्वाचनको बिरुद्ध परराष्ट्र वा अदालतमा मुद्दा हाल्न नैतिकताले दिँदैन भन्ने कुरामा तपाई प्रष्ट हुँदाहुँदै पनि तपाई कता कता बहकिनु भएको पाएँ ।

शेष घले जस्ता हस्तीलाई खाल्डोमा हाल्न सक्ने र आफ्नो स्वार्थको लागि संस्था नै फुटाउन सक्ने त्यो समूहले तपाई जस्तो सोझो र इमान्दार व्यक्तिलाई असहयोग गर्न सक्छन भन्ने अनुमान पहिले नै थियो । यसबारे मैले पटक पटक तपाईलाई सजक गराएको पनि थिएँ । निर्वाचन परिणामले त्यो कुराको पुष्टी पनि गर्यौ । भेरो वा अन्य प्राविधिक र प्रक्रियागत त्रुटीका कारण नभइ तिनै व्यक्तिहरुको घात र निर्वाचनको कमजोर व्यवस्थापनका कारणले आफू पराजित भएको कुरा हाम्रो टोकियोमा भएको भेटघाटमा पनि तपाईले स्विकार्नु भयो र विगतमा झैं इमान्दारिता प्रकट गर्नुभयो ।

२०२१ मा परराष्ट्र मन्त्रालयले एनआरएनएको निर्वाचनमा हस्तक्षेप गरेको थियो । त्यस हस्तक्षेपको बिरुद्धमा तपाई खम्बा जस्तै उभिनु भएको थियो । तपाईले ‘कन्भिन्स’ नगरेको भए सायद कुमार पन्त मन्त्रालयको त्यो कदम बिरुद्ध अदालत जाने थिएनन् । अदालतको फैसला एनआरएनएको पक्षमा आयो । तर आफ्नो त्यही सिद्दान्त र उच्च अदालतको निर्णय बिपरित गत अक्टोबरमा भएको निर्वाचन बदर गरी पुनर्निर्वाचन गराउन परराष्ट्रमन्त्रीलाई उकासिरहेका उनै धोकेबाजको समूहलाई तपाईले साथ दिएको सुन्दा मलाइ लाग्यो ‘परिस्थितिले महेशजीको निष्ठा र इमानदारितालाई बिस्तारै मार्दै छ।’

२०२१ र २०२३ को निर्वाचन फरक किसिमले भएको थियो भन्ने हामी जानकार छौं । २०२१ मा निर्वाचित समितिले निर्वाचनको तयारी गरेको थियो भने उपविजेताहरु बाहिर थिए । यद्यपी उपविजेताहरुलाई विश्वासमा लिएर अगाडि बढ्न कुमार पन्तले निकै कोशिस गरेका थिए ।

२०२३ को निर्वाचन भने सबै पक्ष मिलेर गराएको हो । अनलाईन मतदानको लागि भेरो खोज्ने, प्रतिनिधि छान्ने, निर्वाचन समिति बनाउने देखि निर्वाचनको परिणाम घोषणा गर्नेसम्म हामी सबै मिलेर हाम्रै सहमतिमा भएको हो । हामी आफैंले बनाएको निर्वाचनको बिरुद्ध परराष्ट्र वा अदालतमा मुद्दा हाल्न नैतिकताले दिँदैन भन्ने कुरामा तपाई प्रष्ट हुँदाहुँदै पनि तपाई कता कता बहकिनु भएको पाएँ । तपाईमा यसरी विचलन आएको मैले पहिले देखेको थिइन ।

परराष्ट्र मन्त्रालयबाट पत्र लेखाएर, अदालतबाट मुद्दा जितेर, बहु अध्यक्ष बनाएर हामी कहिँ नपुगिने रहेछ भनेर भर्खरै पाठ सिकेको होइन र ? निर्वाचनमा भएका स-साना त्रुटिलाई देखाएर निर्वाचन परिणामलाई नमान्ने र परराष्ट्र मन्त्रालयबाट हस्तक्षेप गराउँदै जाने हो भने हरेक दुई वर्षमा यस्ता समस्या दोहोरिँदैन र ?

अहिले कांग्रेस र माओवादीको सरकार हुँदा उनीहरुले मन नपराएका कारण निर्वाचित समितिलाई मान्यता नदिने नजिर स्थापित गर्ने हो भने आउने दिनमा एमाले वा अर्को पार्टीको सरकारले त्यसको अनुसरण गर्दैन भन्ने के ग्यारेन्टी छ र ? तपाई जस्तो लोकतन्त्रमा विश्वास गर्ने, स्वच्छ र निष्ठावान व्यक्तिले एनआरएनएको खोल ओडेर र राज्यसत्ताको आडमा जे पनि गर्न पनि सकिन्छ भन्ने मानसिकता बोकेका र परिस्थितिको फाइदा उठाउने बिचौलियाहरुको गतिविधिलाई सहयोग गर्नु हुँदैन भन्ने हाम्रो अपेक्षा छ । सफल नेतृत्वको लागि तपाई भिडमा हराउने होइन कि भिडलाई तपाईको बिचारमा डोर्याउन सक्नुपर्छ ।

तपाई, जीवाजी र थुप्रै नेपाली कांग्रेस नजिकका साथीहरुलाई लागेको छ कि अक्टोबरको चुनावमा मैले सहयोग गरेको भए सायद तपाई पराजय हुनुपर्ने थिएन । त्यो कति सत्य थियो, मैले त्यस्तो निर्णय गरेको भए त्यसले तपाईको लागि कस्ता प्रतिकूल परिस्थिति सृजना गर्थ्यौ यी सबै गर्वमा रहेका विषय भए । तपाईहरु जस्ता शुभचिन्तकहरुको आग्रहमा म भित्रको विश्वास र व्यावहारिकता बिचको द्वन्दमा मैले कैयौं पटक आफैसँग संझौता गरेको छु, चाहे त्यो २०२१ मा तीन अध्यक्ष बनाउने निर्णय होस वा एनसिसि युकेको निर्वाचित समितिलाई खुम्चाउने निर्णय होस् । तर माफ गर्नुहोला, यस पटकको निर्वाचनमा मेरो मन संझौता गर्न तयार भएन । मेरा लागि त्यो बढो कठिन निर्णय थियो । तपाई र जीवाजी जस्ता शुभचिन्तकहरुको विश्वास गुमाउन सक्छु भन्ने आँकलन सहित त्यो निर्णयमा पुगेको थिएँ । त्यो निर्णय कसैसँग प्रतिशोध लिन गरेको थिइन । न मेरो कुनै निजी स्वार्थको लागि वा भविष्यको नेतृत्वको लेखा जोखा गरेर गरेको निर्णय थियो । त्यो केवल म भित्रको विश्वासलाई स्थापित गर्न चालेको कदम थियो ।

अहिले कांग्रेस र माओवादीको सरकार हुँदा उनीहरुले मन नपराएका कारण निर्वाचित समितिलाई मान्यता नदिने नजिर स्थापित गर्ने हो भने आउने दिनमा एमाले वा अर्को पार्टीको सरकारले त्यसको अनुसरण गर्दैन भन्ने के ग्यारेन्टी छ र ?

सन् २०२१ मा बिना कारण निर्वाचन हुन नदिएर साथीहरुलाई अन्याय भयो, त्यसको करेक्सन हुनुपर्छ भन्ने मेरो विश्वास थियो । साँच्चिकै भन्दा २०२१ को निर्वाचनमा अन्यायमा परेका सबैजसो साथीहरु यसपाली निर्वाचित भए । तपाईको ब्यानरबाट चुनाव लड्ने ५० प्रतिशत साथीहरु अहिले सचिवालयमा निर्वाचित भएका छन् ।

अन्त्यमा, एनआरएनए अभियान हामीहरुलाई जुटाउन लागि शुरु भएको हो, न कि हामी बिच भइराखेको सम्बन्ध बिगार्न । एनआरएनए भनेको हाम्रो न पेशा हो, न भूत न भविष्य । हाम्रा लागि व्यक्तिगत सम्बन्ध, निष्ठा, इमानदारिताले निकै महत्व राख्छ । त्यसैले चुनावलाई बिर्सेर एनआरएनए अभियान र समग्र डायस्पोराको एकता र उहाँहरुको भरोसा र अपेक्षामा कुनै कमी नआउन एउटा विश्वासको वातावरण तयार गरौँ ।

मेरो अर्को भेटमा भाउजूले पकाएको भोजनसँगै तपाईका गीतका रागले हामीले सँगै रात बिताउन पाउने अपेक्षा सहित,
तपाईको शुभचिन्तक
हेम राज शर्मा
२५ डिसेम्बर २०२३

तपाइँको प्रतिक्रिया

फेसबुक