गंगा जस्ती ‘नयना’- भाग चार
(गंगा जस्ती ‘नयना’ को पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस् र तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)
नयना र मेरो सम्बन्धले नयाँ बाटो लिँदै गयो। दरबार घटनाको भोलिपल्टको हाम्रो भेटले हामीलाई झन नजिक बनायो। दुई मनलाई एक बनायो। शारीरिक रुपमा मात्र नभई भावनात्मक रुपमा पनि एक बनायो।
समयक्रमसँगै मेरो स्नातक तेस्रो बर्षको परीक्षा पछि जागिरको खोजिमा थिएँ म ।संयोगले एक साथी मार्फत एक नाम चलेको प्राईभेट कम्पनीमा बजार ब्यबस्थापकको जागिर पाएँ । जागिर पछि मेरो ब्यस्तता बढेपनि कहिलेकाहीँ नयनासँग भेट भईरहन्थ्यो। यसरी भेट्ने क्रममा एकदिन उसले एउटा खाम भित्र राखेको रातो कार्ड हातमा थमाई मलाई।
मैले सोधें ‘के हो यो ?’
उसले उत्तर दिई ‘विवाहको निम्तो।’
मैले खाम भित्र हेर्दै नहेरी सोधें ‘कसको ?’
उसले हाँस्दै फेरि उत्तर दिई ‘मेरो।’
मलाई विश्वास लागेन। खाम खोलेर हेरें। उसको नाम कतै देखिन।
सोधिहालें ‘किन ढाँटेको ?’
उसले जवाफ फर्काई ‘तिमीले के भन्छौ भनेर नि। जिस्क्याएको हो है। नरिसाउ ल। सरि!’
उसले पुन कुरा अगाडि बढाई ‘मेरो बहिनीको बिहे हो। आउ है ?’
मैले आउँछु भन्ने भावका साथ टाउको हल्लाएँ।
मनमा प्रश्न थियो। सोध्न मन थियो ‘तिम्रो बिवाह नभई बहिनीको बिवाह पहिला किन ?’ मनभित्रको प्रश्न मनमै रह्यो। मैले मुख खोलेर सोध्ने आँट गर्न सकिन। मैले बिवाहमा आउने वाचा गरें।
समय बित्यो। उसको बहिनीको बिवाहमा म गइन। म सँगको एक भेटमा उसले निकै गुनासो पोखि। मैले कारण देखाउँदै काठमाडौंमा थिईन भन्दै ढाटें । उसले मेरो कुरा पत्याईन।
धेरैपछिसम्म पनि उसले त्यो कुरामा सँग गुनासो पोखिरहि।
हाम्रो भेटघाट निरन्तर चलिरहेता पनि एकपटकको भेटमा उसले घरबाट निस्कन गार्हो हुने कुरा सुनाई। आमाले शंकाको दृष्टिले हेरेको कुरा बताई ।
हाम्रो भेटघाट गर्ने समय प्राय साँझको हुन्थ्यो। सायद त्यही भएर हो कि ?
मैले उसलाई सल्लाह दिएँ ‘तिमीलाई त्यतिकै बाहिर निस्कनु भन्दा केही सिक्न जान्छु भन न घरमा। जस्तो- कम्प्युटर, सिलाई बुनाई, भाषा।’
मेरो कुरामा समर्थन जनाउँदै उसले भनी ‘अरु त हैन सिलाई सिक्न मन छ। घरमा मेसिन पनि छ तर लुगा सिलाउन आउँदैन।’
मैले भनें ‘मन भए आमासँग कुरा गर। साँझको समय सिलाईबुनाई सिक्न जाऊ।त्यहिबेला कहिलेकाहीँ भेटौैंला।
मेरो सुझाव मन पराई। केही समय पछि उसले सिलाई सिक्न जाने कुरा सुनाई। ‘आमाले हुन्छ, यतै नजिकै सिक्नु’ भन्ने आदेश दिनुभयो रे।
मेरो डेरा नजिकै सिलाई बुनाई पसल थियो। त्यो पसलमा सिलाई बुनाई काम गर्नुका साथै नयाँ महिलाहरूलाई तालिम पनि दिईन्थ्यो। मैले नयनालाई त्यही जाने सल्लाह दिएँ।
मेरो कुरामा उ राजी भई।
यसरी मेरो सल्लाह बमोजिम उ सिलाई बुनाई तालिम सिक्न जान थाली साँझमा। मलाई अफिसले पेजर दिएको थियो। मैले उसलाई पेजर नम्बर दिएँ । नयनालाई मैले ‘त्यो सिलाई बुनाईको पसलको नम्बर माग न’ भनें ताकि उसँग साँझमा कहिलेकाही कुरा गर्न सकुँ म। नयनाले मैले भने बमोजिम सबै कुरा गर्दै गई।
हाम्रो भेटघाट र सम्बन्ध प्रगाढ हुँदै थियो। लामो सम्बन्धको यात्रा तय नगरेपनि हामी एक अर्कामा खुसि थियौं। उसले मलाई दिएको सम्मान विश्वास प्रति म थप आकर्षित थिएँ । हामीहरु बिचको सम्बन्ध सुमुधुर हुँदै गर्दा अचानक नयना संम्पर्क विहिन भई। उसले नत मलाई फोन गरि न मैले गरेको बेला उसको घरमा फोन उठ्यो।
सिलाई बुनाई सिक्ने पसलमा पनि केहिदिन देखि उ आएकि छैन भन्ने जानकारी पाएंँ ।
म अफिसबाट आउँदा त्यो पसलमा छिरेर सोध्थे। केही खबर गरेकि छैन भन्ने जवाफ आउनुको साथै पसलकि दिदीले जिस्क्याएकिथिन। उल्टै मलाई सोथ्थिन ‘भाईलाई चिन्ता पर्यो कि के हो?’ मनमा जे भएपनि म हाँसेर टार्थें।
म उसको खिचापोखरीको मासु पसलमा गएँ, त्यहाँपनि पसल बन्ध थियो। एक हप्ता, दस दिन हुदै दुई हप्ता बितेपछि पनि सम्पर्कमा नआएपछि म उसको घर नजिकैको भिडियो पसल गएँ जहाँबाट म सिनेमा भाँडामा लिन्थे।
त्यो दिन भिडियो पसलमका दाइ थिएनन् । भाउजू र उनको सानो छोरा थियो।
मैले भाउजू लाई सोधें ‘दाइ खोइ त भाउजू ?’
भाउजूले जवाफ दिईन ‘काभ्रे गाउँ जानू भएको छ। बा बिमारी भएर।’
सोधिहालें ‘कहिले आउनुहुन्छ ?’
‘लाग्छ दुईतीन दिन अरु’ भाउजुबाट जवाफ पाए”।
भाउजूसँग गफ गरुन्जेल नयनाको मासु पसलतिर हेरें। पसल बन्ध छ। घर शून्य छ। ती भिडियो पसलकि भाउजूलाई केही नभनी कोठातिर फर्किएँ।
कोठामा आएर सोचें कहाँ गईहोली नयना? के भयो होला? एकमनले उसको घरमा जाऊँ कि भन्ने भयो। फेरि जाने साहस बटुल्न सकिन। म आफ्नै दैनिकि जिवनमा व्यस्त हुन थालें। अफिस जाँदा आउँदा उसको घरको बाटो हिँड्थें उसलाई देखिन्छ कि भनेर।
एकदिन म अफिसको कामले बनेपा पुगेको थिएँ। त्यहीबेला उसको म्यासेज देखें पेजेरमा। तुरुन्त कल गरेर सोधें ‘कहाँ हराएकि। के भयो?’
उसले उल्टै मलाई सोधी ‘कहाँ छौ ? मैले छोटो उतर दिएँ ‘बनेपा।’
उसले भनी ‘हाम्रो पुरानो घर बनेपा पनि हो नी।’
‘छोड यी सब कुरा।कहाँ थियौं यतिका दिन? किन कल नगरेको?’ मैले प्रश्न गरे।
उसले छोटो जवाफ दिई ‘भेटेर भन्छु। ‘
मैले फेरि सोधें ‘कहिले?’
उसले उत्तर दिई ‘भोलि साँझमा। मलाई अहिले भन्न मन थियो। तर त्यो सम्भव थिएन।’ मैले ‘हुन्छ’ भने। उसलाई सोधिहाले ‘कहाँ भेट्ने?’ उसले भनी ‘तिम्रो कोठामा आउँछु।’ मैले थप कुरा गर्न नपाउँदै उसले फोन राखि।
मलाई कहिले भोलि आउला भयो। मेरो छट्पटि यति थियो उसँग भेटने। समयलाई दौडाउन सक्ने आजैलाई भोलि बनाउँथे।
भोलिपल्ट अफिस नजाँदै साँझ कहिले होला भन्ने भयो। अफिसमा बजार ब्यवस्थापनको काम भएकोले सजिलो थियो। ‘आज सानो व्यक्तिगत काम छ है’ भन्दै चाँडो निस्किए। अफिसमा आफूभन्दा वरिष्ठ दाईहरु मिलनसार थिए। सजिलै मलाई चाँडो जान दिए।
कोठामा आएर नयनाको प्रतिक्षामा बसें। भित्र मनमा डर थियो। नयना साँझमा मेरो कोठामा आउँदा कसैले देख्लान कि भन्ने।
म ऊ आउनु भन्दा पहिले नै घरको गेटमा उभिईरहें । टाढै बाट नयनालाई देखें मैले। घरको गेट खुल्लै राखें। उ घरभित्र छिर्दाछिर्दै सँगै अर्को कोठामा बस्ने दिदी तरकारि लिँदै आईन। मैले फेरि गेट खोलिदिएँ ती दिदीको लागि ।
नयना र म अघिपछि गर्दै कोठामा छिर्न लाग्दा ती दिदीले सोधिहालिन ‘जोडि बाँधेर कता गएर आएको अमिर भाइ?’
दिदीलाई जवाफ दिए ‘जन्ती जान लागेको दिदी। तपाईं पनि जाने हो?’ उनी गललल हाँस्दै आफ्नो कोठाभित्र छिरिन। म उनिलाइ हेर्दै नहेरी आफ्नो कोठामा छिरें।
कोठाभित्र छिरेपछि नयनालाई नजिकबाट नियाँले। ऊ त घटेर आधा भएकि रहिछे। आँखा गाडिएका। अनुहारको चमक हराएको। लाग्थ्यो, उसमा ठुलै वज्रपात परेको छ।
उसलाई सोधिहाले ‘के भयो? किन हराएकि ? घरमा सबै त ठिक छ? किन यस्तो हालत बनाएको ?’
ऊ जवाफ बिहिन भई। मैले फेरि दोहोर्याएर सोधें।
केही बोल्दै नबोली उसले अचानक मलाई अँगालो हाली र डाँको छोडेर रोई।
मलाई के गरुँ के गरुँ भयो। उसलाई सम्झाउँदै भनें ‘के भयो? केही त भन। प्लिज नरोऊ।’ ऊ यसरी भावुक भईकि। उसको हालत देखेर मेरा आँखा रसाए।
केही नबोली उसले मेरो हात समाईरहि। मलाई लाग्यो मेरो हातले उसको दु:ख थेगेको छ। केही समय मैले उसलाई शान्त हुन दिएँ। उसलै आफ्नै सलले आँसु पुछ्दै भनि ‘अब हाम्रो भेट हुँदैन। म तिम्लाई अब यसरी भेट्न सक्दिन।’ उसका कुराले मात्र अनुभव गरें कि उसँग मेरो निकटता कति रहेछ भनेर। भारी मनले सोधें ‘के भयो ? किन यस्तो निर्णय गरेको? केही त भन।’
उ फेरि भावुक हुँदै मसँग टासिई। अनि रुँदै भनि “अमिर”।
मैले उसको शिरमा हात राखें। बिस्तारै उसँग अँगालोबाट उसको गर्दन मुसारें। ऊ सुँक्क सुँक्क गर्दै थिई।
मैले उसको झिंग्रिङ परेको कपाल मिलाएर पछाडि सारी दिएँ। बिस्तारै उसको चिउँडोमा हात राख्दै सोधें प्लिज भन न के भयो? म छु नि तिम्रो लागि। केही त बोल।’
ऊ अझैपनि बोल्न अशक्त झैं थिई। मैले पानी दिएँ। उसले एक घुट्को पानी पिई। उ बिस्तारै सम्हालिँदै गई।
मैले ‘ठिकै छ तिम्लाई गार्हो छ भने नभन। तर नरोऊ’ भन्दै उसको हातमाथी आफ्नो हात राखें।
उसले भारी मन गर्दै बोली ‘कान्छी बहिनीले आत्माहत्या गरि। घरको भर्याङमा झुन्डिएर मरि ऊ।’ यति भन्ने बितिक्कै उसले शिर झुकाई । अनि फेरि रुन थाली।
उसको कुराले म झंसङ्ग भएँ । मैले मन दर्हो बनाएर उसलाई सहारा दिएँ। उसको झुकेको शिरलाई आफ्नो काँधमा अड्डयाएँ।
म पनि:शब्द भएँ। एकछिन कोठाको बातावरण शून्य भयो। उसका आँखाको आँसुले मेरो काँध तातो भयो। तर मन भने असाध्यै चिसो भयो। म भित्र भित्रै जमें । के भनम के भनम भयो। त्यहिपनि साहसका साथ बोलें- धेर्य राख। सम्हाल आफूलाई। म छु नि तिम्रोलागि। हेर। हरेक दु:ख पछि सुख आउँछ। आफुलाई नियन्त्रण गर। अब बितेका कुरालाई सम्झेर यस्तो नगर।’
ऊ सम्मालिए झैं भई। मैले जगमा पानी दिंदै भने ‘मुख धोऊ।’
ऊ काँपिरहेकि थिई। मैले दुईहातले समात्दै उसलाई उर्जा दिएँ । बिस्तारै उसले मुख धोई। मैले उसलाई ओछ्यानमा राख्दै सोधें ‘चिया खान्छौ।’ उसले ‘खान्छु’ भन्ने भावका साथ शिर तल गरि। नबोलीकनै ।
म चिया पकाउन लागें। ऊ शिर झुकाएर बसिरहि। बेला बेला सुँक्क सुँक्क गर्दै थिई ऊ। टिभि हेर्छौ भनेर सोध्न नि भएन। मलाई उसलाई कसरी सम्हाल्नु भयो।
कालो चिया उसको हातमा दिँदै।म आफू भने उसको अगाडि भुईमा बसें। म भुईमा बसेको देखेर उसले भनी ‘माथि बस न।’ मैले ‘यहि ठिक छ’ भन्दै उसको हात समाएँ ।
उसले पनि कसिलो गरि मेरो हात समाई। चियाको सुर्को लिंदै बिस्तारै कुरा अगाडि बढाई।
त्यो दिन कान्छी बहिनी केही नखाई चाँडै सुतेकि थिई। हामी अरु भने १० बजे सम्म टिभि हेरेर सुतेको। बिहान ४ बजेतिर आमा चर्पी जाने बेला मात्र थाहा भयो। बहिनी घरको भर्याङमा झुन्डिएको। आमा एक्कासि चिच्याएपछि मात्र हामी घरका सबै उठ्यौ।
यतिभनेपछि उ चुप लागि। म वालकझैं टोलायर उसलाई हेरिरहें। एकछिनपछि फेरि बोली- बहिनीको त्यो हालत देखेपछि आमा त्यहि बेहोस हुनुभयो। घरका सबैलाई के गर्ने के गर्ने भयो। पछि पुलिसलाई खबर गर्यौं। आमा बेहोस भएपछि अस्पताल लानु पर्यो। पुलिसले सबै प्रकिया अगाडि बढाएपछि मात्र बहिनीको लासलाई तल झारे। अनि पोस्ट मार्टमको लागि अस्पताल लगे। अस्पताल बाट सबै काम सकेर लास जलाउन घाट लान तीन दिन लाग्यो। आमालाई होस आएपछि घर ल्याएको थियो। तर बहिनीको लास जलाउने दिन आमा फेरि ढल्नुभयो। आमालाई उच्च रक्तचाप थियो। आमा ढलेपछि फेरि अस्पताल लानु पर्यो। आमा प्यालाईज्ड हुनु भयो। आमाको दाहिने भाग चल्दैन । मान्छे चिने पनि बोल्न सक्नु हुन्न।
उ फेरि चुपलागि।
यो पटक मैले हिम्मत दिन सकिन। मेरो खुट्टा काँपे। सायद उभिएको भए मैं ढल्थें होला झैं भयो। मेरो निशब्दता उसले बुझी।
आफै कुरा अगाडि बढाई ‘हेर्दाहेर्दै हाम्रो परिवारको खुसि खोसियो। अहिले पनि म हतारमा निस्किएकि। तरकारि किनेर घर जान्छु।’
उसले ‘घर जान्छु’ भनेपछि म झस्किएँ।
उ तिर हेर्दै बोलें ‘मैले कति सम्झें। तिम्रो फोन आएन पक्कै केही भयो कि भन्ने मनमा थियो। तर यस्तो बज्रपात परेको छ भन्ने चाहिँ थिएन।’
साहस बटुल्दै उसलाई सोधिहालें ‘बहिनीले त्यस्तो गर्नुपर्ने केही कारण थियो र?’
उसले अलि सहज महसुस गर्दै कुरा अगाडि बढाई ‘एकदिन आमा बंगलामुखि मंन्दिरबाट आउँदा बहिनीलाई कलेजकै एकजना केटासँग हिडेको देख्नुभएछ। घरमा आएर त्यहि निहुँमा आमाले गाली गर्नु भएछ। त्यो दिन बहिनी भात नखाई सुती। मैले र अरु बहिनीले सोध्दा ‘साथी मात्र हो’ भनी। बरु आफूलाई अर्को केटाले मन पराएको कुरा गरि। हामीले सोध्दा ‘मलाई एउटा केटा मन पर्छ। तर आमाले देखेको केटा हैन। उ त बेस्ट फ्रेन्ड हो भनी। जसरी आमाले उसलाई साथिसंग देख्नु भयो। उसका अरु साथिले पनि देखेका रहेछन् । कलेजमा उसका साथीले मेरो बहिनीलाई मन पराउने केटालाई के के कुरा सुनाई दिएछन् । मेरो बहिनी र त्यो केटासग झगडा गरेछ।’
उसले भन्दै गई ‘केही दिनपछि बहिनी तनाबमा देखिन्थी। घरमा पनि रिसाउने झर्किने मात्र गर्न थाली। यो देखेर आमालाई झन बढि शंका हुन थाल्यो। एकदिन बहिनी कलेज नगई घरमा थिई। बहिनीलाई मन पराउने केटाले घरमा फोन गरेछ। आमाले फोन उठाउनु भएछ। केटाले बहिनीको बारेमा जे पायो त्यहि भनिदिएछ। त्यसपछि आमाले बहिनीलाई बुझ्न खोज्नु भएन। बहिनीलाई पिट्नु भएछ। हामी घरमा थिएनौं। साँझमा बहिनी केही नखाई चाँडै सुती। हामी टिभिहेरेर सुत्यौं । बिहान पख बहिनी झुन्डिएकि थिई। उसको गोजिमा एउटा सानो चिट थियो। जसमा लेखिएको थियो “आई एम सरि ।”
यति भनिसकेर उ मौन भई। मैले उसलाई हेरें। ऊ गहभरि आँसु पारेर बसि।
मैले उसलाई सम्झाउँदै भनें ‘जे भयो भयो। अब बिस्तारै भुल्नुपर्छ। आमाको ख्याल गर। मिल्छ भने सिलाई बुनाई सिक्न चाहिँ नछाड। तिमीलाई मन हलुका नहुनजेल म भेटम पनि भन्दिन। अनि फोन पनि गर्दिन। तिम्रो मिले मात्र मलाई सम्झनु। कल गर्नु।’
मैले कुरा सक्ने बितिक्कै उसले भनी ‘अब हामी नभेटौं। मलाई पाप लाग्छ। मलाई डर लाग्छ।’
डर लाग्छ भन्नू सामान्य हो। तर उसले पाप लाग्छ भन्दा म झस्किएँ । ‘डर लाग्नु ठिक छ। तर हामी भेट्दा के को पाप ?’ मैले उसलाई प्रतिप्रश्न गरे।
उसले कुरा अगाडि बढाई – मलाई माफ गर अमिर। म तिमीसँग भेटन सक्दिन अब।
मैले उसलाई सम्झाउँदै भनें ‘ठिक छ तिम्लाई दुख परेको छ। आमा बिरामी हुनुहुन्छ। जब सबै कुरा ठिक हुन्छ अनि हामी भेटौंला।’ मैले त्यसो भनिरहँदा ऊ फेरि रुन थाली।
मैले भनें ‘जे भयो भयो। नरोऊ अब। बरु हिंड। तिम्लाई घरजान ढिला भयो। म आधाबाटो सम्म पुर्याईदिन्छु।’
मैले यति भनीसक्दा। उसले मेरो हात समाउँदै भनी ‘प्लिज अमिर! मलाई माफ गर। म तिम्रो लायक छैन। मैले पाप गरें। मैले तिम्लाई ढाँटें ।
उसको कुराले म त्रसि भएँ । यद्पि उसलाई सम्झाउँदै सोधें ‘किन यस्तो भनेको?’
उसले हतारमा उत्तर दिई ‘मलाई माफ गर अमिर। म विवाहित हुँ। मैले कुरा लुकाएँ तिमीसँग।
उसको उत्तरले ममा चट्याङ परेझैं भयो। एकछिनसम्म झट्का लागिरह्यो। म सम्हालिन नपाउँदै उसले कुरा थपी ‘मेरो १६ वर्षमै बिहे भएको हो।’
म शब्द बिहिन भएँ । नचाहेरै सोधें ‘अनि श्रीमान् ?’
उसले छोटो उत्तर दिई ‘बितिसके।’
मैले अरु केही सोध्न नपाउँदै उ ढोका खोलेर रुँदै कोठा बाहिर निस्कि। म उसको पछि पछि लागें। घरको गेटसम्म पुग्दा ऊ बाहिर निस्किसकेकि थिई। नयना र म बाहिर हतारमा निस्किएको द्रिष्य छेउमा बस्ने तीनै दिदीले झ्यालबाट हेरिरहेकि थिईन।
म आँखाभरि आँसु लिएर गेटमा उभिएँ। र नयनालाई हेरिरहे। नयना साँझको अध्यारोमा बिस्तारै हराउँदै गई…..
क्रमश: