शुक्रबार, मंसिर २१, २०८१

डिल्लुको बाख्रो

निबन्ध २०७८ जेठ २६ गते १५:२८

‘फेलै खाँदैन यो पालि नि !’
डम्बरे माइलाले बाख्रो नियाल्दै भने । उनलाई सही थाप्नेहरु कति हो कति । हो मा हो थप्पिए बेस्सरी । कति त बोल्न नभ्याएर आँखाकै इशाराले नि कुरा थपिरहेथे, चम्की–चम्की ।

डिल्लुको बाख्रो केही वर्ष अघिदेखि पशु मेलामा पुरस्कृत भइरहेको छ । उसले धेरैलाई हरायो । उसका अगिल्तिर सबै पछारिए । ऊ नै फस्ट । ऊ नै विजेता भो लगातार ।
अरु त लुत्रे कान लगाएर अँध्यारोका साथी भएर भित्रन्थे ।

पूर्वी मधेशको रतुवा खोला । खोलातिरको पशुहट्टा । त्यहीँ दमक नगरपालिकाका पशु र पशुजन्य मेला लाग्छ । हरेक वर्ष पशु भेला हुन्छ त्यहाँ । मेलामा नहुने कुरा क्यै भएन । गोरु, गाई, भेडा, भैँसी, राँगा, घोडा ल्याइएका छन् । बाच्छाबाच्छी, पाडापाडी, पाठापाठी छन् रहरलाग्दा । धोएर, पुछेर सिँगारेर र तेल दली चिल्ल्याएर ल्याइएका छन् पशुहरु । लौ हेर, सुकिलामुकिला पो छन् त धसिङ्गरेहरु !
तर डिल्लुको बाख्रो सँधैको च्याम्पेन ।

जितिहाल्छ अरुले जे गरे पनि । जितिछाड्छ सबैलाई उछिनेर । अरु त हरुवा !
डिल्लुको नाम अरु थोकै हुनुपर्छ । डिल्लीराज, डिल्लीप्रसाद, डिल्लीसिंह, डिल्लीविक्रम, डिल्लीशेर, डिल्लीराम, डिल्लीकुमार, डिल्लीमान, डिल्लीबहादुर वा डिल्लीनारायण— जे पनि हुने हो । तर ऊ सबैको थियो डिल्लु । डिल्लुको बाख्रो पुरस्कृत भइआएको छ केही वर्ष यतादेखि । डिल्लुको बाख्रो प्रदर्शनीमा लगेपछि अड्कलबाजी हुन्छ— ‘यो पालि अरु चैँ हावा खान्छन् !’ र, भइआएको पनि त्यस्तै छ ।

बिहानै बाख्रो डोर्‍याएर डिल्लु गयो पशु मेलामा । चार–पाँच जना केटा थिए डिल्लुसँगै । अघिदेखि ऊसँगै थिए । बाख्रो सियाँलमा बसेर धकाउन थाल्यो गर्मी भएर । गफ गर्नेहरुले तुक्का जोडे ।

‘सिङ पनि कति सुलुत्त !’
‘मुखका रौँ कति राम्रोसँग काइँयोले कोरेझैं मिलेका !’
‘चार बेतकी भए पनि भुँडी ह्वात्त देखिन्न !’

हेर्न आउनेहरुले टाउको हल्लाए । पशु मेलामा आउनेले डिल्लुको बाख्रो राम्रोसँग हेरे । नम्बर दिए । अनि डिल्लुको बाख्रो पुरस्कार र प्रमाणपत्र बोकेर साँझ चाप्रामारीतिर झरेथ्यो । गाउँमा ठूलै हलचल भएको थियो । गए साल नि भयो पशु मेला ।
हिउँद लागेपछि मधेशमा यस्ता मेला हुन्छन् नै । रतुवा वारिपारिदेखि झण्डै एक दिन परदेखिका गाई गोरु, बाख्रा, भेडा, बोका, सुँगुर, घोडा र भैँसीराँगाका बगाल ल्याइन्थे ।

पशुको मेला भनेर के गर्नु— सास्ती चैँ मान्छेलाई । मेलामा डिल्लुको बाख्रो पनि ल्याइएको थियो । अलिक ढिलो आइपुगेथ्यो बाख्रो । अघिल्लोभन्दा अलिक बेग्लो ठाउँमा बाख्रो राखिएको थियो । बिस्तारै मान्छेहरु त्यो बाख्रोतिर झुम्मिन थाले । बाख्रो एक साल बूढो भएको थियो ।
‘बाख्रो त झन् कलकलाउँदो पो देखिएछ !’ हर्कजङको बोली सुनियो ।

‘खुट्टा पनि कति मिलेका छन् हऊ !’ परशु धिमाल सुस्तरी बोले ।

‘झन्–झन् पुटुक्क छ बाख्रो त !’ नरपति उप्रेतीले बयान गरे ।

भीड बढिरहेको थियो । अघिल्लो साल पनि पुरस्कृत भएको कारणले गर्दा मान्छेहरुले डिल्लुको बाख्रोलाई यस पटक नि हेरे झन् चासो लिएर । सुनिएका कुराले गर्दा भीड झन् गहिरिएर एकोहोरिएको लाग्थ्यो बाख्रोतिर । कुना–कुनाबाट पुलुक्क चिहाउने त झन् धेरै ।

बाख्रो कान पटपट हल्लाउँदै बसिरहेथ्यो । घरी–घरी नाकमा बस्न आउने डाँसलाई टाउको हल्लाएर धपाउँथ्यो । उग्राएर घाँस पनि चबाउँछ घरी–घरी ।

‘यसको एउटा विशेषता, बर्षेनी चार पाठा पाउँछ !’
‘फेरि कति राम्रा पाठा पाउँछे भने— मान्छेकै जस्ता सग्ला र चिल्ला !’
‘सार्‍है लच्छिनकी छे यो बाख्री !’
‘अति सुवानी, जे दिए नि खाने !’
‘एक दिन किलो उखेलेर भागेकी थाहा छैन !’
डिल्लुका माइला फुपाजुले पनि बेलिबिस्तार लाए बाख्रोका गुन । छेउमा रहेकाहरु अझ नजिकिएर कुरा सुने । चाख मानेर सुन्नेहरुले अरु के–के गुण होलान् यसका ? चासो दिए निकै ।

‘ढाडका भुत्ला नि कति सर्लक्क मिलेका !’
‘यसलाई मकैबारीमा छाडिदिए नि घाँस खान्छ । अरु बाली नोक्सान गर्दैन !’
‘नुन, पीठो, च्याँख्ला, खोले जे दिनुस्— सर्लक्क चाटीपुछी खान्छ !’
‘कराउन भनेको ठ्याम्मै जानेको छैन !’
कन्सिरी सबै फुलेका नारायणसिंह राजवंशीले सुनाए ।
सुन्नेहरु छक्कै परे । सार्‍है ज्ञानी बाख्रो । ज्यादै असल पशु ठाने सबैले । वरिपरि घुमेर तिनले बाख्रो हेरे ।

जब–जब पशुमेलाका दर्शक आउँथे— चार–पाँच जना झुरुप्प भएर बाख्रो वर्णनमा जुटिहाल्थे ।
‘यसले बोका खोज्दा नि कराएको मैले सुनिनँ । सार्‍है सन्तोकी !’
नन्दलाल सिवाकोटी बोले ।
‘यो ब्याउँदा पनि कराएन !’
मेकचन सतारले बयान गरे ।
‘यो बाख्रो त देउतै हो नि । दिए खान्छ, नत्र टाट्नोमै उघ्राइरहन्छ !’
जङ्गबहादुर कार्कीले चर्चा गरे ।
डिल्लुको बाख्रोलाई सबैले गुनैगुनले भरिएको ठाने । बैगुन शून्य । हो, हजार गुनले परिपूर्ण ।

पशु मेलामा जतासुकै डिल्लुकै बाख्रोकै चासो भयो, चर्चा भयो र चियो भयो । बेलिबिस्तारसँग त्यो बाख्रोले नै बयान प्राप्त गर्‍यो । सबैका ओठमा त्यै बाख्रोकै वृतान्त थियो ।
‘हेर्नुस्, जाँसुकै मुत्दैन !’
‘यसले बड्क्यौला पनि जाँसुकै खसाल्दैन !’
‘टट्टी गरेपछि मान्छेले जस्तो सुकिलोमुकिलो भएर बस्न मन गर्छ !’
जङ्गेले जोड दिएर भनेथ्यो ।
यतिन्जेलमा मानिसहरु आइसकेका थिए बाख्रो हेर्न ।
‘यै त हो नि !’
‘उहाँ त हो नि !’
बाख्रो पनि चिनाए । मान्छे पनि चिनाए । आउनेहरुले डिल्लु र बाख्रो दुबै चिनिसकेथे ।

बाह्र बजेपछि घुइँचो थपियो । घाम निकै कडा थियो । मधेश, झन् पशुमेला । त्यससँगै मान्छेको बाक्लो भीडभाड । मान्छे पशुजस्ता, पशु एक पाइला अगाडि बढेर मानिसजस्ता ।
‘बाख्रोको थुन त कति टुमुक्क !’
‘त्यत्रा पाठा–पाठीले चुसे पनि बाख्रो त झन् तरुनी !’
‘आँखा पनि साँच्चै बाटुला !’
‘यी हेर्नु त, कान पनि कति सर्लक्कै !’
छ जना केटाको हुलमा चार जनाले बाख्रोलाई घेरेर भने ।
अलिक पर उभिनेहरु नजिकिए । कुरालाई ध्यानमग्नले सुने । सुनिरहँदा नि तिनका अनुहार चुप लाग्न पाउँदैनथे ।
अरुका पनि थिए बाख्रा । भेडा, गाई, गोरु, राँगा र बोकाका लस्करहरु अरु नि थिए चारै सुरमा । घाँस बेच्नेहरु कराउँदै बेचिरहेका थिए । परालका मुठा बोकेर बूढाहरु पशुमेलामा पनि थुप्रेका थिए त्यत्तिक्कै ।

डोरी, मुहला र किला बेच्नेहरु आइरहन्थे फाटफुट । दिउँसो भएपछि मास्तिरबाट सोहोरिएर आएको हुल अन्तै जाने तरखरमा देखियो । ‘यो बाख्रोका घुँडा त कति धेरै मिलेका !’
‘पशु भनेर के गर्नु । महिना–महिना दिनमा धोइधाई नगरेसम्म यो कराइहाल्छ !’
‘यसको दूधले मेरा भान्जाभान्जी हुर्किए !’
‘हरेक बर्ख एक–एक कुरुवा घिउ बनाउँछु म त । यसकै दूधबाट !’
वैष्णवी बा भनिने विष्णु प्रसाद खरेलले बाख्रोको पनि प्रशंसा गरे । उनका कुरा अरुका लागि चखिला भए निकै नै । टाउको हल्लाई–हल्लाई मानेर सघाए । भीड बढेपछि चार–पाँच जनाको हुल फेरि थपिन्थ्यो ।

को अघि सर्ने र डिल्लुको बाख्रोको बयान गर्ने ? यो हतारो सबैमा हुन्थ्यो प्रायः । तिनका ओंठ चिलाएर आफ्ना कुरा पोख्ने खसखसमा हड्बडिन्थे सबै । हरेकलाई बाख्राको बयानमा ‘म पहिला हुन पाइनँ’ भन्ने पीरले दर्फराएको देखिन्थ्यो । हरेकसँग आफ्नो बाख्राको गुन बताउनमा चुक्छु कि भन्ने दुखाइले चिमोटिहाल्थ्यो ।
‘धेरै पनि खाँदैन यो बाख्रो त !’
नरेन्द्र सम्बाहाम्फेले बिस्तारै बोले पनि बाख्रोको वर्णन गरे । ‘दाँत सर्लक्कै छन् । तन्दुरुस्त र निरोगी बाख्रो पर्‍यो यो !’ लालध्वज खत्रीले बयान गरे ।

‘करङ छोपिएको छ । यसले लामै आयु पाएको छ !’ पाठक माइलाले बाख्रोलाई राम्रो मानी चर्चा गरे ।

मानिसको घुइँचो बढिरहेको थियो । घाम जति चर्केको थियो, पशुमेलामा बढी चरक्क चर्केको थियो— डिल्लुको बाख्रोको बयान ।

रतुवा छेउको बगर । थोरथोरै पोथ्रा छन् । एक–दुई अग्ला रुखले परसम्मै सियाँल दिएको देखिन्छ । त्यो सियाँलमा बसेका मान्छेले नि बयान सुनेका छन्— डिल्लुको बाख्रोको । यसरी पुरस्कृत भएको थियो गत साल डिल्लुको बाख्रो ।

वर्ष बितेपछि बगरमा केही काँस बढे । बगरको बजारमा झुप्रा पनि बढे । पोथ्रा बढे अलिक झ्याम्म । अग्ला रुखमा हाँगाबिँगा अलिक थपिए । अनि छायाँ पुग्यो पर परसम्म । यस पालि पनि डिल्लु आए बाख्रो लिएर ।
‘फेलै खाँदैन यो पालि नि !’
डम्बरेका कुरामा अरुले पनि हो मा हो मिलाए ।
‘म त्यसै भन्दिनँ !’ डिल्लुका मामाका छोराले बखाने ।

बाख्रो धकाएको थियो । उसले सास फेर्दा जिउ हल्लिन्थ्यो । कानतिर झिँगा बस्न खोज्दा ऊ अगाडिको खुट्टा हल्लाउँथ्यो ।
‘यसले अरु पाठापाठी हानेको मैले कहिल्यै देखिनँ !’
‘यो हदै मायालु !’
‘आमाको जस्तै मायालु मन छ यसको !’
भैरव इङनामले डिल्लुको बाख्रोलाई वर्णन गर्न अघि आए । उनले सुस्तरी भन्न थाल्दा छेउमा रहेका जेठा ज्योतिषी अघि सरे— ‘यसलाई हामीले अझ चिन्न सकेका छैनौँ !’
‘यो बाख्रो त अचम्मैको छ नि ! गाउँभरिमा यसकै सन्तान भरिएका छन् । ढुकुरपानी, बारघरे, कृष्णमन्दिर, अर्नाखाडी, भालुकुँडी, चाप्रामारी, चियाबगान हरेकतिर यसकै सन्तान छरिएका छन् ।’ ज्योतिषीले पनि डिल्लुको बाख्रोलाई जुरुक्कै उचाले ।

‘पोहोर गौरादहतिर मैले छोरीलाई पेवा पाल्न भनी एउटा पाठी यसकै सन्तान पठाएँ । सार्‍है लच्छिनकी छ यो । अहिले छोरीको घरमा पठाएको पाठी नि कम्लाएकी छ रे !’
निधारभरि चन्दनले घसिएका उनी हरेक खेप आउँदा डिल्लुको बाख्रो हेरी जान्छन् ।
छेउमा थिए तीनजना । अरु चुर खाइरहेका थिए । एक जना त खैनी माडिरहेका थिए । अर्का दुईजना चैँ एउटै बिँडी आधा–आधी बाँडिरहेका थिए एक दुई सर्को ।
दुई जना निकै सुकिला मान्छे डिल्लुको बाख्रोतिर आउने तर्खर गरे । तिनीहरु यता आउने देखेपछि छेउतिर घुँडामा हात लाएका ५–६ केटाहरु एकाएक सल्बलाउन थाले ।
‘पशुको एउटै रुप हुनुपर्छ– अगाडि पछाडि । यो डिल्लुको बाख्रोमा खोटै छैन ।’
‘पछाडिको फिला समेत साह्रै मिलेका ।’
‘गर्धनको मासु नि खँदिलो देखिन्छ ।’
‘भुँडी बोक्ने जात भनेर हुँदैन । यसको पेट कत्ति नि नझोल्लिएको !’ केटाहरु विशेषण हाल्न थाले ।

बलरामलाई कम लागेछ– बयान । उसले अरु कुरा थप्ने सोच राख्यो । अनि हतारिएर भन्यो– ‘नमिलेकै क्यै छैन । रुप पनि, बान्की पनि !’
चिनो लाइरहेका पशुविज्ञहरु वरपर गर्दै फाराम भरिरहेका छन् ।
‘यो त लच्छिनको बाख्रो । उज्यालो भएको सङ्केत दिन एक खेप म्या गर्छ !’
‘जस्तै भोकाउँदा नि कराउँदैन ।’
‘अति सहनशील !’
‘पानीमै सुत्नु परे पनि ठ्याक्कै कराउँदैन यो बाख्रो !’
केटाहरु चम्किरहेकै थिए, डिल्लुको बाख्राको बयानका लागि ।
उनीहरु आफ्ना बोलीमा उफ्रिएका थिए । ती उफ्राइमा डिल्लुको बाख्रो उफ्रिरहेको थियो ।
भीम प्रसाद प्रायः आउँथे यो पशु मेलामा । उनी एउटै गाउँका हुन् डिल्लुका । आज पनि ढिलो आइपुगे मेलामा ।
‘ओहो, देखें ।’
‘अघिदेखि खोजेकै हो ।’
‘यसको बड्कुला हालेर मैले पान र सुपारीका बोट हुर्काएँ । साह्रै लच्छिनको बाख्रो छ है डिल्लुको ।’
‘डिल्लु, म त तेरो बाख्रोलाई ‘आमा’ भन्छु ।’

भीम प्रसादले थुक उच्छिट्याएर भए पनि बाख्रोलाई धुपी चढाए । सुन्नेहरुले अनौठो मानेनन् । रमाइलो माने । बरु कुरा सुन्न मानिस थपिएका थिए । अलि–अलि गर्दै भीडले घेरो हालेको थियो, डिल्लुको बाख्रोलाई ।
‘यो जन्मेदेखि नै गाउँमा सह आएको छ ।’
‘खोरेत भाग्यो– यो पाल्न थालेदेखि ।’
‘योसँग चर्ने अरु बाख्रा समेत फष्टाएका छन् मज्जाले ।’
‘यसका पाठापाठी किन्नलाई एक वर्ष अघि नै बुक हुन्छ, हऊ, गाँठे ।’ पान्थरे लिम्बूले रातो नाकलाई अझ रातो पार्दै भने ।

एक बिटो घाँस थियो अघिल्तिर । प्लाष्टिकको सानो जगमा पानी ल्याएर उसलाई खुवाइएको थियो । छेउमा पानी नभएको जग लाइरहेको थियो । डिल्लुको बाख्रो बकैनाको मुन्टो टप्प–टप्प चुँडेर खाइरहेको थियो । घरीघरी खुट्टा बजार्दै चबाउन निमग्न थियो ।

डिल्लुले यसपालि नि जिते– प्रथम पुरस्कार । उनले घाम डुब्न लागेको बेला बाख्रो डोर्‍याउँदै भने– ‘बोल्नेको पीठो बिक्छ । नबोल्नेको ।।।?’
‘पीठो पनि बिक्तैन !’ छेवैको हुल करायो ।
०००

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया