आइतबार, मंसिर ९, २०८१

अर्काको आङको जुम्रा मात्र देख्ने हामी नेपाली

पदम गौतम२०७७ कार्तिक ६ गते १०:०१

केहि महिनाअघि लेखक श्रीभक्त खनालको किताब ‘अप्ठ्यारो बाटो’ का विषयमा एउटा टिप्पणी लेखेको थिएँ । त्यहाँ उल्लेखित एउटा बिषयमा एक जना ‘बुद्धिजीवी’ले आपत्ती जनाए । उनको भनाइको आशय थियो,‘हाम्रा पुर्खाले लडेर बँचाएको देशमा भोटेहरुलाई नागरिकता दिनुहुन्न !’

यो पंक्तिकारले नागरिकताको वकालत गरेको थिएन । समय समयमा रोकिने ‘शरणार्थी परिचयपत्र’मा सरकारले सहयोगी भूमिका निर्वाह नगरेको बिषयको टिप्पणी सहि भएको लेखेको थियो । सन्दर्भ थियो, एमबिबिएस पास गरेर पनि परिचयपत्र नभएका कारण डाक्टर बन्न नपाएका एक शरणार्थी युवाको पीडा । ट्वीटरको डिएममा अर्ती दिँदै ती ‘बुद्धिजीवी’ले थप भनाइ राखे,‘उनीहरुले आफूलाई नेपाली भन्दैनन्, तिब्बती भन्छन् । त्यसैले नेपालले परिचय पत्र नबनाइदिएको हो ।’ यिनको तर्क सुनेर म एक्लै हाँसेँ । तीन पुस्ता नेपालमा बिताएको मान्छेको परिचय पत्र चाहीँ राज्यले नबनाइदिने अनि उनै पीडितले आफूलाई नेपाली चाहीँ भनिदिनुपर्ने !

करिब एक वर्षअघि एक महिलाका नाममा अपडेट हुने फेसबुकमा एउटा लाइभ आयो । पछि केहि ट्वीटर ह्याण्डलबाट पनि त्यो भिडियो राखियो । ‘नागरिकताको लाइनमा लागेका भारतीयको भीड’ वा यस्तै शीर्षकमा राखिएको त्यो भिडियो तीन दिनसम्म निकै लोकप्रिय भयो । ट्विटरमा रख्ने मान्छेकै भनाइमा सहमत हुँदै सयौंले लाइक, शेयर र टिप्पणी गरे । नेपाली राष्ट्रवाद निकै चुलीमा पुग्यो । भारतीयलाई निकै गाली गरियो । भारतको इशारामा आएको लोकतन्त्र र त्यसका अशरका विषयमा बहश भए । अहिलेका नेताहरुलाई गाली गर्दै ‘राजाको लाइन’ ठिक भनियो । तीन दिनपछि बल्ल थाहा भयो कि त्यस भिडियोको लाइनमा भएका व्यक्तिहरु भारतीय नभएर जिल्ला प्रशासन कार्यालय, पर्साका सेवाग्राही मधेशीहरु रहेछन् ।

तीन पुस्ता नेपालमा बिताएको मान्छेको परिचय पत्र चाहीँ राज्यले नबनाइदिने अनि उनै पीडितले आफूलाई नेपाली चाहीँ भनिदिनुपर्ने !

अर्को सन्दर्भ पनि यहाँ उल्लेख गर्नु उपयुक्त नै होला । गायिका प्रीति कौरले एउटा पत्रिकामा लेख नै लेखिन् । उनको आफ्नै पीडा उल्लेख गरिएको लेखको लीड यस्तो थियो, ‘०३८ सालमा ललितपुरको शान्ताभवन, जो अहिले पाटन अस्पतालका नामले चिनिन्छ, त्यहाँ जन्मिँदैगर्दा मलाई के थाहा थियो र यो देशमा जन्मिएको झन्डै चार दशकसम्म पनि मैले नागरिकताविहीन भएर बाँच्नु पर्नेछ । यो देशको हावा, पानी र माटो, जससँग मेरो आत्मा जोडिएको छ, के त्यसलाई प्रमाणित गर्न मैले अतिरिक्त परीक्षा दिनु पर्नेछ ?’ प्रीतिले नागरिकता नपाएर प्राबिधिक कारणले भारतीय पासपोर्ट बोकेका बिषयमा एक जनाले टिप्पणी गरे,‘भारतीय पासपोर्ट रँदै रहेछ, किन नागरिकता दिनु ?’

हामी कस्तो मानसिकतामा छौं र राजनीतिले हामीलाई कतिसम्म भेडो बनाएको छ भन्ने कुराको झलक यी माथिका तीन घटनाले देखाउँछ । हाम्रो राष्ट्रवाद यस्तो छ, जहाँ देशभक्ति त छैन नै, त्यसले आफ्नै नागरिक चिन्दैन । राज्यले त चिन्दैन नै, केहि कक्षा पढेका मान्छे पनि उहि रटानमा बसेका हुन्छन्–म र मेरा पुर्खा महान । तिनका नजरमा काठमाडौं वरपर बस्ने मान्छे तथा केहि जाति बाहेक अरु मान्छे नेपाली हुन लायक छैनन् । ती कि त तिब्बती हुन् कि त भारतीय । हाम्रो राष्ट्रवादले कुनै दायित्वको अपेक्षा त गर्दैन नै, त्यहाँ चेतना पनि हुनु जरुरी छैन । हामीसँग महेन्द्र राजा र पछि वामपन्थीहरुले सिकाएका महान राष्ट्रका महान राष्ट्रवादी हुनुका धङ्धङी मात्र छन् । जसअन्तर्गत् आफू ठूलो र आफ्नो बराबरमा अधिकार खोज्नेहरु सबै नालायक हुन् । ती नालायकलाई कहिल्यै नेपाली हुने अधिकार छैन चाहे तिनीहरु दशौं पुस्ता यहाँ बिताउन् ।

हाम्रो आफू महान र म मात्र ठूलो भन्ने चिन्तनले नेपाली मानसिकतामा त्यसै जरा गाडेर बसेको होइन । यसमा हाम्रो धर्म, संस्कार र संस्कृतिका खराब पाटा जोडिएका छन् । घरघरमा बच्चा हुर्किने क्रममा दिइने शिक्षा पनि जोडिन्छ । यीसँगै हामीलाई स्कूलमा सिकाइएका विषय झन् दह्रो र आधिकारिक धारणा बनेर बसेका हुन्छन् । त्यहाँ मानवीय भावना र चेत हुँदैन बरु हुन्छ त आफ्नै उत्पत्तिको महान कथामात्र । त्यसले संसारमा आफूबाहेक सबैलाई खराब देख्छ, बिना कुनै कारण । तर, बिगतमा केहि राम्रो थियो भने त्यसलाई स्विकार गर्दै अघि बढ्ने चेत पनि दिँदैन । केहिमहिना यता कोरोना कहरमा प्रधानमन्त्रीकै पहलमा स्थापित बेसारका कथा र हिमाली हावाका गीत यस कुरुप पाटाका उदाहरण हुन् ।

हामीसँग महेन्द्र राजा र पछि वामपन्थीहरुले सिकाएका महान राष्ट्रका महान राष्ट्रवादी हुनुका धङ्धङी मात्र छन् । जसअन्तर्गत् आफू ठूलो र आफ्नो बराबरमा अधिकार खोज्नेहरु सबै नालायक हुन् । ती नालायकलाई कहिल्यै नेपाली हुने अधिकार छैन चाहे तिनीहरु दशौं पुस्ता यहाँ बिताउन् ।

परदेशको करिब सात वर्षे जीवनमा मैले धेरै देशका मान्छेसँग काम गरेँ । हरेकका धर्म, रंग, सोच, मूल्य र लक्ष्य अलगअलग हुन्छन् । तर, नेपालीमा जस्तो आफू महान र अरु खराब भन्ने संकुचित सोच अन्य मान्छेमा देखिनँ । नेपालीका लागि भारतीय, पाकिस्तानी र बंगाली जति सबै धोती । चिनियाँ र थाइल्याण्डी गन्हाउने भोटे, उत्तरी युरोपका वासिन्दाहरु खान नपाउने । ब्राजिलियनहरु चारित्रिक रुपले खराब र अन्य देशमा मुसलमानहरु अमानवीय । आम नेपालीको सोच यस्तै पाइन्छ । अन्य देशका बासिन्दालाई धार्मिक र जातीय रंग दिएर मात्र हेर्ने र बुझ्ने चिन्तन प्राय सबै नेपालीमा भेटिन्छ । यति मात्र हैन, एक रंग, भाषा वा प्रदेशको नेपालीले साथी बनाउने सर्कल पनि त्यही सर्कलमा मात्र खोज्न थाल्छ ।

यहाँनेर अहिले नेपालमा बढिरहेको ख्रीष्टियन धर्म मान्ने मान्छेहरुको संख्या बृद्धि र बढ्दै गएको हिन्दू अतिवादमा पनि केहि लेख्नुपर्ने हुन्छ । यो पंक्तिकारको संस्कृति भए पनि कुनै धर्ममा रुची छैन भन्ने उल्लेख गर्दै यहाँ एउटा उदाहरण प्रस्तुत गर्दैछु । जातको प्रश्न नामको कार्यक्रममा ख्रीष्टियन संस्थाको लगानी रहेको र त्यसको उद्देश्य हिन्दू धर्म मासेर नेपाल ध्वस्त गर्नु हो भन्ने तर्कका साथ हमाल लखेट्ने काममा अहिले केही धार्मिक व्यक्तिहरु व्यस्त भएका छन् । उनीहरुको तर्क सुन्दा लाग्छ, दलितले हिन्दू नै हुनुपर्छ र सधैं दलित नै भएर रहनुपर्छ । त्यस्तो झुण्डलाई न त धर्मसँग सम्बन्धित कुरामा थोरै सोच परिवर्तन गर्ने कुरा मनपर्छ न त शताब्दियौंदेखिको भेदभावबाट उम्कन दलितहरु ख्रीष्टियन बनेको नै मन पर्छ । दम्भका साथ तिनको मन दलितलाई दास मान्दै भनिरहेको हुन्छ, ‘हिन्दू र दलित भएरै पुस्तौं पुस्ता बाँच्नका लागि तिम्रो कुल अभिशप्त छ ।’

धेरै पुराना कुरातिर नजाऔं, राणाकाल यताको नेपाललाई मात्र हेरौं । यी सात दशकमा हामीले भौतिक र आधुनिक विकासमा त फड्को मारेनौं भन्ने कुरा हरेकलाई थाहा छ । तर, हामीले देशका सबै भूभाग जोगाउन सक्यौं ? जनतालाई आत्म निर्भर बनाउन सक्यौं ? चार दशकमा तीन पटक भारतीय नाकाबन्दी भोगेर पनि केही चेत्यौं ? महान मान्छेका सन्तान भएवापत केहि महान काम पनि गरेर देखायौं ? भोलिको पुस्ताले गौरव गर्ने पाँचवटा मात्र बिषयको सूची बनाउन सक्छौं ? अहँ, केहिमा पनि उत्तर सकारात्मक आउँदैन ।

ठिक सात दशक अघि राणा शासनबिरुद्ध भएको नेपाली क्रान्ति राजाले देश छाडेपछि निर्णायक अवस्था पुग्यो । क्रान्ति त आधा सफल भयो । तर छिमेकी देश भारतले आफ्नो हात माथि पारेर क्रान्तिको क्लाइमेक्स अन्त्य गर्यो । यतिसम्म कि नेपालको मन्त्रि परिषद बैठकमा भारतीय राजदूत बस्ने प्रावधान राखियो । नेपाल र नेपालीको नाडी छामिसकेको भारतको बाहिरी दबदबा केहि कम भएपनि त्यसलाई फेरि ०४६ सालको आन्दोलनको पूर्वसन्ध्यामा फेरि त्यो प्रकट भयो । यसको बदलामा नेपाली प्रजातन्त्र र हुँदाहुँदा अर्थतन्त्र नै भारतमुखी र परजीवी हुनपुग्यो ।

पत्रकार सुधीर शर्माको किताब प्रयोगशालाले छर्लङ्ग पारेको छ, माओवादी जनयुद्ध शुरु भएपछिका भारतका खेल । स्वयं नेकपा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्डले किताबमा भएका कुरा सत्य भएको स्वीकार गरिसकेका छन् । घरायसी कारणले नयाँ संबिधान बनाउँदा थोरै मात्र नेपाली नेताहरु भारतीय घेराबाट चट्पटाउन के खोजेका थिए, भूकम्पले थिल्थिलिएको नेपाललाई भारतले नाकाबन्दी लगायो ।

जहिले पनि हामीले हामी महान हुनुको गौरव गरिरह्यौं । मनमा सगरमाथा र बुद्ध सम्झेर शिर ठाडो पारिरहन आफ्ना लालाबालालाई सिकायौं । तर, अनेकौं क्रान्तिपछि बनेका संबिधानमा बुद्धभूमि भनेर नेपाललाई उल्लेख गर्न चाहेनौं । हामी जसका नाममा गर्व गरिरहन्छौं ती नामप्रति हाम्रो कुनै दायित्व रहँदैन । हाम्रो यहि बेहोराका कारण पटकपटक हामीमध्ये सबैभन्दा नालायकलाई आफ्नो शासक बनाउँछौं । समग्रमा हेर्दा त हामीमाथि आज जे भइरहेको छ र जसरी नालायकहरु हाम्रो टाउकोमा गीर खेलिरहेका छन्, हामी त त्यो भन्दा पनि तल्लो स्तरको जीवनका लायक छौं हैन र !

महान कवि भूपि शेरचनले भनेजस्तो हामी आफैं केहि गर्दैनौं । फगत बिगतको कथाको आत्मरतीमा रमाइरहन्छौं । पचास बर्ष जति पुरानो उनै कविका यी पंक्ति हामी स्मरण गरौं त !

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं ।

(पत्रकार तथा कवि गौतमलाई @G_padam मा भेट्न सकिन्छ)

तपाइँको प्रतिक्रिया