कोरोनाझैं भुटानी वस्तीमा फैलिएको त्यो ‘अज्ञात महामारी’ !
फागुन चैततिर गाउँका धेरैले माथि पातलतिर गोब्रेटारमा गोठ सार्ने गर्दथे । भोटेहरुलाई खजाना (कर) तिरेर गोठ लान पाइन्थ्यो । हाम्रो पनि गोठ त्यता सरेको थियो । साना माओली काका देवीप्रसाद पौडेल गोठमा हुनुह्न्थ्यो ।
दहीदूध लिएर घर आई खाजा–सामल लिएर जानु हुन्थ्यो । एकदिन काका आएको बेला मैले जान रहर गरेँ । सारै जिद्धी गरेपछि मात्रै जान पाएँ । बाँनियाको घरछेउको कुलोभन्दा माथि म कहिल्यै गएको थिइनँ । उता जंगल मात्रै थियो । कुलाको छेउमा एकजोर ठूला सउरका रुख थिए । बानियाँ ठूलेले ‘रुखमा भूत बस्छन्, जानु हुँदैन’ भनेकाले हामी कहिल्यै त्यता गएनौँ । तर, काकासँग जाँदा भने त्यति डर लागेन ।
जंगल काटेर अलि माथि उक्लिएपछि गाँउ भेटियो । हाम्रो घरमा आइरहने बिष्टहरुको गाउँ रहेछ त्यो । भुटेका मकै र चिया खाँदै धेरैबेर उकालो हिँडेपछि मात्रै हामी गोठ पुग्यौँ । दुईतिर साना खोल्साबीचमा सम्म टार परेको डाँडोमा बाक्लै गोठ थिए, सबै हाम्रै गाउँतिरका ।
म गोठमा पाँच दिन बसेर घर आएँ । घर छाडेर बाहिर टाढा गएको वा कतै गएर बसेको अरु सम्झना छैन । घरमा हाम्रो केही विशेष काम थिएन । पढाइलेखाइ थिएन । हाम्रो टाढाको गन्तव्य भनेको तल टारका कुइकेलका घरसम्म हुन्थ्यो । उता खोल्सापारि घिमिरेका घरमा भने निकै आउजाउ भइरहन्थ्यो । पर नालुङ खोलापारि चापागाईको घर थियो । सबैले आसामघरे भन्थे । त्यहाँ हामी गइरहन्थ्यौं । पछि हाम्रो घरमा बस्ने खतिवडा गुरुले त्यतै घर जग्गा किनेर पहाडबाट जहान परिवार ल्याएर बस्न थाल्नुभयो । आसाम घरतिर जाने बाटोमा एउटा चिहानघारी थियो । चिहानै चिहानको थुम्काथुम्की मात्रै यततत्र देखिन्थ्यो । त्यो चिहानको अवशेषसँग पनि निकै डरलाग्दा कथाहरु जोडिएका थिए । त्यहाँ दिउँसै तर्साएर मान्छेका सातो गएको कथा सुनिन्थ्यो । यी २०१० साल आसपासका कथाहरु थिए । घरमा कुरा भइरहने हुँदा यस्ता डरलाग्दा प्रसंगहरु स्मृतिबाट हराउँदैन थिए ।
२०१० सालकै हिउँदमा त्यो गाउँका धेरै मानिसहरु यता पहाडतिरका आफन्त भेटघाट गर्दै पशुपतिनाथ दर्शन गर्न गएका थिए । उता काठमाडौंको देवदर्शन सकेर फर्किंदा यता बिफर (माइखटिरा र अपुर्वी पनि भनिन्थ्यो) फैलिएको समय रहेछ । यस्तो डरलाग्दो अनौठो बिमारीले धेरै मानिसहरुलाई बाटैमा पक्रेछ । घर पुगेर दुईचार दिनमै धेरै मान्छे परलोक भएछन् । कसैले नदेखेको र नजानेको रोग भएकाले पत्तै भएन । गाउँका एकजना बुढामान्छे पौडेल बाबैले रोगको लक्षण पत्ता लगाएछन् र, रोग फैलिएको गाउँघरमा आवतजावतमा रोक लगाइयो । गाँउमा हिँड्डुल बन्द भएपछि बितेका मान्छेको सतगती गर्ने कोही भएन । अलिक दिनसम्म पल्ला गाउँका मान्छेले त्यो डाँडामा खाल्डा खनेर छोडिदिन्थे र, घरका मान्छेले लगेर समाधिस्थ गरिदिन्थे । पछि रोग सबैतिर फैलिएपछि डाँडामा खाल्डा खनिदिने समेत मान्छे भएनन् र, आफ्नै घरआँगन छेउछाउ पुर्न थाले ।
गाउँभन्दा अलि तल एउटा घर थियो । जंगलले ढाक्दै गएको त्यो घर अलिअलि देखिन्थ्यो । घाँसदाउरा गर्न त्यता जानेहरु ‘तर्साउँछ’ भनेर त्यस घरको नजिकसम्म जाँदैनथे । त्यहाँ बस्ने कोही थिएन । त्यस घरका मान्छे बिरामी पर्दै र मर्दै गरेपछि भएजति छोराछोरी सकिएछन् । ती सबैलाई बाबुआमाले सकेसम्म घर छेउछाउमा पुरेछन् । बिस्तारै बुढाबुढी पनि उठ्नै नसक्ने गरी थला परेछन् । कतिसम्म भने घरनजिकै अरु मान्छेले राति ल्याएर राखिदिएको पानीसमेत भित्र लगेर खान नसकी त्यहीँ बितेछन् । स्याल–कुकुर भेला भएर ती बूढाबूढीको मृत शरीर चिथोरेरै खाए भन्थे । गाउँघरमा बाख्रा धेरै पालेका रहेछन् । घरका सबै बिरामी परेपछि गोठबाट बाख्राजति सबै फुकाएर छाडिदिएका थिए रे । दिउँसो बाहिर चरेर बेलुका बास बस्न घरै आउने हुँदा कति बाख्रा त सिधै स्यालका शिकार बनेछन् । केही बाख्रा भागेर नजिकको गाउँतिर पुगेर बाँचेछन ।
५-६ महिनापछि रोग नियन्त्रण भएर बाँचेकाहरु निको भए र, भागेर अन्त गएकाहरु पनि गाउँ फर्किए । फर्किएपछि आफन्तजनको अस्थिपञ्जर खनेर सामुहिक सद्गति गरे भन्ने सुनियो । नातामा सबै १० दिने दाजुभाइको एकै ठाउँमा सामूहिक काजक्रिया भएको रहेछ । यस्तो हुनासाथै सिंगो गाउँ मण्डलहरुको उर्दीमा ‘सिल’ गरिंदो रहेछ । आज कोरोना कहरले हामी सबै आक्रान्त भएका बेला आधा शताब्दीअघि भुटानी वस्ती सिंगो देनछुका इलाका र हामी बस्ने न्यानाटार गाउँमा फैलिएको महामारीको सम्झना भएको छ । त्यसको धेरैपछि मात्रै गाउँगाउँमा खोप लगाउने र अन्य औषधीमूलोको कुरो सुरु भएको मलाई गाढा सम्झना छ । हामी बसेको गाउँमा पिताजीले पढाउने पाठशालामा टा-टाढाका गाउँबाट विद्यार्थीहरु पढ्न आउने हुँदा र सामाजिक कार्यमा वरपरका गाउँसम्म पिताजीले गर्नुभएको योगदानले त्यस क्षेत्रमा वहाँको राम्रै प्रसिद्धि थियो । त्यस इलाकाका भोटेहरुले पनि पिताजीलाई ‘बडालामा’ (बडागुरु) भनेर सम्मान गर्दथे ।
त्यसबेला पढेलेखेका मानिसहरु कमै मात्र भएकाले त्यस इलाकाका मण्डलले आदर गर्थे र, सरकारी कामकाजका धेरैजसो कागजातहरु पिताजीलाई नै लेखाउँथे भन्ने कुरा त्यस क्षेत्रबाट यता आउने बुढापाकाहरुले अहिले पनि कुरा गर्दछन् । त्यसबेला लिइएको जनगणनाको अभिलेख पिताजीले तयार गर्नुभएको थियो । उहाँकै हस्तलिपि अहिले पनि दोरोखाको अड्डामा भेटिन्छन् भन्ने कुरा त्यताबाट आउनेहरुले सुनाउँछन् । पिताजीको सेवाको मूल्याङ्कन गर्दै हाम्रो क्षेत्रका मण्डलले राजाबाट सम्मानित हुने सामाजिक व्यक्तित्वहरुको सूचिमा पिताजीको नाम पनि सिफारीश गरेर पठाएका रहेछन् । दोरोखामा राजाको सवारी हुँदा पिताजी पनि सम्मान ग्रहण गर्न जानुभयो । तुलसी दाजुले पनि पिताजीसँग जाने मौका पाएर राजा देखेको र तल चमर्ची, बानरहाटतिर घुमेर रेलगाडी समेत देखेको कुरा आफ्ना गाउँका दौतरीहरुलाई गर्वसाथ सुनाउनु हुन्थ्यो । दाजुका कुरा सुनेर छक्क पर्नेमा गोविन्द र मसमेत थियौँ । हाम्रो घरमा पारि दोरोखाका पण्डित भोलानाथ सिग्देल आइरहनु हुन्थ्यो । उहाँ त्यस भेगका कहलिएका विद्धान हुनुहुन्थ्यो । उहाँको पिताजीसँग शास्त्रीय चर्चा हुने गर्दथ्यो । पिताजी उहाँलाई आदर गर्नुहुन्थ्यो ।
हामी धेरै कुरा नबुझे पनि भगवानका नाम, पु्राणका कथाहरु सुन्ने गर्दथ्र्यौ । भोला गुरुले गाउने गरेको एउटा आरती थियो । त्यतिखेर मलाई सबै आउँथ्यो । अहिले बिर्सिएर त्यसको केही अंश मात्रै सम्झना छ — ओम जय कृष्ण भगवान, प्रभु जय विष्णु भगवान विश्वाम्भर करुणा मूर्ति। । । । अगणित रुप अनुपम श्री राधा सहितम्। । । यो आरती आमालाई सबै कण्ठस्थ थियो । पछिसम्म वहाँले गाएको सुन्दथेँ । तर, मैले त्यतिखेर लेखेर राखिनछु । अहिले पछुतो लाग्छ ।
हाम्रो बाल्यकाल रमाइलोसँग बितिरहेको थियो । २०१४ सालको दशैँ आयो । टिकाको दिन गणेश काकासहित हामी सबैले टिका लगायौं । पिताजीका मावली पौडेल हुनाले तल्लो गाउँका पौडेल बाबैलाई मामा मानेर त्यहीँ टिका लगाउने
गर्नुहुन्थ्यो । ती बाबैका छोरा रणबहादुर पौडेल हामीभन्दा केही ठूला थिए ।
पछि भुटानबाट शरणार्थी भएर यतै दमक झापाको बेलडाँगी शिविरमा बस्दा हाम्रो परिवारसँगको पुरानो चिनारी हुनाले हाम्रो घरमा आइरहन्थे । उनी सपरिवार हाल अमेरिकामा छन् । हामी पिताजीसँगै पौडेल बाको घरमा टिका लगाएर तल ठूलाघर कुइँकेल बाको घर गयौँ । त्यता टिका लगाएर घर आइपुग्दा यता पहाड ताप्लेजुङ फावाखोलाबाट पिताजीका मामाका छोरा नन्दीकेशर काका र उहाँकै काकाका छोरा आइपुग्नुभयो । नन्दीकेशर काकालाई हामी ठूला मावली भन्थ्यौँ । मावली काका र पिताजीले एकान्तमा एकछिन कुरा गरेपछि हिंड्ने तयारीमा लाग्नुभयो । फावाखोलामा हाम्रो हजुरआमा दशैँको टिकाको पाँचदिन अघि खस्नुभएको खबर लिएर काकाहरु आउनु भएको रहेछ । मावली काका यतै बसेर घर व्यवहार हेर्दै, आमा र कान्छी फुपुदिदीले गर्ने काजक्रियाको व्यवस्था मिलाउनु भयो । गणेश काका र अर्का साथीलाई लिएर पिताजी पहाडतिर हिंड्नुभयो ।
त्यो वर्ष हामीले तिहारमा रमाइलो गर्न पाएनौँ । अघिल्लो वर्ष तल टारको डिलमा मितेरी साइनोले जोडिएका फुपू फुपाजुकोमा गएर टिका लगाइएको थियो । वहाँहरुको नामथर थाहा भएन, सबैले ‘लेनी माइला’ भन्थे । एक दुईओटा सेलरोटी खाएपछि तितेकरेलाको रसिलो तरकारी, मोही र भात खाएको सम्झना छ । तिहारपछि पिताजी टोपीको सट्टा सेतो टालो बाँधेर गणेश काकासँगै घर आइपुग्नुभयो । त्यसबेलाको चलनअनुसार दिवङ्गत स्वजनको अस्तु गंगा नदीको मनिहारी घाटमा सेलाउनुपर्ने हुँदा धरान जोगवनी, कटिहार हुँदै घाट पुगेर अस्तु सेलाई एक महिनापछि पिताजी घर आइपुग्नु भएको थियो ।
—दमक, भाङबारी
यो पनि पढ्नुहोस्