अनि बल्ल नेपालमा लोकतन्त्र आउँछ
निकै पहिलाको एउटा कथा मनमा गढेको छ । मेटिन लागेको धूमिल चित्र मात्र मेरो मनमा रहेकोले त्यो कथा मैले पढेको वा जमानामा हेरेको फिल्मको पनि हुनसक्छ । त्यस कथामा एउटा दुःखी गाउँवासीका पीडाको वर्णन छ ।
अनेक समस्याले ग्रस्त एउटा गाउँ र वरपरका अगुवाहरुले गाउँलेलाई नयाँ र सुख पाइने ठाउँमा बसाईं लैजाने भन्दै अभियान चलाउँछन् । लामो र अफ्टेरो बाटो भएका कारण त्यसका लागि तयारी पनि लामै चल्छ । अगुवाहरुले नयाँ ठाउँका अनेक सपना देखाउँछन् र गाउँ बस्दा उनीहरुकै खान्छन् । आफैं समस्यामा भए पनि नयाँ जीवनको आशमा गाउँलेहरुले सकी नसकी ती अगुवाहरुको खातिरदारी गर्छन् ।
धेरै समयपछि एक दिन अगुवाहरुले नयाँ गाउँको यात्रा गराउने समय तोक्छन् । उनीहरुले पहिलो लटमा गाउँका युवालाई मात्र लिएर जान्छन्, नयाँ संरचना निर्माणका लागि । केटाकेटी र बृद्धबृद्धाको पालो अर्को खेपका लागि तोकिन्छ । तर, गाउँका मान्छे बोकेर गएको सवारीसाधन बाटो बिचमै दुर्घटनामा पर्छ । त्यो दुर्घटना अगुवाहरु बिच खोला वारि खाने कि पारि भन्ने विषयमा भएको झगडाका कारण हुन्छ । वारि र पारि खानेबिच झगडा चलिरहेको समयमा कोही एक जनाले रिसाउँदै सवारी साधनको इन्जिन बिगारिदिन्छ । गाडी दुर्घटनामा परेसँगै त्यसमा सवार मान्छेसँगै गाउँलेका सपना पनि भीरबाट पल्टिन्छन् । त्यही गाउँका वालवालिकाले भने अर्को सुन्दर र सुखी गाउँ जाने सजिलो बाटो खेल्न जाँदा पत्ता लगाएका हुन्छन् । शुरुदेखि नै केटाकेटीले भनेको त्यो बाटोबारे अभिभावकलाई विश्वास हुँदैन । तर, अगुवा र गाउँका सारा युवा गुमाएपछि बृद्ध अभिभावकसँग केटाकेटीको कुरा पत्याउनुको विकल्प रहँदैन । त्यस बेला तिनै वाअलवालिकाले वनभोज गएजस्तै हाँस्दै, खेल्दै गाउँका सारा मान्छेलाई नयाँ ठाउँ पुर्याउँछन्, नयाँ मानव जीवन शुरु हुन्छ । कथा यतिमै सकिन्छ ।
हामीलाई यो कथा सामान्य वा औसत भन्दा पनि कमजोर लाग्न सक्छ । तर, मलाई यो कथा सामान्य लागेन, धेरै कुराको गम्भीर संकेत पनि लाग्यो ।
अहिले नेपाली राजनीति र जनताको अवस्था ठीक त्यही दुःखी गाउँका वासिन्दाको जस्तै छ । राजनीतिक पार्टी र अझ बढी त कम्युनिष्ट नामको राजनीति गर्नेहरु यही कथाका अगुवाको शैलीले हिँडेका छन् । राणा शासनपछि सात दशक यता लगातार जनतालाई उही सपना देखाइएका छन् । बिडम्बना तीन पुस्तापछि पनि उनीहरु त्यही सपनाले मन जित्ने प्रयास गरिरहेका छन् । तर, माथिको कथामा जस्तै तिनको गाडी दुर्घटनामा परिसकेको छ, नेतृत्वको गद्दारीसँगै दुई पुस्ताको लगानी स्वाहा भएको छ । जनताका सपना पटकपटक ध्यस्त भएका छन् । यसमा जति हनुमाने तर्क गरे पनि आफ्नै दिमागले सोच्ने हरेक मान्छे सहमत हुन्छ नै ।
मानव सभ्यताको नियम या नियति भनेकै भाँचिनु र फेरि बौरिएर उठ्नु हो । हज्जारौं वर्षअघि अफ्रिकामा झण्डै लोप भइसकेको मानव जाति फेरि बौरियो र सिंगो संसारमा छरियो । माथि उल्लेख गरिएको कथामा गाउँमा बाँचेका मान्छेले पनि नयाँ पुस्ताको निस्कपट विश्वासमा विश्वास गर्नुपर्यो । र, अब नेपाली समाजमा पनि पुराना विचार र असफल मान्छेको सट्टा नयाँ विचार स्वीकार गर्नुपर्ने समय आउँदैछ । यसको संकेत अहिले संगठित शक्ति र संस्थाले पाउन नसक्दा समय ढीलो भएको मात्रै हो, यो बाटोको विकल्प छँदै छैन ।
एउटा पछिल्लो उदाहरण अलिकति लेख्न, पढ्न र राजनीतिको ‘र’ उच्चारण गर्न जान्ने जति सबैले बिरोध गरेका केपी ओली कसरी फेरि प्रधानमन्त्री बने त ? यहीँनेर छ समस्या । जनताका नाममा ल्याइएका हरेक व्यवस्था केवल जनतालाई कज्याउँदै दल र नेताहरुलाई शक्तिशाली बनाउने दस्तावेज मात्र बनेका छन् । यसको थप प्रमाण खोज्नु भनेको आँखा अगाडिको वस्तुको अस्तित्त्व अस्वीकार गर्नु हो ।
पछिल्ला चौध महिनादेखि संसार कोरोना महामारीको चपेटामा छ । मानव सभ्यतालाई गतिलो झड्का लगाउने यो महामारीका असर अहिलेका मान्छे सबै बाँचुन्जेल रहने पक्का छ । तर, नेपाल हेर्दा लाग्छ, यो पवित्र देवभूमीमा केही हुनेवाला छैन । न त एक वर्षअघि यहाँ केही भयो, न त अहिलेको दोस्रो लहरले नै केही लछारपाटो लगाउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीका पटकपटकका अभिव्यक्ति यसो हेर्ने हो भने नेपालमा कोरोनाको जोखिम नै थिएन । भएको अलिअलि पनि जनताका कारणले मात्र भएको थियो । निकट बिगतमा कोरोना मूलढोकामै आइपुग्दा पनि सत्ताधारीका भेला, आयोजना र आत्मरतीका मेला चलिरहे । अझै तिनका भागबण्डाका श्रृंखला जोडका साथ चलिरहेका छन् ।
अझ दुःखद कुरा त के भने सरकार मात्र हैन, वैकल्पिक सरकार मानिने प्रतिपक्षी र पार्टीभित्रकै फरक धारको गति पनि उही रह्यो । आफ्नो लाज छोप्ने विषयमा मात्र उनीहरु केन्द्रित भइरहे । उनीहरुलाई लागिरह्यो, सत्ताको मोज भाइभारदारमा सधैं घुमिरहने वस्तु हो । यस्तो व्यवहार हरेक संकटमा गरिँदैछ, मानौं यो जमाना पनि राणा शासनको हो र जनता जन्तु सरह हुन् ।
तर जनता र राज्य सञ्चालकहरुको दूरी जति बढी भए पनि आजको जनता अबुझ छैन । अहिले वडा सदस्यमा हारेको एउटा इमान्दार राजनीतिक कार्यकर्ता केन्द्रका राजनीतिक खेलाडी भन्दा बढी सचेत छ । शासकीय षड्यन्त्रका तानाबानामा पछाडि भए पनि उसले ती सबै बुझेको छ, नियालिरहेको छ । अझ, जनताका समस्या के छन् र के गर्दा ती खुसी हुन्छन् भन्ने कुरामा ऊ राम्रैसँग अपडेटेड छ । किनभने ऊ आफैं जनता हो । जनताबाट शासक बनिसकेकाहरुले जनताका बिचमा गएर भुइँमान्छेको समस्या बुझ्न सक्दैनन् । अहिलेको थोरै मात्र पठित र सक्रिय जनतालाई एउटा खानेपानी आयोजनाबाट पानी आउन किन तीस बर्ष लाग्यो र त्यसको लागत पाँच सय प्रतिशत किन बढ्यो भन्ने राम्रोसँग थाहा छ । त्यही मेलम्चीकै पानीका नाममा कति परिवारले पुस्तौं पुस्तासम्म पैसामा नुहाउन पुग्ने अवस्था बनाएका छन्, त्यसको मोटामोटी हिसाब जनतासँग सुरक्षित छ । हिजो र आजका शासक अनि तिनका आसेपासेलाई मात्र यस्ता विषय आफूहरु बाहेक कसैले नबुझ्ने लाग्छन् । तर, यो ब्रम्हाण्डका नियमले त्यो मान्दैन ।
कुनै समय यस्तो पनि आउनेछ, यी सबै सचेतहरु मुख खोलेर बोल्नेछन् । यिनको मनको उफान असन्तुष्टिसँग जोडिएर राष्ट्रिय राजनीतिमा आइपुगेका दिन बल्ल देशमा उलटपुलट हुन्छ । बरु त्यसले रेलको लिकमा हिँडेजस्तो बाटो तय गर्दैन, नयाँ बाटो निर्माण गर्छ । विश्वभरका उदाहरण दिएर नथाक्ने बुद्धिजीवी र अहिलेका कमजोर विचारलाई पाठक पत्रमा पनि ठाउँ दिन नखोज्ने सम्पादकहरु त्यस समय त्यही अवस्थाको सेरोफेरोमा विचार निर्माण गरिरहेका हुनेछन् ।
नेपाल बेला बेला षड्यन्त्रको सिद्धान्तका व्याख्याताहरुले पनि नभ्याउने खालका घटनाक्रम झेलिरहेको देश हो । सबै विश्लेषण गर्दा लाग्छ, यहाँ आँधी आउँदैछ । तर त्यो आँधीको समय आफैंले मात्रै निर्धारण गर्न सक्छ ।
तर के हाम्रो देशमा हरेक नयाँ घटनाक्रम, तिनको चरित्र र जनताको मानसिकता बुझ्ने संगठित दल अस्तित्वमा छन् त ? अहिलेसम्म यही अभावले हामीलाई हरेक नयाँ व्यवस्था थोत्रिएका लाग्छन् । संस्थागत हुन नपाउँदै हरेक व्यवस्था, संविधान र तिनका पक्षधरहरु जनताका नजरमा नालायक बन्छन् । विश्वास गर्ने आधारसहितका कोही नहुनु अनि राजनीति जनताबाट टाढा पुग्ने निरन्तरताले हरेक पटक अस्थिरता मात्र सिर्जना गरिरहन्छ । अहिले लोकतन्त्र भनिने व्यवस्थाको एउटा अपरिहार्य सर्त जनता र राज्यबिचको दूरी कम हुनु हो । राज्य र जनताबिच जति दूरी बढ्छ, त्यति व्यवस्था खतरामा पर्दै जान्छ । लोकतन्त्र मात्र नभएर दल र तिनका हर्ताकर्ताप्रति जनताको असन्तुष्टि कायमै रहन्छ । बिगतदेखिको यो नियमितता तोड्न सक्ने राजनीतिक दल नै आजको आवश्यकता हो ।
अहिले पनि वर्षौंदेखि उही राष्ट्रवादका नारा बेचिएका छन् । मान्छेको जीवनसँग नजोडिने ढुंगाका कथा स्थापित गराइँदैछन् र हाम्रा आफ्नै स्वदेशी भगवान तयार गरिँदैछन् । विज्ञान र ज्ञानको सट्टा हज्जारौं बर्षदेखि मानव सभ्यताका लागि घातक तत्त्वको प्रचार गरिँदैछ । समयको गति हाम्रा नेता र दलहरुलाई थाहा छैन । विश्वव्यापी परिवर्तनले अहिले सत्तामा रहेका मान्छेको चिन्तनलाई चिन्दैन, मान्दैन । पहिला राज्यले गर्ने काम कम्पनीले गर्दैछन्, कम्पनी, संगठित संस्थाकोे काम व्यक्तिले गर्दैछन् । यहाँनेर अब दल र राज्यको भूमिका के त ? राज्य सञ्चालकहरु जवाफ दिन त के यो खबरबाट नै बेपत्ता छन् ।
नेताहरुले यो जमानाको नयाँ पुस्ताले सबै ध्यान दिएर हेरिरहेको छ भन्ने मात्र पनि बुझ्न सकेका छैनन् । र, जुन दिन समय र जनता बुझ्ने दलहरु अस्तित्त्वमा आउँछन्, त्यस दिन बल्ल नेपालमा लोकतन्त्र आउँछ ।